चुपचाप एउटा परिवर्तन

चुपचाप एउटा परिवर्तन

- अश्विनी कोइराला

चैत्र ६, २०७१

२०६४ सालको दसैंमा नवीन लामा नुवाकोटको दुगर्म गाउँ काउलेबाट काठमाडौं झर्दैथिए । पातलो ज्यानका नवीन मनभरि पीडा र अनिश्चित भविष्य बोकेर घरबाट हिँडेका थिए । काठमाडौंमा उनको कुनै सहारा थिएन । बुवाले टीका लगाउँदा चाँडै बुहारी भित्र्याउनु भनेर आशीर्वाद दिएका थिए । उनी त्यसो गर्न सक्दैनथे भने खास कुरा बताउन पनि असमर्थ थिए ।

दुई वर्षपछि उनी घर फर्किए । फर्कंदा उनी पहिलेजस्तो सर्ट-पाइन्टमा थिएनन्, कुर्ता-सलवारमा थिए । उनको नाम परिवर्तन भैसकेको थियो । नाम र शरीरसमेत परिवर्तन भएको उक्त दृश्य गाउँलेहरूका लागि अपत्यारिलो र अविश्वसनीय मात्र थिएन, आपत्तिजनक पनि थियो । कतिसम्म भने उनका बुवाले घरमा आएकी युवती नवीन नै हुन कि होइनन् भनेर चियोसमेत गर्नुपरेको थियो । दुई वर्षअघि नवीनको पातलो ज्यानमा उन्नत वक्ष पलाएका थिए । ब्यागमा सौन्दर्य प्रसाधनहरू थिए । सोचविचार सबै परिवर्तन भएका थिए । 'अचम्मै भयो, कलियुग प्रस्टै देखियो ।' आत्तिएका बुवाले गाउँलेहरूका बीच भनेका थिए, 'मेरो छोरो सग्लै काठमाडौं गएको थियो, फकर्ंदा छोरी पो भएछ । काठमाडौंले मेरो छोरो निल्यो, छोरी बनाएर पठायो ।'

त्यति बेला पनि काठमाडौंमा संविधानसभाको तातो बहस चलिरहेको थियो । यस्तो वातावरणमा १९ वर्षीय नवीन अञ्जलीमा परिवर्तन भैरहेका थिए । चुपचाप एउटा क्रान्ति भैसकेको थियो ।

खासमा अञ्जली लामा एउटी मोडल हुन् । ५ फिट ८ इन्च अग्लो तर खिरिलो उनको ज्यानमा दर्जनौं फेसन डिजाइनरका पहिरन सजिएका छन् । उनी केही म्युजिक भिडियोमा समेत नाचिसकेकी छिन् । यत्ति मात्र उनको सपना होइन, अञ्जली अझ माथि जान चाहन्छिन् । 'म सुपर मोडल बन्न चाहन्छु । नयाँ इतिहास रच्न चाहन्छु ।' बिरालो चालमा कान्तिपुर परिसरमा झुल्किएकी अञ्जलीले साप्ताहिकसँग भनिन्, 'म नेपालको पहिले ट्रान्सजेन्डर मोडल हुँ । यो तथ्यलाई अझै विस्तार गरेर विदेशसम्म पुर्‍याउन चाहन्छु ।'

अप्ठ्यारो द्वन्द्व

अञ्जली जन्मदा उनकी आमा नराम्रोसँग रोएकी थिइन् । तामाङ समुदायमा छोरी जन्मदा ठूलो खुसीयाली मनाइन्छ । छोरी जन्मनु लच्छिन मात्र होइन, पैसाको आगमन हुन्छ भन्ने विश्वास छ । उनकी आमालाई पनि उक्त कुरामा विश्वास थियो । यसअघि उनले छोरीको कामना गर्दागर्दै ४ छोरा जन्माइसकेकी थिइन् । जतिपटक अब छोरी जन्मन्छे भन्ने विश्वासमा गर्भधारण गर्थिन्, जन्मपछि उनी छोरी नजन्मिएकोमा रुन्थिन् । अञ्जली जन्मदा उनले धेरै भाकल गरेकी थिइन्, छिमेकीसँग यही विषयमा बाजीसमेत परेको थियो, तर जन्मदा अञ्जली पनि छोरै भएर जन्मिइन् ।

शरीरमा छोराको अंग भए पनि उनको स्वभाव छोरीकै जस्तो थियो । उनी आमालाई घरधन्धामा सघाउँथिन् । ठूलो हुँदै गएपछि बुवाले उनलाई हलो जोत्न पठाउँथे, उनी भागेर घरभित्र छिर्थिन् । 'हलो जोत्न आँट नै नआउने, भागौं-भागौं लाग्थ्यो,' नारी स्वभावको प्रारम्भिक कुरा सम्झँदै अञ्जली भन्छिन्, 'म कसरी गरी खान्छु होला भनेर चिन्ता लाग्थ्यो । त्यसमाथि तैंले कसरी स्वास्नी पाल्छस् भनेर बुवाले गाली गर्दा यो संसार मेरा लागि होइन भन्ने लाग्थ्यो ।' गाउँले साथीहरूले उनलाई तेरो स्वभाव त छोरीको जस्तै छ भनेर जिस्क्याउँथे । छोरीजस्तो भन्दा उनलाई भने खुसी लाग्थ्यो ।

यस्तै द्वन्द्वमा उनले गाउँबाट एसएलसी उत्तीर्ण गरिन् । पढ्न काठमाडौं आएपछि पो थाहा भयो, उनी पुरुष शरीरमा महिलाझैं व्यवहार गर्दा रहेछन् । उनको बोली, हिँडाइ, व्यवहार जे देख्दा पनि मानिसहरू हाँस्थे । आफूले काम गर्ने होटलमा उनलाई विभिन्न किसिमका शब्दले हियाउँथे भने कलेजमा उनी केटासँग बस्ने कि केटीसँग बस्ने अलमलमा पर्थे । अरू साथीभाइ केटीलाई चिठी पठाउँथे, उनी भने आफूसँगै बस्ने केटालाई मन पराउँथिन् ।

'मलाई के भएको हो, छुट्याउनै सकिनँ । कहिलेकाहीँ त म पागलजस्तै हुन्थें ।' नवीन हुँदाताकाको घटना सम्झँदै अञ्जली भन्छिन्, 'अरू केटीसँग डेटिङ गएको कुरा गर्थे, म भने कसैले माया गरेर घुमाएको कल्पना गर्थें ।'

पशुपति क्याम्पसमा आईए सकेर बसेका बेलाको एक साँझ उनले दुई-तीन युवकले महिलाको पहिरन लगाएर हिँडिरहेको देखे । उनलाई अचम्म लाग्यो । सोध्दा थाहा भयो, उनीहरू पनि जन्मले पुरुष तर व्यवहारले महिला रहेछन् । उनीहरूको समूह पनि छ र त्यसलाई एउटा संस्थाले सहयोग गर्छ भन्ने जानकारी पनि उनले पाइन् । उनीहरूले ब्लु डाइमन्ड सोसाइटीमा भेट्ने समय पनि दिए । 'त्यो दिन जीवनले अर्कै मोड लियो । मैले पनि इच्छाअनुसारको जीवन बाँच्छु भनेर संकल्प गरें ।'

त्यसयता उनी बदलिएकी छिन् । आईएको परीक्षा दिँदासम्म उनी पुरुष थिइन्, त्यसपछि महिला हुने दृढ संकल्प लिइन् । दुई वर्षपछि घर जाँदा उनी साँच्चैकी युवती भएर फर्किन् । गाउँलेहरूका लागि उनी कथा बनिन् । दस गाउँका मानिस उनलाई हेर्न आए । उनको छातीमा बाक्लो फोम भएको ब्रा थियो । पाइन्ट-सर्ट होइन, शरीरमा कुर्ता-सलावर सजिएको थियो । केश बढेर गर्धनसम्म आएको थियो ।

'रातदिन काम गरेर ४ हजार डलर जम्मा गरी थाइल्यान्ड गएँ । त्यहाँ मैले कृत्रिम स्तन राखें ।' शरीर परिवर्तनको रहस्य खोल्दै अञ्जली भन्छिन्, 'हुन त स्त्रैण हार्मोनहरू खाएर आफूलाई परिवर्तन त गरेकी थिएँ तर कृत्रिम स्तन राखेपछि भने आफूलाई पूर्ण महिला मान्न थालेकी छु ।'

झट्ट हेर्दा उनी कुनै बेला पुरुष थिए भनेर पत्याउन मुस्किल पर्छ । स्वर थोरै फरक भएकाले मानिसले लख काट्न सक्छन् । 'अझै पनि म पूर्ण महिला भएकी छैन ।' साप्ताहिकसँग खुल्दै जाँदा उनले अति गोपनीय कुरा पनि खोलिन् । 'मेरो शरीरमा अझै पुरुष जनेन्दि्रय छ । थाइल्यान्ड गएर शल्यक्रिया गराएर महिला जनेन्दि्रय राख्ने चाहना छ । त्यसका लागि २५ हजार डलर जति खर्च हुन्छ, जसका लागि रातदिन काम गरिरहेकी छु ।'

अहिले उनी एउटा युवकको प्रेममा छिन् । आफ्नो प्रेम सफल बनाउन पनि उनी महिला अङ्ग प्रत्यारोपण गर्न चाहन्छिन् । 'मेरो प्रेमी यतिमै खुसी छ तर म उसलाई अझै खुसी दिन चाहन्छु ।'

बुवा भन्छन्

जन्मदा छोरा नै जन्मिएको थियो । छोरो जन्मियो भनेर मेरी श्रीमती कम्ता रोएकी होइन । धेरै सम्झाएपछि र अरू दुईवटी छोरी भएपछि उसले चित्त बुझाएकी थिई, तर अहिले त यो पनि छोरी हुँ पो भन्छ । कसरी पत्याउनु ?

पहिलेदेखि नै छोरीको जस्तो व्यवहार थियो । हलो जोत्न नमान्ने तर घरभित्र काम गर्न भनेपछि मरिहत्ते गथ्र्यो । अहिले छोरीकै लुगा लगाएर भन्छ, बुवा म छोरी भएँ । मेरा लागि केटा खोज्नु भनेर जिस्क्याउँछ ।

छाती माथि छोरीको जस्तो स्तन पलाएका छन् । तल पनि महिलाकै जनेन्दि्रय राख्न मिल्छ रे । त्यसका लागि पैसा कमाइरहेको छ रे । हन हौ, यो कस्तो जुग आयो ? अब के म आइमाई हुन्छु भनेर सोच्यो भने त्यस्तै हुन्छ र ? यस्तो पनि हुन्छ भनेर कसरी पत्याउनु ?

मैले त उसलाई भन्दिएको छु, म मर्ने बेलामा घर नआउनू ।

डोल्मा लामा, साथी

मलाई सानैदेखि थाहा थियो, ऊ केटा हो, तर उसको व्यवहार केटाजस्तो थिएन । बोल्ने, हिँड्ने आदि सबै व्यवहार केटीकै जस्तो थियो । उ मसँग आफ्ना गोप्य कुरा पनि भन्थ्यो । त्यही भएर ऊ केटी भएकोमा मलाई आश्चर्य लागेको छैन । गाउँमा उसको कुरा काट्नेहरू पनि छन्, तर म ऊ केटा हुँदा कति दु:खी थियो, अहिले कति खुसी छे भनेर गाउँलेहरूलाई सम्झाउँछु । मान्छेले आफ्नो इच्छा अनुरूप बाँच्न पाउनुपर्छ । उसले कसैको केही बिगारेको छैन, अरूलाई दु:ख दिएको पनि छैन । त्यसैले मैले उसले आफ्नो खुसीका लागि गरेको यो परिवर्तनमा साथ दिइरहेको छु ।

मोहन राई, निर्देशक

दर्जनौ वृत्तचित्र बनाइसकेपछि मलाई तेस्रोलिङ्गीका विषयमा पनि काम गर्न मन लाग्यो ।

जब मैले अञ्जलीलाई वृत्तचित्रका लागि छानें, यो पात्र यति सशक्त होला भन्ने लागेको थिएन । पहाडको एउटा गरिब परिवारबाट आएको व्यक्ति यति निडर होला भन्ने कल्पनासम्म गर्न सकिँदैन । मैले धेरै तेस्रोलिङ्गीलाई भेटेको छु । उनीहरू बाहिर चिनिन चाहँदैनन् । अञ्जलीले आफूलाई पहिलो ट्रान्सजेन्टर मोडलका रूपमा चिनाइन् । धेरैले उनलाई ट्रान्सजेन्डर भएकै कारण मोडलिङको अवसरबाट वञ्चित गरे, तैपनि उनले हिम्मत हारिनन् ।

अरूले यति हेंला गर्दा, नराम्रो भन्दा मानिस या त निरास भएर फिल्ड छाड्छ या त विद्रोही भएर गलत बाटो समाउँछ । उनी भने एक दिन आफ्नो कुरा समाजले बुझ्छ भन्ने कुरामा अडिग छिन् । जसले जतिसुकै नराम्रो भनून्, उनी रातदिन समाजको दृष्टिकोण परिवर्तन गर्न लागिरहेकी छिन् ।

अञ्जली राम्री त छिन् नै, तर यो सौन्दर्यमा उनलाई घमन्ड भएको पनि देखिँदैन । कसैले उनलाई तिमी कति राम्री भन्नेबित्तिकै उनी बच्चाजस्तै खुसी हुन्छिन् । अञ्जली मोडलिङ गरेर कमाएको पैसाले शल्यक्रिया गर्न चाहन्छिन् । यस्तै दु:ख गरेर उनले कृत्रिम स्तन बनाइन् । अञ्जलीलाई देख्दा मलाई लाग्छ, मानिसले चाह्यो भने जुनसुकै इच्छा पूरा गर्न सक्छ ।

प्रकाशित :चैत्र ६, २०७१

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्