विवाह गरिन् सुमिनाले

विवाह गरिन् सुमिनाले

फाल्गुन २९, २०७१

अन्तत: नायिका सुमिना घिमिरेले एकजना पाइलटसँग गहिरो प्रेम सम्बन्धमा रहेको चर्चालाई गत सोमबार सत्य सावित गरिन् । पाइलट प्रेमी रोशन सापकोटासँग उनले विधिवत् विवाह गरेपछि उक्त हल्ला वास्तविकतामा परिणत भएको छ । पेसाले पाइलट भए पनि केही म्युजिक भिडियोमा मोडलिङ गरेर आफ्नो रहर पूरा गरेका सापकोटासँग म्युजिक भिडियोकै निर्माण क्रममा घिमिरेको प्रीत बसेको थियो । सुमिनाले यो कुरा गोप्य राख्न नखोजेकी होइनन्, तर फेसबुकमा सुमिनाले रोशनलाई बियर ख्वाइ रहेको एउटा तस्बिरले उनीहरूको प्रेमको सबै पोल खोलिदियो । नयाँ बानेश्वरको इन्द्रेणी कम्प्लेक्सको पार्टी प्यालेसमा आफन्त तथा साथीभाइमाझ सामान्य कार्यक्रमबीच रोशन र सुमिनाको विवाह बैदिक विधिपूर्वक सम्पन्न भएको थियो ।

कुनै समय वास्तविक नाम मीना घिमिरेका रूपमा चलचित्र नायिका हुन संघर्षरत सुमिनाले साप्ताहिकको पहलमा सुमिना नामबाट साइबरसंसार डटकममा तस्बिर खिचाएपछि उनी निर्देशक ज्ञानेन्द्र देउजाको नजरमा परेकी थिइन् । निर्देशक देउजाको चलचित्र 'छविलाल कञ्जुस छैन' सुमिनाको पहिलो चलचित्र हो, तर प्रदर्शनको हिसाबले पहिले रिलिज भएको चलचित्र 'दुलही' को सफलतापछि उनी धेरै चलचित्रकर्मीको नजरमा परिन् । त्यसपछि उनले पछाडि फर्केर हेर्नु परेको थिएन । राम्री र अभिनय एवं नृत्य आदि विधामा पारंगत नायिकाका रूपमा राम्रो छवि बनाउँदै गएकी सुमिनाले पछिल्लो समय 'अप्रिल फुल', 'नाइन ओ क्लक', 'लभ फरेभर', 'स्टार' जस्ता चलचित्रमार्फत कामुक नायिकाको छवि बनाउने असफल प्रयत्न गरिन्, जसका कारण उनले केही विवादको सामना पनि गर्नुपर्‍यो । विवाहको कुरा चलेदेखि नै सुमिनाले अब चलचित्रमा काम नगर्ने उद्घोष गरिसकेकी छिन् । यसअर्थमा 'माला' सुमिनाको अन्तिम चलचित्र हुनसक्छ ।

प्रकाशित :फाल्गुन २९, २०७१

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्