होली र भाङ

होली र भाङ

- डा. बालकृष्ण साह

फाल्गुन १५, २०७१

सामान्यत: होलीमा बढी प्रचलित नसालु तथा मादक पदार्थ हो— भाङ । होलीमा घरका सदस्य अनि साथीहरूका साथ भाङको आनन्द लिन पाउनुको पनि आफ्नै महत्त्व तथा रमाइलो छ । यस्तो रमाइलो अवस्थामा पनि अत्यधिक मात्रामा भाङ तथा अन्य नशालु पदार्थको सेवनले दुर्घटना निम्त्याएका खबरहरू सुनिन्छ ।

गाँजा र भाङ दुवै एकैजस्ता देखिए पनि यिनीहरू एउटै समूहका भिन्दाभिन्दै प्रजाति हुन् । यिनलाई प्रयोग गर्ने तरिका पनि फरक-फरक छ । सामान्यत: गाँजाको धूवा सेवन गरिन्छ । गाँजालाई चुरोटमा हालेर तथा चिलिम (पट) मा राखेर धूवाँ तानिन्छ, तर भाङ मिठाईमा हालेर वा रसिलो झोल (घोटा) बनाएर खाइन्छ । होलीमा गाँजाभन्दा पनि भाङलाई बढी महत्त्व दिइन्छ । यी पदार्थ सेवन गरेको आधा घण्टा नबित्दै असर हुन थाल्छ । यी दुवै पदार्थको असर लामो समयसम्म रहने भए पनि भाङभन्दा गाँजाले चाँडो छोड्छ ।

थोरै मात्रामा गाँजा तथा भाङ सेवन गरेका बेला आफूलाई कुनै पनि कुराको राम्रो जानकारी तथा अनुभव नहुने, ठाउँ र समयको राम्रो ज्ञान नहुने, शान्त रहने आदि हुन सक्छ । कसै-कसैलाई स्मरणशक्तिमा असर गर्ने, एकाग्रतामा कमी आउने, सोच्न नसक्ने आदि हुन सक्छ । अत्यधिक मात्रामा गाँजा, भाङ सेवन गरेको अवस्थामा धेरै भोक र तिर्खा लाग्ने, वाक-वाक लाग्ने टाउको भारी हुने, चक्कर लाग्ने, हात-खुट्टा काँप्ने, मुख सुख्खा हुने, मुटुको धड्कन बढ्ने, बारम्बार पिसाब लागिरहने, आफूलाई चलाख र स्वतन्त्र अनि सबै कुराको ज्ञाता महसुस गर्ने हुन सक्छ । कसै-कसैलाई निद्रा नलाग्ने, हँसिलो देखिने तथा हाँसिरहने, विभिन्न किसिमको सोच विचार आउने, नभएको कुरा देख्ने, नबोलेको सुन्ने, धेरै बोल्ने आदि हुन सक्छ । गाँजा, भाङ तथा चरेसको एकैपटकको सेवनबाट मृत्यु नै हुुने सम्भावना हुन्छ ।

फागुपर्वमा गाँजा, भाङसँगै कडा अनि चाँडै लाग्ने वा मताउने धतुरोको प्रयोग पनि हुने गरेको छ । सेतो वा बैजनी रंगको फूल भएको दुई थरीका धतुरो हाम्रो देशमा पाइन्छन् । यी दुवै थरीका फूल र बियाँ नशालु तथा विषालु हुन्छन् । यसका बियाँमा हायोसाइन, हायोसायमाइन तथा केही मात्रमा स्टरोपिन नामक रसायन हुन्छन् । यी रसायनले सोझै केन्द्रीय स्नायु प्रणलीमा असर गर्छन् । सुरुमा मस्तिष्कलाई उत्तेजित गर्ने अनि सुस्ताउने र अन्तमा पक्षाघातसम्म हुन्छ । यस्ता पदार्थ सेवन गरे मुख तथा घाँटी सुक्ने, स्वर सुक्ने, पेट पोल्ने, बान्ता हुने, आफन्त तथा साथीभाइलाई नचिन्ने, आँखाको नानी ठूलो हुने, उज्यालोमा हेर्न गाह्रो हुने मुटुको धड्कन १ सय २० प्रति मिनेटभन्दा पनि बढी हुने, शरीरको तापक्रम बढ्ने आदि हुन सक्छ । अत्यधिक मात्रामा धतुरोको बियाँ सेवन गरेको एक-दुई घण्टाभित्रै मानिस वेहोस हुने कोमा (अचेत) मा जाने तथा मृत्युसमेत हुन सक्छ । शून्य दशमलव ६ देखि १ ग्राम धतुरोको बियाँ मानिसको मृत्युका लागि पर्याप्त हुन्छ ।  

चाडवाडको बहानामा गाँजा, भाङ, धतुरो आदि जस्तै जाँड-रक्सी वा अन्य मादक पदार्थको सेवन अत्यधिक मात्रामा गर्ने चलन बढ्दै गएको छ । यस्तो गतिविधिले आफैंलाई नोक्सान गर्ने हुँदा समयमै विचार पुर्‍याउनुपर्छ । यस्ता पदार्थ अत्यधिक मात्रामा सेवन गर्नु हुँदैन । थोरै मात्रामा सेवन गरेको अवस्थामा पनि आफूलाई रमाइलो भन्दा पनि गाह्रो हुन थालेपछि पानी बढी पिउने (ग्लुकोज पानी पिउने) तथा तुरुन्त स्वास्थ्य संस्थामा गएर चिकित्सकको सिफारिसअनुसार औषधी सेवन गर्नुपर्छ । अत्यधिक मात्रामा नशा सेवन गरेको व्यक्तिलाई अस्पताल भर्ना गर्नुपर्ने हुन्छ । बिरामीलाई मानसिक एवं दीर्घकालीन असरसमेत पर्न सक्छ । त्यसैले रमाइलो र मस्तीको यो पर्वलाई रमाइलोमै सीमित राख्न भाङ, गाँजा तथा अन्य नशालु पदार्थ सेवन गर्नु हुँदैन ।

प्रकाशित :फाल्गुन १५, २०७१

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्