नेपालीको पुस्तक नोवेल महोत्सवमा पर्नु ठूलो कुरा हो

नेपालीको पुस्तक नोवेल महोत्सवमा पर्नु ठूलो कुरा हो

माघ २३, २०७१

राजन थपलिया अमेरिकाको म्यानहटनको मेन्डन अस्पतालमा स्वास्थ्य अनुसन्धानकर्ताका रूपमा कार्यरत छन् । धादिङको त्रिपुरेश्वरमा जन्मिएका राजन २६ वर्षका भए । उनको पुस्तक लाइफ नट इजीले विश्वविख्यात नोबेल लिट्रेचर प्राइज शीर्षकको पुस्तक महोत्सवको २०१५ को संस्करणमा प्रवेश पाएको छ । क्यानेडियन लेखक केबी एन ब्राडीको सहलेखन रहेको उक्त पुस्तक मानिसका भोगाइमा आधारित भएकाले उक्त महोत्सवमा समावेश गरिएको त्यसका आयोजकहरूले जनाएका छन् । राजनले यसअघि थिङ्क अबाउट इट, सिम्पल्ा रुल्स, टर्निङ प्वाइन्ट्स, स्विट स्पिचजस्ता पुस्तक सार्वजनिक गरिसकेका छन् । आगामी वर्ष उनको वी रेडी शीर्षकको पुस्तक बजारमा आउँदैछ ।

२६ वर्षको उमेरमा पाँचवटा पुस्तक, त्यसमा पनि एउटा पुस्तक नोबेल लिट्रेचर प्राइज जस्तो प्रतिष्ठित महोत्सवका लागि छानिनु ठूलो कुरा होइन ?

अमेरिकामा उमेर होइन, काम हेरिँदो रहेछ । म अनुसन्धान गर्छु । नेपालजस्तो मुलुकबाट आएको छु । यस्तो व्यक्तिको अनुभव फरक हुँदो रहेछ । यहाँ भावना भन्दा पनि ज्ञान बिक्री हुन्छ । म यहाँका लेखकजस्तै धेरै ज्ञान भएको मान्छे त होइन, तर मेरो सोचाइलाई यहाँका मानिसले फरक रूपमा लिए । पूर्वीय चिन्तक ओशोदेखि अमेरिकी राष्ट्रपति बाराक ओबामालाई सँगै राखेर पुस्तक लेखेको हुनाले यसलाई उनीहरूले राम्रो मानेको हुनुपर्छ ।

उक्त महोत्सवका लागि कसरी पुस्तक छानिन्छ ? के यो ठूलो उपलब्धि हो ?

उक्त महोत्सवमा छानिने सबै प्रक्रिया मलाई पनि थाहा छैन । तैपनि हाम्रो पब्लिकेसन्सले निकालेका दर्जनौं पुस्तकमध्ये दुई पुस्तक नामाङ्कित भएको सूचना मैले प्रकाशकबाट पाएको हुँ । यो धेरै ठूलो उपलब्धि त होइन तर क्रिकेटमा नेपालले विश्वकप खेल्ने अवसर पाउनुजस्तै हो ।

कहिलेदेखि लेख्न थाल्नुभएको हो ?

एसएलसी उत्तीर्ण गरेपछि म अमेरिका आएँ । यहाँ आएदेखि नै निरन्तर लेखिरहेको छु । पहिलो पुस्तक लेख्दा म २१ वर्षको थिएँ, तर दुईवटा प्रकाशन संस्थाले मेरो पुस्तक छाप्न मानेनन् । त्यसैले पुस्तक बजारमा आउन ढिला भयो । अहिले मलाई ब्रान्र्स एन्ड नोबेल नामक संस्थाले अनुबन्ध गरेको छ । उसैका लागि वर्षमा एउटा पुस्तक लेख्ने सम्झौता भएको छ ।

पुस्तकको बिक्री कस्तो छ, कति लेखकस्व पाउनुहुन्छ ?

नयाँ लेखक भएका कारण सुरुमा थोरै परिश्रमिक दिन्छन् । पुरानो हुँदै गएपछि लेखकस्व पनि बढ्दै जाँदो रहेछ । अहिलेसम्म मैले लेखकस्वबापत १४ हजार डलर पाइसकेको छु । अब म अमेरिकामा पूर्णकालीन लेखक भएर बाँच्न सक्छु ।

तपाईंको पुस्तक नेपालमा पाइँदैन, किन होला ?

अमेरिका, युरोप र भारतका मुख्य सहरसम्म मेरा पुस्तक पुगेका छन् भन्ने खवर प्रकाशकले दिएका छन् । नेपालमा माग नभएका कारणले पनि त्यस्तो भएको हो कि ?

प्रेम बन्धन

समयको एक अँगालो स्पर्शसँगै

सुस्तरी कोही चिहाएको छ

पक्कै पनि मेरो शाश्वत् प्रेम हुनुपर्छ

जीवनरूपी प्रेमको मौसम हुनुपर्छ ।

 

सहरका यी कर्कश गल्लीहरूमा

नाराहरूको विशाल जुलुसभित्र

वर्षौंदेखि एक्लो थिएँ म एक्लो

प्राणहीन चोकहरूमा छरिएर

लड्दालड्दै उनीहरूका विरुद्ध

थकित भएको थिएँ असाध्यै,

मेरो प्रेम

तिम्रो आगमनले

लड्ने शक्ति दिएको छ मलाई

मेरो प्रेम

तिम्रो उपस्थितिका कारण

उत्सर्गित भएको छु बलिदान हुन ।

मेरो प्रेम

तिमी समाहित भयौ ममा

अब म पनि समाहित हुन्छु तिमीमा ।

मेरो प्रेम

तिमीलाई पाएर

म बलशाली भएको छु यतिबेला

मेरो प्रेम

तिम्रो न्यानो अँगालोमा

म शक्तिशाली भएको छु यतिबेला ।

पठनीय

सहरी जीवनमा महिलाले भोग्ने दु:खका अनौठो कथा लेख्ने आन्विका गिरीको यो पुस्तकमा माओवादी द्वन्द्वको कथा प्रस्तुत गरेकी छिन् । माओवादी 'जनयुद्ध' पछि धेरै नेता सत्ता र शक्तिमा पुगे पनि जसले त्यसमा योगदान दिएका थिए ती अझै दु:खद अव्ास्थामा रहेको कथा यो उपन्यासले भन्छ । समीक्षकहरूले यो उपन्यासलाई माओवादी द्वन्द्वले सिर्जना गरेको नयाँ पाटोको कथा बताएका छन् । यसअघि 'कम्युनिस्ट' कथा संग्रह बजारमा ल्याएकी आम्बिका महिला सशक्तीकरणको कुरा गर्दा पुरुषलाई गाली गर्नु हुँदैन भन्ने मान्यता राख्छिन् ।

पुस्तक : मान्छेको रङ् लेखक : आन्विका गिरी मूल्य : ३७५।-प्रकाशन : साङ्गि्रला बुक्स

प्रकाशित :माघ २३, २०७१

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्