१५ औं आइसिटी सम्मेलन

१५ औं आइसिटी सम्मेलन

माघ १६, २०७१

कम्प्युटर एसोसिएसन अफ नेपाल (क्यान) महासंघले यो वर्ष पनि आइसीटी सम्मेलन आयोजित गर्ने भएको छ । १५ औं आइसिटी सम्मेलन माघ १८ र १९ गते एभरेस्ट होटल नयाँ बानेश्वरमा सञ्चालन हुन गैरहेको छ । सूचना तथा सञ्चार क्षेत्रको विकास, विस्तार एवं प्रवर्द्धनका लागि सम्मेलन आयोजना गर्न लागिएको आइसिटी सम्मेलन संयोजक रोमकान्त पाण्डेले बताए । 'विकास र सामाजिक रूपान्तरणका लागि सूचना प्रविधि' भन्ने नाराका साथ सञ्चालन हुन लागेको यो सम्मेलनमा थुप्रै स्वदेशी तथा विदेशी प्रविधि विज्ञहरूको सहभागिता रहनेछ । सम्मेलनमा सामाजिक, आर्थिक तथा राजनीतिक क्षेत्रमा प्रविधिको महत्वका सम्बन्धमा विशेष बहस हुनुका साथै विषयविज्ञहरूबाट कार्यपत्रहरूसमेत प्रस्तुत गरिनेछ ।

सम्मेलनको पहिलो दिन 'इमर्जिङ टेक्नोलोजी फर आइसिटी' विषयमा विभिन्न कार्यपत्र प्रस्तुत हुनेछ । यसअन्तर्गत क्लाउड कम्प्युटिङ, विग डाटा, मोबाइल कम्प्युटिङ, टेलिमिडिया, इकोसिष्टम, प्रेडिक्टिभिटी एनालाइसिस, जेनेटिक प्रोफाइलिङ, डिजिटल बबल आदि विषयमा छलफल तथा बहस हुनेछ । यसका लागि एलआइएम अहमदावादका प्राध्यापक सुभाष भटनागर प्रमुख वक्ताका रूपमा उपस्थित हुनेछन् । उनले उक्त विषयमा विशेष कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम छ । प्रविधिको विस्तार तथा चुनौती विषयक सम्मेलनमा पाकिस्तानका प्रविधि विज्ञ नाभिड नागाले विशेष कार्यपत्र प्रस्तुत गर्नेछन् ।

त्यस्तै दोस्रो सेक्सनमा 'पब्लिक सर्भिस डेलिभरी र गभर्मेन्ट ट्रान्सर्फमेसन' अन्तर्गत भारतीय इ-गभर्मेन्सविज्ञ जयलक्ष्मी चितुर प्रमुख वक्ताका रूपमा सहभागी हुनेछन् । यसअन्तर्गत विभिन्न सरकारी निकायका उच्चपदस्थ व्यक्ति, राजनीति दलका नेता तथा थुपै्र नेपाली प्रविधिविज्ञको सहभागिता हुनेछन् । यसअन्तर्गत आधुनिक तथा गुणस्तरीय सार्वजनिक सेवा, इ-हेल्थ, इ-एजुकेसन, इ-एगि्रकल्चर, डिजिटल सिग्नेचर, सेक्युरिटी एन्ड प्राइभेसी, इ-गर्भमेन्सजस्ता विषयमा छलफल तथा बहस हुनेछ ।

सम्मेलनको दोस्रो दिन ज्ञानमा आधारित उद्योग तथा रोजगार विषयक सम्मेलन हुनेछ । यसअन्तर्गत ज्ञानमा आधारित उद्योगलाई कसरी प्रभावकारी बनाउन सकिन्छ ? नेपालमा यसका चुनौतीहरू के छन् ? विश्व बजारको अवस्था कस्तो छ ? भन्ने विषयमा कार्यपत्र प्रस्तुत गर्नुका साथै त्यसमाथि बहस गरिनेछ । यसका साथै सूचना प्रविधिका लागि व्यवसायिक सीप विकाससम्बन्धी बहस सञ्चालन हुनेछ । यसको पहिलो चरणका लागि प्रोफेसनल कम्प्युटर सिष्टमका प्रमुख सुरेश रेग्मी प्रमुख वक्ता रहनेछन् । रेग्मीले ज्ञानमा आधारित प्रविधिको विकास, विस्तार एवं सम्भाव्यताका बारेमा कार्यपत्र प्रस्तुत गर्नेछन ।

त्यस्तै दोस्रो चरणमा 'प्रोफेसनल स्किल डेभलपमेन्ट फर आइसिटी' विषयमा बहस हुनेछ । यसअन्तर्गत अध्यापन तथा सिकाईमा आइसिटीको प्रयोग, सफ्टवेयर इन्जिनियरिङ, प्रोजेक्ट म्यानेज्मेन्ट, क्वालिटी कन्ट्रोल, नलेज प्रोसेस आउटसोर्सिङजस्ता विषयमा छलफल हुनेछ । यो चरणका लागि भारतमा प्राविधिक सीप विकास क्षेत्रमा अनुभवी सुधिर कारवाँ प्रमुखवक्ताका रूपमा प्रस्तुत हुनेछन् । यसै अन्तर्गत एकेडेमिक प्रशिक्षण एवं वास्तवीकताबीचको फरक र यथार्थका बारेमा समेत बहस समेत सञ्चालन हुने क्यानले जनाएको छ । सम्मेलनमा मुलुकभरबाट सयभन्दा बढी आइटी प्रोफेसनलहरूको सहभागिता रहने क्यानको दाबी छ ।

सम्मेलन सरकारी नीति निर्माता, टेलिकम अपरेटर, बैंकर्स, आइएसपीएस, आइसिटी प्रोफेसनल, एकेडेमिसिएन, पत्रकार, कानुनकर्मी, एप्लिकेसन डेभलपर्स, एप्लिकेसन मेनेजर्स, टेक्नो इन्ट्रेप्रेनियर, प्रोडक्ट म्यानेजर, इन्फरमेसन एक्टिभिस्ट, विद्यार्थी आदिमा लक्षित हुने क्यानका अध्यक्ष विनोद ढकालले बताए ।

— रामजी बलामी

ई-सेवा ३० लाख जनसंख्यामा

मोबाइलबाटै किनमेल र कारोबार सेवा प्रदान गर्दै आएको ई-सेवाको लोकप्रियता चुलिँदै गएको छ । ई-सेवा अनलाइनबाटै कारोबार गर्ने १ करोड जनसंख्याको पहुँचमा पुग्ने बताएको छ । घरमै बसेर विभिन्न किसिमका बिल भुक्तानी तथा कारोबार गर्दा समय र लागत दुवैको बचत हुने हुनाले ई-सेवाले छोटो समयमै लोकप्रियता हासिल गरेको छ । यो सेवा पहिलो पेमेन्ट गेटवे ई-सेवा फोन पेको उत्पादन हो ।

२०६७ देखि आफ्नो सेवा प्रारम्भ गर्ने ई-सेवाले नेपालका ७५ वटै जिल्ला, ३ हजारभन्दा बढी गाविस र सबै नगरपालिकामा मोबाइल तथा इन्टरनेटबाट कारोबार गर्दै आएको छ । ई-सेवाले ३० लाखभन्दा बढी मानिसमा प्रत्यक्ष/अप्रत्यक्ष रूपमा आफ्नो सेवा विस्तार गरेको छ । ई-सेवामा एकाउन्ट खोलेर कारोबार गर्नेहरूको संख्या मात्र अहिले ३ लाखको हाराहारीमा छ भने देशभर रहेका करिब ९ हजार ई-सेवा जोन तथा प्वाइन्ट नेटवर्कमार्फत करिब ३० लाख व्यक्तिले सेवा उपयोग गर्दै आएका छन् ।

मोबाइल एप्लिकेसन डाउनलोड गरी मोबाइलबाट यो सेवा प्रयोग गर्नेहरूको संख्या करिब १ लाख पुगेको ई-सेवाका प्रमुख कार्यकारी अधिकृत असगर अलिले बताए । अलिले छोटो समयमै लोकप्रिय भएको यो सेवालाई थप सुविधासहित उपभोक्तामाझ ल्याउने जानकारी दिए । ई-सेवाको प्रयोगबाट विभिन्न किसिमका भुक्तानी गर्न, कसैलाई पैसा पठाउन, पाउन र तिर्न सकिन्छ । ई-सेवाले मोबाइलबाट मोबाइल रिचार्ज, टेलिफोन, बिजुली, खानेपानी तथा इन्टरनेटको बिल भुक्तानी, डिसहोम रिचार्ज, टपअपजस्ता अनेकौं सेवा प्रदान गर्दै आएको छ । यसमार्फत देशका विभिन्न्ा गन्तव्यमा जान हवाईजहाज तथा बस टिकट समेत खरिद गर्न सकिने व्यवस्था छ । ई-सेवाले मुलुकका ५० भन्दा बढी बैंक तथा वित्तीय संस्थाहरूसँग सहकार्य गर्दै आएको छ ।

कम्पनीले हाल ई-सेवा एकाउन्ट नभएका ग्राहक, एकाउन्टमा रकम नभएको अवस्थामा सेवा लिन तथा एकाउन्टमा रकम जम्मा गर्न सहज तुल्याउन देशका ७५ वटै जिल्ला, ३ हजारभन्दा बढी गाविस तथा सबै नगरपालिकामा ८ हजारभन्दा बढी ई-सेवा जोन तथा प्वाइन्ट स्थापना गरेको छ ।

— गोपाल मरासिनी

इन्फोटेक बहस

डिजिटलाइजेसन गर्नुपर्‍यो : सूदन झा

अहिले आइटीको विकास तीव्र गतिमा भैरहेको छ । यो सकारात्मक कुरा हो । अहिले हरेक क्षेत्र आइटीसँग गाँजिएको छ । आइटीले जीवनशैलीलाई सहज र सरल बनाइदिएको छ । इन्फोटेकले प्रविधिका बारेमा सर्वसाधारणमा चेतनास्तर त बढाएको छ, तर जति हुनुपर्ने त्यो भएको अवस्था छैन ।

 इन्फोटेक सहरकेन्दि्रत देखिन्छ । यो राम्रो कुरा होइन । हरेक कुरा डिजिटलाइजेसन भैरहेको अवस्थामा इन्फोटेक पनि अनलाइनमार्फत गर्न सकिन्छ । क्यानले यसतर्फ ध्यान दिनुपर्ने उपयुक्त हुन्छ । अहिले भैरहेको प्रदर्शनी व्यापारिक प्रयोजनमा केन्दि्रत भएजस्तो देखिन्छ । त्यस्तै हरेक इन्फोटेकमा आइटी सम्मेलन हुने गरेको छ तर त्यसको ठोस परिणाम देखिँदैन ।

यो दु:खद कुरा हो । उक्त सम्मेलनलाई नीति निर्माणको क्षेत्रसम्म पुर्‍याउनुपर्ने आवश्यकता छ । अहिले जमाना अनलाइनको भएकाले इन्फोटेक पनि अनलाइनबाटै गर्न सकिन्छ । विगतमा जसरी हुँदै आएको छ, अझै पनि त्यही शैलीमा प्रदर्शन गर्नु त्यति सुहाउँदो भएन । विपन्नवर्गलाई सूचना-प्रविधिको पहुँचमा ल्याउन समेत विशेष कार्ययोजना ल्याउनुपर्छ ।

प्रयोगका बारेमा पनि जानकारी दिनुपर्‍यो : किशोर पन्थ

इन्फोटेकले प्रविधिका बारेमा चेतना फैलाएको छ । यसलाई सकारात्मक रूपमा लिनुपर्छ । प्रविधि भनेको निरन्तर परिर्वतनशील हुन्छ । त्यसलाई स्ािक्न जरुरी छ । इन्फोटेकलाई अझ प्रभावकारी बनाउन सकिन्छ । प्रविधि बजारमा छ भनेर थाहा पाएर मात्र हुँदैन, त्यसलाई कसरी प्रयोग गर्ने, त्यसका फाइदा/बेफाइदा के हुन भन्ने कुरा पनि बुझ्न जरुरी छ । कुनै पनि क्षेत्रमा प्रविधिको प्रयोग कसरी गर्ने त्यसबाट के-कस्तो प्रभाव पर्छ भन्ने विषयमा पनि सर्वसाधारणलाई जानकारी दिनुपर्छ । प्रविधिले विगतको तुलनामा निकै फड्को मारेको छ, तर त्यसबाट हामीले पर्याप्त फाइदा लिन सकेका छैनौं । प्रविधिको सही प्रयोग गर्न सकेको खण्डमा व्यक्तिको जीवनशैली नै फेरिन्छ, तसर्थ यी कुरामा ध्यान पुर्‍याउनु आवश्यक छ । सरकारले पनि बनेका नीति एवं कार्यक्रमहरूलाई प्रभावकारी ढंगले सम्पादन गर्नुपर्ने देखिन्छ ।

नयाँ-नयाँ प्रविधिका बारेमा बझ्ने मौका हो : नारायण न्यौपाने

प्रविधिका बारेमा बुझ्न इन्फोटेक विशेष अवसर हो । यो व्यापारिक थलो मात्र नभएर बजारमा आएका नयाँ प्रविधिहरूका बारेमा जानकारी लिई त्यसको प्रयोगका सम्बन्धमा जान्ने अवसर पनि हो । प्रविधिको विकाससँगै इन्फोटेकमा राखिने वस्तु तथा सेवाहरूमा पनि फेरबदल आएको छ । विगतमा हार्डवेयर उत्पादन मात्र हुन्थ्यो, अचेल सफ्टवेयर तथा सर्भिस स्टलहरू बढी हुन्छन् । विशेषत: इन्टरनेट प्रदायक, केवुललगायत सेवाप्रदायकको उच्च प्रतिस्पर्धा हुने गरेको छ । अहिले सर्वसाधारणमा चेतनास्तर पनि बढेको छ । हरेक वर्ष नयाँ उत्पादन तथा सेवाहरू सार्वजनिक भैरहेका छन् । सहभागीहरूबीच हुने कडा प्रतिस्पर्धाले अवलोकनकर्तालाई थप फाइदा पुर्‍याउँछ । इन्फोटेक राजधानीमा मात्र नभएर मुलुकका पाँचै विकासक्षेत्रमा हुने गरेको छ । यसपटक क्यान महासंघमा गएकाले इन्फोटेक थप प्रभावकारी हुने आशा छ ।

सरकारले प्राथमिकतामा राख्नुपर्छ : राजीव सुब्बा

प्रविधिको विकास नेपालमा पनि तीव्र गतिमा भैरहेको छ । त्यही अनुसार चेतनाको स्तर पनि बढ्दो छ । इन्फोटेकको प्रारम्भताका १७ हजारको हाराहारीमा मात्र अवलोकनकर्ता हुन्थे, अहिले लाखौं पुगेका छन् । इन्फोटेकले एकातिर सर्वसाधारणलाई प्रविधिका सम्बन्धमा जान्ने अवसर प्रदान गरेको छ भने अर्कातिर व्यापारीहरूलाई आफ्नो उत्पादनको प्रदर्शन र व्यवसाय विस्तार गर्ने अवसर मिलेको छ । आइटीको विकासका लागि सरकारले यो क्षेत्रलाई प्राथमिकतामा राख्नुपर्छ । यो क्षेत्रको विकासका लागि भ्याट, ट्याक्स छुट दिने, नीति निर्माण गर्दा प्रभाथमिकतामा राख्ने र बनेका कार्ययोजनाहरूलाई प्रभावकारी ढंगले सम्पादन गर्नुपर्ने देखिन्छ । आइटी पार्क सञ्चालन गर्ने र प्रविधिको विकासका लागि आवश्यक पूर्वाधारहरू खरिदका लागि सहज वातावरण बनाई दिनुपर्छ । अर्को कुरा, प्रदर्शनीस्थल त्यति उपयुक्त देखिएन, यतातर्फ पनि ध्यान दिन जरुरी छ ।

इन्र्फमेसन डेस्क स्थापना गर्न सके राम्रो हुन्छ : बुद्धरत्न मानन्धर

सबै प्रविधिका बारेमा एउटै थलोबाट जानकारी प्राप्त गर्न इन्फोटेक राम्रो अवसर हो । व्यापारीहरूले पनि आफ्नो उत्पादनको प्रचारप्रसार एवं व्यापार गर्न पाउँछन् । क्रेता र विक्रेताको प्रत्यक्ष जमघट गराउने थलो हो— इन्फोटेक । प्रविधि बजारको विस्तारसँगै प्रदर्शनीस्थल अपुग देखिन्छ । ग्राहक तथा व्यवसायीहरूबीच अन्तक्रिर्या गर्न ठाउँ पर्याप्त छैन । अवलोकन गर्न आएका सबैले प्रविधिका बारेमा राम्रो जानकारी लिन सकेका छैनन् । त्यस्तै क्यानले ३६५ दिन नै इन्फर्मेसन डेस्क स्थापना गरेर प्रविधिका सम्बन्धमा जान्न चाहनेले जानकारी प्राप्त गर्ने व्यवस्था गर्न सकेको खण्डमा अझ राम्रो हुने थियो । क्यानले यसतर्फ ध्यान पुर्‍याउनुपर्छ । सरकारले पनि नीति निर्माण एवं कार्यान्वयनमा प्रभावकारी कदम चाल्नुपर्ने आवश्यकता छ ।

प्रकाशित :माघ १६, २०७१

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्