जसका कोही हुँदैनन्

जसका कोही हुँदैनन्

- अश्विनी कोइराला

माघ ९, २०७१

मानिसहरू भन्छन्- दु:खी र गरिबका कोही हुँदैनन् । अङ्ककुमारी पुनको कथा सुनेपछि लाग्छ, जसका कोही हुँदैनन्, उसका भगवान् हुन्छन् । अंककुमारीले पढ्न पाइनन्, त्यसैले हिसाव-किताब जान्दिनन् । जब-जब उनी जीवनबाट हार मान्थिन्, सबैले लत्याउँथे, तव थाहै नपाई भगवान्ले हात थामिदिन्थे । एकपटक होइन, पटक-पटक त्यस्तो अनुभव गरेपछि उनी आफैं पनि दाबी गर्छिन्, 'जसका कोही हुँदैनन्, उसका भगवान् हुन्छन् ।'

भगवान् एक

पर्वत जिल्लाको एउटा दुर्गम गाउँ बाँसखर्कमा जन्मिएकी थिइन्, अङ्ककुमारी । घरको कामले स्कुलको मुख देख्न पाइनन् । सहरमा पढ्न र राम्रो केटासँग विवाह गर्न पाइन्छ भन्ने सुनेकी थिइन्, यद्यपि सहर कहाँ छ उनले थाहै पाइनन् । उमेर बढ्दै गएपछि परिवारलाई विवाहको चिन्ता लाग्न थाल्यो । सबै निरास थिए ।

त्यही बेला भगवान्कै अवतार भएर देखा परे उदयपुरका कृष्ण राई । पेसाले मिस्त्री कृष्ण पाएको समयमा घरको ठेक्का पनि लिन्थे । एकपल्ट अङ्ककुमारी बेनी बजारमा दाइ पर्नेको घरमा केही समय बस्न आएकी थिइन् । त्यति बेलै कृष्णले अङ्ककुमारीलाई मन पराएका रहेछन् । केही दिनपछि अङ्क त घरतिर फर्किइन् तर कृष्णको मनसमेत लिएर गइन् । सोधी-खोजी गर्दै कृष्ण उनको घर पुगे । परिवारका अगाडि खर्चै नगरी टीका लगाएको भरमा कृष्णले लगन बाँध्ने वाचा गरे । यसरी केटा नै नपाइरहेको बेला अङ्ककुमारीले आफूभन्दा दुई वर्ष कान्छा कृष्णसँग विवाह गर्न पाइन् । 'मैले स्वस्थानीको व्रत त लिएकी थिइनँ, तर महादेव भन्दा राम्रो श्रीमान् पाएँ ।' अङ्ककुमारीले भनिन्, 'संसारका लोग्ने-स्वास्नीको झगडा हुन्छ भन्ने सुनेकी छु तर आजका दिनसम्म हाम्रो अँध्यारो मुख भएको छैन ।'

भगवान् दुई

सानैदेखि अङ्कुमारी रोगी थिइन् । उनको शरीरमा बेला-बेला देउता पनि चढ्थे । सबै दु:ख श्रीमान्लाई सुनाउन सक्दिनथिन् । श्रीमान् कमाउन गएका बेला उनी मुच्र्छा पर्थिन्, कृष्णले पछि मात्र खबर पाउँथे । यही बीच उनीहरूका दुई छोरा पनि भएका थिए । रोगी शरीर, दुई छोराको खर्च र डेराको जीवन, कसैगरी पनि तालमेल मिलाउन सकिनन् । कृष्ण विदेश गएर परिवारलाई सुखसाथ राख्ने दावी गर्दै बिदेसिए । पाँच वर्ष विदेश बसेर जति पैसा कमाए, उपचार र सन्तानको पालनपालनमै खर्च भयो । लगातार बिरामी भएपछि कृष्ण विदेशबाट फर्किए । पोखराको एउटा निजी अस्पतालमा बल्ल पत्ता लाग्यो, अङ्ककुमारीलाई मुटु रोग लागेको छ ।

यस्तो खबर सुन्दा पनि कृष्णले श्रीमतीलाई आत्तिन दिएनन् । आफू रातभरि रुन्थे तर श्रीमतीका अघि आँसु देखाउँदैन्ाथे । 'एक रात को सुँक्क सुँक्क गर्छ भनेर हेरेको त बूढा रुँदै रहेछन् । त्यो बेला दु:ख त लाग्यो तर यस्ता श्रीमान् तपस्या गरेर मात्र पाइन्छ, उनकै काखमा मर्न पाउँछु भन्ने लाग्यो । रोगी हुँदा पनि असल श्रीमान् पाउनु भाग्यको कुरा हो ।' अङ्ककुमारी चार वर्षअघिको घटना सम्झँदा भावुक हुन्छिन् ।

रोगको उपचार गर्न झन्डै सात लाख लाग्ने देखियो । उनीहरूसँग जम्मा नगद ४० हजार मात्र थियो । उक्त कुरा थाहा पाएपछि हृदयरोग केन्द्रका चिकित्सक भगवान् कोइरालाले भने, 'जिल्लाबाट कागज बनाएर ल्याउनू, म आधा पैसामै अप्रेसन गरिदिन्छु ।' डा. कोइरालाको कुरा सुनेर अङ्ककुमारी र कृष्ण खुसी भए । दुवैले एकसाथ भने, 'जसका कोही हुँदैनन्, उनका भगवान् हुन्छन् भन्ने सुनेका थियौं, हो रहेछ । डा. भगवान् कोइराला त्यसो भन्दा हामीलाई भगवान् नै भेटिएजस्तो भयो ।'

भगवान् तीन

अप्रेसन हुने बेला भयो तर १० हजार पनि कसैले दिएनन् । यस्तो बेला आफन्तहरू तर्की-तर्की हिँड्न थाले । नचिनेको मान्छेसँग हात फैलाउन आत्माले मानेनन् । 'म यति माया गर्ने बूढालाई ऋणमा डुबाएर मर्न चाहन्नथेँ । त्यसैले उपचार नगरी मर्न ठीक परें ।' अङ्कुमारी भन्छिन्, 'तर मेरा भगवान्ले मलाई मर्न दिएनन् । नयाँ उपाय सुझाइदिए ।'

एक दिन उनी आफ्नो पुरानो टेलिभिजन सेटमा एउटा नेपाली च्यानल हेर्दै थिइन् । त्यहाँ जल खाएर रोग निको भएका मान्छेको कथा प्रसारण भैरहेको थियो । पैसा तिर्नु नपर्ने, कुनै नियम पनि मान्नु नपर्ने त्यो उपचार शैलीले उनलाई तान्यो । उनी सातदोबाटोस्थित जमुना शाक्यको घर खोज्दै पुगिन् । 'त्यहाँ पुग्नेबित्तिकै मलाई म बाँच्छु भन्ने विश्वास लाग्यो । मैले त्यहाँ श्रद्धापूर्वक जल खाएँ । एक दुई बोतल घर पनि लिएर आएँ ।' अङ्ककुमारी भन्छिन्, 'मलाई सन्चो हुँदै गयो । एक वर्षपछि बिरामी पूरै निको भयो ।'

उनका श्रीमान् कृष्णलाई विश्वास लागेन । जँचाउन हृदय रोग केन्द्र लगे । डा. भगवान् कोइरालाले भल्व ठीक हुँदै गएको, अप्रेसन गर्नु नपर्ने तर केही औषधि नियमित खान सुझाव दिए । हिजोआज उनी नियमित औषधि खाइरहेकी छिन् । औषधिसँगै जमुना दिदीले दिएको जल पनि खान बिर्सन्नन् । मृत्यु पर्खेर ओछ्यान परेकी अङ्ककुमारी हिजोआज अरूको पनि उपचार गर्न थालेकी छिन् । उनीसँग पनि जल माग्न दैनिक दर्जनौं मान्छे आउँछन् । उनका घरबेटी रत्नकुमार श्रेष्ठ भन्छन्, 'मृत्युको मुखमा पुगेको मान्छे आफू त बाँचिन्, छिमेकीहरूलाई पनि रोग मुक्त पारिरहेकी छिन् ।'

 

प्रकाशित :माघ ९, २०७१

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्