'आगो-२' र 'बेबी'

'आगो-२' र 'बेबी'

माघ ९, २०७१

निर्देशन : मदन घिमिरे कलाकार : सुशील क्षेत्री, प्रिया रिजाल, सारिका घिमिरे, गणेश उप्रेती, रवीन्द्र खड्का, हेमन्त बुढाथोकी, गणेश गिरी तथा किसन सुनुवार ।

संगीतकार : विकास चोैधरी र सचिन सिंह

पुरानो चलचित्र 'आगो' को सिक्वेल 'आगो-२' को सार्वजनिक प्रदर्शन आज शुक्रबार प्रारम्भ हुँदैछ । पहिलो चलचित्रको सफलतापछि निर्माता तथा कथाकार किसन पोखरेलले यो सिक्वेल बनाउने हिम्मत गरेका हुन् । यसअघि थुप्रै रोमान्टिक तथा द्वन्द्वप्रधान चलचित्र निर्देशन गरिसकेका निर्देशक मदन घिमिरेले 'आगो-२' मार्फत पहिलो पटक राष्ट्रभक्तिपूर्ण चलचित्र निर्देशन गरेका छन् । चलचित्रमा अभिनेता सुशील क्षेत्री सञ्चारकर्मीको भूमिकामा देखा पर्छन् । राजनीतिक पार्टीहरूको गलत प्रवृत्ति बढेपछि कसरी एउटा सञ्चारकर्मी देशलाई नेतृत्व दिनसमेत सक्षम हुन्छ भन्ने कथा चित्रण गरिएको यो चलचित्रमा सञ्चार क्षेत्र राज्यको चौथो अंग भए पनि परिआएको खण्डमा पहिलो अंगसमेत बन्न सक्छ भन्ने विषयलाई रोमाञ्चक शैलीमा प्रस्तुत गरिएको छ । पुरानो गीत 'माया बस्यो मुटुमा' लाई राजेश पायल राई तथा टीका प्रसाईंले रिमिक्स शैलीमा गाएको यो चलचित्रका अन्य गीतमा प्रह्लाद तिमिल्सिना तथा आस्था राउतको स्वर सुन्न सकिन्छ । काठमाडौंबाहेक तातोपानी, मुडे, जिरी आदि क्षेत्रमा छायांकन गरिएको यो चलचित्रमा शिवम अधिकारीको पटकथा तथा संवाद छ ।

बेबी

निर्देशन : नीरज पाण्डे

कलाकार : अक्षक कुमार, ताप्सी पन्नु, राणा दग्गुबाती, अनुपम खेर, डेनी, केके मेनन, मधुरिमा टुली, रसिद नाज तथा सुशान्त सिंह ।

संगीतकार : मित ब्रदर्श

काठमाडौंमा समेत छायांकन गरिएको बलिउड चलचित्र 'बेबी' को प्रदर्शन आज शुक्रबार प्रारम्भ हुँदैछ । चलचित्रको कथाअनुसार भारतमा आतंकवादीहरूका त्यस्ता थुप्रै धम्की आइरहेका हुन्छन्, जसका बारेमा सर्वसाधारणलाई जानकारी हुँदैन । ती धम्कीहरूसँग सरकार आफ्नै तरिकाले जुधिरहेको हुन्छ । युनिर्फम लगाएका केही महिला तथा पुरुषहरू देशवासीको सुरक्षाका लागि दिनरात खटिरहेका हुन्छन् । अजय सिंह राजपूत -अक्षय कुमार) एक अनुसन्धान अधिकृत हुन् । उनलाई एउटा काउन्टर इन्टेलिजेन्स युनिटको नेतृत्वका लागि छनौट गरिन्छ । उनले आतंककारीहरूको भारतलाई हानि पुर्‍याउने तथा सर्वसाधारणको मनमा आतंक फैलाउने एउटा गोप्य योजनाका बारेमा जानकारी पाउँछन् । उक्त योजना एक खतरनाक आतंककारीको दिमागको उपज हो जो विश्वभरी नै आतंक फैलाउन चाहन्छ । उसको योजना असफल पार्ने समय असाध्यै कम छ । आफ्नो मिसनलाई सफल बनाउन अजय तथा उनको युनिटले काठमाडौंबाट अपरेसन प्रारम्भ गर्छ । काठमाडौंपछि इस्तानबुल, अबुधावी, नयाँ दिल्ली हुँदै मुम्बई पुगेर यो अपरेसन सम्पन्न हुन्छ ।

प्रकाशित :माघ ९, २०७१

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्