गायिकाका रूपमा श्रोतामाझ आउँदैछु

गायिकाका रूपमा श्रोतामाझ आउँदैछु

  • जेनिशा केसी, नायिका

- कृष्ण भट्टराई

माघ ९, २०७१

करिब आठ वर्षअघि चलचित्र 'गिरफ्तार' बाट प्रारम्भ भएको जेनिशा केसीको अभिनय यात्रा पछिल्लो चलचित्र 'एक्सन' सम्म आइपुग्दा परिपक्व भैसकेको छ । यो अवधिमा जेनिशाले करिब तीन दर्जन चलचित्रमा अभिनय गरिसकेकी छिन् । जेनिशाले अभिनय गरेका दुई चलचित्र 'काले' तथा 'देशले रगत मागे' प्रदर्शनको क्रममा छन् । यसबीच जेनिशाले भोजपुरी चलचित्रका सुपरस्टार दिनेशलाल यादवको जोडीका रूपमा चलचित्र 'बादशाह' मा अभिनय गरेकी छिन् भने केही समयपछि दोस्रो भोजपुरी चलचित्र 'माइका दुलारा' मा समेत अभिनय गर्दैछिन् । भोजपुरी चलचित्रको अभिनयले आफूलाई थप परिपक्व बनाएको धारणा व्यक्त गर्ने जेनिशा दोस्रो भोजपुरी चलचित्रमा अभिनय गर्नुअघि एउटा अर्को नेपाली चलचित्रमा समेत व्यस्त हुनेछिन् ।

एक्सन

मैले अहिलेसम्म अभिनय गरेका अधिकांश चलचित्रमा प्रेमिका तथा श्रीमतीको भूमिका निर्वाह गर्दै आएकी छु । एकै प्रकारको भूमिका निर्वाह गर्दा दर्शकलाई पनि नरमाइलो लाग्न सक्छ भन्ने सोचिरहेको बेला चलचित्र 'एक्सन' बाट प्रस्त्ााव आयो । चलचित्रको शीर्षकअनुसार नै मैले यसमा एक्सन लेडीको भूमिका निर्वाह गर्नुपर्ने भयो । यसअघि चलचित्रका द्वन्द्व दृश्यमा काम नगरेकाले मलाई फाइट खेल्न आउँदैनथ्यो, तर यो चलचित्रमा प्रस्ताव आएपछि मैले फाइटको औपचारिक प्रशिक्षण लिएँ ।

क्यारिकेचर

म राम्रो क्यारिकेचर गर्न सक्छु भन्ने कुरा मेरो परिवारका सदस्यबाहेक अरू कसैलाई जानकारी छैन । अधिकांश हास्यकलाकारले झैं म पनि धेरै जनाको क्यारिकेचर गर्न सक्छु । मैले आजसम्म कुनै पनि निर्देशकलाई मेरो यो खुबीका बारेमा बताएकी छैन ।

गायिका

म कुशल 'बाथरुम सिंगर' हुँ भन्ने कुरा मलाई नजिकबाट चिन्ने धेरैलाई जानकारी छ । निकट भविष्यमै म गायिकाका रूपमा समेत श्राेतामाझ आउँदैछु भन्ने कुरा भने कसैलाई पनि थाहा छैन । फुर्सद भएको बेला गुनगुनाइरहने मेरो स्वभावका कारण पनि मैले गीत गाउने प्रस्ताव पाएकी हुँ जस्तो लाग्छ । निर्माणको क्रममा रहेको एउटा नयाँ चलचित्रका लागि मैले एउटा आईटम गीत गाउने प्रस्ताव पाएँ र यतिबेला म त्यही गीतको अभ्यास गरिरहेकी छु ।

डर

हरेक मानिसलाई कुनै न कुनै कुराको डर लाग्छ । मलाई भने केवल एउटा कुराको मात्र डर लाग्छ, त्यो हो- हवाईजहाजको यात्रा । हवाईजहाजको यात्रा गर्नुपर्ने भयो भने मेरो जीउभरी काँडा उम्रन्छ । कतिपय ठाउँसम्म पुग्न हवाई यात्रा अनिवार्य हुन्छ, त्यतिबेला म असाध्यै डराउँछु । एयरपोर्टबाट उडेर ल्यान्ड नहुन्जेल म भगवान्को नाम जपिरहन्छु । सकुशल ल्यान्ड भएपछि 'भगवान्लाई धन्यवाद' भन्छु ।

व्यायाम

शारीरिक सुन्दरता तथा तन्दुरुस्तीका लागि व्यायाम अति नै आवश्यक छ । म हरेक दिन बिहान एक-एक घण्टा नियमित व्यायाम गर्छु । मेरो शरीर 'स्लिम' हुने कारण पनि नियमित व्यायाम नै हो ।

फुच्ची

मेरो निक नेम 'फुच्ची' हो । घरमा मलाई सबैले यही नामले बोलाउँछन् । कतिसम्म भने मेरो भाइले पनि मलाई फुच्ची नै भनेर सम्बोधन गर्छ । सबैले फुच्ची भनेर बोलाउँदा मलाई रमाइलो पनि लाग्छ ।

प्रकाशित :माघ ९, २०७१

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्