हमाल पान मसला बेच्दै

हमाल पान मसला बेच्दै

माघ ९, २०७१

नेपाली चलचित्रका महानायक राजेश हमाललाई भारतको एउटा पान मसला कम्पनीले ब्रान्ड एम्बेसडर बनाएको छ । भारतीय कम्पनी मोदी इन्टरप्राइजेजको मातहतमा रहेको गोडफ्री फिलिप्स इन्डियाले हालै नेपाल भित्र्याएको राग गोल्ड पान मसलाको ब्रान्ड एम्बेसडरमा राजेश हमाललाई चयन गरेको हो । उत्कृष्ट सुपारी तथा अलैंचीका साथै अन्य प्राकृतिक मसलाहरू प्रयोग गरेर तयार पारिएको उक्त मसला नेपाली बजारमा ४ ग्रामको पाउन्डमा उपलब्ध छ । कम्पनीका सीओओ भीषम भढेराका अनुसार नायक हमाल उक्त पान मसलाको विज्ञापनका लागि उपयुक्त देखिएका छन् । त्यसबाहेक उनी चर्चित व्यक्ति भएका कारण उनको व्यक्तित्वमार्फत धेरै ग्राहकहरूमा यो पान मसला पुग्ने आशा आफूले लिएको भढेराले बताए । हमालले भने यत्तिको शुद्ध र उत्कृष्ट ब्रान्डको एम्बेसडर हुन पाउँदा आफूलाई गर्व लागेको बताएका छन् ।

ढुक्क छन् सबै

माघे संक्रान्तिको अवसर पारेर प्रदर्शन भएका तीनवटै चलचित्र व्यवसायिक रूपमा असफल भए पनि नेपाली चलचित्र एक-अर्कासँग जुध्ने क्रम जारी छ । नयाँ वर्ष २०७२ को पूर्वसन्ध्या पारेर जुध्न लागेका चारवटा चलचित्रका निर्माता-निर्देशक भने आफ्नो चलचित्रले उत्कृष्ट व्यवसाय गर्ने दावी गर्न थालेका छन् । चैत २७ गते प्रदर्शन हुने चलचित्रमध्ये 'नाइँ नभन्नु ल-३' का निर्माता विकास आचार्य युट्युबबाट प्रिमियर गरिएको चलचित्रको पहिलो गीतको भ्युअर्सलाई आधार मान्दै आफ्नो चलचित्र सफल हुने दावी गर्छन् । छवि ओझाले 'हवल्दार सुन्तली' सफल हुनुमा आफ्नो २५ वर्षे अनुभवले काम गर्ने बताएका छन् । दिनेश डिसी 'फूलैफूलको मौसम तिमीलाई' आफ्नो करियरकै सबैभन्दा उत्कृष्ट चलचित्र भएकाले सफल नहुने कारण नै देख्दैनन् । नीर शाहको 'सेतो बाघ' ऐतिहासिक चलचित्र भएकाले दर्शकको साथ पाउने पक्का भएको बताइरहेका छन् । चारै जनाको फरक-फरक दावीबीच दर्शकले कसलाई बढि माया गर्ने हुन्, प्रतीक्षाकै विषय भएको छ ।

बोल्ड हुँदैछिन् आयुष्मा

थुप्रै म्युजिक भिडियोमा अभिनय गरेपछि चलचित्र क्षेत्रमा आएकी नायिका हुन्— आयुष्मा कार्की । केही टेलिश्रृंखलामा समेत अभिनय गरिसकेकी आयुष्माले सफल नायिका हुने लक्ष्य लिएकी छिन् । बीबीएसको अध्ययन पूरा गरेकी आयुष्मा पहिलो पटक चलचित्र 'कसैलाई नभन्नु' मार्फत नायिकाका रूपमा डेब्यु गर्दैछिन् । २१ वर्षीया आयुष्मा यो चलचित्रमा बोल्ड भूमिकामा प्रस्तुत हुन लागेको बताउँछिन् । यसै साता शुभमुहूर्त गरिएको मन्दिप रानाले निर्देशन गर्ने यो चलचित्रमा आयुष्माले अभिनेता दिनेश शर्माकी बहिनीको भूमिका निर्वाह गर्दैछिन् भने उनले नवनायक किशोर केसीसँग अनस्क्रिन रोमान्स गर्नेछिन् । रोमान्टिक प्रेमकथामा आधारित यो चलचित्रले आफूलाई नायिकाका रूपमा स्थापित गर्ने कुरामा आयुष्मा ढुक्क देखिन्छिन् । यसअघि उनले चलचित्र 'फिंगर प्रिन्ट्स' तथा 'इच्छा' मा अभिनय गरिसकेकी छिन् ।

धुर्मुसको नयाँ चरित्र

सीताराम कट्टेलले नयाँ-नयाँ चरित्र निर्वाह गरेर दर्शकलाई मनोरञ्जन दिने क्रमलाई निरन्तरता दिइरहेका छन् । हास्यश्रृंखला 'मेरी बास्सै' मार्फत सीतारामले यसै सातादेखि नयाँ चरिचत्र निर्वाह गर्न थालेका छन् । एक दशकको अभिनय यात्रामा थुप्रै चरित्र निर्वाह गरिसकेका सीतारामलाई दर्शकले धुर्मुस, केपी ओली, खड्काजी, मुस्कान पासाजस्ता चरित्रमा मन पराइसकेका छन् । पछिल्लो समय उनी 'बैतडी ज्वाइ' को नयाँ चरित्रमा देखिन थालेका छन् । पश्चिम तराईको हिन्दी लवज बोल्ने यो नयाँ चरित्रले पनि दर्शकलाई पर्याप्त मनोरञ्जन प्रदान गर्ने कुरामा सीताराम ढुक्क देखिन्छन् ।

प्रकाशित :माघ ९, २०७१

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्