१२ वर्षपछि

१२ वर्षपछि

माघ २, २०७१

एक साताअघि झन्डै मेरै उमेरका जस्ता लाग्ने एक युवा भेट्न आए । उनी आफ्नो अनौठो कथा सुनाउन चाहन्थे ।

००००

'एसएलसीदेखि नै हामी एक-अर्काका नजिक थियौं । हामीले मीनभवन कलेजमा नाम लेखायौं, सँगै थप ५ वर्ष पढ्यौं । यसरी हिसाब गर्दा हाम्रो मित्रता करिब ८ वर्ष रह्यो । यसबीच मैले दुई पटक उनीसमक्ष प्रेम प्रस्ताव राखें । उनी भन्थिन्, 'हामी साथी नै ठीक छौं, हामीबीच प्रेम सुरु भयो भने एक-अर्कालाई यति सम्मान गर्न सक्दैनौं । प्लिज यो कुरा बुझ ।' हामी दुवै साहरूख खानका फ्यान, 'कुछकुछ होता है', हामी दुवैको बेस्ट फिल्म थियो । उनी भन्थिन्, 'तिमी मेरो हाफ टाइमअघिको साहरूख खान, म तिम्री काजोल । हाफ टाइमपछिको कथालाई मसँग जोड्ने प्रयास नगर ।'

सन् २००१ वा २ को कुरा हुनुपर्छ । नयाँ वर्ष मनाउन कलेजको एउटा समूह नगरकोट जाने भयो । त्यसमा हामी छुट्ने कुरै भएन । हामी राति १२ बजेसम्म नाच्यौं, पियौं र रमाइलो गर्‍यौं । १२ बजे खुब हल्ला गरेर नयाँ वर्षको स्वागत गर्‍यौं । सुत्ने बेला थाहा भयो, साथीहरूले हामी दुईका लागि एउटै कोठा तयार पारेका रहेछन् । हामी सँगै सुत्यौं ।

मैले उनलाई सुस्तरी किस त गरें, तर त्यस्तो कुनै काम गर्न चाहिनँ, जुन उनको चाहनाविपरित होस् । मदिराले लठ्ठ भए पनि मैले हाम्रो मित्रताको सम्मान गरें । मुटु मिचेर म अर्कातर्फ फर्केर सुतें । त्यसपछिका केही वर्ष पनि हाम्रो मित्रता उस्तै रह्यो ।

००००

अस्तिको दिन (नयाँ वर्ष २०१४ मा) उनले मलाई विशेष पार्टी छ भनेर ककनीमा निम्तो गरिन् । सिमसिम पानी परेकाले म मोटरसाइकलमा आउन नसक्ने बताउँदै थिएँ । आफ्नो परिवार छाड्ने मन पनि थिएन, तर उनले लगातार जिद्दी गरिन् । अति भएपछि म भिज्दै दुई घन्टा लगाएर ककनी पुगें । त्यहाँ पुग्दा साँझ परिसकेको थियो । देखें, रिसोर्टमा उनी एक्लै मलाई कुरिरहेकी थिइन् । पार्टी त बहाना मात्र रहेछ ।

'तिमीलाई सम्झना छ, धेरै वर्षअघि हामीले नगरकोटमा नयाँ वर्ष मनाएका थियौं ।' उनले प्रेमपूर्वक हट रम पन्च सर्भ गर्दै भनिन्, 'मेरो निम्तोलाई स्वीकार गरेर त्यति टाढादेखि आयौ, म धन्य भएँ ।'

क्याम्प फायरको तातोमा उनले शान्त भावमा मलाई हेर्दै एक पेग वाइन पिइन् । मलाई चाहिँ हट रम पन्च थप्दै मित्रताका पुराना किस्सा सुनाइरहिन् । खाना खाने बेलामा पनि उनको नोस्टाल्जिया सकिएको थिएन । सुत्ने बेला भयो । उनले एउटै कोठा बुक गरेको बताउँदै भनिन्, 'त्यो दिन तिमी रातभरि छट्पटिरहेका थियौ । तिमीले कतिबेला मलाई समाउँछौ, जबरजस्ती गर्छौ भनेर डराइरहेकी थिएँ तर तिमीले मलाई छोएनौ ।' 'मैले तिम्रो भावनाको कदर गरेको थिएँ ।' मैले भनें, 'आज सम्झँदा मलाई आफ्नो निर्णयप्रति गर्व हुन्छ ।'

'तर मलाई आजसम्म पश्चाताप लागिरहेको छ । मनमा कौमार्य विवाहका लागि साँचेर राख्नुपर्छ भनेर कतै लेखिएको छ र ? भन्ने पनि सोचिरहेकी थिएँ ।' उनले भनिन्, 'त्यो बेलासम्म राजेशसँग मेरो भेट पनि भएको थिएन । जोसँग चिनजान नै छैन, त्यो कल्पनाको श्रीमान्का लागि मैले आफूलाई किन खुम्च्याएँ ? ...आज म त्यो ऋणबाट मुक्त हुन चाहन्छु । आऊ मलाई अँगालो मार ।'

आखिर मैले मन पराएकी केटी, यत्रो वर्षपछि ऊ मलाई त्यो काम गर्न उक्साइरहेकी थिई, जुन समाजका दृष्टिमा उचित थिएन । मैले पन्साउन पनि सकिनँ । हामी रातभरि सुतेनौं ।

००००

कथा सुनेर म ती युवालाई हेरेको हेर्‍यै भएँ । उनी मैले ठिक गरें कि गलत भनेर प्रतिक्रिया मागिरहेका थिए । मसँग कुनै उत्तर थिएन । रमाइलो कुरा, उनले आफ्नो कथा सुनाउने क्रममा उनकी श्रीमती पटक-पटक फोन गरिरहेकी थिइन् ।

प्रकाशित :माघ २, २०७१

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्