साढे ३४ वर्ष कैद

- राजेन्द्र नाथ

माघ २, २०७१

उनी वैदेशिक रोजगारीका लागि कुबेत गएकी थिइन् । एकदिन छोरीले रुँदै फोन गरिन् । छोरीको कुराले स्तब्ध भएकी उनी अर्को साता छोरी भएको ठाउँ भारतको उत्तरप्रदेशस्थित सोनपुर पुगिन् । एक जना सहयोगीमार्फत नेपालका संघ-संस्थामा सम्पर्क गरिन् र योजनामुताबिक आफ्ना श्रीमान्लाई फकाएर नेपाल ल्याउन सफल भइन् । उनले श्रीमान्लाई घर भने लगिनन् । सरासर प्रहरी कार्यालय पुगेर आफ्नै नाबालिक छोरीलाई निरन्तर बलात्कार गरिरहेको भन्दै उजुरी दर्ता गराइन् । ती साहसी आमाको प्रयासले अहिले आएर सार्थकता पाएको छ । यसै साता नाबालिक छोरीलाई लगातार बलात्कार गरेको आरोपमा बर्दियाका एक ४० वर्षीय बुवालाई जिल्ला अदालत बाँकेले साढे ३४ वर्षको कैद सजाय तथा १/१ लाख रुपैयाँ जरिवाना एवं क्षतिपूर्तिको फैसला सुनाएको हो । बर्दिया, ताराताल-१ का ती पुरुषलाई छोरीमाथि जर्बजस्ती करणी, हाडनाता र मानव बेचबिखन तथा ओसारपसार मुद्दामा उक्त सजाय भएको हो । बाँके जिल्ला अदालतका न्यायाधीश हरिप्रताप केसीको एकल इजलासले सजाय सुनाएपछि ती आमाले राहतको श्वास फेरेकी छिन् ।

जिल्ला अदालतका स्रेस्तेदार आत्मदेव जोशीका अनुसार मानव बेचबिखन तथा ओसारपसारमा साढे १६ वर्ष, जर्बजस्ती करणीमा ८ वर्ष एवं हाडनातामा १० वर्ष गरी अभियुक्तलाई एकमुस्ट साढे ३४ वर्षको सजाय भएको हो । बालिका माथिको यौन हिंसाका तीनवटा कसुरमा यति ठूलो सजाय भएको यो ठूलो घटना हो । ती नाबालिकका बुवा सोनपुरमा काम गर्थे । ०६९ वैशाख २८ गते बिदामा घर आएका बेला बुवाले आफ्नी छोरी र छोरालाई आफूसँगै सोनपुर लगेर विद्यालय भर्ना गरिदिए । 'एकदिन म बिरामी भएँ । बुवाले उपचारका लागि लखनउ अस्पताल लिएर जानुभयो,' पीडित बालिकाले भनेकी थिइन्, 'डाक्टरले अर्को दिन पनि जाँच्न ल्याउनुपर्ने भन्दै फर्काए । बुवाले त्यो दिन घर जान नसकिने भन्दै होटलमा राख्नुभयो र जर्बजस्ती गर्नुभयो ।'

आफ्नै बुवाले छोरीलाई वैशाखदेखि भदौसम्म पटक-पटक जर्बजस्ती गरेका थिए । 'अति भएपछि कुबेतमा भएकी आमालाई फोन गरेर सबै कुरा बताए,' पीडित बालिका भन्छिन्, 'आमा आएर फकाएर बुवालाई नेपाल लिएर जानुभयो र प्रहरीमा खबर गरियो ।' पीडित बालिका आमासँग अहिले सुर्खेतस्थित मामाघरमा बस्दै आएकी छिन् । आमाको सुझबुझकै कारण उनका बुवा प्रहरी हिरासतमा पुगेका हुन् । आमाले मानव बेचबिखनविरुद्ध क्रियाशील संघ-संस्थामार्फत आफ्ना श्रीमान्लाई कानुनी दायरामा ल्याउन सफल भएकी थिइन् । 'आमाको महत्त्वपूर्ण र सुझबुझयुक्त निर्णयले अभियुक्तलाई घर फर्काएर कानुनी कठघरामा उभ्याउन सफल भयौं,' माइती नेपालका क्षेत्रीय संयोजक केशव कोइरालाले भने, 'भारतीय संघ-संस्था एवं स्थानीय प्रशासनको सहयोगमा रेस्कु गरिएको थियो ।'

'आमाले फकाएर आफैं ल्याउने योजनाअनुसार हामी ब्याकमा बसेर काम गरिएको थियो,' कोइरालाले भने, 'अहिले सम्माननीय अदालतले पीडितलाई न्याय दिँदा निकै खुसी लागेको छ ।' कोइरालाले बताए ।

निष्ठुरीभन्दा संरक्षण दिने आमा धेरै

बाँके— जन्माएर बच्चा बेवारिसे छोड्ने निर्दयी आमा जति छन् त्योभन्दा बढी संरक्षण दिने मनकारी आमाहरू छन् । नेपालगन्जमा गत बुधबार बेवारिसे अवस्थामा भेटिएकी १२ दिने बलिकाको हकमा पनि त्यही भयो । उनलाई संरक्षणमा लिन दुई महिला भेटिएकै स्थानमा पुगे । बालिकालाई पाल्न र संरक्षण दिन महिला तथा बालबालिका कार्यालयमा आधा दर्जन बढीले सम्पर्क गरेका छन् । एक महिलाले ती बालिकालाई छोडेर बेपत्ता भएपछि नजिकैको खाजा पसल सञ्चालक जानकी वाल्मीकिलेसूचना दिएलगत्तै महिला तथा बालबालिका कार्यालयले प्रहरीको सहयोगमा ती बालिकको उद्धार गरेको थियो ।

'बालिका भेटिएको खबर पाएलगत्तै स्थानीय सुनिता गुप्तालगायत केही महिला संरक्षणमा लिन आए तर, प्रहरीले कानुनी प्रक्रिया मिलाएपछि मात्र दिने भनेर अस्पताल लगे,' बेवारिसे बालिकालाई दिनभर स्याहार गरेकी जानकी कुँवरले भनिन्, 'बच्चा नभएका महिलाहरूले बालिकालाई संरक्षणका लागि मागिररहेका छन् ।' बेवारिसे बालबालिकाका हकमा प्रहरीले सुरुमा अभिभावक तथा आफन्त खोज्ने र नभेटिएपछि मात्र सन्तान नभएका दम्पतीलाई प्रक्रिया मिलाएर संरक्षण दिने कानुनी प्रक्रिया छ । त्यसका लागि केही दिन समय लाग्छ । बेवारिसे अवस्थामा भेटिने अधिकांश बालिका हुने गरेका छन् । समुदायले स्वीकार नगर्ने सम्बन्धबाट जन्मिएका, आर्थिक अवस्था कमजोर भएका तथा मानसिक सन्तुलन गुमाएका महिलाले यस्ता बालबालिकालाई बेवारिसे अवस्थामा छोड्ने गरेको कुँवरले बताइन् ।

ठाकुरसिंह थारु

प्रकाशित :माघ २, २०७१

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्