Teej banner
पुरुष मोडलको चर्चा नै कम

पुरुष मोडलको चर्चा नै कम

माघ २, २०७१

मोडलिङको रंगीन संसारमा युवतीको तुलनामा युवकको चर्चा कमै हुन्छ । मोडलिङदेखि विज्ञापनसम्म दुवैको सहभागिता उस्तै भए पनि युवकहरू पर्दा पछाडि नै रहने गरेका छन् । मोडलिङ हुँदै चलचित्रमा नायकसमेत भैसकेका पोखराका नवीन तिमिल्सना युवकको प्रचारप्रसार कम गरिने हुँदा यस्तो भएको बताउँछन् । 'मिडियामा युवतीहरूले जस्तो कभरेज युवकहरूले नपाउँदा यस्तो भएको हो, ' तिमिल्सनाले भने- 'युवतीहरू छिट्टै चर्चामा आउने कारण मिडियाको कभरेज पनि हो ।' चलचित्र सुनपानीका नायक तिमिल्सिनाले पुरुष मोडलका लागि अवसर समेत कम भएको गुनासो गरे । लोकप्रियताका लागि मोडिलिङमा होमिने तिमिल्सिनाजस्ता तन्नेरीहरू चर्चा र अवसर कम भएपछि पलायन हुने गरेका छन् ।

रंगीन संसारमा होमिएपछि चर्चाको भर्‍याङ भने युवतीहरू नै चढछन् । कुनै पनि उत्पादनलाई जनसमक्ष पुर्‍याउने विज्ञापनमा महिलाको तुलनामा पुरुषको स्थान कमै हुने गरेको छ । पोखरामा २०११ मा सम्पन्न मिस्टर हेन्डसम प्रतियोगिताका विजेता निरज पन्त पनि म्युजिक भिडियो हुँदै चलचित्रमा समेत देखा परिसकेका छन् । मिस्टर नेपालमा समेत सहभागी भएर सेकेन्ड रनर्सअप भएका पन्त पनि पुरुष मोडलका लागि अवसर कम भएको स्वीकार गर्छन् ।

पोखरामा पुरुष सौन्दर्य प्रतियोगिताको उपाधि जितेका दीपक बानियाँ, सुबास पौडेल, वीरेन भण्डारी आदि दर्जनौ युवाले यो क्षेत्रलाई चटक्कै छाडे । कोही विदेश पलायन भए भने कोही अन्य पेसा व्यवसायतर्फ लागे । मनोरञ्जनसँग सम्बन्धीत वेबसाइटहरूले समेत युवकको तुलनामा युवतीहरूलाई नै प्राथमिकता दिए । युवक मोडलको फोटोसेसन बिरलै हुने गरेको छ । 'यो क्षेत्रमा निरन्तर लागिरहेका छौं, ' दर्जनौ म्युजिक भिडियोका मोडल मिलन शंकर भन्छन्, 'तर हाम्रो चर्चा भने कहिल्यै हुँदैन ।'

प्रकाशित :माघ २, २०७१

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्