ढाकाटोपी क्रेज

ढाकाटोपी क्रेज

  • यो अभियानमा बालकदेखि वृद्धसम्म र स्वदेशदेखि विदेशसम्मका नेपाली सहभागी भए । टोपी पुरुषले लगाउने पहिरन भए पनि यो अभियानमा महिलाहरूको पनि सहभागिता देखियो ।

- रामजी बलामी

पुस २५, २०७१

'ह्याप्पी न्यू इयर विथ ढाकाटोपी',

'ह्याप्पी ढाकाटोपी डे', 'नेपालीको पहिचान नयाँ वर्षमा ढाकाटोपी अभियान', 'मेरो टोपी नेपाली वीरजस्तो', 'ढाकाटोपी लगाऔँ नेपाली पहिचान जोगाऔँ' । गत साता प्रारम्भ भएको वर्ष २०१५ को अवसरमा युवाहरूले सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गरेका केही स्टाटस हुन् यी । नेपाली पहिरनको प्रचारप्रसार एवं संरक्षणका लागि भन्दै गत वर्षदेखि थालिएको यो अभियानमा बालकदेखि वृद्धसम्म र स्वदेशदेखि विदेशसम्मका नेपाली सहभागी भए । टोपी पुरुषले लगाउने पहिरन भए पनि यो अभियानमा महिलाहरूको पनि सहभागिता देखियो । अभियानलाई साथ दिँदै कोही ढाकाटोपीमा सजिएका थिए त कोही भादगाउँले टोपीमा ।

अभियानमा साथ दिँदै वसन्तपुरमा दोस्रो राष्ट्रिय पोसाक दिवसका रूपमा र्‍यालीनै निकालियो । धादिङमा श्रद्धावान् नेपाल नामक संस्थाले एक कार्यक्रम आयोजित गर्दै एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल -प्रचण्ड) आदिलाई टोपी उपहार प्रदान गर्‍यो । सके सधैं नेपाली पहिरन लगाआँै, नसके हरेक नयाँ वर्षमा नेपाली पहिरन लगाऔंं, त्यो पनि सम्भव नभए हरेक नयाँ वर्षका दिन नेपाली टोपी अनिवार्य लगाआँै भन्दै युवाहरू स्वस्फूर्त रूपमा यो अभियानमा अग्रसर भएका हुन् । नेपाली पहिरन भनेपछि नाक खुम्च्याउने कतिपय युवालाई यो अभियानले आकषिर्त गरिरहेको छ ।

'नेपालीको पहिचान, नयाँ वर्षमा ढाकाटोपी अभियान' भन्दै काठमाडौंका घनश्याम श्रेष्ठ नेपाली पहिरनको संरक्षण एवं प्रवर्द्धनका लागि यो अभियानमा लागेको बताउँछन् । 'नेपाली पहिरनको प्रचारप्रसार र संरक्षण होस् भनेर साथ दिएका हौं ।' उनले भने । दौरा-सुरुवाल र ढाकाटोपी लगाउने व्यक्ति भेट्दा बेग्लै अनुभूति हुने बताउँदै उनले भने, 'दौरा सुरुवाल लगाउँदा सहज र गौरव हुन्छ ।' 'वेशभूषा एवं रितिथितिको जगेर्ना गरौँ' भन्दै अभियानमा साथ दिने साहित्यकार कृष्ण बस्नेत यो अभियानले मौलिक संस्कृतिको संरक्षण हुने धारणा राख्छन् ।

इजिलिंक रेमिट्यान्स कम्पनीका प्रबन्धक विपेन्द्र खनाल क्षेत्री यो अभियानमा साथ दिन पाउँदा गौरव महसुस भएको बताउँछन् । नेपाली पहिरन लोप हुन लागिरहेका बखत यस्तो अभियानले पहिरन संरक्षणमा टेवा पुग्ने बताउँदै क्षेत्रीले युवाहरू लागिपरे केही पनि असम्भव नभएको बताए । नेपाली टोपीलाई अन्तराष्ट्रिय स्तरमा चर्चामा ल्याउन सके नेपालीको पहिचान अझ गर्विलो हुने उनको धारणा छ । अभियानमा संलग्न उदयपुरका हिमाल राई नेपाली टोपीको धार्मिक एवं सांस्कृतिक महत्त्वसमेत रहेको बताउँछन् । 'राष्ट्रिय गौरवको कुरा त छदैछ, यसको छुट्टै धार्मिक तथा सांस्कृतिक महत्वसमेत छ,' उनले भने ।

काभ्रेका पत्रकार ज्ञानमणि कालोटोपीको थर नेपाल भए पनि उनलाई धेरैले कालोटोपीकै माध्यमबाट चिन्छन् । २०५५ सालदेखि नियमित टोपी लगाउँदै आएको बताउने ज्ञानमणि आफूलाई कालोटोपी भनेर सम्बोधन गर्दा गर्व महसुस हुने बताउँछन् । स्वदेशभित्र भन्दा पनि विदेशमा कार्यरत युवाहरूमा ढाकाटोपीको क्रेज बढ्दो छ । थाइल्यान्ड, कतार, मलेसिया, संयुक्त अरब इमिरेट्स, अस्ट्रेलिया, अमेरिका, साउदी अरेबिया, जापान, फ्रान्स, इजरायल आदिमा रहेका नेपालीहरूले यो अभियानमा साथ दिइरहेका छन् ।

अध्ययनका सिलसिलामा जापान पुगेका धादिङका राजन गौतम ढाकाटोपीसँग आफ्नो अविस्मरणीय सम्झना गाँसिएको बताउँछन् । 'नेपालमा हुँदा एकपटक ढाकाटोपी लगाएर भारतीय कार्यक्रममा गएको थिए, एक जना भारतीय मसँग अटोग्राफ माग्न आए, त्यो मेरो जीवनकै अविस्मिरणीय पल हो ।' गौतम भन्छन् । मलेसियामा कार्यरत हेटौंडाका जनकमान डंगोलले अभियानमा साथ दिँदै लेखेका छन्, 'अभियान गर्वको कुरा हो तर इस्वीभन्दा वि.सं.को नयाँ वर्षको पहिलो दिन मनाउन पाए हुन्थ्यो ।' उता संयुक्त अरब इमिरेट्समा रहेका यादव रायमाझी लेख्छन्, 'माटोले दिने सबैभन्दा ठूलो र धेरै भनेको पहिचान हो, दोस्रो अन्तर्राष्ट्रिय टोपी दिवसको शुभकामना ।' थाइल्यान्डबाट सुनिल खड्का लेख्छन् 'मेरो गौरव, नेपाली टोपी दिवस सफल पारौं ।'

अमेरिकामा रहेका बर्दियाका श्रेष्ठ समन श्री विदेशमा नेपालीहरूको पहिरन अझ बढी रोमाञ्चक देखिने बताउँछन् । अभियानलाई समर्थन भन्दै फेसबुकमा आफ्ना तस्बिर सजाएका समनले यो अभियानमार्फत नेपाली टोपीले व्यवसायिक सफलता हात पार्ने बताए ।

ढाकाटोपी अभियानलाई साथ दिन कतिपयले दिनभर ढाकाटोपीमा सजिएर हिडे भने केहीले फेसबुकमा मात्र भए पनि ढाकाटोपीसहितको तस्बिरलाई प्रोफाइल तस्बिर बनाए । अभियानलाई सुझाव दिँदै स्वदेशी समूहका संस्थापक इशानले लेखेका छन्, 'एक दिन मात्र होइन, सधैं नेपाली टोपी लगाआँै, एक दिनको प्रदर्शन जीवन्त रहन्न ।' यो अभियानले एकातिर नयाँ पुस्तालाई नेपाली पहिरनप्रति आकषिर्त बनाएको छ भने अर्कातिर बूढापाका, सहित्यकार, नेता आदिले मात्र ढाकाको लगाउँछन् भन्ने मानसिकतामा पनि परिवर्तन ल्याएको छ ।

अथाह महत्त्व

घरेलु तानले बुनिने यो टोपीको राष्ट्रिय, धार्मिक तथा व्यवसायिक महत्त्व छ । पाल्पा, पोखरा र तेर्‍हथुमतिर ढाकाटोपी प्रचलित छ भने भक्तपुरतिर भाद्गाउँले टोपी प्रचलित छ । यो टोपी विशेषत: दौरा-सुरुवालका साथमा लगाउने चलन भए पनि टोपी मात्र पनि लगाउन सकिन्छ । नेपाली बजारमा गुणस्तर र प्रकार अनुसार ५० रुपैयाँदेखि ५ सय रुपैयाँसम्मका टोपी उपलब्ध छन् ।

तिहारको भाइटीकामा ढाकाटोपी लगाउने चलन छ । विवाहमा दुलाहाले ढाकाको पहिरन लगाउनु कतिपय समुदायमा अनिवार्य मानिन्छ । विवाहमा जन्ती जाँदा पनि दौरा सुरुवाल लगाउने चलन छ । त्यसैगरी पास्नी एवं ब्रतवन्धहरूमा समेत ढाकाको पहिरन लगाउने चलन छ ।

ढाकाको व्यापक प्रचारप्रसार गर्न सकेको खण्डमा व्यवसायिक रूपमा समेत सफलता हात पर्ने व्यवसायीहरू बताउँछन् । ढाकाका पोसाक विक्रेता विक्रम महर्जन ढाकाको पहिरन अहिले खास अवसरमा मात्र प्रयोग हुन थालेकाले यसको महत्वका सम्बन्धमा प्रचारप्रसार हुनु आवश्यक भएको वताउँछन् ।

फेसनका रूपमा विकास हुँदै

पछिल्लो समय युवापुस्तामाझ ढाकाटोपी फेसनका रूपमा फस्टाउन थालेको छ । विशेष गरी भाद्गाउँले टोपीमा सजिने युवाको संख्या बढ्दो छ । नेपाली टोपीलाई फेसनका रूपमा विकास गर्न सके अझ प्रभावकारी हुने व्यवसायीहरूको धारणा छ । जसरी 'आई लभ नेपाल' लेखिएका टिसर्ट लोकप्रिय भए त्यसरी नै नेपाली टोपीलाई पनि लोकप्रिय बनाउन सके आर्थिक एवं राष्ट्रिय दृष्टिकोणले फाइदा पुग्ने व्यवसायीहरूको दाबी छ ।

 

प्रकाशित :पुस २५, २०७१

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्