अर्को साता तथास्तु

अर्को साता तथास्तु

पुस १८, २०७१

निर्देशक सबिर श्रेष्ठले आफ्नै लगानीमा निर्माण गरेको चलचित्र 'तथास्तु' पुस २५ गतेदेखि प्रदर्शन हुँदैछ । चलचित्रमा रेखा थापा केन्दि्रय भूमिकामा छिन् । चलचित्रमा रेखाले द्वन्द्वका रोमाञ्चक दृष्यमा आकर्षक कला देखाएकी छिन् । यो चलचित्रमा किशोर खतिवडा, सुवास थापा, विज्ञान जोशी आदि कलाकारले पनि अभिनय गरेका छन् । सबिरले यसअघि रेखालाई लिएर 'कसले चोर्यो मेरो मन' तथा 'काली' निर्देशन गरेका थिए ।

फिल्मफेयरमा सुनिल

भारतको प्रतिष्ठित फिल्मफेयर एवार्डको ६० औं श्रृंखलामा नेपाली अभिनेता सुनिल थापा मनोनीत भएका छन् । सञ्जयलीला भन्साली निर्देशित चलचित्र 'मेरी कोम' बाट कलाकार थापा एवार्डको उत्कृष्ट सह-अभिनेताको विधामा मनोनयनमा परेका हुन् । वर्ष २०१४ का उत्कृष्ट हिन्दी चलचित्रहरूमध्येको एक 'मेरी कोम' मा सुनिलले बक्सिङ गुरुको भूमिका निभाएका छन् ।

'अझै पनि’को ट्रेलर

फागुन १५ गतेदेखि प्रदर्शन हुने चलचित्र 'अझै पनि' को फस्टलुक पोस्टर तथा टे्रलर सार्वजनिक भएको छ । दिवंगत निर्देशक स्व.आलोक नेम्वाङको यो अन्तिम चलचित्रको टे्रलर सार्वजनिक गर्नुअघि चलचित्रका नायक सुदर्शन थापा तथा नायिका पूजा शर्माले स्टेजमा चलचित्रको एउटा रोमान्टिक दृश्यलाई अभिनयमार्फत प्रस्तुत गरेका थिए ।

कलेजमा आभाष

आगामी शुक्रबारदेखि प्रदर्शन हुने चलचित्र 'आभास' ले काठमाडौंका विभिन्न कलेजमा पुगेर विद्यार्थीहरूसँग अन्तक्रिर्या गरेको छ । यो चलचित्रका कलाकार सलोन बस्नेत, आस्मा डिसी, गोविन्द शाहीसहितको समूहले विभिन्न कलेजको भ्रमण गरेको हो ।

रोल्पामा कार्यशाला

अखिल नेपाल चलचित्रकर्मी संघले रोल्पाको सदरमुकाम लिवाङमा 'अन्तर्राष्ट्रिय चलचित्र कार्यशाला-२०७१' आयोजना गर्ने भएको छ । चलचित्रकर्मीहरूको सीप, क्षमता तथा अनुभवलाई समृद्ध बनाउन तथा नेपाली चलचित्रको रूपान्तरणका लागि अन्तर्राष्ट्रिय स्तरको कार्यशाला गर्न लागिएका हो । भारत तथा इजिप्टका चलचित्रकर्मीले प्रशिक्षण दिने कार्यशाला माघ २२ देखि फागुन १ गतेसम्म सञ्चालन हुनेछ ।

माघ २ मा इच्छा

माघ २ गतेदेखि प्रदर्शन हुने चलचित्र 'इच्छा' ले काठमाडौंमा एक औपचारिक समारोह आयोजित गर्दै अभिनेता भुवन केसीलाई सम्मान गरेको छ । चलचित्रको गीति-संग्रहको विमोचन समेत गरिएको उक्त समारोहमा अभिनेता केसीले चलचित्र क्षेत्रमा दिएको योगदानको चर्चा गरिएको थियो ।

लोग्ने मान्छेका कुरा

लय संग्रौलाद्वारा निर्देशित पहिलो चलचित्र 'लोग्ने मान्छे' को गीतिएल्बम सार्वजनिक गरिएको छ । दिलीप रायमाझी तथा नन्दिता केसीले मुख्य भूमिका निर्वाह गरेको यो चलचित्रमा पुरुषबाट प्रताडित हुने नारीको कथालाई मुख्य विषय बनाइएको छ । चेतन सापकोटाको संगीत रहेको चलचित्रका चारवटा गीतमा स्वरूपराज आचार्य, दीपक लिम्बू, माण्डवी त्रिपाठी, इन्दिरा जोशी तथा अन्जु पन्तको पाश्र्व गायन छ ।

बन्दैछ रातोघर

हास्य कलाकार विल्सन विक्रम राईले निर्माण गर्ने चलचित्रको शीर्षक 'रातो घर' राखिएको छ । यसै साता छायांकन प्रारम्भ हुने यो चलचित्रको निर्देशन सुरज सुब्बा नाल्बोले गर्दैछन् । चलचित्रमा विल्सनविक्रम राई, गौरव पहाडी, संयम पुरी, माला लिम्बु, जितेन तामाङ, विकेश श्रेष्ठ, मेनुका प्रधान, उपासना लिम्बू आदि कलाकारले अभिनय गर्नेछन् ।

प्रकाशित :पुस १८, २०७१

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्