औद्योगिक प्रदर्शनीको रमाइलो

औद्योगिक प्रदर्शनीको रमाइलो

पुस ११, २०७१

रामनगरस्थित बुटवल मण्डपमा सोमबारदेखि तेह्रौं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि तथा पर्यटन महोत्सवको रौनक छ । रूपन्देही उद्योग संघ बुटवल तथा नेपाल उद्योग परिसंघ काठमाडौंको आयोजनामा जारी प्रदर्शनीमा राष्ट्रिय कलाकारहरूको प्रस्तुतिले दर्शकलाई पर्याप्त मनोरञ्जन प्रदान गरिरहेको छ । प्रदर्शनीको मुख्य आकर्षण बनेको सांस्कृतिक कार्यक्रममा हरेक दिन लोकदोहोरी, आधुनिक, पप तथा हास्य विधाका चर्चित कलाकारहरू प्रस्तुत भैरहेका छन् ।

प्रदर्शनीमा आधुनिक गायन प्रतियोगिता 'प्रदर्शनी आइडल' को चौथो संस्करण पनि दर्शकको आकर्षण बनेको छ भने नृत्य, अभिनय, क्यारिकेचरजस्ता प्रतिभा प्रस्फुटनका लागि पहिलो पटक आयोजित आरसीआई ट्यालेन्ट हन्टले पनि सहभागी दर्शकलाई बेग्लै मनोरञ्जन दिएको छ । राष्ट्रिय स्तरको लोकदोहोरी गीत प्रतियोगिताको घम्साघम्सी, विद्यालयस्तरीय लोक नृत्य प्रतियोगिता, राष्ट्रिय महिला भलिबल प्रतियोगिता, विभिन्न जातजातिका कलासंस्कृति एवं वेशभूषा, परम्परागत परिकार, बालउद्यान आदि दर्शकको आकर्षणको केन्द्र बनेका छन् ।

कृषि पेभेलियनमा ग्रामीण बस्तीको झझल्को दिने गरी पानीघट्टसहितको गाउँको आकृति, बुटवल-लुम्बिनी र बुटवल-नुवाकोट टुर प्याकेज, लुम्बिनी अञ्चलका पर्यटकीय स्थलको फोटो तथा भिडियो प्रदर्शनी पनि प्रदर्शनीमा समावेश गरिएको सांस्कृतिक कार्यक्रम संयोजक राजेन्द्र कार्कीले बताए ।

प्रकाशित :पुस ११, २०७१

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्