२२ वर्षपछि भेटिएकी बहिनी

२२ वर्षपछि भेटिएकी बहिनी

पुस ५, २०७१

कथा सबैको हुन्छ । तैपनि उनको जस्तो कथा सायदै भेटिएला । पेसाले ब्युटिसियन निरु लामाले ३४ वर्षे जीवनमा जे-जे सुनिन्, देखिन् र भोगिन्, त्यसलाई मुखले भन्न सक्दिनन् । उनको मुख खुल्नुअघि आँखा रसाउँछन् । 'तपाईंले पुराना हिन्दी तथा नेपाली चलचित्र हेर्नुभएको होला, तर त्यस्ता घटना कुनै व्यक्तिको जीवनमा घटेको होला भनेर पत्याउनुहुन्न ।' आफ्नो कथा सुरु गर्नुअघि निरुले भनिन्, 'मेरै जीवनबाट तपाईं दर्जनौं चलचित्रको कथा बनाउन सक्नुहुन्छ ।'

कथा-१

निरु जन्मदा उनको स्याहार गर्ने तीनवटी धाई आमा थिए । चार जना काम गर्ने मान्छे थिए । जन्मिएको ३ वर्षसम्म उनले खाली भुइँ देख्न पाइनन् । महँगा विदेशी कार्पेट तलदेखि माथिसम्म ओच्छ्याइएका हुन्थे । विदेशी तेलले उनको मालिस हुन्थ्यो । त्यो बेला थोरै मात्र धनी-मानीले तातो-चिसो पानी प्रयोग गर्थे । उनलाई धारामा चिसो पानी मात्र आउँछ भन्ने कुरा धेरै पछि मात्र थाहा भयो ।

उनका बुवा तिब्बतका व्यापारी थिए । न्युरोडको भेडासिङमा घर थियो । न्युरोडको मुख्य बजारमा उनका बुवाको पसल थियो । दैनिक हजारौं आम्दानी हुन्थ्यो । जुन उनकी आमाले राख्थिन् । निरु भन्छिन्, 'मैले देख्दा दराजभरि नोटको थाक हुन्थ्यो । अहिले त सपना हो कि जस्तो लाग्छ ।'

आज उनका बुवा र कन्छी आमा एउटा साँगुरो डेरामा आफ्नो बुढौली जीवन काटिरहेका छन् । रोगले थलिए पनि उपचार खर्च छैन । उनका भाइ विदेश जान ऋण खोजिरहेका छन् । 'कसरी त्यत्रो पैसा सकियो बुवा भन्नुहुन्न । कुरा निकाल्यो भने रुन थाल्नुहुन्छ ।' निरुले भनिन्, 'म हुर्कने क्रममा पैसा सकिँदै गयो । पछि त कस्तो अवस्था आयो भने राजा वीरेन्द्रको सिफारिसमा मैले गरिबलाई दिइने छात्रवृत्तिमा कान्ति ईश्वरी विद्यालयमा पढ्नुपर्‍यो ।

कथा-२

निरुभन्दा माथि दुई दाइ थिए । उनीहरू त्यो बेला पनि महँगो स्कुलमा पढ्थे । सबैभन्दा महँगो साइकल चढ्थें । महँगै पहिरन लगाएका हुन्थे । उनीहरूको खाने सोख पनि ठूलै थियो । त्यस्ता दुई दाइलाई के रोग लाग्यो कुन्नी, एक वर्षको अन्तरालमा साधारण व्यथा मै उनीहरू मरे । अस्पतालमा साधारण रोग भनेर भर्ना गरिएको थियो, तर बाँचेनन् । त्यो बेला घरमा अरू छोरा थिएनन् । एक वर्षको अन्तरालमा त्यत्रो सम्पत्तिका भावी मालिकको देहान्त भएपछि घर शोकमा डुब्यो ।

त्यतिले पुगेन । निरुकी दिदी पनि त्यसको केही समयपछि खसिन् । उनलाई पनि के रोग लाग्यो, थाहा हुन सकेन । लगातार तीन जनाको देहान्त हुँदा निरु सानै थिइन् । निरुलाई पनि कालले लाने हो कि भनेर आमा-बुवा डराए । सन्तानको कमी हुन नदिन लगातार  एक भाइ र बैनी जन्माए । कान्छी बैनी त जन्मिन् तर ६ दिनकी सुत्केरी आमाले संसार त्यागिन् । खानामा केही कैफियत भएको महसुस भएपछि काम गर्ने मान्छेलाई पक्राउ गरियो । पोस्टमार्टम पनि गरियो तर दोषी कोही देखिएन । हेर्दा हेर्दै एउटै घरमा चार जनाको मृत्यु भएपछि उनका बुवाले छ दिनकी छोरीलाई अर्कै नि:सन्तानको जिम्मा लगाइदिए । ४ जनाको मृत्यु बेहोरेका उनका बुवाले व्यापार छाडिदिए । उनी रोगले थलिन थाले । उनीहरूको फूलबारी जस्तो घर उजाड हुँदै गयो ।

कथा-३

बुवाले अर्की आमा विवाह गरे । पढाइ छुटाएर सानैमा निरुको विवाह गरिदिए । निरु जति हुर्कदै गइन्, उनलाई छ दिनकी बहिनीको सम्झना आउन थाल्यो । उनी न्युरोड क्षेत्रमा आफ्नी बहिनी भेटिहाल्छिन् कि भनेर खुब खोज्थिन् तर भेट्न सक्दिनथिन् । उनले करिब २० वर्ष आफ्नी बहिनीको खोजी गरिन् । ठूलो शोकका बेला आफ्नी नवजात शिशु कसलाई दिएँ भनेर बुवाले पनि सम्झन सकेनन् । छिमेकीले पनि त्यो बेला यही मान्छेले छोरी लिएर गएको हो भन्ोर ठम्याउन सकेनन् ।

यद्यपि निरुले हिम्मत हारिनन् । बरु प्रहरीमा रिपोर्ट गरिन् । पशुपति र बौद्धनाथ धाइन् । धामी-झाँक्री सबै पुकारिन् । उनको परिवार आफैं झाँक्री बोलाउन सक्ने थियो । उनी आफै झाँक्री बोलाउन सक्थिन ।  त्यसैले पनि आफ्नो घरमा घटेको घटनामा अदृश्य शक्तिको अस्तित्व स्वीकार गर्न बाध्य भइन् उनी । तै पनि उनको बहिनीको पत्तो लाग्न सकेन ।

यसबीचमा सात दोबाटोमा 'जल खाने घर' का बारेमा सुनिन् । जल खाने घरमा पुगे मनले चिताएको पुग्छ भन्ने सुनेकी निरु त्यहाँ नजाने कुरै थिएन । त्यहाँका जापानी गुरु हिरोकाजुले छाडेको 'जल घर' मा पुगेर ध्यान गर्दा उनले आफ्नी बहिनीलाई देखिन् । त्यहीअनुसार खोजी गर्दै जाँदा बहिनी फेला परिन् । 'मानिसहरू अध्यात्ममा विश्वास गर्दैनन्, त्यही भएर फल प्राप्त गर्न सक्दैनन् ।' निरुले भनिन्, 'बहिनीलाई २२ वर्षपछि भेटेका कारण अध्यात्ममा मेरो विश्वास अझ बढेको छ ।'

प्रकाशित :पुस ५, २०७१

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्