पतीता-१

पतीता-१

मंसिर २६, २०७१

मानिसहरू दरबारिया रासलीलाहरू चाखपूर्वक सुन्छन्, सुनाउँछन् । यस्ता रासलीलाले विश्वको इतिहास नै भरिएको छ भने नेपालको इतिहास त्यसबाट अछुतो रहने कुरै भएन । एउटा यस्तै कथा भक्तपुरको इतिहाससँग पनि जोडिएको छ । अझै पनि किम्बदन्तीका रूपमा रहेको यो कथाले त्यतिबेलाको भक्तपुरको सत्तासंघर्षको छनक पनि दिन्छ ।

राजा जितामित्र मल्ललाई कतिपय इतिहासकार भक्तपुरको कृषि प्रणालीमा सुधारका प्रबर्तक मान्छन् । कृषि क्षेत्रमा भक्तपुरको अहिले जुन धाक छ त्यसको बीजारोपण राजा जितामित्र मल्लले नै गरेका थिए । बीउबिजनको संग्रह, कुलो, पैनी तथा बाँध आदि निर्माण, कृषि बजारको व्यवस्था आदि उनका महत्त्वपूर्ण योगदान मानिन्छन् । त्यतिमात्र होइन यी राजा आफ्नो समयका प्रख्यात नाटककार पनि थिए । भक्तपुरमा अहिले देखिने अधिकांश मल्लकालीन सम्पदाको निर्माण गर्ने श्रेय पनि यिनै राजालाई छ । राजा जितामित्रको शासनकाल वि.सं. १७२० देखि १७५३ सम्म रहेको मानिन्छ । यति हुँदाहुँदै पनि जितामित्र स्त्रीलम्पट थिए । उनले कुनै जात्रा हेर्ने क्रममा एक युवतीलाई देखे, जसलाई मन पराएर उनले विवाहसमेत गरे । राजाकी ती कान्छी रानी कुनै युवककी प्रेयसी थिइन् । राजाले आफूसँग जबर्जस्ती विवाह गरे पनि ती रानीले आफ्नो प्रेम बिर्सन सकिनन् । आफ्नो प्रेम प्राप्त गर्नकै लागि उनले आफ्ना प्रेमी भाजु कसा:लाई सरकारी ओहदामा नियुक्ति दिलाएर दरबार भित्र्याइन् ।

दरबार पसेपछि भाजु कसा:को षड्यन्त्र सुरु भयो । त्यही षड्यन्त्रको परिणामस्वरुप राजा जितामित्र मल्लको असामयिक मृत्यु भयो । कतिपय इतिहासकारले राजाको मृत्युमा भाजु कसा:ले विष प्रयोग गरेको हुनसक्ने आशंका पनि गरेका छन् । राजाको मृत्यु हुँदा उनका उत्तराधिकारी भुपतिन्द्र मल्ल नाबालक थिए । त्यही अवसरको फाइदा उठाउँदै आफू नाबालक राजाको नायब भएर कान्छी महारानीले भाजु कसा:लाई मुख्य प्रशासक नियुक्त गरिन् अनि भाजु कसा:सँग खुलेआम रासलीला गर्न थालिन् । त्यसपछि भाजु कसा:ले राजा भुपतिन्द्र मल्लको हत्या गर्ने षड्यन्त्र रचे । उक्त षड्यन्त्रको सुइँको पाएपछि भुपतिन्द्र मल्ल बेपत्ता भए । भुपतिन्द्र मल्ल बेपत्ता भएपछि उनकी आमालाई थुनामा राखियो । त्यसपछि कान्छी महारानी र भाजु कसा:को रासलीला उत्कर्षमा पुग्यो भने भाजु कसा: नै भक्तपुरको सर्वेसर्वा भए । बेपत्ता भएपछि लुकेर बसेका भुपतिन्द्र मल्लले उमेर पुगेपछि भक्तपुरका जनताको सहयोगमा विद्रोह गर्दै पुन: सत्ता आफ्नो हातमा लिए । सत्तामा फर्किएपछि उनले भाजु कसा:लाई शिरोच्छेदन गरी मृत्युदण्ड दिए भने आफ्नी कान्छी आमालाई महिला भएका कारणले मृत्युदण्ड नदिई आजीवन कारावासको सजाय सुनाए । भाजु कसा:लाई मृत्युदण्ड दिइएको ठाउँलाई अहिले पनि भक्तपुरवासीहरू घृणाको दृष्टिले हेर्छन् ।

प्रकाशित :मंसिर २६, २०७१

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्