मोफसलमा उधौलीको रौनक

मोफसलमा उधौलीको रौनक

- सन्तोष राई

मंसिर २६, २०७१

किराँती समुदायको महान पर्व चासोक तङ्नाम (उधौली) पूर्वका जिल्लाहरूमा धूमधामसँग मनाइएको छ । मोरङ, सुनसरी, झापा, इलाम, पाँचथर, ताप्लेजुङ, धनकुटा, भोजपुर, संखुवासभा आदि जिल्लामा बसोवास गर्ने किराँतीहरूले आ-आफ्नो परम्पराअनुसार चासोक तङ्नाम मनाए । लिम्बूहरूले विशेष महत्वका साथ शनिबार बिहान ११ बजेसम्म आ-आफ्नो साकेला थानमा भेला भएर च्याब्रुङ नृत्य, झाँकी एवं सांस्कृतिक कार्यक्रमहरू गरी चासोक तङ्नाम पर्व मनाएका थिए ।

किराँत याक्थुङ चुम्लुङ, इलामको आयोजनामा शनिबार इलामको माईखोलास्थित टापुबेंसीमा नयाँ अन्नबाली चढाइ खोलामा गालीश्राप बगाउँदै (सा:मुरा वादेम्मा) चासोक पूजा गरियो । यसैगरी मोरङकै कानेपोखरीमा चासोक तङनाम (फुङसोक) उधौली पूजा सम्पन्न भएको छ । मोरङको राजघाटस्थित आम्बारीमा चासोक तङ्नाम (फुङसोक) उधौली पुजाको अवसरमा शुक्रबारदेखि तीन दिने मेला सञ्चालन गरिएको थियो । मेलामा विभिन्न सांस्कृतिक कार्यक्रमका साथै छेलो हान्ने, म्युजिकल चेयर तथा डोरी डोरी तान्ने प्रतियोगिता पनि सम्पन्न गरिएका थिए । प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो हुनेलाई पुरस्कार पनि वितरण गरिएको थियो । उक्त मेलामा केलाङ, माङलाङ, यबालाङ, हाक्पारे, साकेला, धान नाच, हुर्रा नाच, धिमाल नाच, सन्थाल नाच, तामाङ सेलो, सङगीन, लाखे नाच आदि पनि समावेश गरिएको थियो । यसै क्रममा इटहरी, धरान, तरहरा, इनरुवा, मोरङको बेलवारी, सुन्दरदुलारीमा पनि किराँत याक्थुङ चुम्लुङलगायत अन्य किराँती संघ-संस्थाले धूमधामसँग उधौली पर्व मनाएका छन् ।

 

प्रकाशित :मंसिर २६, २०७१

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्