कोलकाता महोत्सवमा नेपाली सुन्तला

कोलकाता महोत्सवमा नेपाली सुन्तला

- पर्वत पोर्तेल

मंसिर २६, २०७१

पश्चिम बंगालको प्रान्तीय राजधानी कोलकातामा १९ देखि २१ मंसिरसम्म चलेको 'हिमालयन सुन्तला महोत्सव'मा इलामको सलकपुरे सुन्तला प्रदर्शन गरियो । एसोसिएसन फर कन्जर्भेसन एन्ड टुरिज्म (एक्ट) कोलकाताको आयोजनामा सम्पन्नउक्त महोत्सवमानेपाली महावाणिज्य दूत चन्द्रकुमार घिमिरेले भारतमा नेपाली सुन्तलाको माग भए पनि विविध कारणले निर्यात गर्न कठिनाइ भैरहेको जनाउँदै नेपाली सुन्तला प्रवर्द्धनका लागि महोत्सव कोसेढुंगा सावित हुने दाबी गरे ।

महोत्सवमा नेपाल, भुटान र भारतका विभिन्न स्थानमा उत्पादित सुन्तला प्रदर्शनीमा राखिएको थियो । नेपालको सलकपुरे सुन्तलाको स्टलमा अवलोकनकर्ताको बाक्लो भीड देखिन्थ्यो । सुन्तलासँगै एवोकार्डोर्, पुत्काको मह, अलैंची तथा विभिन्न नेपाली उत्पादनहरू महोत्सवका आकर्षण थिए । महोत्सवको सह-आयोजक सिलिगुडीस्थित हेल्प टुरिज्म नामक संस्थाका निर्देशक सुप्रितमराज वसुले दार्जीलिङ, नेपाल र भुटानमा सुन्तला उत्पादनको १ सय७७ वर्ष पुरानो इतिहास रहेको चर्चा गरे । खासगरी दार्जीलिङ र नेपालका सुन्तला पातलो बोक्रा भएका कारण मीठो मानिन्छ । वसुका अनुसार सन् १९७० को दशकदेखि सुन्तला उत्पादन क्रमश: घट्दै गएको छ, तर कुनै पनि देशका सरकारले यस विषयमा चासो नदिएको उनले बताए ।

४० को दशकका लोकप्रिय गायक रविन शर्मापनि कोलकाता महोत्सवमा प्रस्तुत भए । महोत्सवमा शर्माले दर्जनभन्दा बढी नेपाली तथा बंगाली गीत सुनाउने क्रममा बंगालीश्रोताहरू मन्त्रमुग्ध देखिन्थे । रवीन्द्र संगीतमा समेत विशेष दख्खल भएका शर्माले 'चिनी गो चिनी तुमारे' गाउँदा बंगाली दर्शक खुसी मात्र भएनन्, उनीसँगै स्वरमा स्वर मिलाउन मञ्चमै उक्लिए ।

महोत्सवको अन्तिम दिन नेपाली कलाकारहरूको समूहले महोत्सवलाई देउसीमय बनायो । दार्जीलिङ, भुटान र नेपालका नेपालीहरू देउसीमा सहभागी भएका थिए । उक्त अवसरमा झापा धुलाबारीको इष्ट होराइजन माविका विद्यार्थीले देखाएको नेपाली नृत्यले पनिसबैको मन जित्यो । आठ सदस्यीय उक्त समूहले एक दर्जनभन्दा बढी नेपाली गीतमा नृत्य प्रस्तुत गरेको थियो ।

प्रकाशित :मंसिर २६, २०७१

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्