काठमाडौंमा मिस हेरिटेज

काठमाडौंमा मिस हेरिटेज

मंसिर २६, २०७१

ई-प्लानेट नेपालको आयोजनामा नेपालमै पहिलो पटक 'मिस हेरिटेज इन्टरनेसनल-२०१४' शीर्षकको अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता सम्पन्न भएको छ । मंसिर १९ गते शुक्रबार भएको प्रतियोगितामा म्यानमारकी २७ वर्षीया ह्ला यिन काईले 'मिस हेरिटेज इन्टरनेसल-२०१४' को उपाधि प्राप्त गरिन् । ह्लाले प्रतियोगितामा बेस्ट बडीको एवार्डसमेत हात पारिन् । थाइल्यान्डकी १८ वर्षीया क्विन्ट्रा प्राफासोनोबोनको नाममा  फस्ट रनर्सअपको उपाधि सहित बेस्ट नेसनल कस्ट्युम तथा बेस्ट इभिनिङ गाउनको उपाधि पनि रह्यो । यसैगरी सेकेन्ड रनर्सअपमा मराठी चलचित्रकी २४ वर्षीया अभिनेत्री सुन्दरी शितल उपारे विजयी भइन् । थर्ड रनर्सअप सियरालियनकी मारियाटु डुकुरेले पिस एम्बेसडरको अवार्ड पनि हात पारिन् । फोर्थ रनर्सअप सिंगापुरकी भिनेसिया लिम हू सेले मिस हेरिटेज इन्टरनेसनल एसियाको उपाधि समेत प्राप्त गरिन् ।

राष्ट्रियता झल्काउने पहिरनमा आ-आफ्नो परिचय दिएपछि गति लिएको प्रतियोगितामा सहभागीहरू फेसन डिजाइनर समा बानुले तयार पारेका ढाकाका पहिरनमा पनि प्रस्तुत भएका थिए । वातावरणीयसचेतता झल्काउने पहिरन हुँदै इभिनिङ गाउन सम्मको प्रस्तुतिपछि सहभागीहरूमध्ये उत्कृष्ट ८ ले निर्णायक प्रश्नको सामना गरेका थिए । त्यसपछि विजेताको निक्र्यौल गरिएको थियो ।

प्रतियोगितामा नेपालकी नानी थापाले इन्भारमेन्टल एम्बेसडर, युगान्डाकी फ्लोरेन्स नामवासेले टुरिज्म एम्बेसेडर, बंगलादेशकी सुल्ताना राकाले फोटोजेनिक, जाम्बियाकी डोमिया लिहोन्डोले कन्जिनियालिटी, जिम्बावेकी जिन्हले डुबेले कल्चरल एम्बेसडर र मिस हेरिटेज इन्टरनेसनल अफ्रिका तथा रूसकी टाटियाना शेबोरोनिमाले मिस हेरिटेज इन्टरनेसनल युरोपको उपाधि जितेका थिए ।

सन् २०११ मा अफ्रिकी मुलुक जिम्बावेको सिपिटी मिडियाले स्थापना गरेको यो प्रतियोगितामा यसपटक नेपाललगायत भारत, बंगलादेश, थाइल्यान्ड, म्यानमार, सिंगापुर, सियरालियोन, जिम्बावे, जाम्बिया, उगान्डा, रसिया तथा बेलारुस गरी १२ राष्ट्रका युवतीको सहभागिता थियो ।

प्रकाशित :मंसिर २६, २०७१

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्