मालाको कुरा

मालाको कुरा

मंसिर २६, २०७१

चलचित्रकर्मी शिशिर राणाले आफ्नो नयाँ चलचित्र 'माला' का बारेमा जानकारी दिन बुधबार काठमाडौंमा पत्रकार सम्मेलन आयोजित गर्दै फस्टलुक, गीत, प्रोमो तथा टिजर सार्वजनिक गरेका छन् । यो चलचित्र फागुन ८ गतेदेखि प्रदर्शनमाआउनेछ । चलचित्रमा आर्यन सिग्देल तथा प्रियंका कार्की मुख्य भूमिकामा छन् । चलचित्रमा प्रियंकाले विवाहित तथा विधवा नारीको भूमिका निर्वाह गरेकी छिन् ।

आरोपको मुहूर्त

चलचित्र 'आरोप' को सोमबार भद्रकाली मन्दिरमा सम्पन्न शुभमुहूर्त समारोहमा अभिनेत्री सञ्चिता लुइँटेल तथा अभिनेता किशोर खतिवडाले मुहूर्त सट दिए । गत मंगलबारदेखि नै छायांकन प्रारम्भ भएको यो चलचित्रमा सञ्चिता र किशोरका अतिरिक्त सुशील पोखरेल, रश्मी भट्ट, ऋचा थापा आदिले पनि अभिनय गर्दैछन् । दिलाशा क्रिएसनको ब्यानरमा अमर ओलीले निर्देशन गर्ने यो चलचित्रको कथा सञ्चारकर्मी लक्ष्मण सुवेदीले लेखेका हुन् ।

दुई संघको सहमति

नेपाल चलचित्र निर्माता संघ तथा नेपाल चलचित्र संघबीच भएको नयाँ सम्झौता पत्रमा निर्माता संघका अध्यक्ष राजकुमार राई तथा चलचित्र संघका अध्यक्ष नकिम उद्दिनले सोमबार हस्ताक्षर गरेका छन् । नेपाली चलचित्रको प्रदर्शनलाई व्यवस्थित गर्न उक्त नयाँ सम्झौता गरिएको बताइन्छ । समारोहमा अध्यक्ष राईले निर्माता तथा प्रदर्शकहरूलाई आ-आफ्नो संस्थाको मर्यादामा ल्याउने आवश्यक भएको बताएका छन् भने उद्दिनले निर्माता संघ एवं चलचित्र संघले आपसी विवाद मिलाएर अघि बढ्दा चलचित्र उद्योगलाई फाइदा पुग्ने भएकाले उक्त सम्झौता गरेको बताएका छन् । दुवै संघबीच ११ बुँदै सम्झौता भएको बताइएको छ ।

संक्रमितसँग जिन्दगी रक्स

पुस १८ गतेदेखि प्रदर्शनमाआउने चलचित्र 'जिन्दगी रक्स' ले सफलता एचआईभी शिक्षा सदनका एचआईभी संक्रमित बालबालिकाहरूसँग खुसियाली साटासाट गरेको छ । चलचित्रका कलाकारसहितको समूहले बालबालिकाहरूसँग करिब तीन घन्टा बिताउने क्रममा नाचगानसहित खानपिन गरेको थियो । मानव जीवन संरक्षण मञ्च नेपालले बालबालिकाहरूलाई लत्ताकपडा हस्तान्तरण गर्ने समारोहमा 'जिन्दगी रक्स' को युनिट सहभागी भएको हो । मञ्चले चलचित्रको युनिटको हातबाट करिब ४० हजार रुपैयाँबराबरको न्याना पहिरन हस्तान्तरण गरेको थियो । ती बालबालिकाले पुस १८ गते यो चलचित्रसमेत हेर्ने छन् ।

चकलेटको फस्ट लुक

हास्य कलाकार निर्मल शर्माको डेब्यू निर्देशनको चलचित्र 'चकलेट' को फस्टलुक सार्वजनिक भएको छ । चलचित्रको फस्टलुक पोस्टरमा मिस्टर नेपाल आयुष्मान घिमिरे, नायिका पूजना स्त्री, नम्रता झा तथा एक बालिकालाई देख्न सकिन्छ । राजधानीका सडक बालबालिकाको कथामा आधारित यो चलचित्रमा अनुज शाक्य, सुनिता ठाकुर, कमल मैनाली, केशव भट्टराई, सुमन गैरे आदि कलाकारले पनि अभिनय गरेका छन् ।

सहरमा नयाँ स्टुडियो

चलचित्र, म्युजिक भिडियो तथा फोटोसेसन एउटै थलोमा गर्न मिल्ने अवधारणासहित काठमाडौंको दरबारमार्गमा मिलान इन्टरनेसनल स्टुडियोको स्थापना गरिएको छ । यो स्टुडियोमा चलचित्र तथा म्युजिक भिडियोको छायांकनका लागि दैनिक १५ हजार रुपैयाँ भाडामा ड्रेस तथा बत्तीको सुविधासमेत उपलब्ध गराइने बताइएको छ । मिलन इन्टरनेसनलका निर्देशक सपन दुलालका अनुसार स्टुडियोमा ३६ प्रकारका दृश्य समेटिएको ब्याकड्रप छ । नेपालकै सबैभन्दा ठूलो एक हजार स्क्वायर फिटको यो स्टुडियो इन्डोर सुटिङका लागि उपयोगी हुने यसका सञ्चालकको दाबी छ ।

प्रकाशित :मंसिर २६, २०७१

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्