मेरो हात उसले समायो, म अरूको हात समाउँदैछु

मेरो हात उसले समायो, म अरूको हात समाउँदैछु

  • शेरबहादुर परियार, पर्यटन व्यवसायी एवं समाजसेवी

- कृष्ण भट्टराई/अश्विनी कोइराला

मंसिर २६, २०७१

बाहिरबाट हेर्दा शेरबहादुर परियार सामान्य पर्यटन व्यवसायी हुन् । सौराहास्थित आफ्नै घरमा फेमिली होटल पार्कसाइड, पोखरामा ३५ कोठाको मध्यम स्तरको पोखरा इको रिसोर्ट एवं एउटा चलेको ट्राभल एजेन्सी । सबै व्यवसाय जोड्दा उनको कुल सम्पत्ति करोडौंको देखिन्छ । तैपनि उनको जति निजी सम्पत्ति छ, त्योभन्दा बढी सम्पत्ति बराबरको समाजसेवा उनले गरेका छन् । परियारकै अगुवाइमा सयौंको जीवन परिवर्तन भएको छ । परियारले सौराहामा एउटा सुविधासम्पन्न आँखा अस्पताल खोलेका छन् । जहाँ आँखासम्बन्धी सम्पूर्ण परीक्षण नि:शुल्क हुन्छ । २७ कठ्ठा जग्गामा गरिबहरूका लागि सुविधासम्पन्न आवासीय विद्यालय बन्दैछ । उनकै अगुवाइमा खुलेको गि्रन सोसाइटी नेपाल नामक सामाजिक संस्थामार्फत हात्तीको लिँड (गोबर) बाट कागज बनाउने कारखाना खुलेको छ । उक्त कागजबाट बनेका हस्तकलाका सामग्री जर्मनी निर्यात भैरहेको छ । यही संस्थाअन्तर्गत एउटा पुस्तकालय तथा सहकारी पनि चलेका छन् । ती सबैको आम्दानी आवासीय विद्यालय र अस्पताल चलाउन खर्च भैरहेको छ ।

धेरैजसो मानिस नामका लागि समाजसेवा गर्छन्, तपाईं केका लागि गर्नुहुन्छ ?

आफ्नो ऋण चुक्ता गर्न । म पनि सामान्य नेपाली केटाकेटी जस्तै पढाइलाई महत्व नदिने मानिस थिएँ । सौराहा घुम्न आएका एक जना जर्मन पर्यटक हेन्ज किञ्जलले मेरो अध्ययनको सबै खर्च जुटाइदिए । नेपाल मात्र होइन, भारतका चर्चित कलेजहरूमा ठूलो खर्च गरेर पढाइदिए । जब म आफ्नो खुट्टामा उभिएँ, मलाई लाग्यो, एकजना विदेशी जोसँग नेपालको कुनै साइनो थिएन, त्यस्तो व्यक्तिले त मेरा लागि लाखौं खर्चिए भने म नेपाली भएर नेपालीहरूका लागि किन केही नगर्ने ? मेरो आफ्नो गाउँका भाइ-बैनीहरूका लागि किन केही नगर्ने ? वास्तवमा मेरो सारा काम त्यही ऋण तिर्न केन्दि्रत छ ।

तपाईंको समाजसेवालाई कसले सहयोग गरिरहेका छन् ?

सुरुमा मैले स्थानीय चेपाङ बालबालिकाहरूलाई आफ्नै होटलको आम्दानीले पढाउन थालेको हुँ, तर एउटा व्यक्तिले कुनै काम गर्दा धेरै आरोप लाग्दो रहेछ । हामी नेपालीहरूको सोच धेरै परम्परागत छ । विदेशबाट डलर ल्याएर आफू खान्छ, देखाउन केटाकेटी पढाउँछ भन्ने आरोप लाग्न  थाल्यो । मैले केटाकेटी पढाएको देखेर कतिपय पर्यटकले तिमीले गरेको काम राम्रो छ, हामी के सहयोग गर्न सक्छौं भनेर सोध्न थाले । त्यसका लागि पनि संस्था बनाएरै काम गर्ने योजना बनाएँ अनि ग्रीन सोसाइटी नेपाल नामक संस्था खोलियो । उक्त संस्थालाई बासु ढुंगाना, वीरेन्द्र चौधरी, प्रमोद खकुरेल तथा भाइ श्रीलाल परियारले चलाइरहनुभएको छ । मचाहिँ संस्थामार्फत अझ व्यापक रूपमा बढीभन्दा बढी मानिसको जीवनमा परिवर्तन ल्याउन स्वदेश तथा विदेशबाट आर्थिक सहयोग जुटाउने काममा लागेको छु ।

तपाईंले हात्तीको लिँड (गोबर) बाट कागज बनाइरहनुभएको छ । यो सोच कसरी आयो ?

मेरो रिसोर्टमा आएका पर्यटकलाई जंगल घुमाउन २ वटा हात्ती पालेको थिएँ । एउटा हात्तीले दिनको २ सय किलो खाना खान्छ । जति ठूलो खाल्डो खनेर हात्तीको मल व्यवस्थापन गर्दा पनि अपुग हुने अवस्था आयो । हात्तीको मलको व्यवस्थापन कसरी गर्ने भनेर खोज्दै जाँदा थाइल्यान्डमा त्यसको कागज बन्ने कुरा पत्ता लाग्यो । मैले थाइल्यान्ड गएर हात्तीको मलबाट कसरी कागज बन्छ भनेर तालिम लिएँ । फर्केर आएपछि केही बेरोजगार गाउँले भाइ-बैनीलाई घरेलुमार्फत तालिम दिलाएर यो काम सुरु गरेको हुँ ।

कसरी बन्दो रहेछ, मलबाट कागज ?

हात्तीले जति खाना खान्छ, त्यसको ४० प्रतिशत मात्र पच्छ, बाँकी बाहिर निकाल्छ । त्यसलाई धोएर, छानेर पेल्दा २० प्रतिशत खेर जान्छ । बाँकी कागजको कच्चापदार्थ निस्कन्छ अर्थात् एउटा हात्तीले दिनभरि खाएको २ सय किलोग्राम खानेकुरामध्ये ८० किलोग्राम सामग्री कच्चापदार्थ बन्छ । त्यसबाट हातले, मेसिनले आफ्नो पुँजीअनुसार कागज बनाउन सकिन्छ । अहिले हामीले ८ वटा हात्तीको मल मात्र सदुपयोग गरिरहेका छौं । जबकि सौराहा क्षेत्रमा मात्र १ सय ५० भन्दा बढी हात्ती छन् ।

ती सबै हात्तीको मलबाट कागज बनाउन सकिन्छ भने किन काम नभएको ?

एक त यो प्रारम्भिक प्रयोग हो जुन हामीले सफल रूपमा गरिरहेका छौं । त्यसबाट बनेका सामग्री जर्मनीलगायत विभिन्न देशमा निर्यात भैरहेका छन् । जब यो काम सफल भयो, मैले नेताहरूलाई आफ्नो काम देखाएँ । नजिकैको जिल्लामा  भृकुटी कागज कारखाना छ, उक्त कारखानाले सौराहाको जंगलबाट मान्छे लगाएर घाँस कटाउँछ । त्यसलाई फ्याक्ट्रीमा लगेर पकाउँछ अनि कच्चापदार्थ बनाउँछ । जबकी हात्तीले घाँस खाने, त्यसलाई पेल्ने र कच्चापदार्थ तयार गर्ने तीनवटै काम गरेको हुन्छ । पर्यावरणको हिसाबले यो अनुकूल छ भने आर्थिक रूपले सस्तो पनि । सम्भवत:  विस्तारै काम अघि बढ्छ ।

तपाईं आफैंले फ्याक्ट्री खोले भैहाल्यो नि ?

मैले सुरुदेखि नै यो कामलाई सामुदायिक हितमा प्रयोग गरें, व्यवसाय बनाउने प्रयास गरिन् । किनभने मेरो व्यवसाय पर्यटन हो । म अरूतिर बाँडिदा काममा समस्या उत्पन्न हुनसक्छ । तैपनि हाम्रो काम देखेर विश्व वन्यजस्तु कोषले १० लाख रुपैयाँ पर्ने सामान्य मेसिन पठाइदिएको थियो । यद्यपि पार्टीगत राजनीतिका कारण हाम्रो संस्थामा आउनुपर्ने मेसिन अर्कै संस्थामा पुग्यो ।

कसरी ?

हाम्रो संस्थाका अध्यक्ष एउटा पार्टीसँग नजिक हुनुहुन्छ । अर्को संस्था वामपन्थी विचारधारा नजिक । यही जुँगाको लडाइँमा विदेशीले पठाएको मेसिन अर्को संस्थामा पुग्यो । त्यहाँ प्राविधिकहरू नभएका कारण मेसिन चलेन अनि त्यत्तिकै थन्कियो । अहिले मेसिन बिग्रन थालेको छ । हामी अहिले पनि हातैले कागज बनाइरहेका छौं ।

विरोध गर्नुभएन ?

(हाँस्दै) नेपालमा यस्तो राजनीति त सबैतिर छ नि । सबैको सोच कमिसन र पार्टीगत हित केमा हुन्छ भन्नेमा अडेको छ । संविधान त पार्टीगत सोचका कारण अड्किएको छ भने १० लाख रुपैयाँको कुरा कसले सुन्ने ? त्यसका लागि कुद्न थाल्यो भने थप पैसा खर्च हुन्छ । कुनै असल नेताले तिमीहरूले गरेको काम ठीक छ, हिजो गल्ती भएको हो भनेर मेसिन दिन्छन् भने लिन्छौं, होइन भने हामी आफैं काम गर्न सक्षम छौं ।

तपाईंले काठमाडौंको फोहोर व्यवस्थापन गर्न पनि निवेदन दिनुभएको छ रे । काठमाडौंको फोहोर व्यवस्थापन गर्ने के छ योजना ?

जर्मनीमा ३० करोड रुपैयाँ पर्ने एउटा मेसिन छ, जसलाई सरकारले अनुरोध गर्‍यो भने आधा रकम वा नि:शुल्क काठमाडौं आइपुग्छ । उक्त मेसिनमा फोहोर हाल्यो भने त्यसले प्लास्टिक, सिसाजस्ता कुरालाई सडकको अलकत्रा बन्ने सामग्री बनाइदिन्छ । सडेर जाने फोहोरलाई कम्पोस्ट मल बनाइदिन्छ । मैले दिएको प्रस्तावमा हामीलाई जग्गा र काठमाडौंको फोहोर दिने ग्यारेन्टी गर्ने हो भने काठमाडौंको फोहोर मात्र व्यवस्थापन हुँदैन, त्यसबाट उत्पादित सामग्री चीन र नेपालमा बिक्री गरेर राम्रो पैसा कमाउन सकिन्छ । सरकार आफैंले गर्दा पनि हुन्छ, निजी क्षेत्र र सरकार मिलेर गर्दा पनि हुन्छ ।

काम अघि नबढ्नुको कारण के होला ?

अरू पनि प्रस्ताव परेका होलान् । छलफल पनि भैरहेको होला । मुख्य कुरा कुन संस्थाले हालेको प्रस्ताव राम्रोभन्दा पनि यो कमाउने क्षेत्र हो, कसरी काम गर्दा बढी पैसा आफ्नो हात पार्न सकिन्छ भन्ने चलखेल हो कि भन्ने लागेको छ । नत्र यत्रो वर्षदेखि काठमाडौंमा फोहोर व्यवस्थापनको समस्या छ । त्यसबाट ठूलो आम्दानी हुन्छ, जुन खेर गैरहेको छ । महानगरपालिकाले वाषिर्क करोडौं रुपैयाँ खर्च गरिरहनुपरेको छ । वातावरण प्रदूषण पनि भैरहेको छ । तैपनि दर्जनौं संस्थाले हामी आफैंले फोहोर व्यवस्थापन गछौर्ं भन्दा किन पाइरहेका छैनन् ?

तपाईं दलित परिवारबाट आउनुभयो, दलित भएकै कारण केही समस्या भोग्नुभयो ?

मेरो विचारमा गरिब दलितले ठूलो समस्या भोगे । मेरो बुवा भारतीय सेनामा काम गर्ने भएकाले हामी हेपिने खालका गरिब थिएनौं । नेपालमा दलितको समस्या त छ तर त्यो समस्या गरिब भएकाले बढी छ । गरिब बाहुन पनि प्रसस्तै हेपिएका छन् । त्यही भएर म शिक्षा र सम्पन्नतामा जोड दिन्छु । मानिस सम्पन्न हुने बित्तिकै उसलाई समाजले सम्मान दिन्छ ।  अझ समाजका लागि केही गर्न थाल्ने हो भने उसलाई समाजले ठूलो इज्जत दिन  थाल्छ । मेरो हकमा पनि त्यही भयो ।

तपाईं गरिब परिवारबाट आउनु भएको होइन भने जर्मन नागरिकले कसरी सहयोग गर्ने अवस्था आयो ? तपाईं आफै पनि पढ्न सक्नुहुन्थ्यो, विदेशीको सहयोग किन लिनुभयो ?

यसको एउटा कथा छ । करिब १३-१४ वर्षको उमेरमा कक्षा ८ मा विद्यालय भर्ना गर्न बुवाले पैसा दिनुभएको थियो, तर त्यो पैसाले हामी चार जना साथी काठमाडौं घुम्न गयौं । बुवाले दिएको पैसा सकियो । उक्त कुरा बुवाले थाहा पाउनुभयो । त्यसपछि बुवाले स्कुल भर्ना हुने पैसा दिनुभएन । बरु भन्नुभयो, 'तैंले पैसाको महत्व बुझिनस् । अब विद्यालय भर्ना हुने पैसा आफैं जम्मा गर । तँलाई एक वर्षको समय भयो ।'

मेरो विद्यालय छुट्यो । म पैसा कमाउन ठाउँ-ठाउँ गएँ । १४ वर्षको ठिटोले कसरी पैसा कमाउने ? अन्तिममा एउटा रिसोर्टमा सामान्य काम पाएँ । त्यही बेला जर्मन पर्यटक उक्त रिसोर्टमा आए । उनीहरूले मेरो कथा थाहा पाए । जर्मनी फर्किएपछि हेन्ज किञ्जलले मलाई काठमाडौं गएर पढ्न सल्लाह दिए र उनैले खर्च पठाए । त्यसपछि उनैले मलाई स्नातकोत्तरसम्म अध्ययन गराए । उनले जर्मन भाषा पढेर पर्यटनको क्षेत्रमा काम गर्न पनि सुझाए ।

वास्तवमा बुवाले पढाउनु भएको भए, म बढिमा आइएसम्म पढ्थे हुँला । किनभने म सरकारी विद्यालयमा पढेको मानिस, अंग्रेजी उति राम्रो थिएन । जब म काठमाडौंको आवासीय विद्यालयमा पढ्न थाले, सुरुका तीन महिना १३ वटा विषयमध्ये १२ वटामा अनुत्तीर्ण भएको थिएँ । यसबाट पनि मेरो पढाइ अनुमान गर्न सकिन्छ । अरूले ममाथि लगानी गरिरहेको छ भनेपछि मैले केही गर्नुपर्छ भन्ने लाग्यो । त्यसमाथि शिक्षकहरूले मलाई साह्रै सहयोग गर्नुभयो । सरकारी विद्यालयका शिक्षकहरूले मेरो त्यो समस्या कसरी बुझ्न सक्थें र ?

प्रकाशित :मंसिर २६, २०७१

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्