नेपालमै सम्भावना छ

नेपालमै सम्भावना छ

- नरेन्द्र रौले

मंसिर २६, २०७१

चितवनको फूलबारीमा जन्मिएका मानबहादुर खड्काको जीवन चलचित्रको कुनै पात्रको जस्तै लाग्छ । बाल्यकालमा चुलबुले र झगडालु प्रवृत्तिका खड्का कालान्तरमा सोचेभन्दा बेग्लै भएर निस्किए । चितवनको शिवनगरमै ६ कक्षासम्मको अध्ययन गरेका मानबहादुरलाई ०४२ सालमा मुम्बई पुर्‍याइयो ।

मुम्बईमा भिनाजुसँग बसेर अध्ययन गर्दा मानबहादुरको दैनिकी फेरियो । नयाँ परिवेश, नयाँ भाषा, नौला साथीहरू । काम गर्दै अध्ययन गरेर उनको स्कुले जीवन बित्यो । 'मुम्बईमा सुरुवातका दिनमा मैले टेबल पुछ्ने, चिया सर्भ गर्ने काम पनि गरें ।' लेकसाइडस्थित फ्रिडम क्याफेमा उनले निर्धक्क सुनाए, 'मैले पहिलो जागिर १ सय भारतीय रुपैयाँमा गरेको हुँ ।'  सन् १९९१ मा मुम्बई छोडेर उनी बैंगलोर पुगे ।

पुना विश्वविद्यालयबाट टेलि कम्युनिकेसनमा इन्जिनियरिङ गरेका खड्काले दूरसञ्चार कम्पनी एयरटेलमा जागिर पाए । नेटवर्क राम्रो बनाउनु, सिस्टम चेक गर्नु तथा फोनमा कुराकानी गर्दा आइपर्ने विविध प्राविधिक समस्या समाधान गर्नु उनको प्रमुख जिम्मेवारी थियो । एयर टेल, एसर, एरिक्सन जस्ता भारतीय दूरसञ्चार कम्पनीमा काम गरेपछि उनी ट्रान्समिसन स्वीचिङ स्पेसलिस्ट भए ।

त्यो दिन उनलाई सपनाझैँ लाग्यो, जब उनको इमेलमा नाइजेरियाको एरिक्सन कम्पनीबाट एउटा इमेल आयो । तपाईंलाई टेक्निकल सुपरभाइजरका रूपमा काम दिन चाहन्छौं,  तलब ६ हजार अमेरिकी डलर, स्थानीय तलब ५ सय अमेरिकी डलर । त्यसका साथमा हवाईजहाजको टिकट नै उनको ठेगानामा आइपुगेको थियो । खड्का छक्क परे, विश्वासै लागेन । साथीभाइहरूलाई उक्त इमेल देखाए, तर कसैले पनि पत्याएनन् । यद्यपि खड्काले मोटोरोला एसर टेलिकममा खाइपाइ आएको जागिर छाडे । छाड्ने बेला उनको तलब ६० हजार भारु थियो । नाइजेरियाको  एरिक्सन कम्पनीलाई पछ्याउँदै उनी सपनाको उडान भर्न थाले । मनमा अनेक तर्क, वितर्कहरू खेलिरहे, कुन संसारमा जाँदैछु जस्तो लागिरहेको थियो । संयोगवश त्यही जहाजमा थिए, एक भारतीय मूलका नागरिक । उनले आफूलाई जागिरको अवसर दिने कम्पनी, तलब आदिका सम्बन्धमा बताउँदा ती भारतीयले विश्वासै गरेनन् । बरु उल्टै जवाफ दिए- म नाइजेरिया बसेको १५ वर्ष भयो, मेरो तलब जम्मा १ हजार ५ सय डलर छ । तिमीलाई कहाँबाट ६ हजार डलर दिन्छ ?

 नाइजेरियाको लागोस विमानस्थल ओर्लंदा मानबहादुरका आँखा एउटा प्लेकार्डमाथि परे । लेखिएको थियो— मिस्टर मानबहादुर खड्का वेल्कम टु नाइजेरिया । जुन कम्पनीले उनलाई इमेल गरेको थियो, त्यही कम्पनीका म्यानेजरले उनलाई स्वागत गरे । 'सँगैका साथीहरू गाउँमा हलो जोतिरहेका बेला, म आमाको आशीर्वादले त्यहाँसम्म पुगें ।' एरिक्सन कम्पनीमा मानबहादुरले टेक्निकल सुपरभाइजरका रूपमा ११ वर्ष बिताए । अफ्रिकन मुलुक घाना, केन्या, अल्जेरिया, जिम्बाबे, नाइजर, कंगो तथा टोगोका कुना-कुना चहारे । १ सय रुपैयाँ भारुबाट सुरु भएको उनको तलब पछिल्लो समयमा ८ हजार डलर पुगेको थियो । नाइजेरियाबाहिर कुनै दोस्रो मुलुकमा पाइलो टेक्नेबित्तिकै कम्पनीले दिनको २ सय डलर दिन्थ्यो । त्यति हुँदाहुँदै पनि मनमनै उनले योजना बुने— म नेपाल फर्कन्छु, आफ्नै देशमा केही व्यवसाय गर्छु ।

अन्तत: मानबहादुरले एक वर्षअघि एरिक्सन कम्पनीको जागिर छोडे । त्यतिबेला उनको तलब १० हजार डलर प्रतिमहिना थियो । पैसाको लोभभन्दा उनलाई नेपाल फर्कन हतार भयो । उनको ध्यान निजी व्यवसायतर्फ मोडिँदै गएको थियो । उनी विदेशको रमझमभन्दा नेपालको प्रकृतिसँगै रमाउन चाहन्थे । त्यही सोचको उपज हो, अहिले उनले सञ्चालन गरिरहेको कास्कीको घान्दु्रकस्थित एग्रो भिलेज रिसोर्ट । अन्नपूर्ण बेस क्याम्प जाने बाटैमा पर्ने उक्त रिसोर्टलाई उनले नमुना बनाएका छन् । खड्का आफ्नो रिसोर्टमा ६ जनालाई रोजगारी दिएका छन् । खड्काले रिसोर्टसँगै त्यहाँ भेडा पाल्ने तयारी पनि गरिरहेका छन् ।

मानबहादुर डाँडाकाँडा एवं गाउँघर घुम्न मन पराउँछन् । प्रकृतिको अध्ययन गर्नु उनको सोख हो । उनी कहिले घान्द्रुक, कहिले अन्नपूर्ण बेसक्याम्प त कहिले पर्वततिर पुगिरहेका छन् । बिहानै गाडी हाँक्दै फेवातालको किनारतर्फ लाग्छन् । ४२ देश घुमेका खड्का नेपाली परिकार चाख्न मन पराउँछन् । उनी ढिंडो र माछा भनेपछि हुरुक्कै हुन्छन् । चलचित्र हेर्ने खासै बानी छैन । बरु उनी पुराना गीत सुन्न रुचाउँछन् । खड्का आफ्नो बाँकी जीवन सहरमा होइन गाउँघरमै बिताउन चाहन्छन् ।

 

प्रकाशित :मंसिर २६, २०७१

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्