एक दिन

एक दिन

- सुविन भट्टराई

मंसिर २६, २०७१

एकै दिन त हो । जम्मा चौबीसवटा घण्टा मिलेर बनेको एक दिन । यसलाई जसरी बुझे पनि हुन्छ । चौबीस अंक धेरै हो । बाफ रे ! चौबीस घण्टा भने पनि भो । एक सबैभन्दा न्यून अंक हो । जम्मा एक दिन ? भने पनि भो ।

एक दिन भोकै बस्न सकिन्छ । एकदिन चिसोमा सुतेर बिताउन सकिन्छ । एकदिन गर्मीमा पसिना तर्तरी चुहाउँदै काट्न सकिन्छ । मात्र एकदिनको कुरा गर्ने हो भने जुम्ला वा हुम्लामा गएर मज्जाले बिताउन सकिन्छ । एकदिन त रक्सीमात्रै पिएर पनि बिताउन सकिन्छ ।

अलिक पोष्ट मोर्डन कुरा गरौं न । एकदिन फेसबुक नचलाइ पनि बिताउन सकिन्छ । एकदिन मोबाइल नबोकी घरबाट निस्किएर बाहिर गए, मज्जाले बित्छ ।

समग्रमा धेरै कुरा छन्, जो एक दिन गरिरहेको चीज छ भने नगरौं वा नगरिरहेको चिज रै'छ भने गरौंभन्दा सकिन्छ । त्यसो त बाँकीका अरू दिनहरू भनेको के नै हो र ? त्यै एक एक दिन बढ्दै गएर धेरै दिन हुने न हो । एकदिन भनेको लम्बेतान समयको एउटा चिनो टुक्रा न हो । तीनै टुक्राहरू मिलेर समय बनेको हो ।

कतिपय कुराहरू कस्ता हुन्छन् भने, जो एकदिन गर्न सकिन्छ भने त्यो अर्को दिन पनि गर्न संभव छ । शरीरलाई चाहिने आधारभूत तत्व गाँस, वास, वा कपास आदिसहित अरू केही आधारभूत तत्व त सधैं चाहिहाल्यो । तीबाहेक अरू कुराहरू जुन एकदिन गर्न संभव हुन्छन् नि, ती अर्को दिन पनि संभव हुन्छ ।

एकदिन मैले आफैंले एउटा प्रयोग गरिहेरें । मोबाइल स्विचअफ गरेर त्यसलाई घरमै छाडी बाहिर निस्किएँ । उक्त मोबाइल आफूसँग लिएर निस्किएबीच बाटैमा अन गरेर प्रतिज्ञा भंग गर्ने हुँ कि भन्ने डरले ।

जसै घरबाट निस्किएँ, पाइन्टको दाहिने गोजीमा केही मिसिङ छ भन्ने भयो । केही छुटेजस्तो, केही गलत भैरहेको छ जस्तो पनि भैरह्यो  तर मोबाइल छाडेको छु भन्ने तथ्यले अघि बढ्न प्रेरित गरिरह्यो ।

बाइक स्टार्ट गरें । हरेक दुई मिनेट बाइक कुदेपछि दाहिने गोजी 'घुइँय' गरेजस्तो महसुस भैरह्यो । एकदुइपल्ट त फोन आए जस्तो लागेर रोक्ने प्रयास पनि गरें ।

जसै दिन बित्दै गयो, बानी परिँदै गैयो । गोजीमा फोन छैन, यसर्थ अब मलाई कहीँ पुग्नु छैन । कसैको दवाबमा हतार गर्नुछैन । न कोही मलाई पर्खिरहेको छ न म कसैलाई खोजिरहेछु । यन्त्रहरूले मान्छेलाई पनि यान्त्रिक बनाउँदोरहेछ । म फुक्का छु । म स्वतन्त्र छु—यस्तै महसुस भैरह्यो ।

घडी लगाउने बानी छैन मेरो । यसर्थ समयको पनि कुनै हेक्का रहेन । कहीँ पुग्नुपर्ने भए, केही बित्दो भए आवश्यक हुँदो हो समय, नभए त समय पनि आकाशमा लम्किरहेको घामको यात्राभन्दा बढ्ता केही नलाग्ने ।

सकियो एक दिन । मैले ठानेँ, चलेकै थियो मोबाइल नहुँदा पनि जीवन, किन चल्न नसक्ला र ? कैलेकाहीँ फरक काम गर्नुले आफूलाई आफ्नै नजरमा विशेष बनाउँदो रहेछ । विशेषता आकाशबाट वर्षंदैन, आफैंले आफैंलाई बनाउन जान्नुपर्छ ।

यो एक दिनको प्रयोग विशेषत : हामी नराम्रा बानीबेहोरा छन् भने तिनलाई हटाउन प्रयोग गर्न सकिन्छ । चुरोट खानेहरूले एकदिन कुनै पनि हालतमा खान्न भन्ने इच्छाशक्ति राखौं । एकदिन पर्स र मोबाइल नलिइ कतै एकान्तमा जाऔं । न चुरोट खाने साथीभाइको फेला परिन्छ, न आफूसँग पैसा नै हुनेछ, त्यो खानलाई । बढी बोल्ने मान्छे हुनुहुन्छ भने एकदिन एक्लै बसिदिनुस् । कम बोल्ने हुनुहुन्छ भने आफूभन्दा पनि कम बोल्ने मान्छे छानेर गफ गर्ने प्रयास गर्नुस् । जे गरिरहेका छौं, आफूलाई चित्त नबुझ्ने काम लाग्छ भने, मन नलागी-नलागी भए पनि कम्तीमा सुरुचाहिँ गरौं ।

अनगिन्ती प्रयासहरू एकदिनबाटै, अझ एक क्षणबाटै प्रारम्भ हुन्छन् । एक दिन केवल सुरुवात हो । समयको पहिलो खुड्किलो, जहाँ टेकेर हामी सफलताका अनन्त उचाइसम्म पुग्न सक्छौं ।

प्रकाशित :मंसिर २६, २०७१

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्