बुबा-आमालाई पाल्ने धोको

बुबा-आमालाई पाल्ने धोको

- अश्विनी कोइराला

मंसिर १९, २०७१

अनुहारको बनोट किराँतको जस्तो थिएन, न त गोरो वर्णको नै थियो । तैपनि उनले आफ्नो नाम मिल्का किराँती राई बताइन् । अनुहारमा मधेसी छनक आउँथ्यो तर बोल्दा शुद्ध नेपाली बोलिरहेकी थिइन् । उनी काठमाडौंमा विरलै भेटिने युवतीजस्ती लागिन् ।

उमेरमा स्याल पनि घोर्ले हुन्छ । जीउमा फुर्ती र आशा हुन्छ । आँखामा ठूला-ठूला सपना हुन्छन् । त्यसको विपरीत थ्ािइन् उनी । काठमाडौंको सडकमा निरास अवस्थामा हिँडिरहेका बेला साप्ताहिकले उनलाई भेटेको थियो । उनको हातमा स्नातकसम्म पढेका सर्टिफिकेट थिए । जाडो मौसममा पनि अनुहारबाट चिट्चिट पसिना आइरहेका थिए । भर्खरकी युवती प्रौढ अवस्थाजस्तै घरी-घरी खुई-खुई गरिरहेकी थिइन् । यौवनमा हुने उमंग र आशा अनुहारबाट गायब थिए ।

'जागीर खोज्न रौतहटको चन्द्रनिगाहपुरबाट काठमाडौं आएकी हुँ । तीन महिना भयो, काम पाएकी छैन ।' केही बेर कुराकानी गरेपछि मिल्का किराँती राईले भनिन्, 'म काठमाडौंका लागि विरानो होइन, तर काठमाडौंले मलाई बिर्सिएछ ।'

विगत कथा

मिल्का, यादव आमा र राई बाउकी छोरी हुन् । २५ वर्षअघि एउटा राईले घना यादव बस्तीकी एउटी युवतीलाई मन पराएको रहेछ । छिमेकी गाउँका दुवैले आँखैआँखाबाट आफ्नो प्रेम व्यक्त गरे । बाहिर यो कुरा गर्न सक्ने हिम्मत थिएन । दुई वर्षसम्म उनीहरूको प्रेम गुपचुप रह्यो । जब युवतीको परिवारले उनको विवाह भारतको कुनै गाउँमा गर्ने निर्णय गर्‍यो, उनी राई युवकसँग भागेर काठमाडौं आइन् । काठमाडौंमा युवकले मेकानिकको काम गर्न थाल्यो । युवती कोठा व्यवस्थित गर्न थालिन् । पाँच वर्षभित्रै उनीहरू काठमाडौंमा स्थापित भए । तीन सन्तान जन्मिए । तीमध्ये जेठी छोरी हुन्, मिल्का किराँती राई । सन्तान हुर्कंदै गएपछि उनीहरूलाई राम्रो विद्यालयमा पढाउन मिल्काका बुवा वैदेशिक रोजगारीमा गए । १० वर्ष मिल्काका बुवा वैदेशिक रोजगारीमा रहे, मिल्काले प्लस टुसम्म काठमाडौं पढिन् । भाइ र बैनीले पनि राम्रै स्कुल पढे ।

लामो समय विदेशमा दु:ख गरेका कारण उनका बुवा रोगी भए । पछिल्लो पटक नेपाल फर्किएपछि उनी विदेश जान सकेनन् । विभिन्न रोगले थलिए । त्यसैले उनीहरू गाउँ फर्किए । कमाएको पैसाले गाउँमा एउटा घर बनाए । बुवाले कमाएको पैसा सकिएपछि मिल्कालाई चिन्ता लाग्नु स्वभाविक थियो । मिल्का गाउँमा रोगी बुवा  र पढिरहेका भाइ-बहिनीलाई छाडेर जागिर खान काठमाडौं आइन् । 'छोराले मात्र बुवा-आमाको दु:ख हेर्नुपर्छ भन्ने छ र ?' एक्लै काठमाडौं किन आएको भन्ने प्रश्नमा मिल्का भन्दै थिइन्, 'उहाँले हाम्रा लागि धेरै दु:ख गर्नुभयो, अब मेरो पालो ।'

प्रेमको दु:ख

मिल्का आफ्नो बुवा-आमाको प्रेम र विवाहलाई आदर्श कर्म मान्छिन् । समाजबाट धेरै विरोध भए पनि आमा-बुवा कहिल्यै आत्तिएको वा डराएको थाहा पाइन् । 'मैले आजसम्म मामाघर देखेकी छैन । मेरी आमा २५ वर्षदेखि आफ्नो माइती जानुभएको छैन ।' यो प्रसङ्ग आएपछि मिल्काले दु:खी हुँदै भनिन्, 'सारा संसारमा प्रेमलाई सम्मान गर्छन्, मेरा मम्मी-ड्याडीको प्रेमको सम्मान भएन ।'

उनको घरमा बुवाको सम्मान छ, तर आमाको सम्मान छैन । देउरानीहरूले पनि तिमी भनेर सम्बोधन गर्छन् । उता माइतीमा बुवालाई ज्वाइँ त टाढाको कुरा, मान्छे नै मान्दैनन् । 'यति हुँदाहुँदै पनि मेरा आमा-बुवा एक-अर्कालाई यति प्रेम गर्नुहुन्छ, त्यो देखेर म उहाँहरूकी छोरी भएकोमा गौरव गर्छु ।' मिल्काले भनिन्, 'कहिलेकाहीँ लाग्छ, मेरी ममीलाई ड्याडीले जति माया गर्नुहुन्छ, मैले त्यस्तो केटो पाउँछु कि पाउँदिन ।'

हिजोआज जात-जातिबीच राज्य छुट्याउने कुरा सुन्दा मिल्कालाई थप रिस उठ्छ । 'हिजो एकै ठाउँ हुँदा त यस्तो अवस्था थियो भने राज्य नै छुट्याएपछि के हुन्छ ?' मिल्का जब राजनीतिको कुरामा आइन्, उनका आँखामा आँसु देखिए । कुरा अघि बढाउन सकिनन् । तैपनि बिदावारी हुनुअघि भनिन्, 'तपाईं त ठूलो मान्छे, नेताहरूसँग कुरा गर्न सक्नुहुन्छ । हामीलाई जातीय होइन, जसले जोसँग पनि प्रेम र विवाह गर्न पाउने नीति चाहियो । त्यस्तो राज्य बनाउने मिल्काको इच्छा छ भन्ने कुरा सुनाइदिनुहोला ।'

प्रकाशित :मंसिर १९, २०७१

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्