पढाइ थ्रिडी एनिमेसनको

पढाइ थ्रिडी एनिमेसनको

मंसिर १९, २०७१-

थ्रिडी एनिमेशनको कोर्स प्रविधिमा रुचि राख्ने सिर्जनशील तन्नेरीहरूका निम्ति उपयोगी हुनसक्छ । यसको अध्ययन अहिले नेपालमै गर्न सकिन्छ । नेपाली परिवेशमा नयाँ लाग्ने यो विषयको अध्ययनपछि रोजगारीको अवसर पनि खुला हुने नयाँ वानेश्वरस्थित रेन मेकर्स एनिमेसन स्टुडियोका प्रवन्ध निर्देशक तपस जोसी बताउँछन् । रेन मेकर्सले थ्रिडी एनिमेसनको विविध कोर्स गराउँदै आएको छ । 'यो क्षेत्रमा अहिले पर्याप्त जनशक्ति छैन,' जोशीको दाबी छ- 'त्यसैले कोर्स गरिनसक्दै काम पाइन्छ ।' एनिमेसनको वढ्दो ट्रेन्डले यो क्षेत्रमा रोजगारको अवसर पनि खुला गरिदिएको उनी बताउँछन् ।

प्रविधिमा रुचि भएका सगुन थापा बीबीएसको पढाइ बिट मारेर एनिमेसन कोर्स गर्न थालिन् । ग्राफिक्स, भिडियो एडिटिङ, एनिमेसन, मोडलिङ, टेक्स्चरिङ, कलरिङजस्ता विषयमा दक्षता हासिल गर्ना साथ उनलाई जागिरले पछ्याइहाल्यो । अन्तत: उनी पुगिन्, ललितपुरको इन्सेन्ट रेन स्टुडियोमा । यो कम्पनीले हलिउडका लागि भिज्युअल इफेक्टस् एवं एनिमेसनको कामसमेत गरिरहेको छ ।

सिसिआरसी कलेजवाट प्लस टु सिध्याएपछि एनिमेसन कोर्स गरेका सिद्धार्थ केसीको कथा पनि सगुनकै जस्तो छ । घरकै कम्प्युटरमा मुभी मेकर चलाएर नअघाएका केसीले एक इन्स्टिच्युटबाट ग्राफिक्स एनिमेसनका विविध आयामका सम्बन्धमा गहिरिएर अध्ययन गरे । कोर्स सक्न नभ्याउँदै ओलिभ मिडियाबाट जागिरको अफर आयो । एनिमेसनका क्षेत्रमा आउटसोर्सिङ गरिरहेको उक्त कम्पनीले सिद्धार्थलाई प्लेटर्फम त दियो नै, चित्तबुझ्दो पारिश्रमिक पनि प्रदान गर्‍यो ।

त्यसो त एनिमेसनको क्षेत्रमा दक्षता हासिल गरेर फ्रिलान्सर काम गर्नेहरू पनि छन् । उदाहरण हुन्, विपुल क्षेत्री । उनले मोबाइलका लागि गेमिङ एप्स बनाएर राम्रो आम्दानी लिइरहेका छन् । 'एनिमेसनको कोर्स गरेपछि एउटा कम्पनीमा जागिरका लागि अन्तर्वार्ता दिन गएँ,' विपुल भन्छन्- 'अन्तर्वार्ता दिएकै दिन जागिर पनि पाएँ, तर फ्रिलान्सर भएरै कमाइ गर्न सकिन्छ भन्ने बुझेपछि मैले उक्त जागिर त्यागें ।

एनिमेसनमा एड्भान्स कोर्स गरेका रिकेस पान्डेले फ्रिलान्सर काम गरेरै आफ्नो अध्ययन खर्च असुल गरिसकेको बताए । 'मैले यो कोर्स गर्न २ लाख ५० हजार खर्च गरेको थिएँ' उनले उत्साहित हुदै सुनाए, 'त्यो सवै उठाइसके ।' रिकेसले चलचित्रको पोस्ट प्रोडक्सन, म्युजिक भिडियो तथा इभेन्टको काममा ग्राफिक्स चलाएर पनि आम्दानी गरिरहेका छन् ।

शिव मुखिया

के हो एनिमेसन ?

लाइफ अफ पाइ, प्रोमेथिएस, अवतार जस्ता ब्लकवस्टर हलिउड चलचित्र हेरेका दर्शकले थाहा पाएकै हुनुपर्छ, एनिमेसनको चमत्कार । पछिल्लो समय नेपाली चलचित्र, विज्ञापन तथा म्युजिक भिडियोमा पनि एनिमेसनको काम हुन थालेको जोशी बताउँछन् । सिनियर एनिमेटर करुण थापाका अनुसार 'काल्पनिक कुरालाई वास्तविक वनाएर चलायमान वनाउनु नै एनिमेसन हो ।' श्रव्यदृश्य सामग्री तयार गर्दा वास्तविक रूपमा छायांकन गर्न नसिकने दृश्यहरू एनिमेसनबाटै तयार गरिन्छ । कुनै पनि चरित्र तयार गर्ने, मोडलिङको काम, स्पेसल इफेक्ट्स, आफ्टर इफेक्ट्स, कलरिङ, वायर रिमुभ, सेट एक्सटेन्सन, थ्रिडी इन्टिग्रेटेड इफेक्ट, रोटोस्कपी, गि्रन स्क्रिनजस्ता काम यसभित्र समेटिन्छन् । एनिमेसनको संसार पूर्ण रूपले काल्पनिक एवं प्रविधिमा आधारित छ ।

रोजगारीको सम्भावना प्रचुर छ

तपस जोशी, प्रबन्ध निर्देशक, रेन मेकर्स स्टुडियो, नयाँ बानेश्वर

थ्रिडी एनिमेशनको कोर्स गर्न के कस्तो शैक्षिक योग्यता चाहिन्छ ?

यो सीपमूलक कोर्स भएकाले यसमा यति नै पढेको हुनुपर्छ भन्ने छैन । यदि कुनै व्यक्ति यो कोर्स गर्न चाहन्छ भने उसलाई कुनै बन्देज छैन । यद्यपि यसका लागि एकदमै परिश्रमी भने हुनुपर्छ भने अंग्रेजी भाषाको आधारभूत ज्ञान पनि अत्यावश्यक हुन्छ ।

कोर्स कति अवधिको हुन्छ ?

हामीले छोटो र लामो अवधिको कोर्स गराइरहेका छौ । छोटो तीनमहिने र लामो २० महिने । यसमा सैद्धान्तिक कम, प्रयोगात्मक कक्षा बढी हुन्छ ।

एनिमेसनअन्तर्गत के-के सिकाइन्छ ?

सुरुमा त कम्प्युटरको आधारभूत कुरा नै सिक्नुपर्छ । त्यसपछि फोटोसप, प्रिमियर, आफ्टर पेज, थ्रिडी म्याक्सजस्ता कुरा सिकाइन्छ । यसमा चित्रण गर्ने, थ्रिडी मोडल तयार गर्ने, चरित्रलाई टेक्स्चर गर्ने जस्ता काम हुन्छन् ।

यो क्षेत्रमा रोजगारीको सम्भावनाचाहिँ कति छ ?

हामीकहाँ यस किसिमको दक्षता हासिल गरेको जनशक्ति एकदमै कम छ । हाम्रो इन्स्टिच्युटबाट कोर्स सकेकाहरू कसैले पनि खाली हात बस्नुपरेको छैन । पछिल्लो समय हामीले ओलिभ मिडियासँग पनि सहकार्य थालेका छौं । विभिन्न कम्पनीले यो क्षेत्रमा आउटसोर्सिङको काम गर्ने हुनाले रोजगारीको सम्भावना प्रचुर छ ।

प्रकाशित :मंसिर १९, २०७१

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्