आई लभ यू भन्दै ठगी

आई लभ यू भन्दै ठगी

- ठाकुरसिंह थारु

मंसिर १२, २०७१

सुन्दर युवतीले सामाजिक सञ्जाल फेसबुकमा साथीका लागि अनुरोध गरिन् भने मख्ख पर्ने बेला छैन अहिले, किनभने त्यही नक्कली मायाप्रेममा फसेर ठगिन सकिन्छ । ठगीका अनेक प्रकारमध्ये फेसबुक पनि एउटा माध्यम भएको छ । अचेल सामाजिक सञ्जाल फेसबुकबाट नक्कली माया व्यक्त गर्दै ठगी गर्ने चलन बढेको छ । खासगरी युवतीहरूको नक्कली प्रेममा टिनएजका युवाहरू ठगिने गरेका छन् । मायाको नाटक गरेर फोन सम्पर्कका लागि मोबाइलको रिचार्ज मागेर फेसबुकबाट ठगी हुने गरेको हो । त्यस्ता गलत कार्यमा लाग्ने युवतीहरूले फेसबुकमा साथी बनाउन अनुरोध गर्छन् । केही दिनको फेसबुक चिनजानपछि मोबाइल नम्बर दिने र नक्कली प्रेम गाँसेर रिचार्ज कार्ड माग्ने गरेको भुक्तभोगीहरू बताउँछन् ।

'त्यस्ता किशोरीले आई लभ यू भन्नु त समान्य हो । उनीहरूले भेटेर रमाइलो गरौंला है भनेर फसाउँछन्,' नेपालगन्जका भुक्तभोगी किशोर सुरज शर्मा भन्छन्, 'झूटो मायामा फसेर एक वर्षसम्म रिचार्ज कार्ड पठाइयो । पठाउन छोेडेपछि उसले मलाई साथीको सूचीबाटै ब्लक गरे ।' युवाहरूलाई फसाउन रिचार्ज ठगी गर्ने युवतिले अरूका तस्बिर आफ्नो वालमा पोस्ट गर्ने उनले बताए ।

अर्का युवा सुशील गुरुङले पनि फेसबुकको नक्कली प्रेममा फसेर करिब १ हजार रुपैयाँको रिचार्ज ठगिएको बताए । 'फेसबुकबाट चिनजान भएपछि किशोरीले माया गर्छु भनिन् । मैले पनि माया गर्छु भनें, तर उसले रिचार्जका लागि पो माया गरेकी रहेछ,' उनले भने— 'एक वर्षपछि मात्र उसले मलाई ठगिरहेको थाहा पाएँ ।' टिनएजका अनेकन युवा यसरी नै नक्कली प्रेममा फसेर ठगिने गरेका छन् ।

प्रकाशित :मंसिर १२, २०७१

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्