एक वर्षमै ५० प्रतिशतले सडक दुर्घटना कम गर्न सकिन्छ

एक वर्षमै ५० प्रतिशतले सडक दुर्घटना कम गर्न सकिन्छ

  • नारद कुँवर, सिनियर सडक सुरक्षा इन्जिनियर, न्युजिल्यान्ड

- अश्विनी कोइराला, नरेन्द्र रौले

मंसिर १२, २०७१

पाल्पाली नारद कुँवर करिब दुई दशक पहिला हालको ग्रामीण पूर्वाधार विकास शाखाका इन्जिनियर थिए । उनी आफ्नो काम नयाँ तरिकाले गर्न चाहन्थे तर सरकारी सिस्टमको ढिलासुस्तीका कारण उनी वाक्क भए । कतिसम्म भने उनलाई इन्जिनियरिङ पेसाप्रति नै वितृष्णा उत्पन्न भयो । पेसाबाट भाग्न खोजेका नारदले अस्ट्रेलियामा व्यवस्थापन अध्ययनका लागि छात्रवृत्ति प्राप्त गरे । त्यही बहानामा उनी अस्ट्रेलिया पुगे र त्यहाँको चर्चित विश्वविद्यालयबाट एमबीए पूरा गरे । त्यसपछि नेपाल फर्किएका नारदले निजी कलेजमा पढाउन थाले । केही वर्ष कलेजमा पढाउने क्रममा उनले थाहा पाए, केही विद्यार्थीलाई पढाएर उनीहरूमा नयाँ ऊर्जा त भर्न सकिन्छ तर समग्र सिस्टम परिवर्तन गर्न सकिँदैन । त्यसपछि उनी इन्जिनियरिङमै थप अध्ययन गर्न न्युजिल्यान्ड पुगे । न्युजिल्यान्डमा उनको प्रतिभाको ठूलो कदर भयो । कुँवरले ओक्ल्यान्ड विश्वविद्यालयमा यातायात इन्जिनियरिङमा छात्रवृत्तिमा स्नातकोत्तर गर्ने अवसर मात्र पाएनन्, अध्ययनलगत्तै रोड पर्फमेन्स इन्जिनियरका रूपमा सरकारी जागिरसमेत पाए ।   

यता नेपालमा सडक दुर्घटनाका खबरले आम मानिस मर्माहत छन् । हालै सार्वजनिक भएको सरकारी तथ्याङ्कअनुसार नेपालमा सडक दुर्घटनामा दैनिक ५ जनाको ज्यान जान्छ भने २० जना घाइते हुन्छन् । सडक दुर्घटना उत्कर्षमा पुगेकै बेला पारिवारिक भेटका लागि नारद कुँवर नेपाल आएका थिए । यही बेला साप्ताहिकले कुँवरसँग भेटघाट गरेको थियो । कुँवरले सडक दुर्घटना विशेषज्ञका रूपमा आफूसँग भएका महत्वपूर्ण जानकारी त दिए नै नेपालको विकास नहुनुका पछाडि आफ्ना निजी अनुभव पनि व्यक्त गरेे ।

नेपालमा भएका सडक दुर्घटनाका समाचार सुनिरहनुभएको छ ?

न्युजिल्यान्डमा हुँदा नेपालको सडक सुरक्षाको अवस्थाप्रति ध्यान दिन पाएको थिइनँ । यहाँ आएपछि काठमाडौंदेखि आफ्नो घर पाल्पा र त्यसवरपरका सडक नियाल्न पाएँ । यहि बेला सडक दुर्घटनाका खबर पनि धेरै आए । अवस्था भयावह हुँदै गएको महसुस भैरहेको छ । सवारी साधन थोरै हुँदा पनि दैनिक पाँच जनाको मृत्यु र २० जना घाइते हुनु गम्भीर कुरा हो ।

सबैले बुझ्ने भाषामा भन्नुपर्दा बढ्दो दुर्घटनाको कारक तत्त्व के हो ?

कर्तव्यको निर्वाह नगर्नु नै दुर्घटनाको प्रमुख कारण हो । यसको अर्थ के हो भने सरकार, ट्राफिक प्रहरी, सवारी चालक तथा यात्रु सबैले आफ्नो कर्तव्यको पालन नगर्नु नै दुर्घटनाको प्रमुख कारण हो । जुन मानिसले जे गर्नुपर्ने हो त्यो काम गर्नेबित्तिकै यस्तो समस्या धेरै हदसम्म कम हुन्छ ।

सडक दुर्घटनामा सरकारले गर्नुपर्ने काम के हो ?

न्युजिल्यान्ड संसारको सबैभन्दा सुरक्षित, नागरिकले सरकारप्रति भरोसा गरेको र सबैले आफ्नो कर्तव्य पालन गर्ने देशहरूमध्ये पहिलो नम्बरमा पर्छ । संसारमा सबैभन्दा कम भ्रष्टाचार हुने र नागरिकले पनि आफ्नो दायित्व पूरा गर्ने देशहरूमध्ये पर्छ । त्यहाँको सरकारले कुनै काम गर्नुअघि कहाँ के समस्या छ, त्यसको तथ्याङ खोज्छ । त्यसका लागि सम्बन्धित निकायलाई परिचालन गर्छ । ती निकायहरूले सरकारले खोजेको कुरा ग्राउन्ड लेभलमा गएर, खोज्ोर रिपोर्ट दिन्छ । त्यही रिपोर्टका आधारमा बजेट र जनशक्ति परिचालन हुन्छ । सडकका सन्दर्भमा पनि यही कुरा लागू हुन्छ ।

कसरी काम हुन्छ ?

न्युजिल्यान्डमा राज्य सञ्चालनका दुई तह छन् । एउटा केन्द्रीय सरकार अर्को स्थानीय सरकार । केन्द्रीय सरकारले देशका मुख्य राजमार्ग र त्यसको सुरक्षाको जिम्मा लिन्छ भने स्थानीय सरकारले त्यहाँका सामान्य सडक र त्यसको सुरक्षाको जिम्मा लिन्छ । स्थानीय सडकको तथ्याङ्क पनि केन्द्र सरकारसँग हुन्छ । म केन्द्रीय सरकारको सडक सुरक्षा उपप्रमुख भएका नाताले देशभरिका सडकको अवस्था कस्तो छ, त्यसको रिपोर्ट हेर्छु र कहाँ कुन अवस्थाको सडकमा के गर्नु उपयुक्त हुन्छ भनेर मन्त्रालयमा रिपोर्ट गर्छु । त्यसका लागि देशभरीका सडक वा अन्य सवारी साधनका मार्गको अवस्थामा गर्नुपर्ने सुधार, कुन ठाउँमा नयाँ काम गर्नुपर्छ भन्ोर स्थानीय नेताहरूलाई पनि जानकारी गराउनु पर्दछ । त्यहीअनुसार बजेट परिचालन हुन्छ र काम हुन्छ । कुनै त्रुटि नहोस् भन्नेमा सबै सचेत हुन्छन् । त्यसैले सडक दुर्घटना निकै कम हुन्छ ।

न्युजिल्यान्डमा कति प्रकारका सडक छन्, त्यसको सुरक्षा व्यवस्था कस्तो हुन्छ ?

त्यहाँका सडक ४ प्रकारका हुन्छन् । पहिलो राष्ट्रिय हाइवे जसलाई देशको मुटु मानिन्छ । यो मार्गमा कृषिजन्य उत्पादनहरू, औषधि तथा राष्ट्रका लागि महत्त्वपूर्ण मानिएका सामग्री ओसारपोसार हुन्छ । यसलाई देशको अर्थतन्त्रको मुटु पनि भनिन्छ । यस्तो हाइवे कहिल्यै बन्द हुँदैन । वाहनको स्पिड पनि तोकिएको हुन्छ जसले गर्दा समयमै दुध, मासुजस्ता अत्यावश्यक वस्तु गाउँ-गाउँबाट सहरसम्म पुगुन्, उद्योगका उत्पादन पनि कम मूल्यमा उपभोक्तासम्म पुगुन् । कुनै पनि सामग्री एक मिनेट ढिला उपभोक्ताकहाँ पुग्नु ठूलो समस्या मानिन्छ, त्यसैले यस्तो मार्गको ठूलो महत्त्व हुन्छ । यसको सुरक्षा पनि उच्च तहको हुन्छ । त्यस्तो सडक अत्यन्तै स्तरीय तथा ठूलो लागत लगाएर बनाइन्छ । राजमार्गले कमभन्दा कम इन्धन खपत गरोस्, कुनै व्यवधान उत्पन्न नहोस् भन्ने सोच हुन्छ ।

अरु तीन खालका सडक कुन-कुन हुन् ?

दोस्रो वर्गको सडक त्यसलाई मानिन्छ, जुन सडक मूल राजमार्गसँग जोडिन्छ । यस्तो सडकमा उद्योगधन्दा, कृषिजन्य उत्पादन एवं राष्ट्रिय महत्त्वका कार्यालयहरू हुन्छन् । सैनिक, प्रहरी, चिकित्सकजस्ता महत्त्वपूर्ण सेवाजन्य कार्यालय पनि यस्ता सडकमा हुन्छन् । यस्तो सडकलाई राष्ट्रिय सडकजत्तिकै महत्त्व दिइन्छ, किनभने यो देशको खाद्यान्न, सुरक्षा तथा केन्द्रीय सरकारसँग सीधा जोडिएको हुन्छ । सडक र त्यसको सुरक्षाका कारण कुनै पनि अवरोध आउनु हुँदैन र जनताले दु:ख पाउनु हुँदैन भन्ने मान्यता छ ।

तेस्रो खालको सडक लिङ्क रोड हो । यो सडक पहिलो र दोस्रो खालको उच्च स्तरको सडकसम्म पुग्न प्रयोग गरिन्छ । अन्त्यमा चौथो सडक व्यक्तिको घरसम्म पुग्छ । त्यसलाई गाउँले सडक भन्न सकिन्छ । तेस्रो र चौथो वर्गको सडकको गुणस्तर र सुरक्षा स्थानीय निकायले हेर्छ । त्यसको गुणस्तर पहिलो र दोस्रो जस्तो हुँदैन । स्थानीय आवश्यकताअनुसार त्यहाँका जनता र उनीहरूले चुनेका नेताले त्यसको निर्धारण गर्छन् । यहाँको जिल्ला विकास समितिले गरेजस्तै ।

सडकलाई न्युजिल्यान्ड सरकारले कुन तहमा राखेको छ ? सडकमार्गका बारेमा त्यहाँको परिभाषा कस्तो छ ?

सडक मानिस तथा वस्तुहरूलाई एक ठाउँबाट अर्को ठाउँ पुर्‍याउने संरचना हो । कुन सडकले देशलाई सबैभन्दा बढी आर्थिक लाभ दिन्छ, कुन सडकले देशको अर्थतन्त्र उकास्ने मालसामान, उद्योग वा कृषि सामग्रीको ढुवानी गर्छ, त्यो सडकमा त्यति नै बढी लगानी गरेर छिटो-छरितो सामान ढुवानी गर्न सघाउने बनाउनुपर्छ भन्ने मान्यता छ । मानौं कुनै पुरानो सडकमा गुडिरहेको वाहनले दिनको एक रुपैयाँ बढी पेट्रोल र एक मिनेट समय बढी खाइरहेको छ भने त्यो एक रुपैयाँ र एक मिनेट समय बचाउन अर्को राजमार्ग बनाउन सकिन्छ भने तुरुन्तै बनाइन्छ । चाहे त्यसका लागि खर्बौं रुपैयाँ किन नलागोस् । किनभने मानिसको समय र इन्धनको बचत सबैभन्दा ठूलो कुरा हो ।

तपाईंले भन्नुभयो, त्यहाँ दुर्घटना न्यून हुन्छन्, त्यसका लागि सुरक्षाका के-कस्ता उपाय अपनाइन्छन् ?

सुरक्षाका सयौं उपाय अपनाइन्छन् । सबैभन्दा पहिले दुर्घटना हुन नदिन भूमि प्रयोगको लागि योजना गर्दछ, सुरक्षित सडक बनाउन सेफ्टी अडिट गरिन्छ । त्यसका लागि खर्च गर्न डराउनु हुँदैन भन्ने मान्यता छ । किनभने मानव जीवन भनेको पैसा वा समयले किन्न सकिँदैन । त्यसका लागि जनताले पनि पूरा कर तिर्छन्, सरकारले पनि उनीहरूको जीवनप्रति संवेदनशील हुँदै पूर्ण उत्तरादायी भएर काम गर्छ । लामो अनुसन्धान गर्ने, चालक, ट्राफिक प्रहरी तथा यात्रुलाई उचित नीति-नियममा राख्ने, त्यसमा भूल-चुक हुन नदिने, लापरवाही गर्नेलाई कडा सजाय दिने आदि व्यवस्था छ । अन्जानमा गल्ती गर्नेलाई सजाय कम हुन सक्छ तर लापरवाही गर्ने वा अनुत्तरदायी कर्मचारी वा चालक तत्कालै निलम्बन हुन्छन् ।

नेपालमा पनि नियम-कानुन छन् तर त्यसको पालन हुँदैन, किन होला ?

जो अगुवा छन्, नीति-निर्माता छन् अथवा जसले नियम कार्यान्वयन गर्नुपर्ने हो, उनीहरूमा मालिकको भावना छ । जो जति माथि छ, ऊ जनताको सबैभन्दा ठूलो नोकर हो । किनभने उसले नै धेरै सुविधा उपभोग गरिरहेको हुन्छ । जबसम्म माथिल्लो तहको व्यक्तिले विनम्रता, प्रतिबद्धताका साथ आफ्नो कामलाई जीवनको अभिन्न अङ्ग मान्दैन, व्यवस्थामा सुधार आउँदैन । राजनीतिक परिवर्तन ठूलो कुरा होइन, परिवर्तनलाई अक्षरक्ष लागू गर्नु ठूलो कुरा हो । यही कुरा लागू नहुनु नै हाम्रो देशको कमजोरी हो ।

नेपालमा जसरी सडक दुर्घटना बढिरहेका छन्, त्यसलाई तत्काल कम गर्न सकिँदैन ?

म नेपाल आएको थाहा पाएपछि सरकारी निकायले मलाई निम्त्याएर सुझाव दिन आग्रह गरेको थियो । मैले आफूले जानेको कुरा बताएँ । मेरो कुरा लागू गर्ने हो भने मात्र पनि अहिले हुने दुर्घटना र त्यसबाट हुने क्षति एक वर्षभित्रै ५० प्रतिशत कम हुन्छ । मैले थप खर्चको कुरा गरिनँ, अहिले जति बजेट यातायात क्षेत्रमा खर्च भैरहेको छ, जति जनशक्ति परिचालन भैरहको छ, त्यसबाटै यो काम गर्न सकिन्छ ।

ती काम के-के हुन् ?

भैरहेको नियम कानुन लागु गर्न सरकारले जिम्मेवारी लिने सवारी व्यवसायीहरूले नियम कानुन पालना गर्ने । चालकसँग सभ्य भाषामा हाँसेर बोल्ने, उसलाई नियम मान्न बाध्य बनाउने । अटेर गरे अधिकार प्रयोग गरेर उसलाई कारबाही गर्ने । दोस्रो कुरा, चालक र उसका सहयोगी यात्रुका सेवक हुन् । यात्रुप्रति संवेदनशील हुने, मीठो बोल्ने, उनीहरूलाई सहयोग गर्ने । त्यसका लागि तुरुन्तै तालिमको व्यवस्था गर्नुपर्छ ।

तेस्रो कुरा, खाल्डाखुल्डी पुर्ने, सडकमा  जम्ने पानीको उचित निकासको व्यवस्था मिलाउने, मोडहरूमा ट्राफिक चिन्ह राख्ने, कहाँ कति स्पिड राख्ने नियम बनाउने, चोकहरूमा कुन गाडी अगाडि जाने भनेर नियम बनाउने र त्यसलाई कार्यान्वयन गर्ने, नमान्नेलाई तुरुन्तै कारबाही गर्ने, कसले कति स्पिडमा गाडी चलाउने भन्ने प्रतिस्पर्धा गर्ने होइन, कसले कति सुरक्षित गाडी चलाउँछ, त्यसलाई पुरस्कृत गर्ने व्यवस्था गर्न सकिन्छ ।

अन्तिम तर मुख्य कुरा, पाँच वर्ष यता कुन ठाउँमा के-कस्ता दुर्घटना कसरी भए भन्ने कुराको तथ्याङ्कलाई ध्यानपूर्वक विश्लेषण गर्ने । ती विश्लेषणलाई तुरुन्तै कारबाहीतर्फ लाने । यति हुने बित्तिकै धेरै समस्या समाधान हुन्छन् ।

तपाईं आफैं सरकारी जागीरे हुनुहुन्थ्यो, उक्त अनुभवका आधारमा ती कुरा सुधार हुन्छन् भन्ने विश्वास गर्नुहुन्छ ?

गर्दिनँ, किनभने हाम्रो सरकारी सिस्टम नै एक-अर्कासँग जेलिएका छन् । यहाँ तेरो अधिकार कि मेरो अधिकार भनेर झगडा हुन्छ । झगडा किन हुन्छ भने जसको जति अधिकार भयो, ऊ त्यति नै ठूलो मान्छे, विशेष मान्छे हुन पाउँछ । कुरा ठीक उल्टो हो । जसको जति धेरै अधिकार, त्यो त्यति नै तल्लो स्तरको कामदार हो । उसले बढी काम गर्नुपर्छ, बढी जवाफदेही हुनुपर्छ । जबसम्म सोच्ने शैली एवं ढिलासुस्ती कम हुँदैन तबसम्म परिवर्तन हुन्छ भन्ने कुरामा विश्वास गर्दिनँ ।

त्यसैले तपाईं विदेश पलायन हुनुभएको हो ?

नेपालमा सरकारी जागीर खाने मान्छे साँच्चै तीक्ष्ण बुद्धिका हुन्छन् । उ लोकसेवा लडेर, हजारौंलाई पछाडि पारेर त्यहाँ पुगेको हुन्छ । यस्तो व्यक्तिले आफ्नो बुद्धिको प्रयोग गर्न पाएन, क्षमताअनुसार अघि बढ्न पाएन भने कि त ऊ दु:खी भएर बस्छ या त अघि बढ्ने बाटो खोज्छ । आज धेरै सरकारी कर्मचारी विदेशको पीआर लिएर बस्नुको कारण पनि यही हो । जब मैले ग्रामीण पूर्वाधार आयोजनाको इन्जिनियरका रूपमा काम गरें, त्यहाँको ढिलासुस्ती देखेर मलाई आफ्नो काम नै बिर्सन्छु कि भन्ने लाग्न थाल्यो । त्योभन्दा राम्रो पढ्न जानु नै हो भन्ने लाग्यो ।

आज तपाईं सडक सुरक्षाको विज्ञ मानिनुहुन्छ ? नेपाली भएका नाताले देशलाई कसरी सहयोग गर्नुहुन्छ ?

म न्युजिल्यान्डको सरकारी कर्मचारी हुँ । जबसम्म पदमा हुन्छु, आफ्नो काम जिम्मेवारीपूर्वक निर्वाह गर्नु नै मेरो पहिलो कर्तव्य हो । तैपनि नेपालबाट केही सल्लाह मागिए, मेरो आवश्यकता महसुस भए आफूले बुझेको कुरा बताउन सक्छु । त्यो यसपटक पनि गरेकै हुँ । जागिर छाडेपछि नेपाल आएको अवस्थामा भने आफ्नो देशका लागि केही गर्ने इच्छा छ ।

प्रकाशित :मंसिर १२, २०७१

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्