अपेक्षित नतिजामा विश्वकप सम्भावना

अपेक्षित नतिजामा विश्वकप सम्भावना

मंसिर ६, २०७१

कुवेतमा भएको यू-१९ प्रिमियर लिगमा नेपालको प्रदर्शन अपेक्षित रह्यो भने नतिजा पनि अपेक्षित नै । छ टिमबीच राउन्ड रोबिनका आधारमा चलेको प्रतियोगितामा नेपालसमक्ष सबैभन्दा ठूलो चुनौती थियो, अफगानिस्तान । पछिल्लो समय नेपाली क्रिकेटका लागि अफगानिस्तानी टिम त्यस्तो प्रतिद्वन्द्वी हो, जसविरुद्ध जित असम्भव हुँदै गएको छ ।

यस्तोमा यू-१९ प्रिमियर लिग अपवाद रहेन, तर अन्य चार टिमविरुद्ध नेपालको प्रदर्शन धेरै अर्थमा उत्कृष्ट रह्यो । तीन खेलमा ब्याट बढी चम्कियो । एक खेलमा ब्याट चम्किएन भने त्यसमा बलिङले साथ दियो । नतिजा नेपाल अफगानिस्तानपछि दोस्रो स्थानमा रह्यो । पहिलो स्थानमा रहेको अफगानिस्तान यू-१९ विश्वकपमा स्वत: छनोट भएको छ ।

दोस्रो स्थानमा रहेको नेपालले भने अब प्ले-अफ चरणबाट गुज्रिनुपर्नेछ । यसको अर्थ हो, नेपालसामु युवा विश्वकप खेल्ने सम्भावना अझै कायम छ । प्रतियोगितामा अफगानिस्तान र नेपाल तथा बाँकी चार टिमबीच स्पष्ट अन्तर पनि देखियो । अफगानिस्तान अपराजित एक्लो टिम रह्यो । नेपालविरुद्धको खेलमा मात्र अफगानिस्तान केही हदसम्म दबाबमा रह्यो । अरू खेलमा अफगानिस्तानको जित एकपक्षीय नै थियो ।

प्रतियोगितामा यसपल्ट नेपाली टिमको सबैभन्दा सुखद पक्ष ब्याटिङ चल्नु हो । प्राय: उमेर समूहको क्रिकेटमा नेपाल बलिङमार्फ जित आत्मसात् गर्ने गरेकोमा यसपल्ट ब्याटिङ चल्यो । नेपालले सुरुवाती दुर्इ खेलमध्ये साउदी अरेबियाविरुद्ध ३ सय २१ तथा कुवेतविरुद्ध ३ सय २५ रनको विशाल स्कोर बनायो । मलेसियाविरुद्ध १ सय १५ रनमै समेटिएपछि उसलाई पनि नेपाली बलरले ६२ रनमै सीमित गरे ।

युएइविरुद्धको खेलमा फेरि ब्याटिङ चल्यो र नेपाल २ सय ५० रन बनाउन सफल भयो । राष्ट्रिय टिम चम्किरहेका बेला डर थियो, कतै यसपछि आउने खेलाडी तुलनात्मक रूपमा कमजोर हुने त होइनन् - तर यू-१९ को पर््रदर्शनले नेपाललाई केही राहत दिएको छ । त्यसमाथि यू-१६ मा नेपाली टिम च्याम्पियन नै छ ।

प्रकाशित :मंसिर ६, २०७१

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्