एउटा वडाध्यक्षको कथा

एउटा वडाध्यक्षको कथा

- अश्विनी कोइराला

मंसिर ५, २०७१

काठमाडौंका टोल-टोलमा पुगेर व्यापार गर्ने पैदल व्यापारीहरू प्रसस्तै छन् । तीमध्ये शिव बिडारी पनि एक हुन् । अरू व्यापारी सस्तो माल आयो भन्दै कराउँदै हिँड्छन्, शिव भने मुखमा मास्क लगाएर चुपचाप हिँड्छन् । कुनै मान्छेले उनको सामग्रीका बारेमा सोधे भने मात्र उनी मास्क खोलेर आफ्नो कुरा राख्छन् । सामान्य ढंगमा आफ्ना सामान देखाउँछन् । अरूको भन्दा सस्तै सामान दिने भएकाले बिक्री नहुने चिन्ता पनि छैन ।

'म धादिङ, केवलपुर गाउँ विकास समिति वडा नं. ३ को वडाअध्यक्ष भैसकेको मान्छे । मलाई भोट दिनेहरूले चिन्छन् । त्यसमाथि काठमाडौंमा मेरा आफन्त ठूला पदमा छन् ।' साप्ताहिकसँगको जिज्ञासामा शिवले भने, 'जनप्रतिनिधि भैसकेको मानिसले फुटपाथमा व्यापार गरेको देख्दा के भन्लान् भन्ने लाग्छ ।' उनी आफैं आफ्नो काम गर्दा पनि लाज मान्नु गलत भएको कुरा पनि स्वीकार गर्छन् । बिडारी भन्छन्, 'हामी नेपाली विदेशमा कुल्ली काम पनि गर्र्छौं, तर यहाँ आफ्नो खेतको काम गर्न पनि लाज मान्छौं । समाज यस्तै भएकाले म पनि फरक हुन सकिनँ ।'

बाध्यताको फल

तर्राई-मधेसदेखि भारतसम्मका व्यापारी आ-आफ्ना सामान बेच्न टोल-टोलमा पुग्छन् । यसरी व्यापार गर्दा मनग्य आम्दानी हुने भएकाले आफूलाई व्यापारी हुनुमा गर्व भएको पनि बताउँछन् शिव बिडारी । उनी यसलाई बाध्यताको फल मान्छन् । 'म जेठो छोरो हुँ । मभन्दा साना तीन भाइ थिए । उनीहरूलाई पढाउन पनि मैले पैदल व्यापार गरें । आफ्नो शरीरलाई नै पसल बनाएँ । पछि मेरो विवाह भयो । दुर्इ छोरा भए, परिवार पनि बढ्दै गयो । घर खर्च धान्न पनि मैले यो व्यापार गर्नुपर्‍यो ।' कानेखुसी शैलीमा शिवले आफ्ना कुरा सुनाउँदै भने, 'खेतीको बेला गाउँ जान्छु राजनीति गर्छु फुर्सदमा काठमाडौं छिर्छु यही व्यापार गर्छु म यस्तो व्यापार गर्छुन्ने कुरा गाउँलेहरूलाई खासै जानकारी छैन ।' यति भनेपछि उनी मज्जाले हाँसें ।

उनले व्यापार गरेर प्रशस्त पैसा कमाए । त्यही पैसाले तीन भाइलाई पढाउनेदेखि विदेश पठाउनेसम्मको काम गरे । उनीहरूको विवाह गरिदिए । आफ्नै जोडी पनि बाँधे । त्यति मात्र होइन, गाउँमा एउटा पाखोबारी जोडे र परिवार बढ्दै गएपछि घर पनि थपे । 'यति गर्दा केही ऋण लाग्यो । उक्त ऋणका कारण पनि व्यापार छाड्न सकिएन ।' ठूलो काम बिग्रिएझैं उनले गुनासो गरे, 'गाउँमा ठालु भएर बस्नुपर्ने बेलामा म यसरी हाड घोटिरहेको छु ।'

शिवका दुर्इ छोरा पढ्न ठिकै थिए । एउटाले एसएलसी पास गर्‍यो तर अर्कोले गर्न सकेन । क्याम्पस पढ्नेले पनि विचैमा पढाइ छाडिदिए पछि शिवको चित्त निकै दुख्यो । अहिले दुवैलाई ऋण खोजेर विदेश पठाइदिएका छन् । उनी भने यहि व्यापार गरेर ऋण तिरिरहेका छन् । 'जीवन दु:खै दु:खमा बित्यो ।' उनले विरक्तिएको स्वरमा भने, 'पहिले भाइहरू ठूला होलान् र सहयोग गर्लान् भनेर दु:ख गरें । सबै आ-आफ्नो बाटो लागे । अहिले छोराले हेर्लान् भनेर दु:ख गर्दैछु ।'

भाइ र छोरा

शिव अहिले ५० वर्षा भए । २५ वर्षयता उनी आफ्नो जीवन भाइ र छोराहरूकै उन्नतिका लागि दु:ख गरिरहेका छन् । यी दिनमा उनले भाइ र छोराहरूबीच स्पष्ट भेद गरेका छन् । 'मैले धेरै पढेको छैन, संसार बुझ्दिनँ, तर भाइ को हुन् र छोरा को हुन्, राम्रोसँग भन्न सक्छु ।

भाइ र छोराहरूबीच फरक छुट्याउन आग्रह गर्दा उनले बुँदागत रूपमा त्यसको जवाफ दिए ।

शिवका अनुसार दाजु-भाइ मानिसका सबैभन्दा ठूला शत्रु हुन् । शत्रुको मुख हेर्नुपर्‍यो भने दाजु-भाइको अनुहार हेर्नु भन्ने आहान त्यसै चलेको होइन । भाइलाई पढाउन, उनीहरूलाई अघि बढाउन दाजुले जतिसुकै दु:ख गरे पनि भाइहरूले त्यो दु:ख बुझ्दैनन् । जब शिवले ऋण गरी-गरी भाइहरूलाई पढाए, विदेश पठाए, उनलाई लागेको थियो, उनीहरूले त्यो ऋण तिर्नेछन्, तर त्यसो भएन । भाइहरूलाई पढाएको र विदेश पठाएको ऋण उनी अहिले पनि तिरिरहेका छन् ।

शिवका अनुसार भाइहरू सुखका साथी हुन् । दाजुसँग सम्पत्ति हुन्जेल, उसले सहयोग गरुन्जेल भाइहरू दाजुसँग आउँछन् । जसै दाजु समस्यामा पर्छ, भाइहरू बेपत्ता हुन्छन् ।

हुनत छोराहरू पनि बाउका हितैषी हुँदैनन् । तैपनि बाउको समस्या हेर्नुपर्ने दबाब उनीहरूलाई हुन्छ । 'भाइहरूले कमाए, विवाह गरे । काठमाडौंमा घर बनाए तर मलाई लागेको ऋण तिर्नर्े आवश्यकता देखेनन् । छोराहरूले भने बाउले हाम्रै लागि ऋण लिएको भन्ने माने र ऋण तिरिदिँदैछन् ।' शिवले भने, 'विवाह गरेपछि भाइहरूजस्तै छोराहरू पनि लाखपाखा लाग्छन् तर बाउलाई ऋणमै डुबाएर हिँड्दा समाजले उनीहरूको सातो लिन्छ भनेर डराउँछन् ।

कुराकानी गरिसकेपछि साप्ताहिकले उनको तस्बिर खिच्न खोज्यो । उनले रुन्चे अनुहार लगाउँदै भने, 'म वडाध्यक्ष भैसकेको मानिस, मेरो बेइज्जत हुन्छ । मेरो कुरा लेख्नुहोला तर तस्बिरचाहिँ नछाप्नुहोला ।'

प्रकाशित :मंसिर ५, २०७१

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्