जबरजस्ती विवाह गरिदिन खोजेपछि घरबाट भागेकी हुँ

जबरजस्ती विवाह गरिदिन खोजेपछि घरबाट भागेकी हुँ

  • दीपा बस्नेत, चलचित्र निर्देशक

मंसिर ५, २०७१

नेपाली चलचित्र क्षेत्रमा नायिकाको चर्चा हुनु सामान्य हो, तर महिला निर्देशकको चर्चा खासै हुँदैन । दीपा बस्नेत भने अपवाद भएकी छिन् । गएको वर्षउनको चलचित्र 'अन्तराल' व्यवसायिक रूपमा हिट भएन । निर्देशक दीपा भने हिट भइन् । त्यसैले पनि उनको नयाँ चलचित्र 'श्री ५ अम्बरे' लाई लगानीकर्ताको खाँचो भएन । दीपाले भर्खरै जन्मिएको शिशुलाई ढाडमा बाँधेर 'श्री ५ अम्बरे'को निर्देशन गरेको दृश्यले धेरैलाई छोयो । कतिपयले यसलाई प्रचारमा आउने नयाँ शैली भनेर आलोचना गरे पनि उनले सुनेको नसुनै गरिन् । उक्त चलचित्र आज शुक्रबारदेखि प्रदर्शनमा आउँदैछ । यही बेला दीपाले आफ्नो जीवनको अनौठो कथा साप्ताहिकलाई सुनाएकी छिन् ।

भर्खरै जन्मिएको छोरोलाई प्रचारको माध्यम बनाएको भन्दै तपाईंको आलोचना भैरहेको छ, चलचित्रको सुटिङदेखि प्रचारसम्म नाबालक छोरोलाई किन दु:ख दिनुभएको ?

ज-जसले त्यसको आलोचना गर्नुभयो, उहाँहरू या त आमाको महत्त्व बुझ्नुहुन्न वा शिशुको मनोविज्ञान बुझ्नुहुन्न । हरेक शिशु आमाको काखमा बस्न रुचाउँछ । जहाँ गए पनि, जे गरे पनि, आमाको साथमा हुनु शिशुको अधिकार हो । धेरै पटक उसलाई छाड्न खोजें तर काम गर्दा मेरो ध्यान पनि छोरैतिर जान्छ । आफ्नो अङ्ग अर्कातिर राखेर काम गर्न नसकिने रहेछ । गाउँघरमा धेरै महिला शिशु बोकेरै सबै काम राम्रोसँग गरिरहेका छन् । अलिकति लेखपढ गर्नेबित्तिकै आफ्नो सन्तान बोक्नै हुँदैन भन्ने  पनि होइन । घरपरिवार, सन्तान तथा सामाजिक सोचलाई महिलाहरूको  प्रगतिको बाधक मानिन्थ्यो तर होइन रहेछ । मेरो यो कार्यले सकारात्मक सन्देश पनि गएको छ ।

मध्यरातमा विष्णुमतीको किनारमा सुटिङ गर्दा पनि बच्चा सँगै थियो । त्यत्रो रिस्क किन लिनुभएको ?

विष्णुमतीमा सुटिङ हुने दिन छोरोलाई अफिसमा राखेर गएकी थिएँ । रातको समय सहयोगीलाई फोन गर्दै उनको अवस्था के छ भनेर सोध्दा-सोध्दा काममै डिर्स्र्टब भयो, ऊ पनि राम्रोसँग सुत्न सकेन । दुर्इतिर अङ्ग राखेर राम्रो काम गर्न सकिँदैन भन्ने थाहा भएपछि राति नै छोरो लिन पुगें । ऊ नजिकै छ भन्ने भएपछि मन पनि ढुक्क हुँदो रहेछ ।

छोरोसँगै राखेर काम गर्दा के फाइदा हुँदो रहेछ, घाटा के हुँदो रहेछ ?

बच्चा कहिले सुटिङको भान्सामा, कहिले ड्राइभरसँग, कहिले नायिका वा नायकको काखमा हुन्थ्यो । मान्छेको भीडमा ऊ खुसी हुन्थ्यो र सबैको मन बहलाउँथ्यो । चलचित्रको प्रेम, विवाह र बच्चा जन्मदाका दृश्य उसकै कारण संवेदनशील भएका छन् । एउटी महिलाले प्रेम र विवाहको महत्व अझ बढीसँग बुझ्न सक्दा रहेछन् भन्ने कुरा कलाकारहरूलाई पनि थाहा भयो । जहाँसम्म घाटाको कुरा छ, बच्चासँगै लिएर हिँड्दा केही न केही अड्चन हुन्छ नै । कला र अभिनयजस्ता कुरामा शिशुले संवेदनशीलता थप्दा रहेछन् । मेरो चलचित्रमा शिशु आफैं पनि सानो कलाकार हो ।

नेपालमा महिला निर्देशकको अवस्था कस्तो देख्नुहुन्छ ?

निर्देशक महिला र पुरुष हुँदैन, निर्देशक, निर्देशक मात्र हुन्छ । मलाई महिला र पुरुषको काम गर्ने क्षमतामा खासै फरक हुन्छ जस्तो लाग्दैन । मुख्य कुरा व्यक्तिको क्षमता हो । जसले क्षमताको पुरा उपयोग गर्छ ऊ राम्रो निर्देशक हुन्छ ।

तपाईं किन निर्देशक हुनुभयो - जीवनमा अन्य बाटाहरू पनि थिए, होइन र ?

म राम्रो योग शिक्षक हुँ । चलचित्रमा आउनुअघि ओशो तपोवनमा ओशो साधकलाई योग सिकाउँथे । रूसमा रहेका सम्पन्न नेपाली तथा भारतीयहरूको एउटा संयुक्त संस्थामा मासिक दुर्इ लाख रुपैयाँ तलब पाउने गरी अनुबन्ध भएकी थिएँ । रूस जान टिकट काटिसकेपछि लाग्यो, म जुन उद्देश्य लागि संर्घष गरिरहेकी छु, रूस गएँ भने त्यो सपना अपुरो हुन्छ । त्यसपछि टिकट रद्द गरेर चलचित्र क्षेत्रमा लागें ।

कस्तो उद्देश्य ?

हरेकको जीवनमा केही तीता घटना हुन्छन्, जसले जीवन नै बदल्छ । मेरो जीवनमा पनि त्यस्तै घटना घटेको छ ।

भन्न मिल्दैन ?

मेरो बुवाका नौ छोरी, म तेस्रो नम्बरकी हुँ । म बुटवलको सामान्य परिवारमा जन्मिएकी केटी हुँ । हाम्रो समाजमा छोरा भएनन् भने आमा-बुवा र्स्वर्ग जाँदैनन् भन्ने धारणा पुरानो हो । समाजका कारण मेरा आमा-बुवा पनि फरक हुने कुरा भएन । लगातार ५ छोरी जन्मिएपछि छोरा पाउन बुवाले अर्को विवाह गर्नुभयो । त्यसपछि पनि लगातार ४ छोरी जन्मिए । यसले मलाई नराम्रोसँग छोयो । धेरै सन्तान भएपछि घरमा दु:ख हुने नै भयो । हामी विहान घाँस काटेर मात्र स्कुल जान पाउँथ्यौं । छोरा नै किन चाहिने - भन्ने प्रश्नले मलाई सताइरहन्थ्यो । म समाजलाई भन्न चाहन्थें, छोरीका सम्बन्धमा किन यत्रो अविश्वास - म छोराले जत्तिकै काम गर्छु सबैले चिन्ने र बुझ्ने हुन्छु । म योग शिक्षकका रूपमा सफल भएँ । सयौं साधकलाई योग सिकाउँथे । रूस गएको भए पैसा त हुन्थ्यो तर समाजले मेरो कथा थाहा पाउँदैनथ्यो ।

योग शिक्षकचाहिँ कसरी हुनुभयो ?

मेरो बुवा धेरै छोरी भएकोमा चिन्तित हुनुहुन्थ्यो । नौ कक्षा पढ्दापढ्दै १४ वर्षै उमेरमा उहाँले दुर्इवटी दिदीको विवाह गरिदिनुभयो । धेरै छोरी भएका कारण कसरी छोरीहरूको विवाह गरिदिने भन्ने मात्र चिन्ता हुन्थ्यो । म पनि १४ वर्षपुग्नेबित्तिकै केटा खोज्न थाल्नुभयो । केटा पक्षले मलाई हेरेर गैसकेका छन् भन्ने थाहा पाएँ । म पढेर केही गर्न चाहन्थें तर बुवाले मेरो कुरा सुन्नु भएन । त्यसपछि म घरबाट भागें । मैले प्रतीक्षा गरें( जबसम्म केही बन्दिनँ  तबसम्म घर फर्किन्नँ र विवाह पनि गर्दिनँ ।

कहाँ जानुभयो ?

भागेर काठमाडौं आएँ । अरुतिर शरण लिन डर लाग्यो । ओशो तपोवन गएर शरण लिएँ । त्यहाँ साधना र सेवा गरेर बसें । केही वर्षभत्रै म राम्रो योग शिक्षक भएर निस्किएँ । गुरुहरूले मलाई हौसला दिनुभयो । सानी फुच्चीको योग कलाले धेरैलाई आकषिर्त गरेछ । त्यतिबेला म नाट्यकर्मी हरिहर शर्मालाई पनि योग सिकाउँथें । म रूसका धनाढ्य नेपालीहरूको आँखामा पनि परेको रहेछु । सबैले मेरो काम रुचाउनुभयो ।

कहिलेकाहीँ रूस गएको भए निर्देशनभन्दा सजिलो र

आरामदायक जीवन बिताउन सक्थें भन्ने लाग्दैन ?

दु:खभन्दा पनि उद्देश्य ठूलो कुरा हुँदोरहेछ । जीवनको उद्देश्य के हो ? जसले म के गर्न चाहन्छु भन्ने प्रश्नलाई महत्त्व दिन्छ, उसले पैसालाई भन्दा लक्ष्यलाई महत्व दिन्छ ।

चलचित्र उद्योग तपाईंका लागि नयाँ क्षेत्र थियो । असफल हुन्छु भन्ने डर लागेन ?

हरिहर शर्माको संगतमा मैले नाटकको कोर्स गरे । केही नाटकमा काम पनि गरें । यो क्षेत्रमा आउँछु र यसरी लाग्छु भन्ने थिएन । संयोगले मसँगै क्लास लिने जीवनसाथी बस्नेतसँग मेरो राम्रो दोस्ती जम्यो । जीवनजीले मेरो निकै रेखदेख गर्नुहुन्थ्यो, माया गर्नुहुन्थ्यो । यो कुरा जीवनजीको बुवालाई पनि थाहा भयो । उहाँले नै तिमीहरू किन विवाह गर्दैनौ - विवाह गर्दा राम्रै हुन्छ भन्नु भयो । म काठमाडौंमा एक्ली थिएँ । मलाई पनि सहारा चाहिएको थियो । आखिर विवाह गर्नुपर्छ भने किन आफ्नै मिल्ने साथीसँग नगर्ने भन्ने लाग्यो र विवाह गरें । त्यो बेलासम्म पनि मैले नाम कमाउन कुन क्षेत्र ठीक छ भनेर निर्णगरिसकेकी थिइनँ । जसै हाम्रो विवाह भयो, जीवनजीले भन्नुभयो, 'तिमीमा योगको माध्यमबाट सयौं साधकलाई मोहित बनाउने कला छ । यो कला चलचित्रमा प्रयोग गर्ने हो भने त्रि्रो उद्देश्य पूरा हुन्छ ।' मलाई उहाँको कुराले छोयो र यो क्षेत्रमा प्रवेश गरें ।

चाहना राख्नु र सफल हुनु फरक कुरा हो । तपाईंका दुवै चलचित्र हेरिसकेपछि के भन्न सकिन्छ भने यस्तो चलचित्र बनाउने क्षमता इच्छाले मात्र सम्भव हुँदैन ?

हो, तर मेहनत र अरूको सहयोगले असम्भव काम सम्भव हुँदो रहेछ । मलाई जीवनजीले निर्देशनको ३ वर्षो कोर्स गराउनुभयो । त्यो बेला कलेजमा विश्वभरका गम्भीर चलचित्र देखाइन्थ्यो, त्यही कुरा सिकाइन्थ्यो । घरमा जीवनजी संसारभरि व्यावसायिक चलचित्र हर्ेन कर गर्नुहुन्थ्यो । सबै कुरा बिर्सर्ेेम चलचित्रका बारेमा मात्र सोच्न र पढ्न थालें । मैले त्यसक्रममा करिब २ हजार चलचित्र हेंरें । जीवनजीलाई म केही गर्न सक्छु भन्ने विश्वास थियो । जब कलेज सकियो, उहाँले फेरि एडिटिङ कोर्स गर्न पठाउनुभयो । उहाँको धारणा थियो निर्देशन पढेर मात्र हुँदैन, चलचित्रका अन्य कुरा पनि जान्नुपर्छ । उहाँले मेरै लागि क्यामेरा किन्नुभयो र क्यामेरा चलाउन लगाउनुभयो । त्यतिले पुगेन, अरूतिर जागिर खाएर पनि केही सिक्नुपर्छ भनेर वातावरण पत्रकार समूहमा जागिर खान पठाउनुभयो । अन्त्यमा उहाँको परिवारले मेरा लागि चलचित्र बनाउने भयो । यसरी म निर्देशकका रूपमा बाहिर आएँ ।

पहिलो चलचित्रबाट पैसा डुब्यो, चिन्ता लागेन ?

धेरै चिन्ता लागेको थियो, तर यो क्षेत्रका दिग्गजहरूले मेरो चलचित्र हेरेपछि मलाई  स्याबासी दिनुभयो । व्यावसायिक रूपमा कुनै चलचित्र हिट हुनु वा नहुनु ठूलो कुरा होइन, त्यो राम्रो छ कि छैन भन्ने कुरा मुख्य हो भनेर सम्झाउनुभयो । लगत्तै दोस्रो चलचित्रका लागि लगानीकर्ताहरू आउन थाल्नुभयो । म गर्भवती थिएँ, तैपनि ६ महिनापछि चलचित्र फ्लोरमा जान्छ तपाईं बच्चा बोकेर पनि अघि बढ्नुपर्छ भन्नुभयो । यो विश्वास मेरा लागि अमुल्य थियो ।

आखिर जे-जति संर्घष गरे पनि चलचित्रले व्यापार गर्नुपर्छ । यसै साता तपाईंको भविष्य निर्धारण हुँदैछ, के सोच्नुहुन्छ -

यो चलचित्र हिट हुन्छ भन्ने कुरामा सतप्रतिशत विश्वस्त छु । राम्रो चलचित्रलाई दर्शकले माया गर्छन् भन्ने कुरा 'टुल्के' ले पनि प्रमाणित गर्‍यो । राम्रो नेपाली चलचित्र हेर्न हामी सबै आतुर छौं, त्यसैले चिन्ता लागेको छैन ।

अन्त्यमा एउटा प्रश्न, तपाईं घर छाडेपछि धेरै वर्षहराउनुभयो । घर जानुभएको छ कि छैन - आज तपाईंको बुवा के भन्नुहुन्छ -

गएको वर्षहामी नौ दिदी-बहिनीले हाम्रो जम्मा एउटा भाइलाई टिका लगाइदियौं । एउटी छोरीका रूपमा म घर गइन । माइतीका रूपमा जान्छु । आज मेरा दुर्इ दिदी पनि आफ्नै खुट्टामा उभिनुभएको छ । सानैमा विवाह गरेर पठाए पनि उहाँहरूले पढ्नुभयो । बहिनीहरू पनि पढ्दैछन् । बुवालाई मात्र होइन, समाजमा सबैलाई छोरी हुनु कमजोर हुनु होइन भन्ने परेको छ । आज बुवा म प्रति गर्व गर्नुहुन्छ । घर छाडेर तैंले ठिकै गरेकी थिइस्  भन्नुहुन्छ ।

अश्विनी कोइराला

प्रकाशित :मंसिर ५, २०७१

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्