अर्काको सम्पत्तिमा लोभ गर्नुहुँदैन

अर्काको सम्पत्तिमा लोभ गर्नुहुँदैन

- अश्विनी कोइराला

कार्तिक २८, २०७१

पशुपति पंगेनी उनको नाम । पशुपति अहिले ४३ वर्षका भए । उनी दुई छोरा र एक श्रीमतीका साथ काठमाडौंको साँघुरो डेरामा जसोतसो जीवन बिताइरहेका छन् । उनका दुवै छोरा अध्ययनमा अब्बल छन् । राम्रो अंकका साथ आईएस्सी उत्तीर्ण गरेपछि दुवै छोरा चिकित्सक बन्ने प्रयासमा लागेका थिए । तीन-तीन पटक सरकारी प्रतिस्पर्धामा आरक्षण नीतिका कारण अत्यन्त झीनो मत अन्तरले असफल भएपछि दुवैले चिकित्सक बन्ने लक्ष्य त्याग गरे । पशुपति खुसी हुँदै भन्छन्, 'छोराहरूले मैले उनीहरूलाई ट्याक्सीको आम्दानीले डाक्टर पढाउन सक्दिनँ भन्ने बुझेका छन् । त्यसैले चुपचाप बिएस्सी पढ्न थालेका छन् । आमा-बुवाको समस्या बुझ्ने सन्तान हुनु पनि सौभाग्य हो ।'

पर्स र मोबाइल

अर्काको लोभ नगर्नु नै यो परिवारको विशेषता हो । पशुपतिले ट्याक्सी चलाउँदा धेरै मोबाइल भेटे । धेरैका पर्स उनको ट्याक्सीमा खसे । कतिपयले झोला छाडेर गए । यसरी छाडिएका सामग्री खोजी-खोजी पुर्‍याउनु उनको विशेषता हो । त्यसैले पनि पशुपति बेला-बेलामा सञ्चारमाध्यममा पनि देखिन्छन् । बितेका दुई वर्षको बीचमा पशुपतिले ११ वटा मोबाइल भेटें । ट्याक्सीमा बसेका मान्छे मोबाइल खेलाउँदा-खेलाउँदै सिटमै छाड्छन् र हिँड्छन् । पछि  मोबाइलमा फोन गरेर आफ्नो फोन सुरक्षित राखिदिन अनुरोध गर्छन् । पशुपति खुसी हुँदै ट्याक्सी चलाएरै बोलाएको ठाउँमा पुग्छन् र फोन फिर्ता गरिदिन्छन् । 'कतिपयले चाहिँ थर्काएर फोन गर्छन् । फोन चोरीको आरोप पनि लगाउँछन् । उनीहरूकै गल्ती हुन्छ, तैपनि आफ्नो गल्ती हो भनेर नम्र हुनुको साटो कुटुलाझैं गर्छन् ।' पशुपतिले फोन फिर्ता गर्दाका केही क्षण सम्झँदै भने, 'फोन फिर्ता गर्दा कुटाइ नै खानुपर्ला भन्ने डर हुन्छ ।'

उनलाई सबैभन्दा ठूलो समस्या पैसासहितको पर्स भेट्दा हुन्छ । सिटका मुन्तिर वा सिटमै केही महिलाले मनी ब्याग र युवाले पर्स छाड्छन् । 'केटाहरू पाइन्टको पछाडिको गोजीमा पर्स राख्छन् । थाहै नपाई पर्स गोजीबाट र्झछ ।' पशुपति भन्छन्, 'यस्तो बेलामा उनीहरूलाई कहाँ खोजेर पर्स दिनु ? फोनजस्तो पर्सको घण्टी नबज्ने, कुरा गर्न नमिल्ने...मलाई ठूलो सकस हुन्छ ।'  

पैसा हराएपछि धेरैजसो मानिस जुन ठाउँमा ट्याक्सीबाट ओर्लियो, त्यही ठाउँमा तनावमा घुमिरहेका हुन्छन् । यस्तोमा उनी पर्समा रहेको तस्बिर हेरेर पनि सम्बन्धित मानिसलाई पर्स फिर्ता गरिदिन्छन् । कतिपयले ट्याक्सीको सोधखोज गरिरहेका हुन्छन् । कतिपयले प्रहरीमार्फत खोजी गर्छन् । 'अर्काको पर्स ट्याक्सीमा हुँदा मलाई निकै तनाव हुन्छ, दिएपछि मन हलुका हुन्छ ।' पशुपति भन्छन्, 'म पर्स खोलेर कति पैसा छ भन्ने पनि हेर्दिनँ । अर्काको सम्पत्ति हेर्न पनि मन लाग्दैन ।'

परिवारकै संस्कार

पशुपति मात्र होइन, उनको पूरै परिवारको एउटै मन्त्र छ, सकेसम्म अरूको सम्पत्तिमा  आँखा लगाउनु नपरोस् । यही मन्त्र उनका दुई छोरा र श्रीमतीले समेत पच्छ्याएका छन् । केही दिनअघि पशुपतिकी श्रीमतीलाई एक जना आफन्तले हुन्डीबाट ३ लाख रुपैयाँ पठाए । पैसा लिएर घर आएकी उनकी श्रीमतीले पैसाको एउटा बन्डलमा १ हजार रुपैयाँ बढी भएको पाइन् ।  उनले तुरुन्तै हुन्डीवालालाई फोन गरेर १ हजार रुपैयाँ बढी आएको खबर सुनाइन् । हुन्डीवालाका लागि १ हजार रुपैयाँ ठूलो कुरा थिएन, तैपनि उनले आफ्नो इमान्दारिता निर्वाह गरिन् । त्यस्तै एक पल्ट जेठा छोरा मिलन पंगेनी मोटरसाइकलमा कतै जाँदै थिए । उनले आफूभन्दा अघि स्कुटर चलाउने युवतीको हेलमेटबाट आइफोन खसेको देखें । युवतीले हेल्मेटमा राखेर कुरा गर्दा मोबाइल थाहै नपाई झारेकी थिइन् । मिलनले फोन टिपेर युवतीलाई पछ्याए । करिब एक-दुई किलोमिटरपछि मात्र युवतीलाई भेटे र मोबाइल फिर्ता दिए ।

'हामी अर्काको सामान फिर्ता गर्न पाउँदा साह्रै खुसी हुन्छौं । परिवारमा यस्ता कुरा सेयर गर्छौं ।' पशुपतिले कुराकानीको बिट मार्दै भने, 'ट्याक्सी चलाउनुअघि मैले साइबर चलाएको थिएँ । त्यहाँ पनि धेरैले सामान छाड्थे । ती सबै सुरक्षित राखिदिन्थें र ढिलो-चाँडो फिर्ता हुन्थे । तीमध्ये एक जना महिला हिजोआज दुबईबाट फोन गरेर मेरो गुनगान गाउँछिन् । उनको एउटा डकुमेन्ट मेरो साइबरमा छुटेको रहेछ । मैले सुरक्षित राखिदिएकै कारण उनी दुबई पुग्न सकिन् । त्यहाँ उनको भविष्य निकै राम्रो छ रे । तपाईंका कारण म यहाँ आइपुगे धन्यवाद  भन्छिन्- पंगेनीले बताए ।'

जीवनका  आ-आफ्ना उद्देश्य हुन्छन् । पशुपति पंगेनीको जीवनको ठूलो उद्देश्य केही छैन । उनको एक मात्र उद्देश्य छ- जीवनभर अर्काको सम्पत्तिमा लोभ गर्नु नपरोस्, भेटिएका सामग्री फिर्ता गर्न पाइयोस् ।

प्रकाशित :कार्तिक २८, २०७१

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्