ड्राइभर छेउमा युवती बस्न नपाइने

ड्राइभर छेउमा युवती बस्न नपाइने

- ऋषि राई

कार्तिक २८, २०७१

युवतीलाई छेउमा राखेर सवारी साधन चलाउँदा ड्राइभरको ध्यान युवतीको गफमा जाने भन्दै उदयपुरको कटारीबाट सञ्चालन हुने सवारी साधनहरूमा ड्राइभरछेउमा युवतीहरूलाई बस्न नदिइने भएको छ । दुर्घटना कम गर्ने उद्देश्यले कटारीबाट सञ्चालन हुने सवारी साधनहरूमा ड्राइभरसँगैको सिट युवती तथा महिलाहरूका लागि निषेध गरिएको हो । कानुनी रूपमा नमिल्ने भए पनि व्यवहारिक रूपमा चालकसँगै युवतीहरूलाई बस्न नदिइएको इलाका प्रहरी कार्यालय, कटारीका प्रहरी नायव उपरीक्षक सरोज पौडेलले बताए । 'प्रहरी तथा यातायात व्यवसायीहरूको सहमतिमा ड्राइभरसँग युवतीलाई बस्न नदिइने सहमति भएको हो ।' पौडेलले भने ।

 त्यसैगरी चालकसँगै युवती राखेर सञ्चालन गरेको पाइए चालकलाई ५ हजारसम्म जरिवाना गरिने सहमति भएको पनि पौडेलले बताए । 'टिकट मिलाउने क्रममा ड्राइभर छेउमा युवतीहरूलाई बस्न नदिने भनिएको छ ।' हिमाली यातायात व्यवसायी संघ, कटारीका कार्यालय प्रमुख शत्रुधन कार्कीले भने । यसबीच सञ्चारमाध्यमहरूमा समाचार प्रकाशन-प्रसारण भएपछि महिलाहरूले यो विषयमा बहस गर्नुपर्ने बताएका छन् । दुर्घटनाका दोषी युवतीमात्र नहुने महिला अधिकारकर्मीहरूको प्रतिक्रिया छ । कटारीबाट पाँच दर्जनजति यात्रुवाहक बस तथा चार दर्जनजति जीप सञ्चालन हुँदै आएका छन् । कटारीबाट पहाडी जिल्ला सोलुखुम्बु, ओखलढुंगा तथा खोटाङ जाने सवारी साधनहरू वढी दुर्घटनामा पर्ने गरेका छन् । त्यसैगरी दुई जना चालकको व्यवस्था नहुँदा काठमाडौं जाने सवारी साधनहरू बर्सेनि ठूला दुर्घटनामा पर्ने गरेका छन् ।

 

प्रकाशित :कार्तिक २८, २०७१

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्