सेलिब्रेटी

सेलिब्रेटी

- सुविन भट्टराई

कार्तिक २८, २०७१

देशकै कहलिएका एक जना सेलिब्रेटीलाई एकदमै कम मानिसले मात्र मन पराउँथे । सबैले उनलाई घमन्डी भन्थे । आफूले भन्दा राम्रो प्रगति कसैले गर्दैछ भन्ने कुरा सुन्नै सक्दैनथे । सार्वजनिक ठाउँमा धेरै मानिसको बेइज्जत गरेका थिए । बेला-बेलामा विभिन्न जातका मानिसलाई मिडियामै होच्याएर राष्ट्रिय रूपमै विवादमा मुछिएका थिए । कहिल्यै कुनै मानिससँग हात जोड्न जानेका थिएनन् । धेरैको चित्त दुखाएका थिए । अधिकांश ठूलाबडा, साना, मझौला सबै मानिस उनीसँग रुष्ट नै थिए ।

तैपनि उनी देशमा गनिएका मानिस मानिन्थे । विभिन्न कार्यक्रममा अतिथि बनाएर उनैलाई बोलाइन्थ्यो । स्कुलको प्यारेन्ट्स डे होस् वा ब्युटिपार्लरको रिबन काट्न नै किन नहोस्, उनैलाई बोलाइन्थ्यो । आफ्नो पुस्तकको विमोचन उनैबाट गराउन नयाँ लेखकहरू लालायित रहन्थे । उनको उपस्थितिको मान्यता पनि खुब थियो । उनी तोकिएको समयको एक घण्टापछि कार्यक्रमस्थल पुग्थे । उनले जीवनमा क्षमायाचना कमै मानिससँग मागे होला । कुनै समारोहमा बोल्ने बेलामा अरू मानिस उठेर पोडियम अगाडि गएर बोल्थे, उनी बसेरै बोल्थे । फेरि पत्रकार र मिडियाले उनी संलग्न भएको कार्यक्रमलाई विशेष महत्त्व दिएर न्यूज कभर गर्थे, त्यसैले पनि होला, उनको भाउ देशको महँगीलाई नै टक्कर दिने गरी बढिरहेको थियो ।

यसरी उनी उपस्थित हुने हरेक कार्यक्रममा मिडिया, बुद्धिजीवी, नेता, कार्यकर्ता वा अन्य वरिष्ठ व्यक्तित्वहरूको संलग्नता र चासो देखेर म पनि छक्क परेको थिएँ । उनको कार्यक्रममा किन यतिका मानिस आउँछन् ? के छ ती व्यक्तिमा त्यस्तो खास ? सोच्न थालेँ ।

एकपटक तिनकै एउटा कार्यक्रममा गएको बेला मैले आफूछेउमा बसिरहेका एक जना अग्रज पत्रकारसँग सोधेँ । कुरा बुझिहेर्दा ती पत्रकार पनि उनीबाट चिढिएका रहेछन् ।

उनले आफ्नो बोलीमा आक्रोश वा रिस त्यस्तो केही नल्याई केवल मुस्कुराउँदै भने, 'यहाँ जति पनि मानिसको उपस्थिति छ, ती सबै यिनका शत्रु हुन् र एउटा कुरा के हो भने, हामीलाई कहिल्यै मित्रहरूले के गर्छन्, चासो हुँदैन । शत्रुले के गरिरहेको छ, त्यसमा चैँ हामी खुब चासो मान्छौँ । हेर्नुस् त, जति पनि मानिस यहाँ आएका छन् तीमध्ये कोही पनि यी व्यक्तिका शुभचिन्तक छैनन् । भए पनि अधिकांश त शुभचिन्तक हुनुको ढोंग गर्न आएका होलान् ।'

म ट्वाँ परेर उनको कुरा सुनिरहेको थिएँ ।

पत्रकार भन्दै थिए,

'शत्रुलाई हराउनु छ भने उसलाई नजिकबाट चिन्नु आवश्यक छ । यो मानिसलाई म जति नजिकबाट चिन्न सक्छु त्यति नै यसका कमी-कमजोरीहरू अझ बढी थाहा पाउन सक्छु र यसलाई हराउन मैले गाली-गलौज गर्दै वा षड्यन्त्र बुन्दै हिँडिरहनु पर्दैन । यो मानिसभन्दा अलिकति राम्रो हुन सकेँ भने त्यो स्वत: हारिहाल्यो नि !'

मलाई ती पत्रकारको कुराले खुब छोयो । महिनौंदेखि गाँठो परेर बसेको जिज्ञासा ती पत्रकारले मेटाइदिए ।

मलाई अनायास एउटा कविताको पंक्ति सम्झना आयो— फलेको वृक्षको हाँगो नझुकेको कहाँ छ र ? तर ऊ यस्तो फल थियो जसको हाँगा कडा र ठाडो थियो अनि धेरै कडा र ठाडा हाँगाहरू नै हुन्छन् जो कुनै पनि बेला पिटिक्क भाँचिन्छन् । नुहेको हाँगा त पिङजस्तै झुलिरहन्छ । बतासले पनि उसलाई केही गर्न सक्दैन ।

प्रकाशित :कार्तिक २८, २०७१

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्