किन गरे आलोकले आत्महत्या ?

किन गरे आलोकले आत्महत्या ?

- कृष्ण/सुव्रत, विदुर

कार्तिक २८, २०७१

सात सयभन्दा बढी म्युजिक भिडियो तथा तीनवटा नेपाली चलचित्रका निर्देशक आलोक नेम्वाङ अघिल्लो बिहीबार राति ८ बजेपछि यो संसारमा नरहेको खबरले सम्पूर्ण नेपालीलाई स्तब्ध बनाइरहेका बेला उनले आफ्नो सफल जीवन नै सिध्याउन गरेको अकल्पनीय निर्णय पछाडिको मूल कारण भने अहिलेसम्म रहस्यकै गर्भमा छ ।

म्युजिक भिडियोको निर्देशनमा आफूलाई अब्बल सावित गरेपश्चात् चलचित्रको निर्देशनमा समेत आफूलाई सफल प्रमाणित गरिसकेका ४२ वर्षीय आलोक नेम्वाङले काठमाडौंको टोखास्थित ग्राण्ड भिल्लाको दुई तल्ले घरको भुइँ तल्लामा बिहीबार साँझ ६ देखि ८ बजेको बीचमा आत्महत्या गरेको अनुमान प्रहरीको छ । बाथरुमसँगैको भर्‍याङको रेलिङमा तन्नाबाट तयार पारिएको पासोमा झुन्डिरहेको अवस्थामा साँझ ८ बजे उनको पार्थिव शरीरलाई मोडल नीराजन प्रधानले पहिलो पटक देखेका थिए । लगत्तै महाराजगन्ज प्रहरीले उनको शव झुन्डिएको अवस्थामा फेला परेको पुष्टि गरेको थियो ।

आलोकको मृत्युको खबरले बिहीबार राति ९ बजेपछि सामाजिक सञ्जालमा भाइरलको रूप लियो । फेसबुकका वालहरू श्रद्धाञ्जलीले भरिए । आफ्नो करियरमा कहिल्यै कसैको चित्त नदुखाएका आलोक नेम्वाङले आखिर मृत्युको सहारा किन लिनुपर्‍यो ? सम्पूर्ण नेपाली अहिले यही प्रश्नको जवाफ खोजिरहेका छन् । धेरैले धेरै प्रकारका अनुमान लगाए पनि आलोकको परिवारले भने यस विषयमा मंगलबार मध्याह्नसम्म आधिकारिक प्रतिक्रिया दिइसकेको छैन । परिवारका एक सदस्य पाइलट तथा अभिनेता विजय लामा (आलोकका भिनाजु) ले आलोकको असामयिक निधनको यथार्थ जानकारी समाजमा ल्याउने प्रतिक्रिया दिइसकेका छन्, तर निधन भएको करिब एक साता बितिसक्दासम्म त्यस्तो धारणा बाहिर आइसकेको छैन । आलोकको निधन भएको चार दिनपछि धार्मिक परम्परा अनुसार नुन-तेल फुकुवा गर्ने कार्यक्रममा विजय लामाले जे-जस्तो कारणले भए पनि समाजमा आलोकजस्ता युवाहरूलाई सचेत गराउन भए पनि आफूले आलोक मृत्युको यथार्थ कारण सार्वजनिक गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए । प्रहरीले समयमा पोस्टमार्टम रिपोर्ट उपलब्ध नगराएकाले त्यस्तो धारणा सार्वजनिक गर्न समय लागेको आलोकको परिवारका सदस्यहरूको तर्क छ ।

'सानो संसार'बाट चलचित्र निर्देशनमा डेब्यू गरेका आलोकले दोस्रो चलचित्र 'कोहि मेरो' निर्देशन गरेको करिब ८ वर्षपछि तेस्रो चलचित्र 'अझै पनि' निर्देशन गरेका थिए । उनको उक्त अन्तिम चलचित्र आगामी फागुन १५ गते प्रदर्शनमा आउँदैछ ।

मृत्यु अघि आलोक

पछिल्लो समय आलोक नेम्वाङसँग नजिक रहेका तीन जना मोडलसँग साप्ताहिकले सामूहिक अन्तर्वार्ता लिँदै उनको पछिल्लो दैनिकी तथा आत्महत्या गर्नुभन्दा अघिका घटनाक्रमका बारेमा जान्ने प्रयास गरेको थियो । आलोकसँग पछिल्लो २ वर्षदेखि सँगै रहेका मोडल तथा अभिनेता अनिल थापा, आलोकका केही म्युजिक भिडियोमा अभिनय गरिसकेका मोडल निराजन प्रधान (आलोकले आत्महत्या गरेपछिको पहिलो प्रत्यक्षदर्शी) तथा आलोकले आगामी मंसिरदेखि निर्देश्ान गर्ने भनिएको चलचित्र 'जात्रा' का नायक तथा मोडल अमित पोखरेलसँग साप्ताहिकले आलोकको मृत्यु, त्यसको सम्भावित कारण तथा उनको पछिल्लो दैनिकीका बारेमा लामै कुराकानी गरेको थियो । गत सोमबार साँझ दरबारमार्गमा सामूहिक भेटघाटका क्रममा अभिनेता थापा, मोडल प्रधान तथा अभिनेता पोखरेल चिन्तित मुद्रामा देखिन्थे । उनीहरूले सामूहिक रूपमै नेम्वाङको मृत्यु विश्वास नै गर्न नसकिने घटना भएको उल्लेख गरे ।

डिप्रेसनको सिकार

आलोक सानैदेखि पशुपन्छीप्रेमी थिए । उनी कुकुर र बिरालो भनेपछि हुरुक्क हुन्थे । अहिले पनि आलोकको घरमा तीनवटा कुकुर र दुईवटा बिराला छन् । साथीभाइमाझ ठट्टा गरिरहने स्वभावका आलोक गत वैश्ााखमा लामो समयदेखि बसोबास गर्दै आएको नक्साल (भाटभटेनीको अघिल्तिर) बाट सरेर टोखास्थित ग्रान्ड भिल्ला पुगेका थिए । नक्सालको पहिलो तल्लामा लामो समयदेखि बसोबास गर्ने क्रममा उनले पालेकामध्ये दुईवटा कुकुरलाई चिसोका कारण इन्फेक्सन भयो । कुकुरलाई आफ्ना सन्तानभन्दा बढी माया गर्ने आलोकले कुकुरको उपचारमा प्रशस्त पैसा खर्च गरे पनि छालामा भएको उक्त इन्फेक्सन निको भएन । पशु चिकित्सकले आलोक बसिरहेको फ्ल्याटमा घाम नआउने भएकाले चिसोका कारण कुकुरमा समस्या देखिएको बताए । त्यसपछि चिकित्सककै सल्लाहअनुसार उनी पारिलो घाम लाग्ने निवासको खोजीमा जुटे । एकान्तप्रेमी आलोकले अन्ततः ग्रान्ड भिल्लाको एउटा दुई तल्ले घर रोजे । करिब ७७ लाख रुपैयाँमा उक्त घर किनेपछि गत वैशाखमा अभिनेता अनिलसँगै उनी नक्सालबाट टोखा सरे ।

टोखा सरे पनि आलोकले पालेका चारवटा कुकुरमध्ये 'स्पाइसी' नाम गरेको कुकुरको स्वास्थमा सुधार आएन । अन्ततः गत साउन महिनामा 'स्पाइसी' को निधन भयो । करिब १३ वर्षअघिदेखि पालेको उक्त कुकुरको निधनपछि आलोक असाध्यै निराश थिए । स्पाइसीको मृत्युपछि आलोकले कैयौं छाक खाना खाएनन्, घरबाट बाहिर निस्किएनन् । अनिलले कुकुरलाई आलोकको चाहनाअनुसार घरकै कम्पाउन्डमा गाडे । कुकुरको निधन भएको करिब एक महिनासम्म उनी बिहान-बिहान कुकुर गाडेको ठाउँमा गएर अगरबत्ती बालेर फूल चढाउँथे । त्यसक्रममा उनी भक्कानिएर रुन्थे । ठूलो स्वरमा केही समय रोएपछि मात्र उनी घरभित्र छिर्थे । कुकुर गाडेको स्थानमा धूपबत्ती र फूल चढाउने क्रम आलोकको आत्महत्याको सातासम्म पनि जारी थियो ।

'स्पाइसी' को निधनपछि नै आलोक गहिरो डिप्रेसनको सिकार भएको अनुमान निकटतम सहकर्मीहरूले गरेका छन् । 'मभन्दा पहिले मेरा सन्तानको निधन हुनै सक्दैन' आलोकले रुँदै भन्ने वाक्य सम्झँदै अभिनेता अनिल भन्छन्— 'त्यस क्रममा हामीले उहाँलाई धेरै पटक सम्झाउने प्रयास गर्‍यौं तर उहाँ एक्लो भयो कि स्पाइसीलाई सम्झिएर धेरै बेर रुनुहुन्थ्यो ।'

आलोकलाई मन नपर्ने समय

स्पाइसीको निधनपछि प्रत्येक साँझ ५ देखि ७ बजेसम्मको समय आलोक आफूलाई निस्सासिएजस्तो भएको, गाह्रो भएको जस्ता कुरा सहकर्मीहरूसँग गरिरहन्थे । टोखाको सुनसान घरमा आलोकलाई एक्लै नछाड्ने योजना पनि बन्यो । सहकर्मी कलाकारहरूले उक्त समयमा आलोकलाई एक्लै नछाड्ने प्रयास अघिल्लो बुधबारसम्मै गरेका थिए । 'साँझ उहाँलाई घरमा बस्नै मन लाग्दैनथ्यो, अनिल सम्झन्छन्— 'त्यसैले कहिले हामी चलचित्र हेर्न सिनेमा हल जान्थ्यौं, कहिले साथीभाइ भेला पारेर आफूलाई मन परेका परिकार बनाएर खान्थ्यौं । कहिलेकाहीँ तास खेलेर समय कटाउँथ्यौं ।'

पछिल्लो एक साता

मृत्युभन्दा ठीक एक साताअघिदेखि आलोकलाई डिप्रेसनले अति नै च्यापेको अनुमान उनका नजिकका कलाकारहरूले गरेका छन् । अभिनेता अमित पोखरेलका अनुसार पछिल्लो एक सातायता उनलाई चार-पाँच जना सहकर्मी कलाकारले छाडेकै थिएनन् । दुई साताअघिको शुक्रबार 'टलकजंग भर्सेस टुल्के' को फस्ट डे फस्ट शो हेर्ने योजना आलोकले नै बनाएका थिए । उक्त चलचित्र हेरेर रमाइलो लागेको प्रतिक्रिया दिएका आलोक सपिङ कम्प्लेक्स, सडक, रेस्टुराँदेखि छायांकनस्थलसम्म एक्लो भयो कि रुन थाल्थे । सहकर्मीहरूलाई 'मर्न मन लागेको छ, यो संसारमा बाँचेर के गर्नु' भन्ने वाक्य बारम्बार दोहोर्‍याइरहन्थे ।

आलोकसँग विगतमा काम गरिसकेका एक जना पुराना मोडल भन्छन्— ४-५ दिन अघिदेखि नै मर्छु-मर्छु भनिरहेको अवस्थामा उनको हेरचाह गरिरहेका मोडलहरूले किन उनलाई साइकोलोजिस्टकहाँ लगेनन् आश्चर्यको विषय भएको छ । 'कम्तीमा आलोकका परिवारका सदस्यलाई उनले पछिल्लो पटक व्यक्त गरेका अप्रिय शब्दहरू सुनाइदिएको भए आज यो दिन आउँदैन थियो कि ?' उनको अनुमान छ । जबकी डिप्रेसनले जति नै च्यापे पनि आलोक मनोचिकित्सककहाँ जान चाहेनन् । अनिलका अनुसार आलोकलाई अस्पताल, डाक्टर, इन्जेक्सनजस्ता कुराको असाध्यै डर लाग्थ्यो । धेरै पटक प्रयास गर्दासमेत आलोकलाई उनका सहकर्मी कलाकारले चिकित्सककहाँ पुर्‍याउन सकेनन् ।

मृत्युअघिको २४ घण्टा

आलोकको मृत्युभन्दा करिब एक साताअघिदेखि अभिनेता अनिल थापा चितवनमा थिए । आलोकसँगै बसोबास गर्ने थापा चितवन गएपछि आलोकले एक्लोपन महसुस गर्नु स्वाभाविक हो । आलोकको त्यही एक्लोपन हटाउन नीराजन प्रधान, मोडल एलिजा बस्नेत, अमित पोखरेलसहितका मोडलहरू आलोकको घर आउने-जाने गरिरहन्थे । मृत्युभन्दा ठीक २४ घण्टा अघिदेखि नीराजनसहितका साथीहरू आलोककै घरमा थिए । 'हामीले राति खाना खाएर अबेरसम्म तास खेलेका थियौं, नीराजनका अनुसार आलोकलाई म्यारिज खेल्न रमाइलो लाग्थ्यो, तर त्यो दिन म्यारिज खेल्ने क्रममा उहाँ पटक-पटक रुनु भएको थियो । हामीले उहाँको मन बहलाउन तास खेल्ने वातावरण तयार पारेका थियौं तर उहाँ एक-दुई हात चल्ने बित्तिकै आफूलाई असाध्यै गाह्रो भएको, टेन्सन भएको बताउँदै रुन थाल्नुहुन्थ्यो ।'

खाना खाएर तास खेलेपछि राति करिब ११ बजे सबै जना आलोककै घरमा सुतेका थिए । नीराजनका अनुसार उनीहरू कात्तिक २० गते बिहान करिब ९ बजे उठे । बिहानको नित्यकर्मपछि आलोकले नै शुक्रबार बिहानको लञ्च घर बाहिरै गरौं भन्ने प्रस्ताव राखे । सबैको सल्लाहअनुसार उनीहरू बिहानको खाना खान करिब ११ बजे गैरीधारास्थित तामा रेस्टुराँ पुगे । आलोकलगायतका सहकर्मी खाना खाइरहेका बेला अभिनेता अमित पोखरेल पनि पुगे । अमितलाई आलोकले नै त्यहाँ बोलाएका थिए । अमित चलचित्र 'जात्रा' को स्क्रिप्टलगायतका विषयमा छलफल गर्न आलोकसँग समय मिलाएर भेटिरहन्थे । 'बिहानको खाना खाएपछि आलोक दाइले सपिङ गर्नुपर्नेछ, मसँग को जाने भनेर जिज्ञासा राख्नु भयो, अमित सम्झन्छन्— 'नीराजन र अन्य साथीहरूको आ-आफ्नै काम भएकाले म तपाईंसँग सपिङमा जान्छु भनें । उहाँले सिटी सेन्टर जाने भन्नुभयो । हामी सिटी सेन्टर पुग्यौं । उहाँले त्यहाँ आफ्ना लागि केही बिस्कुट लिनुभयो भने घरमा पालेका कुकुरका लागि धेरै थरीका खानेकुरा लिनु भयो । त्यसपछि उहाँकै सल्लाह अनुसार हामी महाराजगन्जस्थित सेल्वेज सपिङ सेन्टर पुग्यौं । उहाँले त्यहाँ आफ्ना लागि दुई बोरा चामल तथा कुकुरहरूका लागि थप खाद्यपदार्थ किन्नुभयो । दुई बोरा चामल र चार-पाँचवटा झोला भएपछि उहाँले चिनेको ट्याक्सीलाई फोन गर्नुभयो । ट्याक्सी ड्राइभरले टोखास्थित आलोकको नयाँ घर जाने बाटो बिगि्रएकाले जान नसक्ने बताएछन्, फोन काट्दै उहाँ बाटोमै घ्वाँ...घ्वाँ गर्दै रुन थाल्नुभयो । 'अब यी सामान कसरी घर लानु...., आलोकले रुँदै यसो भनेपछि अमितले आफ्नो मोटरसाइकलमै आलोकलाई घरसम्म छाडिदिने निर्णय गरे । फलस्वरूप हेन्डल तथा लेगगार्डमा झोला झुन्ड्याएर आलोकलाई दुई बोरा चामलसहित मोटरसाइकलको पछाडि बसाए । 'मैले उहाँलाई दिउँसो १ः३० बजे उहाँकै घरको गेटमा छाडेको थिएँ,' अमित भन्छन्— 'घरमा काम गर्ने दिदी भएकाले चिन्ता नलिन आग्रह गरेपछि म गेटबाटै फर्किएँ ।'

अमित घरको मेनगेटबाट फर्किएपछि पनि आलोकको नीराजन तथा एलिजा बस्नेतसँग फोनमा सम्पर्क भैरहेको थियो । त्यो क्रम साँझ साढे पाँच बजेसम्म जारी रह्यो । नीराजनले साँझ ५ बजेसम्म आफू जसरी भए पनि टोखा पुग्ने योजना बनाएका थिए तर एयरपोर्टमा आफन्तलाई बिदाइ गर्नुपर्ने भएकाले तथा एयरपोर्ट जाने मार्गमा भएको ट्राफिक जामका कारण उनी साँझ ७ बजेसम्म पनि टोखा पुग्न सकेनन् । त्यसक्रममा एलिजाले आलोकलाई गरेको फोन साँझ ५ः३० बजेपछि उठ्न छाड्यो । एलिजाले आलोकको फोन नउठेको कुरा नीराजनलाई सुनाइन् । एलिजालाई 'कुकुरहरूलाई घुमाउन घरबाहिर निस्कनुभएको होला भने पनि नीराजनले  त्यसपछि आलोकलाई पटक-पटक फोन गरे तर फोन उठेन । 'मेरो मनमा चिसो पस्यो, नीराजन सम्झन्छन्— 'म हतार-हतार एयरपोर्टबाट टोखा पुगेँ । घरको गेट बाहिरैबाट पुनः फोन गरें । भुइँतल्लामा मोबाइल बजेको बाहिरै सुनियो । घरको पर्खाल नाघेरै भए पनि भित्र छिरौं भन्ने सोच्दै थिएँ, मेनगेट खुल्लै रहेछ । घरको कम्पाउण्डमा पुगेपछि घरको मुख्य ढोका पनि खुल्लै पाएँ । उहाँको घरका ढोका कहिल्यै यसरी लापरवाहीपूर्वक खुल्लै छाडिदैनथ्यो । घरका सबै बत्ती बलिरहेका थिए । बिस्तारै भित्र छिरें । आफ्नो ठाउँमा हुनुपर्ने डस्टबिन, कुर्सी यथा स्थानमा थिएनन् । चारैतिर हेरें, उहाँलाई देखिन । अघि बढेर बाथरुमतिर हेरेको उहाँ झ्यालतिर फर्केर भित्तामा अडेस लागे जस्तो देखें । आलोकदाइ भनेर बोलाएँ, उहाँको शरीरलाई आफूतिर फर्काएँ, तर अफ्सोस उहाँ त्यसअघि नै यो संसारबाट बिदा भैसक्नु भएको रहेछ । आलोक दाइको त्यो अवस्था देख्नासाथ बाहिर निस्केर 'हेल्प...हेल्प...' भन्दै चिच्याएँ, कतैबाट कुनै प्रकारको सहयोग आएन । दिदी-दिदी भनेर छिमेकका महिलाहरूलाई गुहारें, कतैबाट केही जवाफ आएन । प्रहरीको १०० मा फोन गरें, फोन लागेन । दौडेर हाउजिङको मेन गेटमा गएर सेक्युरिटी गार्डलाई भित्र देखेको कुरा बताएँ । त्यसक्रममा मैले गायक हेमन्त शर्मा, मोडल एलिजा बस्नेतसहित केही साथीलाई घटनाका बारेमा अवगत गराइसकेको थिएँ । केही मिनेटमै प्रहरी आएपछि मात्र मैले लामो सास फेरें ।'

के हुन सक्छ यथार्थ कारण ?

दिवंगत आलोक नेम्वाङका भिनाजु विजय लामाले उनको आत्महत्याको पछाडि कुनै ठोस कारण रहेको संकेत गरिसकेका छन् । के हुन सक्छ त्यो ठोस कारण ? अनेक प्रकारका अनुमान गर्ने क्रम रोकिएको छैन ।

सुसाइड नोटमा के छ ?

झुन्डिएको अवस्थामा भेटिएका आलोक नेम्वाङले आत्महत्या गर्नुअघि लेखेको सुसाइड नोट प्रहरीले घटनास्थलमै भेटेको छ । प्रहरीका अनुसार आलोकको निवासबाट सुसाइड नोटसहित जीवनदेखि निराशा व्यक्त गरिएका भावहरू समेटिएको डायरी समेत फेलापरेको बताइन्छ  ।  प्रहरीका अनुसार अनुसन्धानको प्रारम्भिक चरणमा आलोकको कसैले हत्या गरेको हो कि होइन भन्नेमा केन्दि्रत छ । आत्महत्या ठहर भयो भने प्रहरीले अनुसन्धान फाइल बन्द गर्नेछ । 'सम्भव भएसम्म सबै कोणबाट अनुसन्धान गर्दैछौं', प्रहरीले भनेको छ ।

प्रेसमिट गर्ने तयारीमा भिनाजु

स्व. आलोक नेम्वाङको अति निकट रहेका उनका आफ्नै भिनाजु पाइलट तथा अभिनेता विजय लामा केही दिनभित्रै पत्रकार सम्मेलन गरेर थाहा पाएजति यथार्थ बाहिर ल्याउने पक्षमा छन्, तर त्यसका लागि पोस्टमार्टम तथा प्रहरी अनुसन्धानको रिपोर्ट पर्खिरहेको उनको तर्क छ । आलोकको अकल्पनीय निधनका बारेमा आफ्ना धारणा व्यक्त गर्न जोकोही हतारिए पनि अनुमानका भरमा बोल्नु गलत हुने लामाको तर्क छ । केही दिनदेखि हतास भनिएको भनाइप्रति इंगित गर्दै लामाले भने- 'निधनअघि उसले मसँग त्यस्ता केही कुरा गरेको थिएन । स्पाइसी मरेपछि ऊ केही समय डिस्टर्बचाहिँ थियो, तर उक्त घटना घटेको पनि धेरै भैसकेको छ ।' विजयले सञ्चारमाध्यमहरूमा अनुमानका भरमा उनको मृत्युलाई आत्महत्या भनिनुलाई पनि राम्रो मानेका छैनन् । साप्ताहिकसँगको फोन वार्तामा उनले भने- 'अहिलेसम्म रिपोर्ट आएको छैन । आत्महत्या भनेरै ठोकुवा गरेर लेख्न वा भन्न कहाँ मिल्छ ? रिपोर्टले जे भन्छ त्यही सत्य हुनेछ ।' शोकको घडीमा सहानुभूति देखाउनुपर्नेमा यसरी जथाभावी बोलिदिँदा वा लेखिदिँदा परिवारलाई कस्तो असर पर्छ भन्ने कुरामा सबैले ध्यान पुर्‍याउनुपर्ने हो । २० वर्षअघि आलोकका बाबुको निधन पनि अस्वाभाविक भएको बताउँदै त्यो घटनालाई यो घटनासँग जोड्नुको कुनै तुक नभएको विजयको तर्क छ । 'रिपोर्ट आएपछि सबै कुरा छर्लङ्ग हुनेछ । यस्तो दुःखद अवस्था कसैले भोग्नु नपरोस्,' -लामाले अत्यन्तै दुःखी स्वरमा साप्ताहिकलाई बताए ।

आलोकले आत्महत्या नै गरेका हुन् : प्रहरी

'हरेक दिन मरिमरि बाँच्नुभन्दा त, म एकदिन नाचेर मर्न चाहन्छु (बेस)'

दुई लाइनमा आफ्नो आत्महत्यालाई पुष्टि गर्दै निर्देशक आलोक नेम्वाङले मृत्युको बाटो रोजे । आलोकको निधनलाई प्रहरीको प्रारम्भिक अध्ययनले आत्महत्या ठहर गरिसकेको छ । प्राप्त सबै दस्तावेज अध्ययन गर्दा आत्महत्याबाहेकको अन्य विकल्प प्रहरीले केही फेला पार्न सकेको छैन । आलोकले एउटा सानो यही टिपोट मात्र छोडेर गएका छन् । प्रहरी सुत्रका अनुसार हरेक दिन मरी-मरी बाँच्नुभन्दा त म एक दिन नाचेर मर्न चाहन्छु अनि कोष्ठभित्र बेस लेखिएको छ । आलोकले किन आत्महत्याको बाटो रोजे भन्ने विषयमा प्रहरीले उनीसम्बद्ध सबै डायरी तथा अन्य डकुमेन्टको अध्ययन गरिसकेको छ । यस्तै निकटस्थ सबैसँग अनुसन्धान गरिरहेको पनि बताइएको छ । 'अनुसन्धानबाट आलोकले आत्महत्या नै गरेको देखिन आएको छ,' आलोकको मृत्युको अनुसन्धानमा संलग्न महाराजगन्ज महानगरीय प्रहरी वृत्तका प्रहरी नायब उपरीक्षक सानुराम भट्टराईले साप्ताहिकसँग भने- 'उनी आफ्नो जीवनदेखि नै उदास थिए भन्ने कुरा उक्त टिपोट मै उल्लेख छ । हामी अहिले पनि अनुसन्धानकै क्रममा छौं, मैले अहिलेसम्मको अपडेटका आधारमा बताएको हुँ, चाँडै यससम्बन्धी सबै तथ्य सार्वजनिक गरिनेछ ।' प्रहरीले अदालतमा पेस गर्ने प्रमाणका रूपमा यही टिपोटलाई मुख्य आधार बनाएको छ । उनले लेखेको टिपोटलाई केन्द्रीय विधिविज्ञान प्रयोगशालामा परीक्षण पनि गरिएको थियो । टिपोटमा  उनले नाचेर लेखेको ठाउँ केही नबुझिनेजस्तो देखिन्छ तर त्यो नाचेर नै भएको प्रहरीको ठहर छ । विधि विज्ञान प्रयोगशालाको रिपोर्टमा पनि आलोकको हस्ताक्षर पुष्टि भैसकेको बताइन्छ भने पोस्टमार्टमबाट पनि उनले झुन्डिएर आत्महत्या गरेको रिपोर्ट आइसकेको छ । डिएसपी भट्टराईका अनुसार परिवार एवं निकटजनबाट पनि पछिल्ला केही दिनमा आलोक तनावमा थिए भन्ने कुरा आइसकेको छ । उपलब्ध अन्य प्रमाणले पनि उनले आत्महत्या नै गरेको ठहर गरिसकेको अवस्थामा घटनालाई अन्य विकल्पसँग जोड्न सक्ने ठाउँ निकै कम छ । आलोकको परिवार निरन्तर सम्पर्कमा रहेको बताउँदै डिएसपी भट्टराई प्राप्त प्रमाणका आधारमा उहाँहरूले पनि चित्त बुझाउनुहुनेछ भन्ने विश्वास व्यक्त गर्छन् ।

अन्तिम कल मलाई

एलिजा बस्नेत, भिजे/मोडल

आलोक दाइ भाटभटेनीस्थित अख्तियारको मुख्य कार्यालयअगाडिको अपार्टमेन्टको पहिलो तलामा धेरै वर्ष बस्नुभयो । त्यही अपार्टमेन्टको तेस्रो तलामा बस्न थालेयता उहाँसँग मेरो निकटता बढेको थियो । चार वर्षदेखिको उहाँसँगको चिनाजानीमा कहिल्यै पनि मलाई तिमी भनेर बोलाउनु भएन, सधैं तपाईं भन्नुहुन्थ्यो, जसलाई पनि सम्मानजनक व्यवहार गर्ने आलोक दाइ अन्तरमुखी हुनुहुन्थ्यो । कुनै-कुनै कुरा त उहाँले जिस्केर भनेको हो वा साँच्चै हो खुट्याउन गाह्रो पथ्र्यो ।

उहाँ किन एक्लै बस्नुहुन्थ्यो ? वा किन विवाह नगरेको जस्ता कुरा मैले कहिल्यै सोधिनँ । उहाँसँग पछिल्लो समय काम गरिरहेका मोडलहरूसँग मेरो पनि नजिकको चिनाजानी उहाँले गर्दा नै भएको हो । सात महिनादेखि उहाँ अपार्टमेन्ट छाडेर त्यहाँबाट अलिक टाढा हाउजिङको घरमा बस्न थाल्नुभयो । त्यसपछि पनि म उहाँसँग निरन्तर सम्पर्कमा थिएँ । उहाँको घरमा बेलाबखत हुने जमघटमा पनि सहभागी हुन्थे ।

उहाँले आफूलाई समाप्त पार्नुभन्दा केही बेरअघिमात्र मसँग फोनमा कुरा गर्नुभएको थियो । विगत केही दिनदेखि मर्न मन लागेको र विरक्तिएका कुरा गरिरहनुभएको थियो । त्यो बेला फोनमा पनि उहाँले त्यस्तै कुरा गर्नुभयो- 'मलाई केही भयो भने मेरा कुकुर र बिरालालाई सुई लगाइदिएर मसँगै सुताइदिनु ।' जस्ता केही निराशाजनक कुरा गर्नुभयो । मैले उहाँलाई फोनबाटै सम्झाउन खोजे । केही दिनदेखि त्यस्तै कुरा गरिरहनु भएकाले मलगायत उहाँसँग निकट रहेका मोडल साथीहरूले उहाँलाई एकैछिन पनि एक्लै छाडेका थिएनौं । त्यो घरका कारण विरक्तिनुभएको हो कि भन्ने लागेर एक दिनअघि हामीले बालुवाटार, नक्साल क्षेत्रका अरू घर पनि हेर्‍यौं । उहाँलाई कुनै मन परेनन् ।

त्यो दिन पनि उहाँ मेरो अपार्टमेन्ट अगाडि आएर मसँग भेटेर जानुभएको थियो । अन्तिम कल सकिन लाग्दा मैले मेरो फोनको रिचार्ज गर्नु पर्ने र रिचार्ज गरेपछि कल ब्याक गर्ने कुरा गरेँ र फोन डिस्कनेक्ट भयो । त्यो बेला साँझको साढे पाँच जति बजेको थियो । उहाँका निराशाजनक कुराले मेरो मन खल्बलिरहेको थियो । रिचार्ज गरेर बाटो काट्दा एउटा बससँग झन्डै ठोक्किन पुगेँ । बाटो काटेर दाइलाई मैले 'तपाईं मर्ने कुरा गर्नुहुन्छ, यहाँ म झन्डै खुस्किएकी ।' भन्न कल गरेँ, तर फुल रिङ जाँदा पनि फोन उठेन । दाइ कुकुर डुलाउन निस्कनुभयो होला भन्ने लाग्यो । फोन नउठे पनि केही बेरमा कलब्याक गर्ने उहाँको बानी थियो, कलब्याक नआएपछि फेरि लगातार फोन गरिरहेँ । फोन उठ्दै उठेन । अनि मेरो मन सशंकित भयो । मैले मोडल साथी नीराजन प्रधानलाई कल गरेँ । ऊ कसैलाई छाड्न एयरपोर्ट पुगेको रहेछ । मेरो कुरा सुनेपछि ऊ अत्तालिँदै दाइको घर पुगेछ । एकैछिनपछि नीराजनले सबै कुरा खत्तम भयो भनेर रुन्चे स्वरमा फोन गरेपछि म पनि आत्तिदै दाइको घर पुगेँ । त्यसपछिको घटना त सबैलाई थाहै छ । यसरी मैले मेरो एउटा असल अभिभावक गुमाएँ ।

कसैलाई नबिझाउने आलोक

मेरो जीवनमा आलोक दाइको ठूलो भूमिका थियो । वसन्त चौधरीको 'वन्ली-लभ' गीतिसंग्रहका लागि श्रेया घोषालले गाएको तिम्रो प्रेमले गीतको म्युजिक भिडियोमा आलोक दाइले मलाई अभिनय गराउनु मेरो करिअरको टर्निङ प्वाइन्ट रह्यो । निर्देशकका रूपमा उहाँसग काम गर्न पाउनु हरेक कलाकारका निम्ति सपना हो । सेटमा जुन किसिमको प्रोफेसनालिज्म उहाँको हुन्थ्यो मैले कमै निर्देशकमा त्यो पाएको छु । काम गर्ने वातावरण रमाइलो हुने, कलाकारहरूमा ऊर्जा थप्ने उहाँको शैलीले फरक वातावरण सिर्जना गथ्र्यो । अब अर्को आलोक नेम्वाङ सायदै जन्मिएलान्, रिकभर नै नहुने लस भएको छ । दुई पात्रबीचको भावनात्मक सम्बन्धलाई प्रस्तुत गर्नेदेखि स्क्रीनमा कलाकारलाई राम्रो देखाउन उहाँले गर्ने मेहनत प्रशंसनीय थियो । मैले आलोक नेम्वाङको चलचित्रमा नायिका बन्ने सपना साँचेकी थिएँ, जुन अब कहिल्लै पूरा हुँदैन ।

रिमा विश्वकर्मा, नायिका

मैले गाएका १४ वटा गीतका म्युजिक भिडियोको निर्देशन आलोक नेम्वाङले गर्नुभएको थियो । गत शुक्रबार र आइतबार क्रमशः अरू दुईवटा म्युजिक भिडियोको छायांकन गर्ने सेड्युअल थियो, तर उहाँ नै रहनुभएन । संयोग नै मान्नुपर्छ पहिलो गीत माया साह्रै महँगो पछि मेरा सबै प्रोजेक्टमा आलोकजीले नै काम गर्नुभयो । म उहाँलाई कुशल निर्देशक, कुनै कुरालाई एकदमै सिगार्न जान्ने, हरेक कुरामा सिलसिलेवार ध्यान दिने निर्देशकका रूपमा पाउँछु । व्यक्तिगत रूपमा पनि मेरो अति राम्रो सम्बन्ध थियो । मृत्युको अघिल्लो दिनसम्म पनि हामीबीच कुराकानी भएको थियो । आलोकले करिब १ हजार म्युजिक भिडियो निर्देशन गर्नुभयो होला, तर हरेक भिडियो पृथक् स्वादका छन्, यही नै उहाँको विशेषता हो । सरलता उहाँको अर्को विशेषता हो । स्वभावका हिसाबले केही फरक हुनुहुन्थ्यो, जोमसोम रुचाउने तर गर्मीमा बढी कम्र्फट फिल गर्ने, एकदमै कठोर तर कोमल हृदय भएको व्यक्ति। हामी एकअर्काका सहयोगी एवं साथी थियौं । सुख दुःख एवं घरव्यवहारका कुरा पनि गथ्र्यौं, एक-अर्काको घर आउने जाने पनि थियो । अन्तिम पटकको कुराकानीमा भने उहाँ फ्रस्टेट हुनुहुन्थ्यो । जिन्दगीदेखि विरक्तिएको, एक्लोपन महसुस गरेको बताउनुभएको थियो ।

हेमन्त शर्मा, गायक

मेरा निम्ति आलोकजी परिवारकै सदस्य हुनुहुन्थ्यो । हामी एकदमै नजिक पनि थियौं । एकअर्काबीच प्रोफेसनल-पर्सनल कुराकानी भैरहन्थे । आलोकजी सही सल्लाह दिने साथी पनि हुनुहुन्थ्यो, मैले अभिनय गरेका हरेक चलचित्र हेरेर तपाईंको काम यस्तो छ, अब यो कुरामा ध्यान दिनुहोला भनेर सकारात्मक ऊर्जा दिनुहुन्थ्यो । त्यतिमात्र होइन, उहाँ सबै नेपाली चलचित्र हेर्नुहुन्थ्यो अनि मलाई जस्तै अरूलाई पनि सल्लाह सुझाव दिनुहुन्थ्यो । प्रोफेसनल हिसाबले एकदमै राम्रो काम गर्ने निर्देशक हुनुहुन्थ्यो । आर्टिस्टलाई स्पष्ट रूपमा विषयवस्तु बताउने, सफा तरिकाले काम गर्ने खुबी उहाँमा थिए । सबै मानिस सबै कुरामा पूर्ण हुँदैन, तर, प्रत्येक व्यक्तिले आलोकजीका बारेमा राम्रो कुरा मात्र गर्छ भनें उहाँ कस्तो हुनुहुन्थ्यो भन्ने कुरा आफैं

स्पष्ट हुन्छ ।

सञ्चिता लुइँटेल, नायिका

मैले करिअरकै फस्ट म्युजिक भिडियो मिस नेपाल नहुँदै १८ वर्षको हुँदा आलोक नेम्वाङसँग गरेकी थिए, जुन कुरा मेरो घरमा थाहा थिएन । पछि थाहा पाउनुभयो, अनि दाइले इमेज च्यानल नै पुगेर हेर्नुभयो । त्यसपछि उक्त भिडियो रिलिज भएको थियो । मलाई क्यामेरा फेस गर्न सिकाउने व्यक्ति नै आलोक थिए, मलाई सम्झना छ, पहिलो काम भएकाले म मेकअप गर्न मानिरहेकी थिइनँ, तर आलोकले सम्झाएपछि मानें । आलोकसँग मैले ६ वटा म्युजिक भिडियोमा काम गरें । पछि कान्तिपुर टेलिभिजनमा सन् २००३ देखिसँगै काम गर्‍यौं । त्यसपछि हाम्रो घनिष्टता अझ बढ्यो । आलोक, दीपाञ्जली लामा र म यति नजिकियौं कि घरबाट अफिस आउनेदेखि खाजा खाने र घर र्फकनेसम्म सबै सेड्युअल साथमै हुन्थ्यो । आलोक बाटोमा हिँड्दा कुकुरलाई बिस्कुट ख्वाउँथे, जुन कुरा उनीबाटै मैले पनि सिकें । हामी उनको अपार्टमेन्टमा जान्थ्यौं, जहाँ आलोक र म नागिन डान्स गथ्र्यौं । टेलिभिजन छोडेपछि उनीसँग नजिक हुने अवस्था भएन, यद्यपि कहिलेकाहीं भेट हुन्थ्यो । केही दिनअघि मात्र आफ्नो कुकुरलाई बिस्कुट ख्वाउने क्रममा मैले आलोकलाई सम्झिएकी थिए, लगत्तै उनको मृत्युको समाचार सुन्नुपर्‍यो । एकदमै रमाइलो गर्नुपर्ने, हास्नुपर्ने, जोक गर्नुपर्ने, जिस्किरहनुपर्ने स्वभाव उनमा थिए । माया गरेपछि धेरै गर्ने, मन नपरेपछि फुटेको आँखाले पनि हेर्न नरुचाउने उनको स्वभाव थियो । आलोकलाई कुन कुरामा चित्त बुझेन भन्ने थाहा पाउन पनि गाह्रो हुन्थ्यो । मैले आलोक तनावमा छ भन्ने पनि थाहा पाइनँ, नत्र भेट्न जान्थें ।

माल्भिका सुब्बा,

पूर्वमिस नेपाल

मित्रता र सिर्जनमा हामीले धेरै वर्ष सँगै बितायौं । तिमी मेरो जीवनको एउटा महत्वपूर्ण साथीका रूपमा सधैं रहिरहनेछौं । हामी बितेका केही वर्ष त्यति नजिक रहेनौं, यो प्राकृतिक वा तिम्रो चाहनाअनुसार पनि भएको हुनुपर्छ । म त्यसलाई स्वीकार गर्दै अघि बढें । म सधैं तिमीलाई माया र केयर गर्छु, मैले यसो भनेको तिमीले पहिले सुनेको पनि छौ र यो पछि पनि रहिरहनेछ । हामीले सँगै बिताएका ती क्षणहरू मेरो मुटुमा जीवित रहनेछन् ।

झरना बज्राचार्य, नायिका (फेसबुक वालबाट)

मोडलका रूपमा मैले करियरकै पहिलो काम आलोक दाइसँग गरेको थिए । काठमाडौं आएर संगीत र नृत्यसम्बन्धी ज्ञान लिइरहेका बेला म अच्युत घिमिरेमार्फत मोडलिङका लागि आलोक दाइकहाँ पुगेको थिएँ । लेटाङबाट आएको कर्ली केश भएको कलिलो युवकलाई शिशाभित्रैबाट देखेर मोडल लिने नलिने भन्नेमा उहाँ असमञ्जसमा पर्नुभएको रहेछ, त्यही बेला म कुनै कुरामा हाँसेछु, मेरो त्यही हाँसो देखेर आलोक दाइले मलाई मोडल बनाएको कुरा पछिसम्म भन्नुहुन्थ्यो । आलोक दाइ मसँग कान्छो भाइका रूपमा व्यवहार गर्नुहुन्थ्यो । मैले दाइ निर्देशित ४ वटा भिडियोमा मोडलिङ गरें भने मैले गाएका चारवटा गीतको म्युजिक भिडियो पनि दाइले नै निर्देशन गर्नुभयो । दाइ निर्देशित सान्नानी मेरो करिअरकै महत्वपूर्ण गीत बन्यो । मैले उहाँको पहिलो चलचित्र सानो संसारमार्फत डेब्युट पाश्र्वगायक एवं चलचित्र संगीतकारका रूपमा पनि काम गरें । संघर्षको समयमा दाइसँग मैले धेरै समय बिताएको छु । हामीसँगै खाजा खान तथा फिल्म हेर्न जाथ्यौं । बाटोमा हिँड्दा आलोक दाइ म यही नाचिदिम भन्नुहुन्थ्यो, म लजाउँदै उहाँको हात समाउँथे, अति नै रमाइलो गर्नुपर्ने मान्छे । हाँसो नै हाँसोले भरिएको मान्छे ।

बाबु बोगटी, गायक/नायक

मैले आलोक नेम्वाङ निर्देशित १० वटाजति म्युजिक भिडियोमा अभिनय गरें होला । आलोक दाइ बित्नुभयो भन्ने कुरा मलाई अहिले पनि पत्यार लाग्दैन । हो भन्ने थाहा छ, तर पनि फेरि एकछिनमा मलाई आलोक दाइको फोन आउला कि जस्तो लाग्छ । म अहिले पनि सक्ड छु । हामीले तिहारअघि भेटेर कुराकानी गरेका थियौं । दुईवटा म्युजिक भिडियोका लागि कुरा पक्का भएको थियो । नाइँ नभन्नु ल थ्रीको सुटका कारण मैले नै पछि गरौं न भनेकी थिएँ । चलचित्रको सुटिङ सकिएलगत्तै काम गर्ने निधो भएको थियो । हाम्रो १० वर्षको सहकार्य असाध्यै राम्रो थियो । हाम्रो सम्बन्धमा कुनै दिन उतार चढाव आएन । जिस्कने, रमाइलो गर्ने बानी थियो उहाँको । उहाँजस्तै म पनि पशु-पन्छीप्रेमी हुँ । त्यसैले एकअर्काको घर आउजाउ पनि हुन्थ्यो । उहाँले काम गरेको ठाउँको सुटिङको वातावरण पनि धेरै फरक र रमाइलो हुन्थ्यो । एकदमै पोजेटिभ मानिस । उहाँजस्तो क्रिएटिभ मान्छेलाई गुमाउनु हामी सबैका निम्ति ठूलो लस हो ।

प्रियंका कार्की, नायिका

भाइ, साथी एवं सहकर्मीको हिसाबले हामी धेरै वर्ष साथ रह्यौं । हाम्रो सम्बन्ध पारिवारिकजस्तै थियो । भूषण दाइले आलोकलाई इमेजमा भित्र्याएपछि मैले नै सहयोग गरेर उसले एउटा कार्यक्रम बनाएको थियो । म्युजिक भिडियोसम्बन्धी भूषण दाइका केही काम हेरेपछि एकदिन उसले नवीन के भट्टराईको गीत निर्देशन गर्ने र मैले क्यामेराम्यानको काम गर्ने प्रस्ताव सुनायो । हामीले साथमा काम गर्‍यौं, भिडियो राम्रो बन्यो । त्यसमा आलोकले खुबै मेहनत गरेको थियो । पछि हामीले इमेज छोडेपछि बाप (बीएपी) विदुर, आलोक र प्रकाशको नामबाट सयौं म्युजिक भिडियोमा एकसाथ काम गर्‍यौं । मैले आलोकसँग ३ सयभन्दा बढी भिडियोमा काम गरे होला । कन्सेप्ट राम्रो बनाउने, फरक स्वाद दिन सक्ने निर्देशकका रूपमा उसले आफ्नो नाम बनायो । मिलेर काम गर्न कम्र्फटेबल थियो । सबैकुराको तयारी गर्ने, सुटिङको दिन एक्टिङ मात्र सिकाउने उसको शैली थियो । उसमा नबिराई सिनेमा हेर्ने तर टेलिभिजन नहेर्ने अनौठो बानी थियो ।

विदुर पाण्डे, क्यामेराम्यान

राम्रो साथी थियौं हामी, १८-२० वर्षसँगै काम गरियो । १ हजारजति म्युजिक भिडियोमा मैले ऊसँग सहकार्य गरें । उसको निधनले सबैलाई झैं मलाई पनि स्तब्ध बनाएको छ । उसलाई सम्झिएपछि मलाई काम गर्न पनि अप्ठ्यारो हुन्छ । हुन त आलोकसँगको मेरो सम्बन्ध बढी प्रोफेसनल थियो । पर्सनल लाइफमा त ऊ आफ्नै दुनियाँमा थियो म आफ्नै दुनियाँमा तर पनि कामको सन्दर्भमा हाम्रो धेरै कुरा मिल्थ्यो । एउटा सक्षम एवं प्रतिभाशाली निर्देशकसँग काम गर्दै आएको थिए, आज ऊ यो दुनियाँमा रहेन । निकै दुःख लागेको छ ।

प्रकाश तुलाधर, एडिटर

आलोक र मेरो सम्बन्ध अनौठो किसिमको थियो— उसले मलाई मेरो थर तुम्बाहाम्फे भनेर बोलाउने, मैले उसलाई नेम्वाङ भन्ने । अहिले सबैलाई ह

प्रकाशित :कार्तिक २८, २०७१

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्