तथ्य र अनुभूति

तथ्य र अनुभूति

कार्तिक २१, २०७१

मेरी स्टोप्स सानैदेखि असाध्यै सुन्दर थिइन् । बेलायतको खुला परिवेशमा हुर्किएकी मेरीले आफ्नो सौन्दर्यको प्रख्याति थाहा नपाउने कुरै  थिएन । खानपान र फेसनले उनी यसरी खुलेकी थिइन्, आफूभन्दा सिनियर विद्यार्थी र कहिलेकाहीँ आफ्नै शिक्षकबाट पनि प्रेमपत्र  पाउँथिन् । जति बढी प्रेमपत्र र गुलाफका फूल प्राप्त हुन्थ्यो, उनको सौन्दर्य अभिमान बढ्दै जान्थ्यो । १६ वर्षमै उनको अभिमानले आकाश छोइसेकेको थियो ।

सामान्यता १८ वर्षमा पुरुष साथी बनाउन छुट हुन्छ । मेरी स्टोपले १४ वर्षकै उमेरमा केटा साथी बनाउन थालेकी थिइन् । १६ वर्ष पुग्दा उनका दुईवटा ब्रेकअप भैसकेको थियो ।

उनका इन्जिनियर बुवा हेनरी स्टोप्सले यो कुरा थाहा पाए । यदि छोरीमा यस्तै घमन्ड बढ्दै जाने हो भने उनको भविष्य बिग्रन्छ भन्ने पक्का थियो । बुवाले मेरीलाई सम्झाउँदै भने, 'प्यारी मेरी, तिमी १६ वर्षकी भयौ । १६ वर्षमा सबै युवती सुन्दर नै हुन्छन् । त्यसमा के आश्चर्य भयो र ? जुन महिला ६० वर्षमा पनि सुन्दर देखिन्छन्, उनी पो सुन्दर हुन् ।'

मेरीको दिमागले उक्त कुरा टिप्यो । केही दिनपछि मेरीले बुवासँग सोधिन्, 'बुवा तपाईंले भनेको कुरा सही हो । मेरो स्कुलकी टिचर ५० वर्ष नपुग्दै नराम्री भैसकिन् । उनी पनि असाध्यै सुन्दर थिइन् रे । म ६० वर्षमा पनि सुन्दर रहन चाहन्छु, त्यसका लागि के गर्नुपर्छ ?'

हेनरीले मेरीको निधारमा चुम्बन गर्दै भने, 'मेरी, तिमी यस्तो काम गर, जसले तिमीलाई सय वर्षसम्म पनि सुन्दर बनाउन सक्छ । जस्तो, समाजका लागि कुनै भलाइको काम, कुनै लेखन वा अभिनय । कुनै यस्तो काम, जसले मानिसको भलाइ गरोस्, सबैभन्दा ठूलो कुरा तिम्रो कुरा गर्दा मानिसले मेरी साह्रै सुन्दर पनि थिइन् भन्ने कुरा नविर्सियोस् ।'

००००

 म हप्तै पिच्छे यस्तै सुन्दरी भेट्छु, जसमा आफ्नो सौन्दर्यको ठूलो अभिमान हुन्छ । फेसबुकमा दैनिक यस्ता युवती भेट्छु, जसको फोटोले पाएका लाइकलाई आफ्नो सौन्दर्यको मानक मान्छन् । कसैसँग बोल्दा वा कुराकानी गर्दा उनीहरू सोच्छन््, उ मेरो सौन्दर्यमा मख्ख परिरहेको छ । १५ वर्षयता मैले धेरै सुन्दरीसँग भेटे । हाउभाउले लाग्छ, उनीहरूले स्कुल-कलेजमा केटाहरूबाट धेरै प्रेमपत्र त पाए तर मेरीको जस्तो उनीहरूको समस्या बुझिदिने बुवा पाएनन् । दोष सुन्दरीहरूको मात्र होइन, उनीहरूको अहम् बढिरहेको कुरा बुझ्न नसक्ने परिवारका सदस्यहरूको पनि हो ।

००००

एउटा कुरा बताइहालुँ, बुवाले सम्झाएपछि मेरी स्टोप्स चर्चित  हुने बाटो खोज्न थालिन् । सानैदेखि यौनसाथी बनाएकी मेरीलाई लाग्यो, यौनमा पुरुषलाई भन्दा महिलालाई धेरै बन्धन छ । यौन सम्बन्ध राख्दा महिलाहरुले डराउनु पर्छ किनभने उनीहरू गर्भवती हुने सम्भावना हुन्छ । उनले महिलाका लागि कन्डम, पिल्स वा कुनै विशेष सुई बनाउनु पर्छ,  जुन लगाएपछि गर्भवति हुनु नपरोस् भन्ने कुराको यसरी वकालत गरिन् कि सरोकारवालाले उनका कुरा सुन्न थाले । त्यति मात्र होइन, उनी यिनै समस्याका बारेमा लेख्ने यौनलेखिका पनि हुन पुगिन् । उनको 'प्रेम विवाह कि विवाहपछि प्रेम' पुस्तक विश्वका चर्चित पुस्तकमध्ये एक भयो । मेरी विश्वमा बढिरहेको जनसंख्या वृद्धिका लागि कन्डम, पिल्स जस्ता अस्थायी साधनको वकालत गर्ने पहिलो महिला हुन् । अहिले विश्वभरि नै उनको नाममा मेरी स्टोप्स क्लिनिक खुलेका छन् । नेपालमा पनि मेरी स्टोप्सका अनेकन शाखा छन्, जहाँ महिलाहरूका यौनसमस्या समाधानको प्रयास हुन्छ ।

००००

महिलाको सौन्दर्य जीवन बिमा होइन, जसको बलमा सुखी जीवन प्राप्त गर्न सकियोस् । सौन्दर्य उमेरमा धेरै केटा साथी बनाएर रमाइलो गरिहिड्ने साधन पनि होइन । बरु यो उनीहरुलाई ईश्वरले दिएको अनुपम बरदान हो । जब म कुनै सुन्दरीलाई देख्छु, उनमा जागेको सौन्दर्य अभिमान महसुस गर्छु, मलाई उनमा मेरी स्टोप्स जस्तै महान् महिला हुने गुण लुकेको महसुस हुन्छ । समस्या यति मात्र छ, ती सुन्दरीका अभिभावकमा मेरीको जस्तै समस्या बुझिदिने भावना छैन ।

प्रकाशित :कार्तिक २१, २०७१

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्