विदेशमा चम्किए नेपाली टिसर्ट

विदेशमा चम्किए नेपाली टिसर्ट

- युवराज गौतम

कार्तिक २१, २०७१

विदेशी ब्रान्डका फेसनेबल टिसर्ट नेपाली बजारमा प्रशस्त पाइन्छन् । अधिकांश युवाको आँखा पनि विदेशी ब्रान्डमै जान्छ । कपडाको गुणस्तर जस्तो भए पनि चल्तीको फेसनेबल टिसर्टलाई जतिसुकै मूल्य तिर्न पनि नेपालीहरू गार्‍हो मान्दैनन्, यद्यपि कतिपय नेपाली नेपालकै उत्पादन रुचाउँछन् । मौलिक नेपाली कला छापिएका टिसर्टहरू नेपालीहरूको मात्र होइन विदेशीहरूको रोजाइमा पनि पर्छन् । युरोपका कतिपय देशमा नेपाली टिसर्टले राम्रो बजार पाएको छ । फिङ्गर पेन्टिङ, रबर प्रिन्ट तथा डिजिटल प्रिन्टको सहायतामा टिसर्ट उत्पादन गर्ने कम्पनी सीमित भए पनि यसको बजार स्वदेशमा मात्र होइन विदेशमा पनि बढ्न थालेको छ । अमेरिका, बेलायत, सिंगापुर, अस्टे्रेलिया आदि मुलुकमा नेपाली टिसर्ट चल्तीको फेसन बनेको छ । 'आई लभ नेपाल', 'बुद्ध वाज बर्न इन नेपाल', 'माउन्ट एभरेस्ट' आदि लेखिएका पृथक् शैलीका गुणस्तरीय टिसर्टहरू विश्व बजारमा लोकप्रिय मानिन्छन् ।

मैचा व बौचा, च्याङबा-मैच्याङजस्ता परम्परागत चरित्रलाई ब्रान्ड बनाएका बुकेश महर्जनले आफ्नो कलालाई टिसर्ट नेपाल नामक कम्पनीमार्फत बजारमा पुर्‍याइरहेका छन् । उनले सुरु गरेको मैचा व बौचा चरित्रलाई पछ्याउँदै अन्य ६ वटा कम्पनीले टिसर्ट उत्पादन गरिरहेका छन् । आफ्नो कलालाई टिसर्टमार्फत विश्व बजारमा पुर्‍याइरहेका बुकेशले चाडपर्व, सम्पदा आदिमा खोपिएको आर्ट, मौलिक जात्रा, जातीय पहिरन आदिलाई पनि टि-सर्टमा उकेर्ने गरेका छन् । 'मेरा धेरै चरित्रमध्ये छाता ओढेर हिडिरहेका महिला र पुरुष तथा नमस्ते गरिरहेको चित्र धेरैको रोजाइमा पर्‍यो', महर्जन भन्छन् । बुकेशको कलालाई टि-सर्ट नेपालले प्रिन्ट गरेर ४ सय ५० रुपैयाँमा बिक्री गर्छ । पोखरा, काठमाडौं, ललितपुर, भक्तपुरका साथै अस्ट्रेलिया, बेलायत, अमेरिका, अस्टि्रया तथा ओमनमा उनको टिसर्टको माग बढी छ । बुकेशका स्केच रुचाउनेहरूको संख्या निरन्तर बढिरहेको छ ।

भक्तपुरको गट्ठाघरमा शोरुम खोलेर सुरु गरेको 'बौचा व मैचा' ले उत्पादन गरेका टिसर्ट नेपालमा मात्र नभै विदेशमा पनि लोकप्रिय हुन थालेका छन् । कम्पनीका प्रमुख विज्ञान प्रजापतिका अनुसार उनीहरूले स्केच गरेको कला धेरैले रुचाएका छन् । 'विस्केट जात्रा र फ्रेन्डसिप स्केच धेरैको रोजाइमा पर्‍यो,' उनले भने । बौचा व मैचा टि-सर्ट अमेरिका, बेलायत तथा अस्ट्रेलियासम्म पुगेको प्रजापतिले बताए ।

कार्टुनिस्ट राजेश केसीले सञ्चालन गरेको 'फलानो लुगा'का उत्पादन पनि धेरैको रोजाइमा छ । अन्य नेपाली उत्पादनको तुलनामा केही महँगो फलानोका उत्पादन गुणस्तरीय मानिन्छन् । सुन्धाराको सिभिल ट्रेड सेन्टरमा शोरुम रहेको फलानोका उत्पादन विदेशीहरूको रोजाइमा पर्छन् । यता पुल्चोक इन्जिनियरिङ क्याम्पसको होस्टलमा बनेको टि-सर्ट कन्सेप्ट यतिबेला विश्वबजारमा छाएको छ । थ्रेड्सपेन्ट डटकमका आशिष श्रेष्ठको समूहले उत्पादन गरेको टिसर्ट यतिबेला विश्वका कतिपय सहरमा चल्तीको फेसन बन्न पुगेको छ । पृथ्वीनारायण शाहको वाणी तथा तस्बिर सजिएको टिसर्टले राम्रो बजार पाएपछि उनीहरूले अनलाइनमार्फत नेपाली टिसर्टलाई विश्व बजारमा पुर्‍याएका थिए ।

 

प्रकाशित :कार्तिक २१, २०७१

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्