सडक दुर्घटनाको कारण— म, तपाईं, त्यो र तिनीहरू !

सडक दुर्घटनाको कारण— म, तपाईं, त्यो र तिनीहरू !

कार्तिक २१, २०७१

अहिले यति धेरै सडक दुर्घटना भैरहेका छन् कि भनिसाध्य छैन । दुर्घटनामा यति धेरैले ज्यान गुमाए कि मृतकको संख्या गनिसाध्य छैन । भटाभट सवारी दुर्घटना हुनु र नागरिकको ज्यान जानुलाई मानिसहरू फरक-फरक तरिकाले विश्लेषण गर्दैछन् ।

कोही कच्चा सडक व्यवस्थालाई दोष दिन्छन्, त कोही बच्चा चालकहरूप्रति औंला उठाउँछन् । कोही, सतिले सरापेको मुलुक भन्दै पुर्पुरो समाएर बसेका छन् । कोही मतिले बिगारेको परिवेश भन्दै चोर औंलो अरूतिर सोझ्याइरहेका छन् । तर, एउटा औंलो अरूतिर सोझ्याइरहँदा तीनवटा औंला आफूतिर सोझिइरहेका हुन्छन् भन्ने कुरा स्वीकार गर्न थोरै मानिस मात्र तयार छन् ।

गजुरियल विश्लेषण भन्छ, यी भयावह दुर्घटनाको कारणतत्त्व म पनि हुँ भन्ने कुरा जुन दिन हामी स्वीकार गर्छौं, त्यही दिनदेखि सडक दुर्घटनाहरू कम हुन थाल्नेछन् । म भनेको यो गजुरीयल विश्लेषक मात्र होइन नि फेरि ! तँ, तपाईं, ऊ, त्यो, तिनीहरू सबै जनाका कारण सडक दुर्घटना भैरहेका छन् ।

म एउटा यात्री । मलाई हतार छ । अर्को गाडी कुर्ने फुर्सद छैन । सिट नभए पनि म उभिएर, कोचिएर, झुन्डिएर खतरनाक यात्रा गर्न तयार हुन्छु । मेरो यही गलत निर्णयका कारण आफ्नो ज्यान खतरामा पुर्‍याउँछु अनि अरूको जीवनसमेत धरापमा पार्छु ।

यात्रा गर्नुअघि मनमा एउटा मन्त्र याद राख्ने हो भने मेरा आफन्तले दुःखद खबर सुन्नु पर्दैनथ्यो । त्यो मन्त्र हो, मेरा पुर्खा हिंडेरै संसार पुगेका थिए । हजुरबाले घोडा चढेरै काठमाडौंको यात्रा तय गर्नुभएको थियो । त्यसपछि साइकल आयो, मोटरसाइकल आयो, बस आयो, रेल आयो, प्लेन आयो, तैपनि हामीलाई हतारोले छोडेको छैन, जति हतार गरे पनि पनि पुगिने भनेकोचाहिं त्यहींमात्र हो । त्यसैले कोचकाच र भीडभाडको यात्रा दुर्घटनाका लागि उर्वर अवसर हो भन्ने गजुरियल ठम्याइ छ ।

म एउटा चालक वा सहचालक । स्टेयरिङ समातेपछि धैर्यता र जिम्मेवारी सबै बिर्सन्छु । मेरी प्यारी श्रीमती छे, मायालु छोराछोरी छन् । २-४ सय टिप्स वा एक्स्ट्रा कमाइभन्दा बुबा-आमाको माया प्रमुख हो भन्ने विवेक पुग्ने हो भने यति सुन्दर जीवन असमयमै अलप हुँदैनथ्यो भन्ने गजुरियल ठम्याइ हो ।

सडक सुरक्षाको जिम्मा लिएर बसेका हामी ट्राफिक प्रहरीहरू पनि सडक दुर्घटनाका लागि त्यत्तिकै जिम्मेवार छौं । घूस र उपहारको चक्करमा चेकजाँचलाई कमजोर बनाउनाले आफ्नै कुनै नातेदार वा मित्र पनि दुर्घटनामा पर्छन् भन्ने विवेक हुने हो भने अवस्था ठीक नभएको गाडी चलाउन कुनै साहूले दबाब दिंदैनथ्यो । कुनै चालक गैरजिम्मेवार तरिकाले सवारी चलाउन तयार हुँदैनथ्यो भन्ने पनि गजुरियल बुझाइ छ ।

सडकको दुर्दशा पनि दुर्घटनाको अर्को कारण मानिन्छ । निर्माणको जिम्मा लिएका ठेकेदाहरूले मनन गर्नुपर्ने हो- त्यो सडकबाटै कुनै दिन आफ्ना मानिस पनि हिंड्नेछन् । आफैं पनि त्यही सडकबाटै ओहोरदोहोर गर्नुपर्ने हुन्छ । केही लाख, करोड कमिसनको मोहमा आफ्नो अमूल्य जीवन सिध्याउने गरी सडक बनाउनु आफ्नै चिहान खन्नुजस्तै हो भन्ने उनीहरूले पनि बुझ्नुपर्छ ।

दुर्घटना बढाउनमा कानुन पालनकर्ता पनि जिम्मेवार हुन्छन् भन्ने गजुरियल बुझाइ छ । जाँड पिएर गाडी कुदाउने, रक्सी पिलाएर कुदाउन लगाउने, सडक नियमलाई मान्दै नमानी मोटर हुइँक्याउने, जानाजान मान्छे किच्ने, दुर्घटनामा घाइते भएकालाई ब्याक गरेर मार्ने जस्तालाई सामान्य जरिवाना र हल्का दण्डबाटै उन्मुक्ति दिने नियम पालनकर्ताले पनि मनन गर्नु जरुरी छ- त्यसरी छोडिएका साँढेहरूले भोलि आफ्नै छोराछोरी, आमा, श्रीमती वा स्वयं आफैंलाई पनि सोझै ठोकेर घाइते पार्न सक्छन्, ब्याक गरेर सिध्याउन सक्छन् ।

जीवन त एक दिन जान्छ नै, तर जीवनलीला समाप्त हुने कालगति हुनु, दैविक प्रकोपमा पर्नु र दुर्घटनामा ज्यान जानु फरक-फरक कुरा हुन् । उपरोक्त यथार्थतालाई बुझेर सबैले आ-आफ्नो धर्म निर्वाह गर्ने हो भने कसैको पनि ज्यान जाँदैनथ्यो भन्ने गजुरियल ठम्याइ छ ।

प्रकाशित :कार्तिक २१, २०७१

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्