म अन्तिम प्रतिनिधि...

अन्तिम प्रतिनिधि...

कार्तिक १५, २०७१

भक्तपुरका रामप्रसाद प्रजापति आफ्नो पारिवारिक पेशाका अन्तिम प्रतिनिधि हुन् । भक्तपुरको सूर्यमढीमा माटोका पाला बनाउने काम गर्ने रामप्रसाद भन्दै थिए, 'भक्तपुरमा माटोको काम गर्ने प्रजापतिहरू धेरै छन्, तर पाला बनाउने काम मेरा हजुरबुवाहरूको मात्र थियो । ११ पुस्तादेखि हामी यही काम गरिरहेका छौं ।' हुन पनि माटोको काम प्रजापतिहरूले गर्नुपर्ने नियममा थप उपनियम के थियो भने एउटा परिवारले माटोको एउटा सामग्री मात्र बनाउन पाउँथ्यो । बिक्री-वितरणमा समस्या उत्पन्न नहोस् भनेर त्यसो गरिएको थियो । माटोको विकल्पमा सस्ता प्लास्टिकका भाँडा आए पनि भक्तपुरमा माटाका सामग्री अझै बनिरहेका छन् । 'तर मेरो पुस्ताको अन्तिम प्रतिनिधि हुँ । यो पेसा अब बढीमा ५  वर्ष चल्छ, त्यसपछि चल्न सक्दैन ।' रामप्रसाद भन्दै थिए, 'श्रमका कारण पाला महँगो हुँदै गयो, प्लास्टिक अझ सस्तो हुँदै जाँदा बिक्री हुन छाड्यो । अब म पनि इतिहास हुन्छु ।'

रामप्रसादजस्तै भक्तपुरमा माटोका सामग्री बनाउने अन्तिम प्रतिनिधि खोजी गर्दा अझै भेटिन्छन् । उनीहरू आफ्नो पुर्खाले कसरी श्रम विभाजन गरे, कसरी पेसा नै थर भयो त्यसको गौरव गाथा कहन्छन् । बनाइएका सामग्री खासै विक्री हुँदैनन् तर बनाउन भने छाडेका छैनन् । विस्तारै विकल्प पनि खोज्दैछन् । 'म मेरा छोराछोरीलाई डाक्टर पढाउँछु । डाक्टरले धेरै पैसा कमाउँछ भन्ने सुनेको छु ।' रामप्रसाद भन्दै थिए, 'नेता बन्यो भने पनि राम्रो पैसा हुन्छ भन्ने सुनेको छु तर विजुक्क्षे (भक्तपुरका सभासद् नारायणमान विजुक्क्षे) ले पैसा कमाउने मान्छे मन पराउँदैन रे, त्यही भएर डाक्टर बनाउँछु ।' पहिले यसरी विकल्पका बारेमा कसैले सोच्दैनथे । सोच्दा पनि पाप लाग्थ्यो । समयसँगै उनीहरू पनि परिवर्तन भएका छन् ।

रामप्रसादका बुवा सानै हुँदा बिते । हजुरबुवाले रामप्रसाद र उनका भाइलाई पालन-पोषणका साथै पाला बनाउने कला पनि सिकाइदिए । माटाका अन्य भाडा बनाउन भने सिकाएनन् । त्यसबाट अर्काको हक खोसिने हजुरबुबाको तर्क थियो । उनीहरूले आजसम्म माटोका भाँडा बनाएका पनि छैनन्, आवश्यकता पनि सम्झँदैनन् । व्यापारी आएर अरू भाडाको अर्डर गरे भने उनीहरू अर्को प्रजापतिको घर देखाइदिन्छन् ।

हजुरबुवा थला परेपछि उनले पालाको कला र ब्यापार एकसाथ अघि बढाए । त्यति बेला उनी १६ पैसा गोटाका पाला बेच्थे । १६ वर्षपछि त्यही पालाको मूल्य ९० पैसा पुगेको छ तर बजारमा विचौलियाहरूको जगजगी छ । उनीहरू बजारमा त्यही पालालाई दुई रुपैयाँमा बेच्छन् । ग्राहकको हातमा पर्दा त्यसको मूल्य झन्डै तीन रुपैयाँ हुन्छ । जब कि प्लास्टिकका पालाको मूल्य जम्मा एक रुपैयाँ छ । उनको परिवारलाई दहीको कतारो बनाउने अधिकार पनि छ । पाला बनाएपछि उबि्रएको समय उनीहरू दहीका स-साना कतारो बनाउँछन् ।

रामप्रसाद अहिले जुन घरमा बस्छन्, त्यो घर ९० सालको भुइँचालोले भत्काएको थियो । भत्किएको माथिल्लो भाग बनाएपछि त्यो घरले तीन पुस्तालाई बास दिइसकेको छ । नयाँ घर बनाउने इच्छा छ तर पैसा छैन । 'पाला बेचेर कहिल्यै घर बनाउने पैसा कमाउन सकिँदैन । मेरो पुस्ता जेनतेन यही घरमा बस्छ ।' रामप्रसादले यति दु:खको कुरा पनि निर्धक्क हाँस्दै भने, 'मेरो छोरा डाक्टर भयो भने नयाँ घर बनाउला ।'

हुन त उनका तीन छोरी र एक छोरा छन् । लामो समयसम्म प्रजापतिले छोराको मात्र कुरा गरे, छोरीको कुरै गरेनन् । धेरै कोट्याएपछि भने उनी बोले, 'छोरीको के कुरा गर्नु, उनीहरूका लागि खर्च मात्र हुन्छ, कमाउने त छोराले नै हो ।' प्रजापति छोराको आशामा सन्तान जन्माउने र छोरी जन्मिएपछि निराश हुने थुप्रै नेपालीमध्ये एक हुन् । चौथो पटक छोरो जन्मिएपछि मात्र उनी शान्त भए । उनले छोरीहरूलाई नजिकैको सरकारी स्कुलमा पढाएका छन् भने छोरालाई निजी स्कुलमा हालेका छन् । 'ल छोरीलाई निजी स्कुल पढाउन कहाँ सकिन्छ र ?' छोरीप्रति किन भेदभाव गरेको भन्ने प्रश्नमा रामप्रसाद उल्टै रिसाए, 'छोरीलाई पढाएको छु, त्यो नै ठूलो कुरा हो ।' उनले निर्धक्क भने ।

उनले कक्षा तीनसम्म मात्र पढ्न पाए । सानातिना हिसाब-किताब गर्न आउँछ । कनीकुथी नेपाली भाषा पढ्न सक्छन् । यसलाई पनि उनले जीवनको उपलब्धि मानेका छन् । 'म ४० वर्षको भएँ, मेरो उमेरका धेरै प्रजापतिले पढ्न पाएका छैनन् ।' ३ कक्षा पढेकोमा गौरव गर्दै रामप्रसादले भने, 'हजुरबुबाले पढेर केही हुँदैन, काम सिक्नुपर्छ भन्नुभयो । मेरा धेरै प्रजापति साथीलाई आफ्नो काम गर्न आउँदैन । आफ्नो काम गर्न नआउनु कति लाजमर्दो कुरा हो, लौ भन्नुस् त ?' यति भनिसकेर उनी धक फुकाएर हाँसे ।

प्रकाशित :कार्तिक १५, २०७१

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्