मिलन अमात्य, गायिका

मिलन अमात्य, गायिका

- सुव्रत आचार्य

कार्तिक १५, २०७१

तपाईं राम्री कि तपाईंको स्वर राम्रो ?

म राम्रीभन्दा पनि मेरो गला पो राम्रो हो नि ।

झट्ट हेर्दा कुनै नायिकाजस्ती देखिनुहुन्छ, नायिका हुन मन लागेको छैन ?

सरस्वतीमाताले मलाई गायिका हुन नै यो धर्तीमा पठाउनुभएको हो ।

नायिका बन्ने प्रस्ताव त आए होलान् नि ?

खासै आएका छैनन्, दुई-चार पटक आफ्नै गीतको म्युजिक भिडियोका लागि अफर आएको थियो, तर मैले काम गरिन ।

कुनै नाम कहलिएको ब्यानरबाट मिलन अमात्यका लागि नै भनेर कुनै भूमिका अफर गरियो भने नि ?

म त खेल्दै खेल्दिनँ, बरु मेरी बहिनीलाई खेलाउँछु ।

तपाईंको प्लस प्वाइन्ट ?

संगीतमा साधना गरिरहन्छु र संघर्षसँग डराउँदिन ।

मन पर्ने तीन गायक ?

स्वरसम्राट् नारायणगोपाल, उदितनारायण झा र आनन्द कार्की ।

नजिकका तीन गायिका संगी ?

प्राश्ना शाक्य, जुना प्रसाईं र रिमा गुरुङ होडा ।

मन नपर्ने एक संगीतकर्मी ?

हिमेश रेसमिया ।

विवाह भएको कति भयो ?

साढे तीन वर्ष ।

लभ म्यारिज कि एरेन्ज ?

विवाह एरेञ्ज भयो, त्यसपछि लभ ।

श्रीमान्का बारेमा केही बताउन मिल्छ ?

उहाँको नाम मेन्सन अमात्य हो । व्यवसाय गर्नुहुन्छ र घर बबरमहल, काठमाडौंमा छ । मेरो कामलाई निकै सपोर्ट गर्नुहुन्छ ।

तपाईंको माइती आसाम, कसरी भेट्नुभयो मेन्सनलाई ?

मेरी बहिनीका ससुरा र मेरा ससुरा मिल्ने साथी भएकाले बहिनीको विवाहमा मलाई देखेर कुरा चलाउनुभएको रहेछ । त्यसपछि हाम्रो विवाह भएको हो ।

छोरा-छोरी कति छन् ?

अहिलेसम्म प्लान गरेको छैन ।

भारतको आसाममा हुर्किइ बढेकी तपाईं कसरी नेपालकी चर्चित गायिका हुनुभयो ?

सानैदेखि गायनमा लगाव भएकाले एल्बम

'मिलन' निकाल्न यता आएका बेला संगीतकार वसन्त सापकोटाले मलाई एउटा भजन गाउन लगाउनुभयो । त्यही बेला उहाँले मेरो स्वर मन परेर चलचित्र

'नोटबुक'का लागि 'गाला रातै'मा स्वर भराउनुभयो ।

ँगाला रातै’ हिट भएपछि त साह्रै व्यस्त हुनुभयो  होइन ?

हो, त्यसपछि ३ सयभन्दा बढी गीत रेकर्ड गराएँ भने सयभन्दा बढी स्टेज शो गरेँ ।

गायक प्रल्हाद तिमिल्सिनासँगका युगल गीत साह्रै हिट भए, तपाईंलाई प्रल्हाद फापेको कि प्रल्हादलाई तपाईं फापेको ?

हामी दुवैलाई संगीतकार वसन्त सापकोटा फापेको ।

नीता ढुंगाना र रेखा थापामध्ये कसलाई तपाईंको स्वर सुहाएजस्तो लाग्यो ?

दुवैलाई सुहाएकैले त ती गीत हिट भएका हुन् नि होइन  ?

प्रकाशित :कार्तिक १५, २०७१

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्