प्रधानमन्त्री निवासमा देउसी

प्रधानमन्त्री निवासमा देउसी

कार्तिक १५, २०७१

प्रदर्शनको तयारीमा रहेको चलचित्र 'श्री ५ अम्बरे' को युनिटले लक्ष्मीपूजाका दिन बालुवाटारस्थित प्रधानमन्त्री निवासमा देउसी खेलेको छ । चलचित्रका कलाकार तथा प्राविधिकहरूको समूहले खेलेको देउसी-भैलो प्रधानमन्त्री सुशील कोइरालाले अवलोकन गरेका थिए । निर्देशक दीपा बस्नेत, कलाकार तथा निर्माता टीएन आचार्य, दीपक आचार्यसहितको समूहले प्रधानमन्त्रीसमक्ष देउसी भट्याउने क्रममा तिहार तथा चलचित्रका गीतमा नृत्य प्रस्तुत गरेको थियो ।

छायाँकार घाइते

चलचित्र छायाँकार हरि लामा बस दुर्घटनामा परी गम्भीर घाइते भएका छन् । लामा गत शुक्रबार तिहारका लागि घर जाने क्रममा नुवाकोटमा भएको बस दुर्घटनामा परेका थिए । दुर्घटनामा उनको शरीरमा गम्भीर चोट लागेको छ । ललितपुरस्थित मेघा अस्पतालमा उपचारका क्रममा  रहेका लामाको देब्रे छातीको दुईवटा करङ् भाँचिएको छ । 'बितेका पल', 'वान वे', 'अधकट्टी' तथा 'फन्को' का छायाँकार लामाको स्वास्थ्यस्थिति सामान्य हुँदै गएको बताइन्छ ।

आई सिनेमाको उद्घाटन

इटहरीमा पहिलो मल्टिप्लेक्स सिनेमा हल 'आई सिनेमा' (इटहरी सिनेमा) सञ्चालनमा आएको छ । लक्ष्मीपूजाको अवसर पारेर एक औपचारिक कार्यक्रम आयोजित गर्दै उक्त हल सञ्चालनमा ल्याइएको हो ।  

लभ यू बाबाको गीत

चलचित्र 'लभ यू बाबा' को शीर्षक गीत यसै साता सार्वजनिक भएको छ । दीपक शर्माको संगीत तथा शान्तिप्रियको शब्दको उक्त गीतमा कृष्ण काफ्ले तथा आयुष्मा नकर्मीको स्वर सुन्न सकिन्छ । आठवर्षीय बालक सौगात विष्टले निर्देशन गरेको यो चलचित्र मंसीर २५ गते प्रदर्शनमा आउनेछ ।

हाइवे टु धम्पुस पुरस्कृत

अभिनेता राजबल्लभ कोइरालाले अभिनय गरेको हलिउड चलचित्र 'हाइवे टु धम्पुस' अमेरिकामा पुरस्कृत भएको छ । अमेरिकामा यसै साता सम्पन्न हर्टल्यान्ड फिल्म फेस्टिभलमा यो चलचित्रले 'स्ट्यान्डिङ ओभेसन' सहित 'बेस्ट युएस प्रिमियर' एवार्ड जितेको हो । चलचित्रमा राजबल्लभले विमान चालकको भूमिका निर्वाह गरेका छन् ।

आवेगको गीत प्रिमियर

वसन्त निरौलाद्वारा निर्देशित चलचित्र 'आवेग' को पहिलो गीत 'सोल्टीले हेरेको लास्ट राम्रो' यसै साता प्रिमियर गरिएको छ । फागुन १५ गते प्रदर्शनमा आउने चलचित्र आवेगको उक्त गीतमा आर्यन सिग्देल, ध्रुव दत्त, पवित्रा आचार्य तथा अर्चना डेलालाले नृत्य गरेका छन् । उक्त गीतमा टंक बुढाथोकीको संगीत तथा बुढाथोकी स्वयं एवं मनीषा पोखरेलको पाश्र्व गायन छ ।

चले लज्जा र स्टुपिड मन

अघिल्लो शुक्रबार सार्वजनिक भएका दुई चलचित्र 'लज्जा' तथा 'स्टुपिड' मनले व्यवसायिक सफलता हासिल गरेको दाबी गरेका छन् । नवल नेपालद्वारा निर्देशित 'लज्जा' ले सोमबार आयोजना गरेको प्रेस शोका क्रममा निमर्ाता छविराज ओझाले चलचित्रले व्यवसायिक सफलता हासिल गरेको दावी गरेका थिए । बुधवार प्रेस शो गर्दै 'स्टुपिड मन' ले पनि दर्शकको मन जितेको दाबी गरेको थियो । 'लज्जा' मा आर्यन सिग्देल र शिल्पा पोखरेल मुख्य भूमिकामा छन् भने 'स्टुपिड मन' मा जीवन लुइँटेल, नीरज बराल, चाँदनी शर्मा तथा रिजु श्रेष्ठ मुख्य भूमिकामा छन् ।

प्रकाशित :कार्तिक १५, २०७१

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्