कालो रंगको कारण पागल बाबा

कालो रंगको कारण पागल बाबा

  • जीवन लुइँटेल, नायक

- अश्विनी कोइराला

कार्तिक १५, २०७१

दस वर्षअघि 'सानो संसार'मा सहायक पात्र भएर ठूलो पर्दामा उदाएका जीवन लुइँटेल आजको दिनमा सर्वाधिक व्यस्त नायक भएका छन् । राजेश हमालपछि नेपाली नायकमा स्टारडम भएन भन्ने गुनासो सुनिइरहेका बेला जीवनले त्यसलाई धान्ने प्रयास गरिरहेका छन् । जीवनले अभिनय गरेका ३० वटा चलचित्रले पनि उनको अभिनयको विशिष्टिता एवं विविधता प्रस्तुत गरेका छन् । फुर्सदमा कविता लेख्ने जीवन आफ्नो जीवनलाई नै कविताजस्तै लयात्मक भन्न मन पराउँछन् । साप्ताहिकसँगको कुराकानीमा भावुक रूपमा प्रस्तुत भएका जीवनले भने, 'मलाई हेक्का छ, साप्ताहिकले मलाई यो स्थानमा पुर्‍याउन ठूलो मद्दत गरेको छ । युवतीको मात्र ब्लोअप छापिने परम्परामा साप्ताहिकले मलाई ब्लोअपमा स्थान दियो, जसका कारण म चर्चित निर्देशक तुलसी घिमिरेको नजरमा समेत परेको थिएँ । अन्तर्वार्ताअघि म फेरि एकपटक साप्ताहिक टिमलाई धन्यवाद ज्ञापन व्यक्त गर्दछु ।'

अहिले चर्चित नायक हुनुभएको छ, पछाडि फर्केर हेर्दा कुन कुरा बढी सम्झनुहुन्छ ?

विराटनगरका सिनेमा हलमा नयाँ चलचित्र लाग्दा सहरका भित्ताभरि पोस्टर टाँसिन्थे । त्यही बेला मनमा भित्ता-भित्तामा मेरो पनि यस्तै पोस्टर छापिए कस्तो होला, के गरे यसरी पोस्टर छापिएला भन्ने कल्पना आउँथ्यो । आज जब भित्तामा मेरा फिल्मका पोस्टर देख्छु, मलाई त्यही कुरा सम्झना आउँछ । आखिर सोचेको कुरा पुग्दो रै'छ भन्ने लाग्छ ।

तपाईं चलचित्र क्षेत्रकै लागि जन्मिनुभएको हो कि अन्य केही हुने सम्भावना पनि थियो ?

मभित्र साहित्यिक भाव बढी छ । म जिल्लास्तरीय कविता प्रतियोगितामा पुरस्कृत हुन्थें । आज पनि साहित्यिक सिर्जनामा कुनै कमी आएको छैन । एउटा कविता-संग्रह नै प्रकाशन गर्न सकिने स्तरीय कविता मसँग छन् । स्कुलको पढाइमा पनि सधैं उत्कृष्ट भएँ, कहिल्यै दोस्रो भइनँ । म फुटबलको पनि राम्रो खेलाडी हुँ । मैले परराष्ट्र सेवाका लागि सुब्बाको परीक्षा पनि दिएको थिएँ । त्यसमा फेल भए पनि दोहोर्‍याएर परीक्षा दिँदा पास हुन्थें भन्ने विश्वास थियो । केही समय एभिन्युज टेलिभिजनमा रंगपत्रकारको काम पनि गरें ।

चलचित्रमा भन्दा बढी भूमिका गर्नुभएछ होइन ?

हो नि । रंगपत्रकार भएको भए उत्कृष्ट पत्रकार हुन्थें । साहित्यतर्फ लागेको भए मदन पुरस्कार नै पाउँथे कि (हाँसो) ? निजामती सेवामा गएको भए कूटनीतिक नियोगतिर हुन्थें । जे गर्थें, उत्कृष्ट हुन्थें भन्ने कुरामा विश्वास थियो । कलाक्षेत्रमा लागेर मैले आफ्नो त्यही खुबी प्रदर्शन गरिरहेको छु ।

तपाईं आफैंलाई उत्कृष्ट नायक हुँ भन्ने लाग्छ ?

उत्कृष्ट हुँ भनेर दाबी त गरिहाल्दिनँ, तर नराम्रो गरेको छैन भन्ने मलाई थाहा छ । विभिन्न एवार्डमा प्रत्येक वर्ष उत्कृष्ट नायकको पुरस्कार पाइरहेको छु । दर्शकहरूले मेरो काम मन पराइरहनुभएको छ । काम पाइरहेको छु । यस अर्थमा असन्तुष्ट हुने ठाउँ छ भन्ने लाग्दैन ।

तैपनि नेपाली चलचित्रका समीक्षकहरू नेपाली नायकमा राजेश हमालपछि स्टारडम भएको नायक फेला परेनन्, नेपाली चलचित्रलाई डोर्‍याउने हिरोइज्म भएका व्यक्ति छैनन् भनिरहेका छन्, के भन्नुहुन्छ ?

३ सय चलचित्रमा अभिनय गरेर एकछत्र राज गरेका महानायक हमाल र ३० वटा चलचित्रमा काम गरेको न्यू-कमरलाई एउटै ठाउँमा राखेर हेर्नु सम्भवत: अन्याय हुन्छ । पहिले शिव श्रेष्ठको आफ्नो क्षेत्र बन्यो, भुवन केसीले आफ्नो स्थान बनाउनुभयो । उहाँहरूले आजको पुस्ताको जस्तो प्रतिस्पर्धा खेप्नुपरेन । नेपाल टेलिभिजनपछि सीधै चलचित्रका नायक-नायिका नै मनोरञ्जनका मुख्य माध्यम थिए । आज हामीले नेपालका दर्जनौं तथा बाहिरका सयौं टेलिभिजन च्यानलका हजारौं कार्यक्रमसँग प्रतिस्पर्धा गर्नुपरेको छ । एउटा सेलिब्रेटी आममानिसको हातमा छ, मन नपर्नेबित्तिकै च्यानल चेन्ज ।

मेरो विचारमा स्टारडम त्यति बेला निर्माण हुन्छ, जब उसको कला बुझिन्छ, जब उसका निजी जीवन, विचार, उसको शिक्षा, दर्शन र हाउभाउ सबै कुरा मानिसको मनमा बस्छ । आमजनताले आत्मसात् गरेपछि मात्र एउटा व्यक्ति सेलिब्रेटी हुन्छ । ती सबै कुरा पूरा हुन आजको प्रतिस्पर्धामा समय त लाग्छ ।

त्यो स्टारडम निर्माण गर्न सकिन्छ भन्ने विश्वास छ ?

जीवन लुइँटेलको स्टारडम बन्दैछ भन्ने लाग्छ । ३० वटा चलचित्रले जीवनलाई नायकका रूपमा चिनायो । अब बिस्तारै उसका अन्य पाटाले पनि मानिसलाई छुन थाल्छ । मेरो विचारमा नायक चलचित्रको मात्र नायक हुनुहुँदैन, ऊ समाजको पनि नायक हुनुपर्छ । म कुनै युवतीसँगको स्क्यान्डल वा गलत कुराको पैरवी गरेर चर्चामा आउन चाहन्नँ । यस्ता कुराले क्षणिक रूपमा मान्छेको ध्यान त तान्छ तर त्यो स्थायी हुँदैन । म स्थायी रूपमा आफ्नो स्टारडम बनाउन चाहन्छु । सार्वजनिक स्थानमा कवितावाचन, विदेशमा नेपाली चलचित्रको बजार विस्तारसँगै असल छविका कारण त्यो बन्दै पनि छ भन्ने विश्वास छ । आज विदेशमा बस्ने नेपालीहरूले युटुबबाटै नेपाली चलचित्र हेर्न थालेका कारण पनि यस्तो छवि विस्तार हुँदै गएको अनुमान गर्छु ।

संसारभरिका चलचित्र उद्योगको साझा विशेषता के छ भने यो क्षेत्रका सेलिब्रेटीहरू यौन, पैसा वा लागूपदार्थ जस्ता अम्मलमा फस्छन् र बरवाद हुन्छन् । तपाईंलाई यी कुनै नशाले छोएन ?

सन् २००२ मा मैले मिस्टर नेपालको उपाधि जितें । म मोडलिङ क्षेत्रको एउटा उचाइमा पुगिसकेको थिएँ । तैपनि चलचित्रमा काम गर्ने लालसामा मैले उचाइमा पुगेको मोडलिङ करियरलाई चटक्क छाडें । तै पनि चलचित्रमा सजिलै जम्न सकिन । तुलसी घिमिरेको दुई किनारामा छानिन सकिनँ । पृथ्वीनारायण शाहजस्तो मेघा प्रोजेक्ट बन्न सकेन । निर्देशकहरूले म सहायक भूमिकामा मात्र फिट भएको कुरा गर्नुभयो । त्यस्तो बेलामा म धरहराको टुप्पोमा बस्थें र लागूपदार्थ खान्थें । दरबार स्क्वायरको नौतले भवनमाथि बसेर सोच्थें, म फुटपाथ नाप्नका लागि मात्र मिस्टर नेपाल भएको हुँ ? पशुपतिनाथ मास्तिरका सबै जंगल चहार्दा पनि मनमा शान्ति मिल्दैनथ्यो । त्यतिबेला मैले त्यस्ता कुराको अनुभव गरें । भाग्यको कुरा जसै, मैले चलचित्र पाउन थालें, ती सबै कुराबाट टाढा भएँ, किनभने मैले खोजेको कुरा पाएको थिएँ ।

नेपालमा कलाकारको सम्पूर्ण कलालाई निचोर्न सक्ने निर्देशक भएनन् भन्ने गुनासो पनि छ । तपाईंको विचारमा नेपाली निर्देशकको क्षमता के हो ?

जुन बजेट र जुन परिस्थितिमा हामी काम गरिरहेका छौं, त्यसले दिएको रिजल्टलाई नराम्रो भन्न सकिँदैन । तैपनि उज्जवल घिमिरेको सम्पूर्ण प्याकेजमा काम गर्ने क्षमता, विकास आचार्यको कलात्मक क्षमता एवं गणेशदेव पाण्डेको ट्यालेन्सी एकै ठाउँ मिसाउने हो भने हाम्रो चलचित्र कति माथि पुग्थ्यो होला भन्नेचाहिँ लाग्छ ।

तपाईंले दर्जनौं नायिकासँग काम गर्नुभयो । कुन नायिका तपाईंलाई अब्बल लाग्छिन् ?

रेखा थापामा अभिनयको जुन भोक छ, त्यो साँच्चै नै अनौठो छ । रेखासँग काम गर्दा मरेको जाँगर पनि बौरिएर आउँछ । म नायक हुने सपना देखेर मात्र यो क्षेत्रमा आएको होइन, उद्देश्यसहितको सपना बोकेर आएको हुँ । जब म रेखालाई उनको प्यासनसहितको मुडमा देख्छु मलाई लाग्छ, म यस्तै मान्छे बन्न चाहन्छु ।

तपाईंको अभिनयमा पुराना हिन्दी चलचित्रका कलाकार राजेश खन्ना र देव आनन्दको शैली भेटिन्छ भन्नेहरू धेरै छन् । आफ्नो अभिनयलाई कसरी लिनुभएको छ ?

मेरो मुन्टो हल्लाउने शैली देव आनन्दसँग र हात हल्लाउने शैली राजेश खन्नासँग मिल्दो रहेछ । मेरो बुवा ती दुई कलाकारको भीषण फ्यान हुनुहुन्थ्यो ।

मैले सानै छँदा बुवालाई फिल्मको हिरो बन्ने कुरा गर्दा उहाँले ती कलाकारको फिल्म हेर्न पैसा दिनुहुन्थ्यो । बुवाको फिल्मी सोखकै कारण परीक्षाको अघिल्लो दिन पनि फिल्म हेर्न जान कुनै रोकटोक थिएन मलाई । यस्तो भाग्यमानी व्यक्ति नेपाली परिवेशमा सायदै कोही होला । म भने सञ्जय दत्तको फ्यान हुँ । सञ्जय दत्तका कतिपय कुराले मलाई प्रभावित पारेका छन्, जुन मेरो अभिनयमा पनि देखिन्छ । बुवा देव आनन्द राजेश खन्नाको  फ्यान भएकाले मेरो जिनमै ती कलाकारको अभियन आएको हुनसक्छ ।

तपाईंले लगाउने धेरैजसो पहिरन काला हुन्छन्, कालै रंगको गाडी चढ्नुहुन्छ । कहिलेकाहीँ त टीका पनि कालै लगाउनुहुन्छ । यो पनि देव आनन्दकै शैली हो ?

सानैदेखि मलाई कालै पहिरन मन पर्दथ्यो । देव आनन्दको कालो पहिरनको किस्सा त मैले धेरै पछि सुनेको हुँ । मनपर्ने हुनाले कालो पहिरन लगाए पनि अघोरी सम्प्रदायका गुरु पागल बाबाको सम्पर्कमा पुगेपछि कालो पहिरनप्रतिको मेरो मोह अझ बढ्यो । अघोरी सम्प्रदायमा कालो पहिरनलाई महत्त्व दिइन्छ । उहाँलाई गुरु थापेपछि मेरो कला यात्रा माथि जान थाल्यो । त्यसले कालो रंगको मोह थप बढायो । मेरो कालो रंगको रहस्य पागल बाबा हुन् ।

तपाईंको 'नायक’ शीर्षकको कविता अभिनय गर्ने सबैमा लागू हुन्छ जस्तो लाग्छ, हाम्रा पाठकलाई पनि सुनाइदिनुस् न ।

कथाका पाना पल्टाउँदै

पटकथाहरूमा आफू हराउँछ

आफ्नै चरित्रमा स्थायित्व खोज्दै

प्रतिविम्ब चिहाउँछ आफ्नै ऐनामा

संवादहरू फ्याँकेको अभिनय गर्दै

वास्तवमै ऊ नाटक गर्छ

कहिले हाँस्दै, कहिले रुँदै

कहिले कुद्दै, कहिले लखेट्दै

पर्दामा देखिन्छ, भित्ताहरूमा टाँसिन्छ

चलचित्रको नायक ।

 

प्रकाशित :कार्तिक १५, २०७१

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्