जोगी भएको भोलीपल्ट भोकै रहेँ

जोगी भएको भोलीपल्ट भोकै रहेँ

- अश्विनी कोइराला

कार्तिक ८, २०७१

४० वर्षअघि रामजीवनको जीवनमा केही अपुग थिएन। ३ बिघा जमिन थियो। (उनले आफ्नो घर तराईको सिराहा बताए पनि गाउँको नाम भने बताउन चाहेनन्) दुलहीले भर्खरै छोरो जन्माएकी थिइन्। संयुक्त परिवार भएकाले ३ बिघा जमिनले खान पुग्थ्यो। काम पनि धेरै हुँदैनथ्यो। उनी मस्ती गर्दै हिड्थें। त्यो बेलाको मस्ती अझै पनि रामजीवनको आँखामै छ।

त्यही बेला मंसिरको महिना, धान काट्ने बेलामा उनको गाउँ छेउ ठूलो मेला लाग्यो। जुवाका खाल जमे। भारतबाट नटखट नर्तकी मगाइए। ती नर्तकीहरू अश्लील नृत्य गर्थे र युवाहरू पैसा फ्याँक्थे। राम्रो पैसा दिने साहू-महाजनहरूले ती नर्तकीबाट शारीरिक सुख पनि पाउँथे। यस्तो दृश्य चाख मानेर हेर्नेमा रामजीवन पनि थिए। त्यो बेला सबैलाई रमाइलो भयो तर गाउँका धेरै युवाले जुवाको खाल र नर्तकीको आँखा सन्काइमा ठूलो पैसा गुमाए। यसरी पैसा गुमाउनेमा रामजीवन पनि थिए। जुवामा उनले धान खेतबाटै दुई मन धान हारे। धान हारेको भोलिपल्ट रामजीवनका बुवाले उनलाई श्रीमतीकै अघि कुटिदिए। बस्, यही एउटा घटनामा उनले घर छाडे।

घर छाड्दा उनको गोजीमा नेपाली हजार रुपैयाँ र केही भारु नोट थिए। घर छाडेर उनी भारतका विभिन्न सहर पुगे। भारु पैसा सकिए पनि नेपाली नोट नचलेका कारण त्यो हजार रुपैयाँ गोजीमै रह्यो। धेरै काम गर्न नचाहने रामजीवन एक जोगीको संगतमा पुगे। उत्तरप्रदेशको बागवानीपुरस्थित एउटा आश्रममा रहेका ती जोगीले उनलाई नेपालीहरू इमान्दार हुन्छन् भनेर आफनो सेवामा लगाए। त्यहाँ उनले जोगीहरूको जीवन राम्रोसँग अध्ययन गरे। पहेंलो लुगा लगाएकै आधारमा मानिसले खुट्टा ढोगेको, दक्षिणा दिएको, मानमनितो गरेको आफ्नै आँखाले देखें। उनलाई जोगी हुन के योग्यता हुनुपर्छ, थाहा थिएन। केही दिनपछि रामजीवनले एउटा जोगीले आश्रममा छाडेको लुगा लगाए।

एकाबिहानै रामजीवनले बिना कुनै योग्यता, बिना कुनै जानकारी जोगीको पहिरन लगाएको देखेपछि उनलाई आश्रमबाट निकालियो। आफूलाई किन आश्रमबाट निकालियो उनले त्यो कुरा बुझ्ने प्रयास पनि गरेनन्। त्यही पहेंलो पहिरन लगाएर उनी माग्दै-माग्दै भारतका विभिन्न ठाउँ पुगें। 'धेरै दिन भोकै बसें, कतिको हात हेरिदिएँ। करिब १२ वर्ष त्यसरी नै बिताए।' उनले पुरानो कुरा सम्झिए ।  गोजीमा नेपाली हजारको नोट थियो। त्यसैले उनले आफ्नो नाम हजारी बाबा राखे। अहिले पनि उनलाई हजारी बाबाकै रूपमा चिनिन्छ।

माग्दै हिँड्ने क्रममा उनी आसामको गुहाटी पुगे। त्यहाँको कामाख्या मन्दिरमा दर्शन गर्न पुगेका कुनै दक्षिण भारतीय ब्राह्मणले उनको सोधीखोजी गरे। उनले आफ्नो घर नेपाल भएको बताएपछि उनले नेपाल लगिदिन कर गरे। त्यसको साटो राम्रो दक्षिणा दिने लोभ पनि देखाए उनले। त्यसपछि हजारी बाबाका ती दक्षिण भारतीय ब्राह्मणलाई लिएर काकडभिट्टा हुँदै नेपाल छिरे। बाटामा उनले आफ्नो गाउँ पनि देखे। त्यतिबेला उनका आँखा नरसाएका होइनन् तर रुन सकेनन्। भोलिपल्ट पशुपति आइपुगेपछि ती ब्राह्मणले उनलाई १ हजार १ सय दक्षिणा दिएर बिदा लिए।

यसरी उनी नेपाल आइपुगे। त्यो बेलासम्म उनमा घुमेर खाने बानी परिसकेको थियो। घरको सम्झना नआएको होइनन्, तर के मुखले घर जाने ? श्रीमती र छोरालाई के भन्ने ? बुवा बाँचेका भए के मुख देखाउने ? उनले घर नजाने निर्णय गरे।

'त्यसपछि म नेपालका सबै पहाडी बाटा हिँडें। धेरै मन्दिर घुमें। सिराहातिर भने गइनँ।' हजारी बाबाले साप्ताहिकसँग भने, 'मैले नेपाल र भारत सबै घुमेको छु। धेरै मान्छेलाई आशीर्वाद दिएको छु।' उनको आशीर्वादले कतिको भलो भयो थाहा छैन, तर आशीर्वाद दिदा प्राप्त गरेको दक्षिणाले उनको जीवन भरथेग भैरहेको छ। उनका कुनै गुरु छैनन्, गुरुसँग मन्त्र सिक्ने हिम्मत पनि गरेका छैनन्। 'म शुद्ध मनले आशीर्वाद दिन्छु, त्यो आशीर्वाद लाग्छ होला।' यसो भनेर हजारी बाबा मज्जाले हाँसे र सोधे,

'यो कुराकानी किन गरेको ?

किन तस्वीर खिचेको ?' जब हजारी बाबाले साप्ताहिकमा प्रकाशनका लागि आफूसँग कुराकानी गरिएको जानकारी पाए, उनले आफ्नो तस्वीर नछाप्न अनुरोध गरे।

पत्रिकामा आफ्ना कुरा छापिए ३६ वर्ष पुगेको छोरोले आफूलाई फेला पार्नेछ, कुटपिट गर्नेछ भन्ने डर रहेछ उनलाई।

'अब म कसैसँग पनि भेट्न चाहन्नँ। छोरोले मन्दिरमा यसरी माग्दै हिँडेको देख्यो भने के भन्छ ?' हजारी बाबाले चिन्ता व्यक्त गर्दै भने, 'जे भए पनि गाउँमा उसको इज्जत होला, उसका हजुरबुवा गाउँका ठूलो मान्छे हुन्, छाप्नु पर्दैन।'

 यो कुरा छेउमा रहेका एक जना जोगीले सुनिरहेका थिए। छेउका जोगीले भने, 'म यो बाबाको साथी हुँ, चेलो पनि हुँ। उनको तस्वीर छाप्न मिल्दैन भने मेरो छाप, तर तस्वीर छापेको ५० रुपैयाँ दिनुपर्छ।' साप्ताहिकले उनको चेलो कृष्ण बाबालाई ५० रुपैयाँ दियो। चेलोले पैसा पाएको देखेपछि हजारी बाबाले भने, 'नचिन्ने गरी तस्वीर छाप, तर मलाई चाहिँ सय रुपैयाँ देऊ।'

प्रकाशित :कार्तिक ८, २०७१

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्