सहरमा छठ मनाउन कठिन

सहरमा छठ मनाउन कठिन

- जितेन्द्र साह

कार्तिक ८, २०७१-

तिहारलगतै महापर्व छठ सुरु हुन्छ। बर्सेनि यो सामूहिक पर्वको धार्मिक, सांस्कृतिक एवं सामाजिक पक्षको चर्चा जोडतोडका साथ हुन्छ। छठ केही वर्षयता नेपाली सञ्चारमाध्यममा अत्यधिक महत्व पाउने पर्वहरूमध्ये एक हुन पुगेको छ। तराईवासी नेपालीहरूको यो महान् पर्वको हरेक पक्षलाई बर्सेनि फरक शब्द, शैली एवं प्रस्तुतिका साथ सञ्चारमाध्यमले प्रस्तुत गरिरहेकै छन्। नदी, खोला र पोखरीमा बढ्दो प्रदुषणले शुद्धता र पवित्रताका साथ यो पर्व मनाउन आगामी दिनमा चुनौती थपिँदै जाने स्थितिका सम्बन्धमा पनि हरेक वर्ष आवाज उठ्छ।

झन्डै एक दशकदेखि ललितपुर कुपन्डोल, गुसिंगालका करिब ४५ पहाडी तथा मधेसी परिवारले कृत्रिम पोखरी खनेर छठको आराधना गर्दै आएका छन्। केही परिवारबाट सुरु भएको उक्त पूजामा व्रतालु परिवार पनि थपिँदै गएका छन्।

गुसिंगालवासी प्रदूषित जलका कारण नजिकैको बाग्मती किनारमा छठ मनाउन जाँदैनन्। हुन त बाग्मती अहिले धेरै सफा भैसकेको छ। तैपनि छठको कठिन धार्मिक अनुष्ठानका लागि पर्याप्त भने भैसकेको छैन। टाढाको सफा ठाउँ रोज्दा जान-आउन कठिनाइ हुन्छ। यसको विकल्प खोज्दै खाल्डो खनेर त्यसमा बडेमानको प्लास्टिक ओछ्याई टं्याकरको पानी खन्याएर पोखरीको रूप दिएर छठ मनाउने परम्परालाई वैकल्पिक प्रयास मात्र मान्न सकिन्छ। त्यो पनि सहरमा खाली जग्गा बाँकी रहेसम्म मात्र हो।

पूजाको यस्तो शैलीले यो पर्वका बेला मिथिलाञ्चलमा गाइने 'अँगनामे पोखरी खुनाएब, छठी मैयाँ औंती आज (छठ माता आउने हुनाले आँगनमै पोखरी खनाउँछु)' गीतलाई यथार्थमा परिणत गरिदिएको छ। यो गीतमा जहाँ र जसरी भए पनि छठको पूजा गरेरै छाड्ने आश्ाय व्यक्त गरिएको छ।

गाउँलेहरू परम्परा कायम राख्दै स्वास्थ्य खराब हुन नदिन र प्रसाद बिग्रन नदिन यस्तो उपाय अबलम्बन गरेको बताउँछन्। उनीहरूका अनुसार श्रद्धाले खाए र नुहाए पनि बाग्मती एवं विष्णुमतीको दूषित जलले खतरनाक कीटाणुको संक्रमण हुने जोखिम हुन्छ। प्रदूषणले गर्दा उनीहरू मौलिक रुपले यो पर्व मनाउन सक्दैनन्। बाग्मती सफाइ अभियानले तीव्रता लिए पनि त्यसले लामो यात्रा तय गर्न बाँकी नै छ। पर्वका क्रममा बगाइने पराल एवं विभिन्न पूजा सामग्रीले बाग्मती सफाइ अभियानमा बाधा नै पुर्‍याउने निश्चित छ।

कुपण्डोलवासी मात्र नभएर अहिले थुप्रै व्रतालु एवं परिवारजन तुलनात्मक रूपमा सफा खोला एवं पोखरी खोजेर पूजा गर्न थालेका छन्। आठ वर्षदेखि रानीपोखरी र तीन वर्षदेखि कमलपोखरीलाई यस्तै विकल्पका रूपमा रोजिएको छ। बर्सेनि नयाँ पूजा स्थल खोजिँदै र थपिंदै छ। राजधानीमा यस्ता पूजास्थलको संख्या १५ पुगिसकेको छ। अघिल्ला वर्षहरूसम्म १३ स्थलमा र १० वर्षअघिसम्म ९ स्थलमा मात्र छठको पूजा हुन्थ्यो। सहरको मध्यभागमा भएको हुनाले भीडभाड र सुरक्षाको हिसाबले रानीपोखरीलाई पनि उपयुक्त गन्तव्य मान्न सकिँदैन।

स्थानकै अभावका कारण महिना दिन अघिदेखि यो पूजाका लागि भूमि कब्जा गरिन्छ। बढिरहेको जनसहभागिताका कारण पछिपछि गएर ठाउँ उपलब्ध हुन अझ कठिन हुँदै जानेछ। घरमै बाल्टिन वा आरीमा पानी भरेर औपचारिकताका लागि त्यसमाथि उभिएर सूर्यलाई अघ्र्य दिने दिन नआउला भन्न सकिँदैन।

फेरि महँगो साजसज्जाको प्रतिस्पर्धामा यो पर्वले त्यसै पनि मौलिकता गुमाउँदै गएको छ। मुलुकभरका खोला किनारमा झिलिमिली बत्ती बाल्ने, मूर्ति पूजाका लागि पण्डाल लगाउने र रंगीचंगी कागजले पूजास्थल सिँगार्ने प्रतिस्पर्धा तीव्र छ। माटाका मूर्तिको विसर्जनले जल थप प्रदूषित हुन्छ। केही वर्षअघिसम्म सामान्य ढंगले नदी एवं खोला किनारलाई सफा गरी दियो बालेर यो पर्व मनाइन्थ्यो। गाउँ र सहरकै छठ मनाउने तरिका पनि भिन्न छ। गाउँमा अझै पनि शुद्धता र स्वादका लागि आँगनमा माटोको चुल्होमा प्रसाद सामग्री पकाइए पनि सहरमा ग्याँस चुल्होकै भर पर्नुपर्छ।

पहिले पूजाअघि र पछि व्रतालुले नदी वा खोला किनारमा नुहाएर लुगा फेर्ने चलन थियो। अचेल प्रदूषित पानी र बढ्दो भीडले निम्त्याएको सामाजिक असुरक्षाका कारण औपचारिकताका लागि जलाशय किनारमा पानी छर्किएपछि घरमै आएर नुहाउने चलन छ। थोरैले परम्परा निर्वाहका लागि पुजा स्थलमै नुहाए पनि स्वास्थ्य एवं सुरक्षाका दृष्टिले त्यसलाई ठीक मानिँदैन। केही जिल्लामा भक्तजनको सुरक्षाका लागि पूजा स्थलमा सिसिटिभीसमेत जडान गर्न थालिएको छ।

रमाइलो र रमझममा मात्र व्यस्त नयाँ पुस्ताले चासो नलिंदा लोकगायन र कथावाचनको पक्ष कमजोर भएको छ। छठमा गत वर्षदेखि राजनीति र अवसरवादी प्रवृति पनि देखिन थालेको छ। गत वर्षदेखि पार्टी र नेताको महिमा गाउन छठको प्रयोग हुन थालेको हो।

व्यस्त जीवनशैली एवं विभिन्न कारणले पुरानो चलन हराउँदै कृत्रिमतामा वृद्धि भएको छ। अरूलाई देखाउने र उछिन्ने सोचले छठमा पनि महँगो प्रतिस्पर्धा बढेको छ। हुन त संसारमा कुनै पनि धर्म, संस्कृति र परम्पराले परिवर्तन लाई रोक्न सक्दैन। बदलिँदो परिवेशसँग सम्झौता गरेर नहिंडी सुख पनि छैन। तैपनि परापूर्वकालदेखि मनाइँदै आएको चाडपर्वको मौलिकता संरक्षण गर्नुपर्ने कुरामा सबैको ध्यान जानु आवश्यक छ।

प्रकाशित :कार्तिक ८, २०७१

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्