नेवार समुदायमा न्हु दँ र म्ह पूजाको रौनक

नेवार समुदायमा न्हु दँ र म्ह पूजाको रौनक

- रामजी बलामी

कार्तिक ८, २०७१-

दीपावली पर्व नेवार समुदायका लागि अझ विशेष महत्वको हुन्छ। यमपञ्चकको चौथो दिन नेवार समुदायमा म्ह पूजा गरिन्छ भने न्हुँ दँ अर्थात् नयाँ वर्ष (नेपाल सम्वत्) पनि मनाइन्छ। पछिल्लो समय नेपाल संवत् अरू समुदायमाझ पनि सुपरिचित हुँदै गएको भए पनि म्ह पूजा नेवार समुदायले मात्र मनाउँछ।

नेपाल सम्वत् ११३५

यो वर्षदेखि नेपाल सम्वत् ११३५ प्रारम्भ हुँदैछ। यो चन्द्रमास गणनामा आधारित वर्ष हो। नेपाल संवत्अनुसार एक औंसीबाट अर्काे औंसीलाई एक चन्द्रमास भनिन्छ। करिब ३ सय ५४ दिनको एक वर्ष हुन्छ। तीन वर्षको एकपटक १३ औं महिना हुन्छ, जसलाई पुरुषोत्तम महिना भन्ने चलन छ। उतिबेला शंखधर साख्वाले सम्पूर्ण जनताको ऋण तिरिदिएर नेपाल संवत्को सुरुआत गरेको नेवा दे या दबुका अध्यक्ष नरेश ताम्राकारले बताए।

नेपाल सम्वत्का बारेमा विभिन्न धारणा सार्वजनिक भएका छन। शंखधर साख्वा त्यतिबेलाका धनी व्यापारी थिए। उनका साथीहरू पनि व्यापारी नै थिए, तर उनीहरूको व्यापार शंखधरको जति राम्रो थिएन। त्यसपछि उनीहरूले शंखधरले अनैतिक काम गरेर धन कमाएको भनेर राजासमक्ष झुटो कुरा पुर्‍याए। लगत्तै राजाले शंखधरको सम्पत्ति कब्जामा लिए, तर पछि खोजतलास गर्दा शंखधरले अनैतिक काम गरेको पत्ता लागेन र सबै सम्पत्ति फिर्ता भयो। गुमेको सम्पत्ति फिर्ता पाएपछि शंखधरले उक्त सम्पत्ति ऋणमा डुबेका जनतालाई बाँडिदिएछन्। यसरी जनता ऋण मुक्त भएपछि त्यही दिनको सम्झनामा नेपाल संवत् मनाइँदै आएको बताइन्छ।

यस्तै एउटा अर्काे प्रसंग पनि छ। त्यतिबेला नेपालका एक प्रख्यात ज्योतिषले विष्णुमती नदीबाट विशेष मन्त्र उच्चारण गरेर मध्यरातमा निकालिएको बालुवा बिहान सुनमा परिणत हुन्छ भन्ने पत्ता लगाए। उक्त कुरा बताइएपछि राजाले सोहीअनुसार गर्न आदेश दिए। मध्यरातमा विष्णुमतीबाट बालुवा ओसार्न ज्यामीहरू खटिए। ज्यामीहरूले मन्त्र भन्दै बालुवा ओसारिरहेको कुरा शौच गर्न गएका शंखधर साख्वाले देखेर सोधपुछ गरेछन्। उनीहरूले राजाले बालुवा लिन पठाएको बताएपछि उनको मनमा जिज्ञासा उत्पन्न भएछ।

शंखधरले चाहिने जति ज्याला दिने बताएपछि ज्यामीहरू दोहोरो ज्याला पाउने खुसीले एकपटक ल्याएको बालुवा शंखधरको घरमा छोडेर अर्काे पटक राजाकहाँ पुर्‍याउँदा रहेछन्। भोलिपल्ट आफ्नो आँगनमा राखेको बालुवा सुनमा परिणत भएको देखेपछि शंखधरले ऋणमा डुबेका जनताको सम्पूर्ण ऋण तिरिदिने वाचा गरेछन्, तर त्यसका लागि राजासमक्ष उनले राज्यको नाममा नयाँ संवत चलाउनुपर्ने सर्त राखेछन्। उक्त सर्त राजा राघवदेवसामु राखिएको बताइन्छ। शंखधरको सर्तअनुसार राजा राघवदेवले मानदेव सम्वत् ३०४ पूरा भएको भोलिपल्टदेखि नै नेपाल संवत् प्रचलनमा ल्याए। नेपाल सरकारले शंखधर साख्वालाई राष्ट्रिय विभूति घोषणा गरिसकेको छ।

न्हँ दँका अवसरमा यस वर्ष पनि विभिन्न कार्यक्रम हुँदैछ। नेवा देया दबुले 'नेपाल संवत् ११३५ न्हुँ दँ या भिन्तुना, पहिचानसहित या संविधान सकल नेवा या मन्तुना' भन्ने नारासहित कार्यक्रम गर्ने भएको छ। यो नेवारको मात्र संवत् नभएर सबै नेपालीको साझा भएकाले यसको प्रवर्द्धनमा सबैले सहकार्य गर्नुपर्ने दवुका अध्यक्ष ताम्राकार बताउँछन्। प्रधानमन्त्रीको अध्यक्षतामा न्हुँ दँ समारोह समिति गठन गरी सरकारी तवरबाट नेपाल संवत् मनाउनुपर्ने उनको जिकिर छ।

म्ह पूजा

नेवार समुदायमा लक्ष्मीपूजाको भोलिपल्ट म्ह पुजा (आत्मपूजा) गर्ने चलन छ। नेवारी भाषामा म्हको अर्थ शरीर हो तसर्थ समग्रमा म्ह पूजाको अर्थ शरीरको पूजा हो। परिवारका ज्येष्ठ सदस्यले म्ह पूजा गर्ने चलन छ। आत्मसुरक्षाका लागि पनि यसरी आफ्नो शरीरको पूजा गरिएको बताइन्छ।

म्ह पूजा गर्न विशेष प्रकारको मण्डप बनाइन्छ। उमेर र मर्यादाक्रमअनुसार परिवारका सदस्यहरू लस्करै बसेर यो पूजा गरिन्छ। पूजामा विभिन्न प्रकारका फूल, धूप, फलफूल, अक्षता, मिठाई आदि प्रयोग हुन्छ। पूजा सकिएपछि सगुनका रूपमा रक्सी, अन्डा, माछा, फलफूल आदि सगुन दिइन्छ। म्ह पूजा पनि नेवार समुदायका विभिन्न जातिले विभिन्न प्रकारले गर्छन्। कतिपय समुदायमा म्ह पूजा गर्दा कुचो, खुकुरी आदिको पनि पूजा गर्ने चलन छ।

नेपाल सम्वत्का महिनाहरू

कछला : कात्तिक, थिंला : मंसिर,

पोंहेला : पुस, सिल्ला : माघ,

चिल्ला : फागुन, च्वला : चैत,

बँछला : वैशाख, तँछला : जेठ,

देल्ला : असार, गुँला : साउन,

यंला : भदौ, कौला : असोज ।   

प्रकाशित :कार्तिक ८, २०७१

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्