तिहारमा देउसी र भैलो

तिहारमा देउसी र भैलो

  • लक्ष्मण गाम्नागे, हास्यव्यंग्यकार

- नरेन्द्र रौले

कार्तिक ८, २०७१

'मानिसलाई हँसाउन गार्‍है छ हौ।' अलिकति हाँसो छर्दै लक्ष्मण गाम्नागेले अनुभव साटे, 'हास्यव्यंग्य सोचेजस्तो सजिलो छैन। यो कठिन विधा पो रहेछ।' विगत ७ वर्षदेखि कान्तिपुर पब्लिकेसन्सको नेपाल साप्ताहिकमा झटारो स्तम्भ लेखिरहेका गाम्नागेले ४ सय ५० शब्द लेख्नकै लागी ४ दिन मेहनत गर्नुपर्दो रहेछ। एउटा लेख तयार पार्न एफएम रेडियो सुन्नैपर्ने, टेलिभिजन हेर्नैपर्ने र पत्रपत्रिका नपढी सुखै छैन। लेखन अब उनका लागि लत र बाध्यता दुवै भैसकेको छ।

जब दसैंले बिदाइ लिन्छ, गाम्नागेको व्यस्तता अझ बढ्छ। हरेक तिहारमा सिस्नुपानी नेपालले प्रदर्शन गर्ने देउसी, भैलोको तयारीका लागि आफ्नो टोलीसँग उनी दिनहुँ छलफलमा व्यस्त हुन्छन्। 'देउसी, भैलोमा भट्याउने कुरा सिर्जना गर्छौं।' गाम्नागे भन्छन्, 'कसैलाई ठाडै गाली गर्ने, आरोप लगाउने काम गर्नुभएन।' विगत १७ वर्षदेखि सिस्नुपानी नेपालले मनाउँदै आएको देउसी, भैलो आममानिसका लागि विशेष चासोको विषय बन्दै आएको छ। यसरी आममानिसको चासो बढ्नुमा आफूहरूले देखाएको फरक प्रस्तुति हो भन्ने मान्छन्, गाम्नागे। उनकै शब्दमा- पहिले-पहिलेका देउसी, भैलो, महाभारत तथा रामायणका प्रसंगहरूमा सीमित हुन्थे। राम, रावण, पाण्डवकै कथा वरिपरि घुम्थे, तर सिस्नुपानीले त्यो चलन तोड्दै नयाँ परम्परा बसाल्यो। वर्षभरि सामाजिक, राजनीतिक क्षेत्रमा देखा परेका विकृति-विसंगतिविरुद्ध व्यंग्य प्रहार गर्दै खेलिने देउसी, भैलोले दर्शकहरूको ध्यान तान्दै गयो र हरेक वर्ष उक्त देउसी प्रतीक्षाको विषय बन्दै गयो।

विगतका वर्षहरूमा जस्तै यसपालि पनि सिस्नुपानी नेपालले तिहारमा विशेष कार्यक्रमको आयोजना गर्दैछ। विष्णुविभु घिमिरेको पहल तथा नेपाल प्रज्ञा-प्र्रतिष्ठानको सहयोगमा प्रज्ञा-प्रतिष्ठानको डबलीमा देउसी खेलिँदैछ। कात्तिक ५ गते गाम्नागेसँगै उनका सहकर्मीहरू मनोज गजुरेल, अर्जुन पराजुली, धीरेन्द्र प्रेमषिर्, टंक आचार्य, हरिकला उप्रेती, चक्र दवाडी, सरोज घिमिरे आदिको प्रस्तुति रहनेछ। यसपालि नयाँ आकर्षणको रुपमा सत्यमोहन जोशीको संयोजकत्वमा पाका स्रष्टाहरूले सिस्नुपानीकै कार्यक्रममा छुट्टै देउसी खेल्दैछन्। ६० वर्षमाथिका स्रष्टाहरूको देउसीपछि सिस्नुपानीले सुरु गर्ने कार्यक्रममा कमलीकान्त भेटवाल, शिशिर योगी, रामकृष्ण दुवालले व्यंग्य गीत सुनाउनेछन्। त्यसैको तयारी र संयोजनमा व्यस्त छन, गाम्नागे। 'हामीले देउसी, भैलोलाई नयाँ मोड दिन खोजेका छौं।' गाम्नागे भन्छन्, 'सरकार तथा नेताहरूलाई सचेत गराउनु हाम्राे कर्तव्य हो।'

गाम्नागे भुटानको साम्ची जिल्लास्थित देनछुखामा जन्मिएका हुन्। उनका बुबा चिदानन्द भट्टराई २०१७ सालमा ताप्लेजुङबाट कामको खोजीमा भुटान पुगेका थिए। गाम्नागेले ३ कक्षासम्म त्यहीं पढे। अंग्रेजी माध्यमबाट पढाइ हुन्थ्यो। नेपाली मुलका भुटानी, भारतीय तथा भुटानी शिक्षकहरूले पढाउँथे। अहिले पनि भुटानका मन्दिर, चौतारा र आफू हिंडेका बाटाहरू उनको सपनामा आउँछन्। बाल्यकालमा त्यहाँ मनाएका तिहारका कैयौं सम्झना अहिले पनि ताजै छन्। पछि स्वेच्छाले बसाइँ सरेर झापाको गौरादह आएपछि जनवादी गीत गाउँदै तिहार मनाएको पनि उनले भुल्न सकेका छैनन्। स्कुल पढ्दै उनले सिर्जनात्मक लेखनमा हात हाले। गाम्नागेले लेखेका तीनवटा निबन्ध संग्रह स्वाहा, कति धुनु गधाहरूलाई, लाठीचार्ज तथा एउटा कविता संग्रह ३ न १३ घिटिक घिटिक बाँचेर सहरमा प्रकाशित छन्। लक्ष्मण गाम्नागेका बाङ्गा कविताहरू सिडीका रूपमा पनि उपलब्ध छ।

बिहान ५ बजेपछि गाम्नागेको दैनिकी सुरु हुन्छ। हरेक दिन केही समय नियमित कसरतका लागि छुट्याएका छन्। उनी आफैले चिया बनाउँछन्। चियाको चुस्की लिँदै घरमै आइपुग्ने दैनिक पत्रपत्रिकाहरू पढ्न थाल्छन्। अनलाइनमा पनि समाचार हेर्ने उनको बानी छ। पौने ९ बजे खाना खाने समय हुन्छ। उनको मेनुमा दाल, भात, तरकारी, कुखुरा वा खसीको मासु हुन्छ। दही उनलाई विशेष मन पर्छ। पाहुना आउँदा भने ढकने बनाउने चलन छ। कुनै बेला खाना बनाउन उनी आफैं अघि सर्छन्। गाम्नागे नेपाल टेलिकमका जागिरे र उनकी श्रीमती देवीमाया नेपाल विद्युत् प्राधिकरणमा कर्मचारी भएकाले टेलिफोन र बिजुलीको पैसा तिर्नुपर्दैन। ०४२ मा सरकारी सेवामा प्रवेश गर्दाको क्षण गाम्नागेका लागि जीवनकै सबैभन्दा खुसीको क्षण हो। गाम्नागेमा उनकै ठूलो बुबाका छोरा डा. गोविन्दराज भट्टराईको प्रभाव छ। 'उहाँले लेखेका कुराहरू सुनाउनुुहुन्थ्यो। व्यवहार पनि रमाइलै थियो।' गाम्नागे सम्झन्छन्, 'मैले पछि रकेट र चड्कन पत्रिकाको सम्पादन गर्दा उहाँले लेखहरू पठाउनुभयो।' सिस्नुपानीसँग आबद्ध भएपछि लेखनमा अझै निखार आएको उनको ठम्याइ छ। सिर्जनाहरूमाथि अन्तरक्रिया हुन थाले। मेरो लेखनले विभिन्न पत्रपत्रिकामा स्थान पाउन थाल्यो, पाठकहरूबाट प्रतिक्रिया आउन थाल्यो भने लेखनमा लागेका सहकर्मीहरूसँग भेटघाट बाक्लिँदै गयो। त्यसबाट सिर्जनाशक्ति थप मौलाउनमा सहयोग पुग्यो। नवराज कार्की, नरेन्द्रराज पौडेल तथा दाङमा बसेर लेख्ने उत्तमकृष्ण मजगैया उनलाई मनपर्ने हास्यव्यंग्यकार हुन्।

आफूले छानेको पेसाबाट सन्तुष्टि मिलेको बताउँछन्, गाम्नागे। 'लेखनको दुनियाँमा रमाइरहेको छु।' तीनकुनेस्थित इन्द्रेणी क्याफेमा गाम्नागेले सुनाए, 'धन्न लेख्न थालेछु, छोडिनछु भन्ने लाग्छ।'

प्रेरक व्यक्तित्व    :        भैरव अर्याल

मन पर्ने हास्यव्यंग्यकार:    केशवराज पिंडाली, अर्जुन पराजुली, चट्याङ मास्टर, नरनाथ लुइँटेल, नरेन्द्रराज पौडेल तथा शैलेन्द्र सिम्खडा।

मन पर्ने चलचित्र    :        लोभीपापी, थ्री इडियट, वासुदेव।

मन पर्ने पुस्तक    :        अन्तरमनको यात्रा, जयभुँडी, कणर्ाली ब्लुज, गलबन्दी, जोकशास्त्र, चट्याङगीता तथा खैखै।

मन पर्ने गीत    :        एउटा मान्छेको मायाले

कलाकार    :    शिशिर योगी, कुन्ति मोक्तान

अबको योजना    :        भानुभक्तदेखि अहिलेसम्मका केही उत्कृष्ट कविता संकलन एवं सम्पादन गरेर पुस्तक प्रकाशन गर्ने।

प्रकाशित :कार्तिक ८, २०७१

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्