पफ शैली रोजाइ

पफ शैली रोजाइ

- सरस्वती कटुवाल

कार्तिक १, २०७१

युवतीहरूमा फेसनेबल हेयर स्टाइलको ट्रेन्ड बढ्दो छ । हिजोआज पफ हेयर स्टाइल युवतीहरूको रोजाइमा परेको स्टाइल हो । एसएलसी दिएर बसेकी मनमैजु, काठमाडौंकी १६ वषर्ीया कुसुम सापकोटा पफ स्टाइलमा सुन्दर एवं सहज महसुस गर्छिन् । हल्का पफ उठाउँदा केश अगाडि नआउने र झन्झट पनि नहुने भएकाले पफ स्टाइलमै केश कोर्ने गरेको सापकोटाले बताइन् ।

त्रिभुवन विश्वविद्यालय, कीर्तिपुरमा एमए पहिलो सेमेस्टर अध्ययनरत चाबहिल, काठमाडौंकी तारा दाहाल हिजोआजको फेसनेबल हेयर स्टाइल पफ नै भएको र पफ स्टाइल नै बढी मन पर्ने बताउँछिन् । केश महिलाको सौन्दर्यको अभिन्न अंग भएको बताउने दाहाल प्रायःजसो पफ उठाउने पार्टी वा विवाह समारोहमा जाँदासमेत पफ नै बनाउँछिन् ।

यसरी केशमा पफ उठाएर हिँड्ने युवतीहरूको संख्या प्रशस्तै छ । कलेज, कार्यालय, विवाह, पार्टी तथा अन्य विशेष समारोहमा होस् वा घरमै बस्दाहोस जो-कोहीले बढी रुचाउने स्टाइल नै पफ हो । के सहर, के गाउँ सबैतिर पफ उठाउने ट्रेन्ड छ । पफ बनाउँदा झन्झट बेहोर्नु नपर्ने तथा समय पनि बचत हुने भएकाले युवतीहरूमाझ यो स्टाइल लोकपि्रय भएको हो । गर्मी मौसमका लागि उपयुक्त पफ स्टाइल अहिले फेसन ट्रेन्ड बनेको हेयर डिजाइनहरू पनि बताउँछन् ।

हिजोआज चलेको पफ स्टाइलको स्रोत ६० को दशकमा देखा परेको हेयर स्टाइल नै हो । मेकअप आर्टिस्ट तथा हेयर डिजाइनर एवं प्रशिक्षक संगीता लामाका अनुसार टुइस्टिङ गर्ने, हाइपफ निकाल्ने, फ्रेन्च जुरो बनाउने र लामो केश पाल्ने जस्ता अहिले चलेका विभिन्न स्टाइलमध्ये पफ स्टाइलको ट्रेन्ड नै बढी लोकपि्रय छ । १० वर्ष अघिको छोटो केश पाल्ने ट्रेन्ड परिवर्तन भएर लामो केश पाल्ने फेसन आएसँगै पफ स्टाइल अहिले सबैको रोजाइ भएको लामा बताउँछिन् ।

हिन्दी तथा नेपाली चलचित्रका नायिकाहरूको हेयर स्टाइल नै अहिलेका युवतीहरूको छनौटमा परेको हो । पफ उठाएर मात्र विभिन्न हेयर स्टाइल बनाउन सकिने भएकाले पनि यो स्टाइल बढी प्रचलनमा आएको दमक झापास्थित न्यू मुन सेलुन एन्ड एकेडेमीका ईश्वरी श्रेष्ठ बताउँछिन् । हिजोआज उमेर पुगेका प्रायः सबै युवती पफ स्टाइलमा देखिने श्रेष्ठले बताइन् । पफ स्टाइलले नयाँ लुक्स दिने भएकाले सबैले रुचाएको श्रेष्ठको तर्क छ । हिजोआजका युवतीहरूमा अरूको सिको गर्ने फेसन बढेकाले पनि पफ स्टाइलको ट्रेन्ड बढेको श्रेष्ठ बताउँछिन् ।

वानपिस तथा सिफनको कुर्तीमा पफ स्टाइलले युवतीलाई आकर्षक देखाउने तथा आरामदायक हुने डिजाइनर प्रेमदेव बताउँछन् । कतिपय पहिरनको आकर्षण केशको स्टाइलमा पनि भर पर्ने डिजाइनर देवले बताए ।

 

प्रकाशित :कार्तिक १, २०७१

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्