थोरै मात्र कुरा बुझ्ने हो भने विदेशमा दुःख पाइँदैन

थोरै मात्र कुरा बुझ्ने हो भने विदेशमा दुःख पाइँदैन

  • टीबी कार्की, एनआरएन, वैदेशिक रोजगार कार्यदलका संयोजक

- अश्विनी कोइराला

कार्तिक १, २०७१

एक दशकदेखि कतारलाई कार्मथलो बनाएका टीबी कार्की गैरआवासीय नेपालीहरूको संगठनका उपाध्यक्ष हुन्। अहिले उनको दैनिकी वैदेशिक रोजगारीका समस्या, त्यसको निराकरणका उपाय एवं यस्ता कामदारले कमाएको पैसा देश र उनीहरू स्वयंको दीर्घकालीन हितमा कसरी लगाउन सकिन्छ भन्ने चिन्तनमा बित्ने गरेको छ। वैदेशिक रोजगारीलाई व्यवस्थित गर्न २२ पटकसम्म सरकार एवं सरोकारवालाहरूसँग बसेर उनले धेरै समस्या पहिचान गरेका छन् भने केही निराकरणका उपाय पनि पहिल्याएका छन्। एनआरएनको वाषिर्क कार्यक्रमका लागि नेपाल आएका बेला कार्कीसँग साप्ताहिकले खाडी मुलुकमा नेपालीहरूले भोगेका समस्या, समाधानका उपाय तथा विदेशमा बसेर कमाएको पैसा देशको हितमा कसरी लगाउन सकिन्छ भन्ने विषयमा लामो कुराकानी गरेको थियो।

तपाईं कतारमा व्यवसाय गरेर नाम र दाम कमाइरहनुभएको छ, तर कतारमै नेपालीहरूको विजोग छ, कस्तो लाग्छ ?

हो, एनआरएनको उपाध्यक्ष भएका नाताले म केही चिनिएको छु। एनआरएन सामाजिक संस्था भएकाले हामीले विभिन्न ठाउँमा पुग्नुपर्छ। समस्यामा परेका मानिसहरूको उद्धार गर्ने, त्यसका लागि पैसा खोज्ने, खाडी मुलुकका आफ्नै खालका कडा कानुन भएकाले दूतावासमार्फत काम गराउनुपर्ने भएकाले मेरो सार्वजनिक चिनारी बनेको छ। यस्तोमा केही साथी अप्ठ्यारोमा पर्नु भएको छ, उहाँहरूलाई भनेजस्तो सहयोग गर्न पाइएको छैन। कोही जेलमा पनि हुनुहुन्छ। यसमा निकै दुःख लाग्छ।

१० वर्षअघि तपाईं कतार पुग्दा धेरै समस्या थियो कि अहिले ? किनभने अहिले नेपालमा मात्र होइन, पश्चिमा मुलुकका सञ्चारमाध्यममा पनि नेपालीहरूले पाएको दुःखका खबर प्रकाशन हुन थालेका छन्।

समस्या पहिले धेरै थियो। समय बित्दै जाँदा कतारमा नेपालीहरूको संख्या पनि बढ्दै गयो, समस्या पनि बढि देखिन थाल्यो। जबकि पहिले कतारसँग हामीले श्रमसम्झौता पनि गरेका थिएनौं। नेपालीले कतारमा काम गर्दा न्यूनतम कति पैसा पाउने भन्ने निश्चितता थिएन। पहिलो पटक कम्तीमा १ सय २५ डलर दिने सम्झौता भयो। पहिले तलब नै नपाउने अवस्था पनि थियो। अहिले पनि कतारमा त्यही नियम लागू छ। जबकि केही खाडी मुलकमा हामीले त्यस्तो सम्झौता पनि गर्न सकेका छैनौं। रह्यो, श्रमिकका बारेमा छापिने समाचारको कुरा, त्यसमा पनि के बुझ्नुपर्छ भने कतारमा कतारीहरूको जनसंख्या ४ लाख छ। जबकि नेपाली कामदारको संख्या ५ लाखभन्दा बढी भैसकेको छ। जुन देशमा आफ्ना नागरिकभन्दा बढी कामदार छन्, त्यहाँ फाट्टफुट्ट समस्या आइहाल्छन्। यस्ता कतिपय समस्या हामी आफैंले पनि निम्त्याएका हौं।

कतारमा मात्र होइन, अन्य खाडी मुलुकहरूमा पनि उस्तै समस्या छन्, आखिर किन यस्तो हुन्छ ?

सामान्यतः नेपालीहरूमा विदेश जाने फेसन चलेको छ। वास्तवमा विदेश दुःख गर्न जाने हो। काम गर्दै जाँदा पैसा कमाइन्छ, पैसा कमाए पछि सुख हुन्छ, त्यो सत्य हो, तर सुरुमै सुख हुन्छ भन्ने कल्पना गरेर विदेश आउनु नै समस्याको जड हो। कामदारले म कुन किसिमको काम गर्न कुन देश जाँदैछु। त्यो देशको भाषा के हो ? अंग्रेजी बुझ्छन् कि बुझ्दैनन् ? बुझ्दैनन् भने विकल्पको भाषा के हो ? त्यो देशलाई कस्तो म्यानपावर चाहिएको हो ? उक्त काममा म फिट हुन सक्छु कि सक्दिनँ। त्यो देशमा कस्तो कानुन छ ? ती कानुनको पालना गर्न सकिन्छ कि सकिँदैन ? सबै कुरा राम्रोसँग बुझेर जाने हो भने समस्या आउँदैन। विदेश जाने रहर गर्ने तर कामको प्रकृति, त्यहाँको प्रविधि एवं कानुनसँग अभ्यस्त हुन नसक्नेहरू समस्यामा पर्ने गरेका छन्।

वैदेशिक रोजगारीमा गएकामध्ये कति प्रतिशत समस्यामा परेको पाउनुभएको छ ?

बढीमा २-३ प्रतिशत समस्यामा परेको पाइएको छ। माथि भनिएका कुरा थाहा नपाई एक्कासि फरक भूगोल, फरक भाषा, फरक धर्म, फरक संस्कृति र सोच भएको देशमा पुग्दा र ती कुरामा सचेत नहुँदा ज्यान जाने, जेल पर्ने, भनेका बेला तलब नपाउने, अनेक झन्झटमा फस्ने गरेको पाइएको छ। विशेष गरी नयाँ मानिसले दुःख पाउँदै आएका छन्। दोस्रोपल्टदेखि दशा नै लाग्यो भने मात्र, नत्र सबै कुरा बुझेका मानिसले वैदेशिक रोजगारीमा दुःख पाएको उदाहरण कमै छ।

कम पढेेलेखेकै मानिस रोजगारीका लागि खाडी मुलुक पुग्छन्। यस्ता मानिसलाई धेरै कुरा थाहा पनि हुँदैन। आफू समस्यामा पर्नबाट जोगिन के गर्न सकिन्छ ?

नेपालमा कुनै त्यस्तो गाउँ छैन, जहाँका दुई चार युवक वैदेशिक रोजगारीमा नगएका हुन्। मानौं 'क' नाम गरेका युवा कतार जान चाहन्छन् भने उक्त युवाले गाउँमा को-को कतार गएका छन्। उनीहरूसँग फोन वा अन्य माध्यमबाट कुरा गरेर सबै अप्ठेराहरूका बारेमा बुझ्न सकिन्छ। मानौं, फलानो कम्पनीबाट यति कामदारको माग आयो भन्ने खबर पाइयो भने त्यो कम्पनी कस्तो हो, उक्त कम्पनीका राम्रा-नराम्रा पक्ष के-के हुन्, बुझ्न लगाउन सकिन्छ। यो सबैभन्दा भरपर्दो माध्यम हो। यो कतारको मात्र नभएर अन्य खाडी मुलुकका लागि पनि आवश्यक सूत्र हो। त्यसपछि सरकारी निकाय तथा इन्टरनेट आदिबाट पनि सम्बन्धित कम्पनीका बारेमा जानकारीका लागि इमेल गर्न सकिन्छ। आफूलाई आएन भने आफूभन्दा जान्ने बुझ्नेसँग सहयोग लिन सकिन्छ।

यस्तो काम सरकारी निकायले गर्नुपर्ने होइन र ?

सरकारले नै उचित तालिम दिने, राम्रो कम्पनी हो कि होइन बुझिदिने, कुनै समस्या भए हेरिदिने काम गर्नुपर्छ। विदेशमा समस्या आए, घरमा सूचना दिने, सरकारमार्फत दूतावासको ठेगाना उपलब्ध गराउने, त्यहाँका पदाधिकारीलाई टेलिफोन गरिदिने जस्ता काम सरकारले गर्न सक्छ। विदेशमा लाखौं व्यक्ति पुगेका कारण सबै काम व्यवस्थित हुन सक्दैन। यस्तो बेलामा सरकारको मात्र भर नपरेर एनआरएनजस्ता संस्थालाई पनि सुचना दिनुपर्छ। काठमाडौैंको अनामनगरमा वैदेशिक प्रबन्धन बोर्ड छ। रोजगारीका लागि विदेश जाने प्रत्येकले उक्त कार्यालयमा १ हजार रुपैयाँ बुझाउनुपर्छ। त्यहाँबाट पनि सूचना लिन सकिन्छ। उक्त कार्यालय सरकारले यस्तै कामका लागि गठन गरेको हो। हिजोआज हात-हातमा फोन र इन्टरनेट छ, त्यस्ौले अलिकति सचेत हुने हो भने सरकार तथा गैरआवासीय नेपालीसम्म पहुँच पुर्‍याएर समस्या समाधान गर्न सकिन्छ। यस्ता कुरामा सरकारको मुख ताक्नु भन्दा आफै पहल गर्नु उपयुक्त हुन्छ।

तर सरकारी निकायको त्यति विश्वास गरिँदैन नि ?

हाम्रो सरकारी संरचना केही सुस्त छ, अव्यवस्थित छ तर अविश्वास गरिहाल्ने खालको पनि छैन। थुप्रै असल व्यक्तिहरू त्यहाँ हुनुहुन्छ। हामीसँग सरकारलाई विश्वास गर्नुको विकल्प पनि छैन। धेरैजसो समस्या सूचनाको अभावका कारण उत्पन्न हुने गरेको छ। एक वर्षअघि एनआरएनले समस्यामा परेका कामदारको उद्धारसम्बन्धी २ वर्षे रिपोर्ट प्रस्तुत गरेको थियो। त्यसमा हामीले जति उद्धारका काम गर्‍यौं, समयमै सुचना प्राप्त भएका कारण गर्‍यौं। जुन-जुन केसमा समस्या आयो त्यो बेलैमा सही सूचना नपाएका कारणले उत्पन्न भएको थियो। यस आधारमा सूचनाको अभावले पनि समस्या सामाधान हुन नसकेको महसुस गरेका छौं।

सरकारबाट हुन नसकेका काम के-कस्ता छन् ?

धेरै काम हुन बाँकी छन्। जस्तो नेपालसँग १ सय ४८ देशको दौत्य सम्बन्ध छ, तर ३२ वटा देशमा मात्र हाम्रो राजदूतावास छ। अब भन्नुहोस्, हामी कहाँ छौं ? बरु विश्वका ७० देशमा एनआरएनको शाखा छ। जहाँ दूतावास छैन त्यहाँ एनआरएन नै सहारा हुने गरेको छ। खाडी मुलुकको कुरा गर्ने हो भने त्यहाँका १० वटा देशमा लाखौं नेपाली छन्। सरकारको उपस्थिति भने मलेसिया, कतारजस्ता सीमित मुलुकमा मात्र छ। त्यसलाई पनि सशक्त तुल्याउन सकिएको छैन।

एनआरएनको उपस्थिति भए पनि कतिपय अवस्थामा तपाईंहरू निष्क्रिय भएको आरोप लाग्ने गरेको छ, किन ?

कानुनले प्रतिबन्ध गरेका कुरामा हामी अघि बढ्न सक्दैनौ। हामी एनआरएन पनि त्यो देशको कानुनमा बाँधिएका हुन्छौं। अरूको देशमा कुनै पनि गतिविधि गर्न छुट नभएकाले हामी एनआरएनमार्फत युएन जस्ता संस्थाका भातृ संगठनमार्फत काम लिन्छौं। हाम्रो काम सूचना दिने मात्र हुन सक्छ। स्वयं व्यक्तिले कानुनको उलंघन गरेको अवस्थामा हामी निरीह हुन पुग्छौं। त्यसैले वैदेशिक रोजगारीमा जान चाहनेहरूले कानुनी कुरामा पर्याप्त होस पुर्‍याउनुपर्छ। अर्को कुरा हाम्रो सोचमा पनि समस्या छ। नेपालमा पनि कानुन छ तर कानुन तोड्नुलाई हामी आफ्नो पुरुषार्थ मान्छौं। विदेशमा त्यहि सोचका कारण दुःख पाउनेहरू धेरै छन्।

सामान्यतः नेपालीहरूको सोच कस्तो पाउनुभयो ?

कुनै कुरा चित्त नबुझे आफूभन्दा माथिका हाकिमलाई कुटिदिने, साथीहरूबीच झगडा गर्ने, तलब दिन दुई-चार दिन ढिला भयो भने काम गर्ने स्थानमै हड्ताल गरिदिने जस्ता समस्या पनि देखिएको छ। मदिरा पिउने, रमाइलोका नाममा हो- हल्ला गर्ने जस्ता केही समस्या पनि देखिएका छन्। वास्तवमा हामी केही अराजक पनि छौं कि ? त्यसबाहेक कामदारलाई पेल्ोरै राख्नुपर्छ भन्ने सोच भएका कम्पनीले पनि समस्या निम्त्याएका छन्।

नेपालमा धेरै वैदेशिक रोजगार कम्पनीले नियम मिचेर कामदारहरू पठाइरहेका छन्, तपाईं आफैं वैदेशिक रोजगार व्यवसायी भएका नाताले के भन्नुहुन्छ ?

मानिस पठाउने अस्वस्थ प्रतिस्पर्धा छ। खराब कम्पनी भएका कारण एउटा म्यानपावरले कामदार पठाउन अस्वीकार गरेको ठाउँमा अर्को म्यानपावरले त्यही कम्पनीलाई सस्तोमा कामदार उपलब्ध गराइदिन्छ। यसरी हामी आफ्नै दाजु-भाइलाई समस्यामा पारेर पैसा कमाइरहेका छौं। एकपटक त्यस्तै कम्पनीलाई कारबाही गर्न हामीले कतारबाट सिफारिस गरेका थियौं, तर नेपालमा भने त्यो कम्पनीले राष्ट्रपतिबाट विभूषण पायो।

अहिले तपाईंहरूको संघठनले हरेक व्यक्तिबाट मासिक १ हजार रुपैयाँ उठाउने नीति पारित गरेको छ। विदेशमा रहेका सबै नेपालीबाट उठाइने मासिक हजार रुपैयाँले के गर्ने योजना छ ?

विदेशमा बस्ने सबै नेपालीलाई नेपालको माया छ। लामो समय उतै बस्ने हुन् वा छोटो समय, विदेश बसेपछि नेपालको माया अझ बढी लाग्छ। यस्तो बेलामा थोरै पैसा देशका लागि लगानी गरौं, भन्ने हो यदि ३० लाख नेपालीले महिनाको १ हजार रुपैयाँ लगानी गरे भने उक्त लगानीले देशमा ठूला एयरपोर्ट, ठूला जलविद्युत् आयोजना वा फराकिला सडक बन्न सक्छन्। त्यो लगानी बुढेसकालमा आम्दानीसहित फिर्ता हुन्छ। यो सोचमा हामीले सरकारलाई नीति ल्याउन आग्रह गरेका छौं। एनआरएनले त्यसका लागि सहजीकरण गरिदिन्छ। यसले देश विकासमा हाम्रो योगदान पनि पुर्‍याउँछ, भविष्यमा पैसा पनि आउँछ। हुन त एनआरएनहरूको आफ्नै एनआरएन इन्भेस्टमेन्ट कम्पनी पनि छ, जसले ५ अर्ब उठाएर २७ मेघावाटको जलविद्युत् उत्पादन गरिरहेको छ तर सरकारले नै सबैसँग मासिक १ हजार रुपैयाँ उठायो भने हामी ठूला कलेज, नेताहरूले विदेशमा उपचार गर्न जानै नपर्ने गरी ठूला अस्पताल आदि निर्माण गर्न सक्छौं। हामी त्यसमा काम पनि गरिरहेका छौं।

 

प्रकाशित :कार्तिक १, २०७१

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्