
रियल स्टारहरू
कार्तिक १, २०७१
मानिसको सम्बन्धमा उतारचढाव आउनु सामान्य हो, तर एकैपटक एउटै सिर्जनाबाट स्थापित भएका दुई कलाकार अहिले सहकार्य गरेर अघि बढ्न चाहिरहेका छैनन्। बाटो आ-आफ्नै तय गरे पनि उनीहरू दुवै अहिले लोकदोहोरी गायनको शिखरमा छन्। पेसागत रूपमा कुनै समय नजिकको साथीको सम्बन्धमा रहेका पशुपति शर्मा र राधिका हमालको कुरा हो यो। उनीहरूले साथमा गाएका अक्सर गीत सबै दर्शक-श्रोताले रुचाए तर यो कुरा बुझेका उनीहरू सम्बन्ध बिगि्रएपछि त्यो कुरालाई बेवास्ता गर्न चाहन्छन्। लोकदोहोरी गायनको पुरुष र महिला विधामा देशविदेशका कार्यक्रममा अत्यधिक माग भएका हमाल र शर्मा दुवै अहिले पनि दर्शकश्रोताबीच उत्तिकै प्रिय छन्।
'क्याम्पस पढ्न आउने' गीतले यी दुईलाई स्थापित गराएको थियो। क्याम्पस पढ्न आउने गीतभन्दा अघि राधिकाको केही परिचय त थियो तर त्यो चर्चित सेलिब्रेटी बन्न पर्याप्त थिएन, स्टेजमा जमेर गाउने गीत उनीसँग थोरै थिए, पशुपति त लगभग यही गीतबाटै चिनिँदै थिए। त्यस्तो अवस्थामा यी दुई कलाकारलाई जनप्रिय बनाउन यही गीत सहारा बन्यो। गत वर्ष 'मलाई अमेरिका यही' गीतबाट शिखरको यात्रा तय गरे पशुपतिले, तर यो गीत आउनु धेरै पहिले नै राधिकासँग उनको दूरी बढिसकेको थियो, यद्यपि भन्नैपर्ने कुरा पशुपतिको जग पनि राधिकासँगको सहकार्यमै बनेको थियो।
तीज गीत गायनमा पनि यो जोडीको आ-आफ्नै कीर्तिमान छन्। पशुपतिले आफ्नै लय तथा शब्दमा बर्सेनि एक दर्जनभन्दा बढी तीज गीत रेकर्ड गराउँदै आएका छन् भने राधिका सबैभन्दा धेरै तीज गीत गाउने गायिका भैसकेकी छिन्। तीज गीतमा पनि उनीहरूको सहकार्य गजबसँग रुचाइएको थियो। पशुपतिको लय शब्द एवं स्वरमा राधिकाको सहकार्यमा तयार टलक्कै टल्कियो, अचम्मै राम्रो नाच्छे मोरीले जस्ता तीज गीतका भिसिडी १० हजारभन्दा बढी बिक्री भएका थिए। यस्तै उनीहरूकै सहकार्यको लरक्कै लर्कियो रातो साडीले गीतको भिसिडी २५ हजारभन्दा बढी बिक्री भएको आशिष म्युजिकका रामजी पन्त बताउँछन्। दर्शक-श्रोताले रुचाएका यी दुई कलाकार स्टेजमा समेत साथै देखा पर्थे, तीजका मात्र नभएर उनीहरूको सहकार्यका अन्य गीत पनि सुपरहिट भए तर ४ वर्षअघि मन नमिलेपछि उनीहरू आ-आफ्नै हिसाबले अघि बढेका छन्। सांगीतिक क्रियाकलापकै क्रममा उनीहरूको मन बाझेको थियो, जुन अहिलेसम्म कायमै छ।
दर्शक-श्रोतासहित उनीहरूलाई मन पराउने सबैले सहकार्य गर्न सल्लाह दिँदै आएका छन्, तर उनीहरू अब धेरै नै ग्याप भैसकेकाले सहकार्य सम्भव नहोला कि भन्ने शंका व्यक्त गर्छन्। यद्यपि समयले सहकार्यको अवस्था सिर्जना गरे काम गर्न सकिने सम्भावना पनि दुवैले व्यक्त गरे। साथीभाइमाझ एवं जम्काभेटमा सामान्य कुराकानी गर्ने उनीहरू अहिले एउटै स्टेजमा प्रस्तुति दिनसम्म तयार भैसकेका छन्। कुनै महोत्सव वा विदेशको कार्यक्रम साथमै भएको अवस्थामा उनीहरूको जोडीलाई अहिले पनि सुन्न सकिन्छ। दुवै जना भन्छन्- 'हाम्रो सहकार्यका गीत दर्शक-श्रोताले रुचाउनु भएको छ भन्ने कुरा हामीलाई राम्रोसँग थाहा छ।'
कथा पशुपतिको
स्थानीय अंग्रेजी माध्यमको विद्यालयमा नर्सरीबाट अध्ययन सुरु गरेका पशुपति स्कुले जीवनमा राम्रा विद्यार्थीमा गनिन्थे। लेखपढमा विश्वास गर्ने परिवारले पनि पशुपतिले राम्रो विषयमा शैक्षिक योग्यता हासिल गरेको हेर्न चाहेको थियो। स्याङ्जा बाडखोलामा जन्मिएका पशुपति एसएलसीपछिको उच्च शिक्षाका लागि काठमाडौं आए। त्यतिबेला उनका दाइ काठमाडौंमै एमबीबीएस अध्ययन गरिरहेका थिए। इन्जिनियर बन्ने लक्ष्यका साथ काठमाडौं पसेका शर्मा गीत-संगीततर्फ लाग्न थालेपछि बाटो मोडिन थाल्यो। दाइलाई डिस्टर्ब हुने गरी उनी रेडियो सुन्दै लोकगीतका भाका हाल्थे, पढाकु स्वभावका दाइ उनको गीत-संगीतको रुचिलाई खासै मन पराउँदैनथे। गीतसंगीतमा बढी ध्यान दिने हुँदा पशुपतिको अध्ययन पनि प्रभावित नभएको होइन, तर पछि उनले अध्ययनलाई पनि निरन्तरता दिए।
०५९ सालमा पशुपतिले पहिलो पटक गीत रेकर्ड गराए। पशुपति सम्झन्छन्- 'त्यो मेरा लागि ठूलो उपलब्धि थियो, अरूको गीत सुन्दा कहिले म पनि गीत रेकर्ड गरौं जस्तो हुन्थ्यो, गीत रेकर्ड भएपछि दंग परे।' एक महिनाको अभ्यासमा गायिका सिन्धु मल्लसँग पशुपतिले स्याङ्जामाथि वन गीत रेकर्ड गरे पनि उक्त गीत खासै चलेन। एल्बमको बजार उत्कर्षमा पुगेर ओरालो झर्ने तरखर रहेको त्यो समयमा गीत रेकर्ड गर्न ढिलो भएको उनलाई महसुस भयो।
यता काठमाडौंको बसाइ त्यति सहज थिएन। परिवारको इच्छाविपरीत आफ्नो व्यक्तिगत रुचिको क्षेत्र लोकदोहोरी संगीतमा लागेका शर्माले कमाउँदै आफ्नो सपना पूरा गर्नु थियो। ०५८ सालमा शर्मा तथा गायिका निशा सुनारले एकैपटक चाबहिलस्थित सप्तकोसी दोहोरी साँझमा काम प्रारम्भ गरे। पशुपतिले भने- 'एक जना अग्रज कलाकारले हामीलाई दोहोरी साँझमा गाउने अवसर मिलाइदिनुभयो, त्यसबापत एक महिनाको तलब पनि उहाँले नै लिनुभयो।' दोहोरी साँझ खुल्ने क्रम बढ्दै गएकाले त्यसरी काम मिलाइदिएबापत १ महिनाको तलब उहाँहरूकै खल्तीमा जाने नियम रहेछ। त्यसपछिका सात वर्ष ०५८ सालदेखि ०६५ सालसम्म पशुपतिले दोहोरी साँझहरूमा गीत गाए। 'दोहोरी साँझमा गाउँदा प्रत्यक्ष रूपमा दोहोरी गाउने अभ्यास निखारिन्थ्यो भने अर्कातर्फ काठमाडौं बस्ने खर्च पनि जुट्थ्यो,' पशुपतिका अनुसार- लाइभ दोहोरी गाउँदा दर्शक-श्रोताको भाव चाहना बुझ्ने मौका पाउँथे, लोकदोहोरीको बजार कता जाँदैछ भन्ने अनुमान लगाउन पनि दोहोरी साँझको काम प्रभावकारी थियो।' त्रिवेणी ठमेल साँझमा काम गर्न थालेपछि पशुपतिले रेस्टुराँमा आएका ग्राहकहरूलाई विषय बनाएर गीतका गेडा बनाउँदै दोहोरी भाका कथ्न थाले। वातावरण जमाउने क्रममा आफ्नो प्रतिभा पनि परिस्कृत हुँदै गएको पशुपतिको अनुभव थियो। त्यसपछि क्रमशः काम गर्दै जाँदा महिनाको १५ हजारभन्दा माथिको आम्दानी दोहोरी साँझको जागिरले दियो। पशुपतिले हालैको दिनको एक घटना सम्झिए- 'एक जना दोहोरी सञ्चालक दाइले मासिक न्यूनतम ६० हजार रुपैयाँ दिने भन्दै जागिरका लागि प्रस्ताव गर्नुभयो, त्यो मेरा लागि राम्रै अवसर थियो तर व्यस्तताका कारण उहाँको प्रस्ताव स्वीकार गर्न सकिनँ।' युरोपका विभिन्न मुलुक, अस्टे्रलिया, जापान, कोरिया, हङकङ, कतार, दुबई आदि विभिन्न मुलुकमा कार्यक्रम गर्न भ्याइनभ्याइ यी गायक अहिले पनि फुर्सदमा दोहोरीसाँझमा पुगेर रमाइलो गराउँछन्, तर पेसागत रूपमा होइन्।
'काम पाइएन डिग्री पास गरेर, भैंसी पालें गाउँतिर झरेर, चिन्ता छैन केही मलाई अमेरिका यै, मलाई जापान पनि यै, मलाई बेलायत नि यै' पशुपतिलाई लोकदोहोरीको शिखरमा पुर्याउने गीत बन्यो। अहिलेका लोकदोहोरी रेस्टुराँ, स्टेज शो तथा अन्य सञ्चारमाध्यममा यो गीतलाई अनिवार्यझैं बजाइन्छ, गाइन्छ र सुनाइन्छ। कतिसम्म भने एउटा जुत्ता कम्पनीले आफ्नो सातदिने सेलअफरका क्रममा सातै दिन लगातार यही गीत मात्र बजाएको थियो। युट्युबमा लाखौंले हेरेको उक्त गीत पछिल्लो अवधिमा सर्वाधिक मन पराइएको गीत हो। पशुपति भन्छन्- 'केही फरक गरौं भनेर गरेको मेहनत थियो त्यो, अहिलेको विदेश जाने परिवेशको गीत भएकाले दर्शक-श्रोताले अत्यधिक रुचाइदिनुभयो।' पशुपतिले बनाएको क्रिकेटसम्बन्धी गीतको म्युजिक भिडियो पनि अहिले उत्तिकै लोकप्रिय छ, जसलाई युट्युबमा २ लाखभन्दा बढी दर्शकले हेरेका छन्।
लोकगीत भन्नेबित्तिकै हेय दृष्टि राख्ने जमात बढिरहेको अवस्थामा पशुपति टे्रन्डसेटरका रूपमा देखा परेका छन्। गीतका गेडा मीठा, मौलिक एवं सामाजिक परिवेश मिल्दो भए दर्शकले रुचाउने रहेछन् भन्ने पशुपतिका पछिल्ला हिट गीतले पुष्टि गरिसकेका छन्। 'मेरै भाइहरू जो कुनै समय लोकगीत सुन्न रुचाउँथे, उनीहरू जबर्जस्ती अंग्रेजी गीत सुन्न थालेका थिए, पशुपति भन्छन्- 'उनीहरू भन्थे, एउटै किसिमका लोकगीत सुन्दा-सुन्दा दिक्क लागिसक्यो, बरु अहिलेका फ्युजन हिन्दी तथा अंग्रेजी गीत रमाइला छन् भन्ने उनीहरूकै तर्कका कारण मैले नयाँ फ्लेभर दिन सक्नुपर्ने निष्कर्ष निकाले। शर्माका अनुसार अंग्रेजी गीत रुचाउने तिनै भाइहरू अहिले फेरि दाइ तपाइर्ंका गीत सुनिरहन्छौं भन्न थालेका छन्।
'लोकगीतमा एउटा मर्यादा हुनुपर्छ, त्यसले कुनै सन्देश प्रवाह गर्न सक्नुपर्छ, लोकको मर्म र भावलाई प्रतिनिधित्व गर्नुपर्छ', पशुपति यी कुरामा विशेष ध्यान दिन्छन्। तपाईंका कोठे सिर्जनाले संकलन गरिने लोकगीतको टे्रन्डलाई समातेको छ त ?
भन्ने प्रश्नमा पशुपति भन्छन्- 'अग्रजहरूले गाउँ-गाउँ डुलेर त्यहाँको सामाजिक परिवेश, संस्कृति एवं परम्परामा आधारित भएर आफैंले गीत सिर्जना गर्नुभएको हो, पुराना भनिएका केही गीत गाउँघरका हुन सक्छन् तर अधिकांश गीत संकलित होइनन्, धेरै गीत सर्जकले भाव र मर्म टिपेर कथेका हुन्।' साहित्यकारले साहित्य सिर्जना गरेजस्तै गीतकारले पनि शब्दमा न्याय गरेर कल्पनाशीलताको बुट्टा भर्ने शर्माको तर्क छ। आफूले सिर्जना गरेका गीत लोकमै आधारित हुने र त्यसमा केही न केही सन्देश हुने पशुपतिले बताए।
पशुपति शर्मा एकाएक हिट हुनुको कारण नि ? पशुपतिकै शब्दमा तिम्रो लागि मर्छु सानी शैलीलाई अपनाएका एकै किसिमका लोकदोहोरी बजारमा आइरहेको अवस्थामा केही फरक स्वाद दिन सफल हुनु नै दर्शक-श्रोताले मलाई रुचाउने आधार थियो। मायाप्रीतिका गीत त गाउन सकिन्छ, पशुपति भन्छन्- 'तर सधैं एकै किसिमले भन्दा मानिसहरू इरिटेट हुन्छन्, समयअनुसार गीतसंगीत पनि परिवर्तन हुनु आवश्यक छ।' क्याम्पस पढ्न आउने गीत मायाप्रेमकै गीत हो, तर यसले यथार्थपरक रूपमा प्लस टु पुस्ताप्रति अभिभावक एवं विद्यार्थी दुवैलाई सचेत गराएको छ, नेपाली टे्रन्डलाई प्रस्ट रूपमा देखाएको छ, उक्त गीतको मर्म र भावना यथार्थतासँग मिल्दो छ।
पशुपतिको व्यस्तता बाटै थाहा हुन्छ, उनी सबैका प्रिय गायक भैसकेका छन्। विदेशमा बस्ने नेपालीहरूले उनका गीत अझ बढी रुचाएका छन्। अचम्म त के भने मलाई अमेरिका यहीे गीत लोकदोहोरी गीतबाट टाढिनेहरूलाई समेत आकषिर्त गर्न सफल छ। अरू सबै लोकदोहोरी गीत एकातर्फ पशुपतिका लोकदोहोरी अर्कातर्फजस्तो देखिनुमा पशुपतिको फरक शैलीले पनि हो। दिन-प्रतिदिन खस्कँदो लोकसंगीतको बजारमा पशुपतिले आशाको सञ्चार गरेका छन्। उनका रमाइला प्रकृतिका गीत सकारात्मक सन्देश प्रवाह गर्न पर्याप्त छन्। तीज गीतमा पनि उनी नयाँ-नयाँ शैली एवं शब्द प्रयोग गर्छन्। उनका तीज गीतमा विरह र जिरहका शब्द छोडेर अहिलेका नारीका यथार्थपरक जीवनशैली अभिव्यक्त हुन्छन्। ६० वटा तीज गीत आफ्नै शब्द, लय तथा स्वरमा तयार पारिसकेेका पशुपति भन्छन्- 'यो शैली स्थापित गर्न मैले निकै मेहनत गर्नुपर्यो, विषयवस्तुको गहिरो ज्ञान एवं संगीतमा नयाँ प्रयोग नगरेको भए म पशुपति शर्माका रूपमा चिनिने थिइनँ।'
आफ्नो व्यक्तिगत रुचिका कारण गायक बनेका पशुपतिलाई गायक बन्ने प्रेरणा चाहिँ रेडियो नेपालले नै दिएको थियो। कहिले ठूलो हुने र रेडियोमा गीत बजाउने भन्ने हुटहुटीले उनलाई लोकगीतको सर्जक बनाइदियो। २०६० सालमा १ लाख राशिको राष्ट्रिय लोकदोहोरी प्रतियोगितामा भाग लिँदा उनी फाइनलमा पुगेका थिए। यस्तै चलचित्र विकास बोर्डले आयोजना गरेको दोहोरीमा पनि उनी प्रथम भए। राष्ट्रिय स्तरका १७ वटा स्पर्धामध्ये ११ वटामा प्रथम भएका पशुपति बाँकीमा द्वितीय भए। दोहोरी साँझमा प्रत्यक्ष दोहोरी गाउँदा-गाउँदै खारिएको उनको शब्द चयन र स्वरले प्रतिस्पर्धीहरूलाई अत्याउन थालेको थियो। लोकदोहोरी वृत्तका अतिरिक्त त्यसबाहिर पनि उनी परिचित भैसकेका थिए। पशुपति विषयवस्तु छनौट, प्रस्तुति एवं आवेगका साथ प्रत्यक्ष दोहोरीमा कौतूहलता थप्ने शब्दचयन गर्न सिपालु थिए। रोइला दोहोरी गायनमा पशुपति अहिलेका चर्चित सर्जक हुन्। निशा सुनारदेखि रीता थापा मगर, शर्मिला गुरुङ आदिसँग उनले रोइला दोहोरी गाएका छन्। रमाइलो नोकझोक एवं छेडखानीले भरिपूर्ण रोइलाको घम्साघम्सी गण्डक क्षेत्रमा लोकप्रिय मानिन्छ।
पशुपतिको सबैभन्दा सबल पक्ष रमाइला र मौलिक लोकदोहोरी गीत आफैंले सिर्जना गर्नु पनि हो, त्यतिमात्र होइन उनले गाउने रोइला दोहोरीदेखि तीज गीतसम्ममा आफ्नै शब्द, लय एवं स्वर हुन्छन्। उनमा विभिन्न परिवेश तथा समसामयिक परिस्थिति बुझेर गीत लेख्ने र त्यसलाई लोकप्रिय बनाउने संगीत भर्न सक्ने खुबी छ। कुनै समय पारिवारिक प्रेसरकै कारण उनले गीतसंगीतको संघर्षलाई चटक्कै छोड्ने निर्णय लिएका थिए। 'परिवारको गुनासो र अध्ययन पनि बिगि्रएको अवस्थामा गीत नगाउने कसम खाएको थिएँ,' पशुपति भन्छन्- 'समकालीन साथीहरूका गीत सुन्न थालेपछि फेरि मनमा गायनको भूत सवार भैहाल्यो।'
गीत-संगीतको यात्रा
पशुपतिले गायन क्षेत्रमा सक्रियता बढाएको ०५८ सालदेखि नै भए पनि औपचारिक रूपमा संगीत उद्योगमा उनको नाम चल्न थालेको ०६५ सालदेखि हो। ०६० सालमा स्याङ्जामाथि वन गाएर उनको सांगीतिक यात्रा थालनी भयो, तर हिट हुन भने ०६५ सालसम्म कुर्नुपर्यो। ०६५ सालको तीजमा उनले आफ्नै शब्द र भाकामा टलक्कै ऐना टल्कियो, ख्याल गर जोवन ढल्कियो गीत राधिका हमालसँग गाए। उक्त गीत र म्युजिक भिडियो बजारमा खुब जम्यो। आशिष म्युजिकका रामजी पन्तको आग्रहमा क्यारम अचम्मै राम्रो नाच्छे मोरीले, क्यारम मरक्कै कम्मर भाँच्छे मोरीले गीत बनाए, जुन गीत पनि हिट भयो। अहिलेसम्म ६० वटा तीज गीत बनाइसकेका पशुपतिलाई तीज गायकका रूपमा पनि चिनिन्छ। महिलाहरूले गाउने तीज गीत पुरुषहरूले गाएर विकृति सिर्जना गरेको आरोप पनि उनीमाथि लाग्यो, तर पशुपति ती तमाम आरोपप्रति बेवास्ता गर्दै तीज गीत सिर्जनामा पनि उत्तिकै कटिबद्ध छन्। उनले ०६५ सालपछि नै फरक शैलीका दोहोरी गीत तयार पार्ने टे्रन्ड पनि सुरु गरे। बल्ल पो पिर पर्न थाल्यो, यसै हो र घर यस्तो भएको आमा नै गतिली छैन, छोरीले के मान्थी भनेको बोलको व्यंग्यात्मक गीत बनाएर उनले आफ्नो सिर्जनात्मक क्षमताको परिचय दिए। सामाजिक परिवेशकै क्याम्पस पढ्न आउने, सरले उता पढाउने, हाम्ले आँखा जुधाउने, चित्त बुझाउने गीत त सुपरहिट नै भयो। हालसम्म १८ वटा एल्बम तथा ८ दर्जन दोहोरी रचिसकेका पशुपतिका हरेक गीतका शब्द हेर्दा उनी विगत र वर्तमानलाई ठट्यौले ढंगले व्यक्त गर्न पोख्त छन् भन्ने कुरा पुष्टि हुन्छ। पशुपति हिजोको कठिन समयदेखि अहिलेको मोबाइल टेक्नोलोजीलाई समेत विम्बका रूपमा प्रस्तुत गर्न खप्पिस छन्। उनी आफू कोठे गीत नलेखी समयको गीत लेखिरहेको बताउन पछि पर्दैनन्। शर्मा भन्छन्- 'लोकगीत समयको गीत हुनुपर्छ, भविष्यको पुस्ताले के लेखेको होला भन्न सक्छ, किनभने त्यो समय अहिलेको समयभन्दा धेरै अगाडि पुगिसकेको हुन्छ तर वर्तमानमा यही परिवेशलाई नै गीतमा उतार्ने हो।'
पशुपति अहिले स्वदेशका महोत्सवमा ५० हजार रुपैयाँसम्म र विदेशका कार्यक्रममा १ लाख ५० हजार रुपैयाँसम्म लिन्छन्। अहिले आफ्ना हिट गीतहरूको सूची लामै भएकाले स्टेज सोमा उनी जमेर प्रस्तुति दिन सक्छन्। मलाई अमेरिका यही, सोह्र दुना आठ, क्याम्पस पढ्न आउने, एबिसिडी, क्रिकेट आदि गीत गाएर उनी दर्शकलाई मज्जाले नचाउँछन्। पशुपति स्तरीय एवं सन्देश प्रवाह गर्ने किसिमको लोकगीत सिर्जना गर्नुपर्ने बताउँछन्। आफ्नो शब्द र संगीतमा मात्र गाउँदै आएका शर्मा सबैले भनेअनुसार गाउँदै जाने हो भने संख्यात्मक रूपमा आफ्ना गीत गनी नसक्ने हुने बताउँछन्। २९ भन्दा बढी देश घुमिसकेका शर्माले नेपालका ६० भन्दा बढी जिल्लामा कार्यक्रम दिइसकेका छन्। काठमाडौं र पोखरामा घडेरी जोडेका पशुपति अब चाँडै नै काठमाडौंमा घर बनाउने योजनामा छन्।
को हुन पशुपति शर्मा ?
'दाइ डाक्टर भयो, त्यत्रो नाम कमायो, तँ भने गाइने भएर बिगि्रस्' पोहोर साल दसैंको टीका लगाउने क्रममा गाउँका एक हजुरबुबाले भनेको कुरा अहिले पनि सुपरहिट गायक पशुपति शर्माको कानमा गुन्जिरहन्छ। स्नातकोत्तर अध्ययन पूरा गरेर गाउँ गएका बेला हजुरबुबाले भनेका थिए- 'हेर, दाइले त राम्रो पढ्यो, डाक्टर भयो, तैंले गीत मात्र गाइस, के पढ्या छस् होला, आइए कटाइस ?' कलाकार भन्नेबित्तिकै नपढेका हुन्छन् भन्ने मान्यतालाई आधार बनाएर हजुरबुबाले पशुपतिलाई उक्त कुरा भनेका थिए। हजुरबुबाका कुरा सुनेर प्रतिक्रियाविहीन भएका पशुपति टीका र आशीर्वाद मात्र थापेर फर्किए। उनको परिवारका सदस्यहरू भेला भए भने वातावरण नै पढाइमा केन्दि्रत हुन्छ। तीन जना दिदी र त्यसपछिका दुई भाइमध्येका सबैभन्दा कान्छा पशुपति भने ती कुरा सुनेर बस्छन्। प्रतिक्रिया जनाइहाले त्यो पनि पढाइकै विषयमा हुन्छ।
'दाइले त अहिलेसम्म एकपटक पनि मेरो गीतसंगीतका बारेमा कुरा गर्नुभएको छैन,' पशुपति भन्छन्- 'बरु हिजोआज दिदीबहिनीहरूले कस्तो गीत गर्दैछस् भनेर केही चासो दिन थाल्नुभएको छ।' पशुपतिको परिवारले अहिले पनि तैंले राम्रो गीत गाइस्, आफ्नो काम अझै राम्रोसँग गर् भनेर खुलेर भनेका छैनन्, तर अहिले उनको सांगीतिक यात्रा जमेको कुरा बुझेकाले उनको कामका सम्बन्धमा मौन समर्थन भने छ।
पढ्नका लागि काठमाडौं पठाएको छोरो सोच्दै नसोचेको गीतसंगीतको लहरोमा तानिएला भन्ने पशुपतिका परिवारले सोचेका पनि थिएनन्। धेरै पटक त उनलाई त्यतै मात्र लाग्ने हो भने हलो जोत्न आइज भनेर चेतावनी पनि आयो। अहिले प्रस्ट रूपमा सबैले चिन्ने र दाम कमाउने भैसक्दा त यो पेसालाई भरपर्दो नमान्ने परिवारले सुरुवाती दिनमा कस्तो धारणा बनायो, सहजै अनुमान गर्न सकिन्छ। त्यसो त पशुपतिले अध्ययनको प्रारम्भिक समयका अतिरिक्त घरबाट पैसा ल्याएका पनि छैनन्।
पशुपतिले लोकदोहोरी गीतसंगीतको जुन वातावरण आफ्नो क्षेत्रमा पाए, त्यसले नै उनलाई लोकगायनमा अघि बढ्ने प्रेरणा मिल्यो तर जुन गाउँमा उनी जन्मिए उक्त वडामै गीतसंगीतमा सक्रिय त्यति धेरै मानिस थिएनन्। उनको गाउँबाट काठमाडौं आउने एक संगीतप्रेमी युवाले सुनाएको किस्सा बताउँदै पशुपतिले साप्ताहिकसँग भने-
'एक जना भाइलाई गाउँकै एक अग्रजले भन्नुभएछ, पशुपतिको संगत नगर्नु है, त्यसले त गायक बनाएर तँलाई पनि बिगार्ला नि ?'
राधिकाको यात्रा
परिवार नेपाल आएपछि लाहुरे पृष्ठभूमिका राधिकाका पिता किसानमा परिवर्तन भए। रोल्पाली माटोमा हुर्किएकी राधिका सानैदेखि तीक्ष्ण थिइन्। घरपरिवारमा संगीतको वातावरण बिलकुलै थिएन। चार दिदीबहिनी मध्येकी साहिँली राधिकामात्र राम्रो गाउँथिन्। राधिका अध्ययनमा पनि अग्रपंक्तिमा थिइन्। कक्षा ५ को परीक्षामा जिल्लाभरमै सर्वोत्कृष्ट भएपछि उनले काठमाडौंस्थित बूढानीलकण्ठ माविमा अध्ययन गर्ने अवसर पाइन्, जसका लागि उनले दाङ गएर अन्तर्वार्ता दिनुपथ्र्यो, तर गाउँ छोड्न नचाहेकै कारण उनले मुर्कट्टा शब्दको अर्थ जान्दा-जान्दै गलत उत्तर दिइन्। राधिका भन्छिन्- 'सबैले बूढानीलकण्ठमा पढ्न पाउनु सौभाग्यको कुरा हो भनेका बेला मैले भने गलत उत्तर दिएर गाउँमै बस्ने निधो गरें,' छुकछुके स्वभावकी राधिका आफ्नो निर्णयमा भने अडिग हुन्छिन्। पशुपतिसँगको सहकार्यमा समस्या आउनुका पछाडि उनको यो स्वभावले पनि काम गरेको छ। सानोमा पनि उनी उत्तिकै जिद्दी थिइन्। स्थानीय बालकल्याण उमाविबाट एसएलसी उत्तीर्ण गरेपछि उनी उच्च शिक्षाका लागि काठमाडौं आइन्।
स्कुले अध्ययनमा पनि उनले थुप्रै लोकगीत प्रतियोगितामा सहभागी भएर प्रथम स्थान हासिल गरेकी थिइन्। 'मैले गायन प्रतियोगितामा कहिल्यै दोस्रो हुनुपरेन, बरु विद्यालयकी राम्री विद्यार्थीमा गनिने हुँदा गीतभन्दा बढी हाजिरीजवाफ प्रतियोगिताका निम्ति छनौट गरिन्थें,' राधिका भन्छिन्- जिल्लास्तरको हाजिरीजवाफमा पनि प्रथम भएँ, बादविवाद प्रतियोगितामा पनि म प्रथम नै भएकी थिएँ।' बोल्न सिपालु राधिकाले भविष्यमा हाम्रो ठाउँको नाम चम्काउनेछे, स्कुलका प्रधानाध्यापक केशव श्रेष्ठले भनेको कुरा सम्भ“mदै राधिकाले बताइन्, सरलाई मेरो स्वर साह्रै मन पथ्र्यो, कहिलेकाहीं ल राधिका गीत गाऊ भन्नुहुन्थ्यो।' साथीभाइ एवं अभिभावकहरूले पनि उनको स्वरको सराहना गर्थे जसका कारण गाउँमा उनको गजबको भ्यालु थियो।
काठमाडौं आएपछि नियमित अध्ययनसँगै राधिका संगीतसम्बन्धी ज्ञानका निम्ति डोरेमी संगीत पाठशाला धाउन थालिन्, जसले उनको आवाजलाई थप निखारिदियो। त्यतिबेला पनि उनी गीतसंगीतकै क्षेत्रमा संघर्षरत थिइन्। ६० सालमा रेडियो नेपालबाट स्वरपरीक्षा उत्तीर्ण गरेकी राधिकाले त्यही वर्ष नै वरिष्ठ लोकगायक रत्न बानियाँका साथमा सोल्टिनी एल्बमका लागि गाएकी थिइन्। उनले हालसम्म १२ वटा एल्बम सार्वजनिक गरिसकेेकी छिन्, जसमध्ये बाह्रौं एल्बम भने लोकपप फ्लेभरको छ। राधिकाको यसभन्दा अगाडिको एल्बम अल्लारे कान्छालाई दर्शक-श्रोताले अत्यधिक रुचाएका थिए।
हाल राधिकाका बुबा आमा दुवै हुनुहुन्न। 'अहिले त घरको छोराजस्तै भएकी छु म, सबैले स्नेह पनि गर्नुहुन्छ, परिवारमा मैले नै अभिभावकत्व प्रदान गरेकी छु भन्दा फरक पर्दैन,' राधिका भन्छिन्- 'ममि ड्याडी गीतसंगीतमा मेरो चमक देख्नबाट वञ्चित हुनुभयो, अहिले उहाँहरूलाई मिस गर्छु।' दिदीहरू आफ्नो स्वरका म्युजिक भिडियो हेरेर अहिले पनि रुने गरेको राधिका सुनाउँछिन्। उनका अनुसार टेलिभिजनमा मलाई देख्ने बित्तिकै दिदी-बहिनीको आँखामा आँसु टप्किन्छ।' अचम्मै राम्रो नाच्छे मोरीले, दिलमा ठाउँ छ है, ढल्क्यो जवानी, जवानीको खेल, अब त चाइनेजो मेरै पालि हो, झकास, शीतल शीतल, हे माया, अल्लारे कान्छाको हेराइ ज्यान मारा आदि आफ्नै एल्बम निकाल्नुका साथै आधुनिक, लोकपप तथा चलचित्रका गीत पनि गाए, राधिका भन्छिन्- 'सबै गर्दा ३ हजार नाघेछ। '
राधिका कसकी ? सबैले सहजै भन्ने उत्तर हो, कृष्णकी। अन्ततः यी राधिका पनि कृष्णकै भइन्। उनका श्रीमान्को नाम कृष्ण पुन हो। कृष्ण पनि राधिकाकै जिल्ला अझ भनौं एउटै गाउँका हुन्। हाल संगीत संयोजकका रूपमा कार्यरत कृष्ण पुन पनि व्यस्त छन्। कृष्णसँग उनको विवाह २०६० सालमा भएको हो। 'म स्कुले अध्ययनमा हुँदा नै उहाँ दाङमा लेक्चररका रूपमा कार्यरत हुनुहुन्थ्यो,' राधिकाले भनिन्- 'उहाँको दाइ इन्द्रबहादुर पुनले हाम्रो विवाह गराइदिनुभएको हो।' यी तिनै इन्द्रबहादुर हुन्, जो आफू पनि संगीत क्षेत्रमै सक्रिय भएकाले राधिकाको प्रतिभालाई राष्ट्रिय परिदृश्यमा ल्याउन ५४ सालमा उनलाई काठमाडौं ल्याएर बालगीत रेकर्ड गर्ने अवसर मिलाइदिएका थिए। इन्द्र दाइ त मुटुको अप्रेसन फेल भएर बितिसक्नुभएको छ, राधिका भन्दै थिइन्- उहाँले देखाएको संगीतको बाटोमा हामी सपरिवार सक्रिय छौं।
दाङमा छँदा प्राध्यापन पेसा अपनाएका कृष्ण पनि काठमाडौं आएपछि व्यग्र रुचिका कारण संगीतज्ञ भए। राधिकासँग विवाह गरेपछि कृष्णले रेकर्डिस्ट हँुदै संगीत संयोजनको जिम्मेवारी सम्हाल्दै आएका छन्। 'कृष्ण सरलाई सानैदेखि देखे पनि मन पराउँथें भन्न सक्ने अवस्था थिएन,' राधिकाले हाँस्दै सुनाइन्- 'कृष्ण सरलाई मन पराउने युवती धेरै थिए तर उहाँ मलाई मन पराउनुहुँदो रहेछ, दाइमार्फत कुराकानी भएपछि हामीले विवाह गरेर नै लभ गर्यौं। ख्याल ख्यालमै स्याल पल्टियो भनेजस्तै भयो। मैले कलियुगमा पनि कृष्णजीलाई नै पाएँ,' गमक्क पर्दै राधिकाले भनिन्- 'उहाँको सपोर्टले यो क्षेत्रमा सक्रिय रहन थप सहज भएको छ, पाँच वर्षअघि खुट्टा भाँचिएपछि उहाँ अध्यापन पेसा पूर्णत छोडेर संगीतमै सक्रिय हुनुभएको छ, यसले हामीलाई अझ सजिलो बनाएको छ।'
सांगीतिक प्रस्तुतिकै क्रममा करिब डेढ दर्जन मुलुक घुमिसकेकी राधिकाको अध्ययनलाई भने रोगले रोक्यो। गीतसंगीतमा सक्रिय रहेकै बेला अध्ययनमा बाधा पुगिरहेको थियो, त्यसमाथि ३ वर्षअघि मुटुमा समस्या देखिएपछि उनले नियमित अध्ययनबाट भने विश्राम लिनुपर्यो। अहिले डायमन्डशमशेरको सेतो बाघ सकेर शेक्सपियरको ह्याम्लेट पढ्दैछु, अध्ययनमा रुचि भएको कुरा बताउँदै राधिकाले भनिन्- 'अहिले आख्यानहरू अध्ययन गरिरहेकी छु।' ३ वर्षअघि मुटुमा समस्या देखिएपछि चिकित्सकले उनलाई प्रदूषणबाट जोगिन सल्लाह दिएका छन् तर कन्सर्टमा उफ्री-उफ्री नाच्ने क्रममा कति धुलो खाइन्छ, सीमा नै नहुने हमाल बताउँछिन्। मुटुको भल्वमा कीटाणुको संक्रमण देखिएपछि एक वर्ष नियमित औषधी खाएर त्यसलाई निराकरण गरेकी राधिकाको उक्त रोग अहिले फेरि बल्भिmएको छ। 'विगत डेढ वर्षदेखि फेरि रोग बोकेरै गीतसंगीतको यात्रामा सक्रिय छु,' राधिका भन्छिन्- डाक्टरले गायनलाई निरन्तरता दिए हुन्छ भनेकाले स्वास्थ्यको ख्याल नगरी स्टेजमा प्रस्तुत हुन्छु।' राधिकाले अब औषधीबाट निको नभएको अवस्थामा अप्रेसन गराउनुपर्ने हुन्छ। भगवान्ले भाग्य लेख्दा केही समस्या पनि हालिदिन्छन् जस्तो लाग्छ, राधिकालाई मुटुको समस्या देखिनुमा।
गएको तीजमा उनी दुबई र जापानका कार्यक्रममा सरिक भइन्, त्यसलगत्तै उनी अस्टे्रलिया पुगिन्। नेपालभित्रका कार्यक्रमहरूका लागि पनि समय छुट्टयाएको उनले बताइन्। महोत्सव क्विनको ट्याग पाएकी राधिका नेपालका अधिकांश समुदायबीच आफ्नो प्रतिभा देखाउन पाएकोमा खुसी भएको बताउँछिन्। विदेशमा मलेसिया, कतार तथा कोरिया राधिकाले धेरै पटक प्रस्तुति दिइसकेका मुलुक हुन्।
राधिकाले दोहोरी साँझहरूमा पनि काम गरिन्। ०६१/६२ सालतिर गीतहरू केही चलिसकेका थिए, राधिकाले भनिन्- 'पार्टटाइमका रूपमा दोहोरी रेस्टुराँहरूमा गीत गाए।' एउटा निश्चित रकम लिएर उनी दोहोरी रेस्टुराँमा आफ्नो गायकी प्रस्तुत गर्थिन्।
राधिका केही भावुक पनि छिन्, उनले भनिन्- 'मेरी आमाको एउटा इच्छा थियो— उहाँले म मरेपछि राधिकाले दागबत्ती दिनु भन्नु भएको थियो। त्यसैअनुरूप मैले नै उहाँलाई दागबत्ती दिए र विधिपूर्वक छोराले गर्नेझैं काजक्रिया गरें।'
को हुन राधिका हमाल ?
उमेर ढल्किएको टोयोटा गाडी ड्राइभ गर्दै घरबाट बाहिरिन्छिन्, अहिलेकी व्यस्त गायिका राधिका हमाल। उनको यो सवारीले उपत्यकाभित्र मात्र होइन, मुलुकका विभिन्न स्थानमा हुने कार्यक्रममा पुर्याउने जिम्मेवारी पनि सम्हालेको छ। संगीतसँग जुन प्रकारको नाता गाँसिएको छ, राधिका त्यही सवारीबाट ओर्लने क्रममा भन्दै थिइन्- 'यो गाडीसँग पनि उत्तिकै गाढा नाता विकास भैसकेको छ, अर्को नयाँ सवारी लिन यो गाडीकै मायाका कारण सम्भव भैरहेको छैन।'
राधिकाले सानो छँदाको कुरा सम्झँदै भनिन्- 'म रुन थालेपछि ममीले मेरो रेडियो बज्यो है भनेर टाउकोमा हात घुमाइदिएपछि म रुन छाडेर गीत गाउँथे रे,'। राधिका जतिसुकै रिसाएको वा अफ मुडमा भएको बेला नै किन नहोस्, गीतसंगीत भनेपछि उनको मुहारमा चमक आइहाल्थ्यो। सानोमै कुनै लक्षण देखापर्छ भनेझैं गीत-संगीतप्रति उनको प्रतिभा मुखरित हुनेछ भन्ने परिवारदेखि गाउँसम्म सबैलाई थाहा भएको राधिका बताउँछिन्।
सांगीतिक यात्राको सुरुवाती दिनमा सम्भवतः उनले कल्पना पनि गरेकी थिइनन् कि, उनी कुनै दिन यस प्रकारको पहिचान बनाउन सफल हुनेछिन् तर गाउँघरदेखि परिवारसम्म सबैले यसले केही गर्छे भनेर दिने प्रोत्साहनले नै यति धेरै आत्मविश्वास भरिदियो कि उनी अहिले आँटिली राधिकाका रूपमा सांगीतिक युद्धमा निरन्तर विजयी हुँदै अघि बढिरहेकी छिन्। ३ हजार १ सयभन्दा बढी गीत गाइसकेपछि राधिका भन्छिन्- 'सधैं यत्तिकै व्यस्त भएर अबको यात्रा पनि तय गर्न पाइयोस्, यही कामना छ।' स्टेजमा उत्रिएपछि राधिकाको सौम्य स्वरूप एकाएक आक्रमक हुन्छ, उनी जर्बजस्त पर्फमेन्स दिने सुरमा यति डुबेकी हुन्छिन् कि दर्शक राधिकाको त्यो स्टाइल र स्वर सुनेर मन्त्रमुग्ध बन्न पुग्छन्। अर्को रमाइलो पक्ष राधिका दर्शकहरूलाई स्टेजमै तानेर नचाएरै छोड्छिन्। उनले आफूलाई दर्शक नचाउने गायिकाका रूपमा पनि चिनाएकी छिन्।
राधिकाले सानै उमेरमा गायन क्षेत्रमा प्रवेश गरेकी हुन्। उनले आफ्नो पहिलो लोकगीत २०५४ सालमा अर्थात १७ वर्षअघि रेकर्ड गराएकी थिइन्। दुःखैदुःख हुन्छ मलाई शीर्षकको गीतबाट गायन प्रारम्भ गरेकी राधिका आफ्नो समकालीन पुस्तामा अग्रपंक्तिमा पुग्नुमा उनको आफ्नै संघर्षको कथा छ। पहिलो गीत विरहकै गाए पनि उनको जीवन भने अहिले सुखमय बितिरहेको छ। संगीतकर्मी श्रीमान् कृष्ण पुन तथा छोरी साकिराका साथमा राधिका प्रसिद्धिको यात्रा तय गरिरहेकी छिन्। उनको सानो परिवार आफैंमा संगीतमय पनि छ। राधिका गीत गाउँछिन्, श्रीमान् कृष्ण उनका अधिकांश गीतको संगीत संयोजन गर्छन्। छोरी साकिरा पनि गीत-संगीतप्रति उत्तिकै रुचि राख्छिन्।
भारतको राजधानी नयाँ दिल्लीको फरिदाबादमा जन्मिएकी राधिका १० वर्षको उमेरसम्म भारतमै हुर्किइन्। त्यसपछि उनको परिवार रोल्पाको गैरीगाउँ फर्कियो। राधिकाका बुबा भारतमा कार्यरत भएकाले जागिरकै क्रममा परिवार नै दिल्लीमा बस्दै आएको थियो। 'गीत रेकर्ड त ०५४ सालमा भयो तर जन्मिएर बोली फुटेदेखि नै म गीत गाउँथें भनेर ममी भन्नुहुन्थ्यो,' राधिका भन्दै थिइन्- 'टेलिभिजन, रेडियोमा कुनै गीत बज्नेबित्तिकै म पनि गाउँथें रे।' तर राधिकाले नेपाली संगीतको यात्रा तय गर्न भने नेपाल नै आउनुपर्यो।
२०५८ सालमा पोखरामा आयोजित लोकदोहोरी प्रतियोगितामा उत्कृष्ट गायिका भएपछि उनलाई यो क्षेत्रमै करियर बनाएर अघि बढ्ने साहस पलायो। '०५४ सालमा बालकलाकारका रूपमा गीत गाएकी थिएँ,' राधिका भन्छिन्- तर प्रतियोगितात्मक प्रत्यक्ष दोहोरी गायनमा सफल भएपछि भने मैले पछाडि फर्केर हेर्नुपरेको छैन। लोकदोहोरी गायनको शिखरयात्रा गरिरहेकी राधिकाले पैसा र प्रसिद्धि दुवै कमाएकी छिन्। डेढ दर्जन मुलुकको भ्रमण गरिसकेकी राधिका लगभग सबै जिल्लामा कार्यक्रम गर्न पुगिसकेकी छिन्।
काठमाडौं र दाङमा घडेरी जोडीसकेकी यी गायिका अब घर बनाउने योजनामा छिन्। फास्टबिटका गीतमा जोडदार प्रस्तुति दिने भएकाले महोत्सव एवं विदेशका सांस्कृतिक कार्यक्रमहरूमा राधिकाको माग उच्च छ। 'दर्शकलाई गाउन नलगाई, ननचाई प्रस्तुतिको मज्जै हुँदैन, त्यही भएर स्टेजमा उक्लने बित्तिकै सबैले नाच्ने किसिमका गीत गाउँदै नचाउँछु,' राधिका भन्छिन्- 'मैले गाएका ३ हजार गीतमा मुस्किलले १ दर्जनमात्र सेन्टिमेन्टल छन्।' क्याम्पस पढ्न आउने, ढल्क्यो जवानी, दामी छ मोराको नाच, अल्लारे कान्छाको हेराइ ज्यानमारा, लरक्कै लर्कियो रातो सारी भुइँमा, तिम्रो मेरो जोडी झकासजस्ता गीत उनले स्टेजमा
प्रकाशित :कार्तिक १, २०७१
















तपाईको प्रतिक्रिया
कमेन्टको लागि यहाँ click गर्नुहोस्
फेसबूक कमेन्ट गर्नुहोस्
फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्