निरू खड्का (निर्मली), हास्यकलाकार

निरू खड्का (निर्मली), हास्यकलाकार

- कृष्ण भट्टराई

आश्विन २४, २०७१

हास्यकलाकार निरु खड्का दुईवटा उपनामबाट लोकपि्रय छिन् । हास्यश्रृंखला 'मेरी बास्सै' मार्फत स्थापित भएकी निरुलाई 'निर्मली' तथा 'ठ्यास कुमारी' बाट चिन्नेहरू प्रशस्त छन् । उक्त श्रृंखलामा धुर्मुसकी दिदीको भूमिका निर्वाह गरेर चर्चामा आएकी निरु अभिनयमा मात्र सीमित छैनन् । थुप्रै म्युजिक भिडियोमा अभिनय तथा नृत्य प्रदर्शन गरिसकेकी निरु क्यारिकेचर गर्न पनि सिपालु छिन् । विभिन्न महोत्सवमा स्ट्यान्ड अप कमेडीसमेत प्रस्तुत गरिरहेकी निरुले विभिन्न चलचित्रका लागि कोरियोग्राफरको कामसमेत गरिसकेकी छिन् । अभिनयका सबै विधामा पारंगत निरुले साप्ताहिकसँग आफ्ना सेक्रेट कुरा यसरी अभिव्यक्त गरिन् ।

स्कुटरमा नृत्य

सवारी साधन चलाउँदा प्रायः सबैमा केही न केही गरिरहने बानी हुन्छ । कसैलाई गीत गुनगुनाउन मन लाग्छ, कोही दायाँ-बायाँ हेर्दै ड्राइभ गर्न मन पराउँछन् । म भने स्कुटरमा यात्रा गरिरहेका बेला एयरफोनबाट गीत सुन्दै गीतकै तालमा हल्लिन रुचाउँछु । स्कुटरमै कम्मर मर्काएको देखेपछि मानिसहरू ट्वाल्ल परेर हेर्छन् । ट्राफिक सिग्नलमा रातो बत्ती बल्यो भने मेरो शरीर पनि रोकिन्छ, स्कुटर अघि बढ्नेबित्तिकै म पुनः आफ्नै पारामा नाचिरहन्छु ।

भान्सामा नृत्य

हुन त म हास्यकलाकारका रूपमा चिनिन्छु तर म कुशल नृत्यांगना पनि हुँ । नृत्य मेरो सौख पनि हो । स्कुटरमा मात्र होइन, भान्सामा खाना पकाउँदासमेत म नाचिरहेकी हुन्छ । भान्साको नृत्य भने केही गम्भीर हुन्छ । म खाना पकाउने क्रममा नृत्यका नयाँ-नयाँ स्टेप कम्पोज गरिररहेकी हुन्छु । भान्सामा अलि बढी नै नाच्ने क्रममा धेरै पटक तरकारीमा नुन हाल्न बिर्सिएकी पनि छु अनि कहिलेकाहीं दोहोर्‍याएर नुन हाल्दा चर्को भएर खानै नहुनेसमेत भएको छ ।  

कवयित्री

म कविता लेख्छु । मैले बाल्यकालदेखि नै कविता लेख्दै आएकी हँु । स्कुले जीवनमा मलाई साथीहरूले कवियित्रीका रूपमा चिन्थे । अहिले पनि म फुर्सद भयो वा मुड चल्यो भने कविता रच्छु । समयले साथ दियो भने मैले रचना गरेका कविताहरूको संग्रह नै निकाल्न सक्छु ?

निर्देशक

दर्शकहरूले अहिलेसम्म मलाई हास्यकलाकारका रूपमा चिन्नुभएको छ । वास्तवमा म निर्देशक पनि हुँ । मैले थुप्रै सडक नाटक निर्देशन गरिसकेकी छु । निर्देशनसम्बन्धी विधिवत् अध्ययन गरेर पछिल्ला केही वर्षयता म नाटकको निर्देशनमा पनि सक्रिय छु । भविष्यमा म आफ्नै निर्देशनमा एउटा राम्रो हास्य श्रृंखला नै निर्देशन गर्न सक्छु ।

नृत्यांगना

मेरो हास्यकलाकारितामा रमाउने दर्शकहरूलाई मेरो नृत्य कौशलका सम्बन्धमा त्यति जानकारी छैन । म हास्यकलाकार बन्नुअघि नृत्यांगनाका रूपमा सक्रिय थिएँ । मैले १५ वटाभन्दा बढी चलचित्रमा कोरस डान्सरका रूपमा नृत्य गरेकी छु । भर्खरै मात्र मैले चलचित्र 'मेरो स्कुल' मा नृत्य निर्देशनसमेत गरेकी छु ।

प्रकाशित :आश्विन २४, २०७१

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्